३० श्रावण २०७७ शुक्रबार
ब्लग

कहाँ छ महिलाको घर ?

गएको सोमबार राति १० बजेतिर मोबाइलमा एक मित्रको फेसबुक मेसेज फुत्त देखाप-यो। एउटा समाचारको लिंक रहेछ। शीर्षकले नै बुझाएको थियो– समाचार महिला हिंसासँग सम्बन्धित थियो। फेरि महिला हिंसाको अर्को बर्बर श्रृङ्खला घट्यो भन्ने सोचेँ। लिंक खोलेर भित्र छिर्ने दुस्साहस गर्न सकिनँ। यही समाचारको प्रतिछायाले रातभरि लखेट्ला र निद्रा बिथोलिएला भन्ने लाग्यो। हरेक बिहान यस्ता समाचार पढ्न अभ्यस्त भए पनि कमसेकम राति सुत्ने बेला त राम्रा समाचार सुनेर सुतूँ भन्ने मेरो मनोकांक्षा रहन्छ। भलै त्यस्ता शुभ समाचार सुन्ने अवसर भने विरलै मिलेको छ।  

फेरि, आज बिहानै चिनजानकी वृद्धा आमा मकहाँ आउनुभएको थियो। भौतिक दूरी राखेर उहाँलाई स्वागत गरेकी थिएँ। परिस्थिति जति नै निर्दयी भए पनि मानवीय नाताले मलाई निर्दयी बन्न दिँदैन। उहाँ आफ्ना केही गथासा मसँग पोख्न चाहनुहुन्थ्यो। एकछिन बोलिदिएर उहाँको मन हल्का हुन्छ भने, मैले उहाँलाई समय दिनैपर्छ भन्ने लाग्यो। वृद्ध आमाहरू जहिले पनि मेरो प्राथमिकतामा पर्नुहुन्छ। जब उहाँको विदीर्ण कथा सुनेँ, मलाई पीडाका दर्जनौँ बिच्छीले डसिरहेजस्तो लाग्यो। आफ्नै आमाबुबाप्रति यति कठोर बन्न सक्छन् सन्तानहरू ?

आफ्ना वेदनाका उफान पोखेर भलभली आँसु खसाल्दै रुनुभएको दृश्य आँखामा नाचिरहेकै थियो। आफ्नो घरमा आफ्नै अमानुष छोरा–बुहारीबाट अपमानित भएको उपेक्षाको पराकाष्ठा सुनिनसक्नु थियो।  

आमाबुबाले नै जोडेको करोडौंको श्रीसम्पत्तिलाई झुक्याएर छोराबुहारीले आफ्नो नाम गरेछन्। पछि थाहा पाएर पनि के गर्नु, आफ्नै इज्जत प्रतिष्ठा लिलाम हुने हो, जोरीपारीको अगाडि। उजुरबाजुर गर्दा पनि छोरा–बुहारी टाढाको हुन्छन् भन्ने लागेछ। आफूहरू मरेपछि आखिर सम्पत्ति खाने यिनै हुन् किन चिढाउने ? आफ्नै सन्तान हुन्, आमाबाबुलाई नराम्रो नगर्लान् भन्ने लागेछ। तर, बाबुआमाप्रति गरिने कर्तव्य पूरा गर्नु त कहाँ हो कहाँ, एक वचन बोली पनि मिसाउँदैन रे अजिर छोराले।  

म आमाका कुरा सुनेर दुःखी भएँ।

उहाँको गुनासो यस्तो छ: छोराले सँगै खाना पनि खाँदैन। छोरो कस्तो जन्मियो कस्तो ! नातिनातिनीहरू पनि सँगै खाना खाँदैनन्। उनीहरू पनि रुखो बोली गर्छन्। सुत्ने कोठा पनि छुट्टै तलामा छ। मानौँ म त्यो घरकी काम गर्न राखिएकी सहयोगी हुँ। सरकारले दिएको वृद्धभत्ता पनि लिन नजानु भन्छे बुहारी। उनीहरूको इज्जत जान्छ रे। यत्रो हुने खानेको घरको मान्छे भएर पनि के हात थाप्न जाने रे।

आफ्नो हातमा केही छैन। मन लागेको कुरा केही किन्न र कसैलाई केही दिन पाउँदिनँ। भान्सामा पसेर यसो केही सघाइदिऊँ भन्छु, किन आइस् यहाँ भनेजसरी आँखा तर्छन्।

सफा गर्न सक्दिनँ रे। रौँ पार्छु रे खानामा। कहिलेकाहीँ रौँ परिहाल्यो भने खानै नखाई छोरा–नाति जुरुक्क उठ्छन्। उनीहरू हप्ता–हप्तामा घुम्न जान्छन् गाडीमा। मेरो सोधखोज कहिल्यै गर्दैनन्। प्रेसर र सुगरको रोगी छु। टाइममा औषधि खानु पर्छ, त्यसका लागि खाना नास्ता केही खानुप¥यो। कति खानुपर्ने हो जस्तो गर्छन्। साह्रै अदना भएकी छु नानी।  

आफूसरहकी दिदी–बहिनीलाई पनि केही दिनुपर्छ। सम्पत्ति जति पनि छँदैछ। उनीहरूले यति र उति भनेर दुःख देखाएर मागेका छैनन्। मनले जानेर अलिअलि दिँदा पनि कति खुसी हुँदा हुन्। त्यही पैसाको बलमा उनीहरूलाई अगाडि बढ्न कति सहज हुँदो हो। आफ्नै कोखबाट जन्माएका छोरीहरूको दुःख म टुलुटुलु कति हेरेर बसूँ ? ए बाबु ! दिदी–बहिनीलाई पनि हेरविचार गर। बरु, हामी बूढाबूढीलाई केही चाहिएन भनेर बिन्तीभाउ गर्दा पनि छोरो तयार हुँदैन। अनि यही निहुँमा घरमा सधैँको अशान्ति छ। शीतयुद्ध जस्तै छ, नानी।

अहिले हामी आमाबाबु त्यहाँ घाँडो भएका छौँ। अपमानित भएका छाँै। जाऊँ, कहाँ जाऊँ ? यो उमेरमा आएर मुद्दा–मामिला के गरौँ ? आफ्नो आङ कन्याएर आफैँ छारो उडाउनु पनि भएन ? तर, छोराबुहारी विवेकशील निस्किएनन्। बाहिरबाट हेर्दा सबै बनिबनाऊ, ठीकठाक लाग्छ तर मनभित्रको आँधिबेरी कसलाई के थाहा ? यो उमेरमा पनि मेरो घर घरजस्तो लाग्दैन।  

०००

उहाँका कुरा मुटुमै गड्ने खालका थिए। दुःख पोखेर मन हल्का हुन मात्रै उहाँले भन्नुभएको थियो यो कुरा। मसँग कहनुको अरू कुनै स्वार्थ थिएन उहाँसँग। सायद हरेक घरका कहानीहरू यस्तै छन्। एउटा न एउटा पारिवारिक समस्याको कथा सबैसँग छ। ती सबै समस्या मुख्यतः महिला र सम्पत्तिसँग नै बढी जोडिएका छन्। सहेर बस्नेको घर छ। सहेर बस्न नसक्ने, अन्यायको विरुद्ध आवाज उठाउनेको घर छैन।  

बिहान आएकी आमाले बुढेसकालमा जुन छटपटी, अपमान र बेचैनी भोग्नुभएको छ, त्यसले उहाँ कति पीडामा हुनुहुन्छ भन्ने आकलन गर्न सकिन्छ। ओछ्यानमा पल्टिएर ओल्टेकोल्टे गर्दा पनि उहाँको बेचैन अनुहार मात्र छाइरहेको थियो।

लकडाउनका अवधिमा महिला हिंसाको ग्राफ ह्वात्तै बढेको कुरा समाचार माध्यममा आइरहेका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाको सहिद स्मृति माविको क्वारेन्टिनमै उन्चालीस वर्षीया महिलाको सामूहिक बलात्कार भयो। यो पनि क्वारेन्टिनमै खटिएका स्वयंसेवकबाट। यो अकल्पनीय जघन्य अपराध सेलाउन नपाउँदै रुकुममा घटेको अंगीरा पासीकाण्ड पनि उस्तै बर्बर रह्यो। यी र यस्ता घटना प्रतिनिधि मात्रै होलान्। अप्रत्यक्ष अपराधका घटना त झन् घर–घरमा कति होलान्। अति भएपछि मात्र बाहिर आउने होला।

पैसा र पावरका भरमा अपराधी उम्किरहेका छन्। पाशविक घटनाको पुनरावृत्ति भइरहेको छ। हामीले सोचेजस्तो सभ्य समाज र असल नागरिकको सपना फगत कोरा सपना मात्रै बनिरहेको छ। रातको निद्रा बिथोल्दै सयौँ प्रश्न मेरो मथिंगलभरि नाचिरहे। छातीमाथि एउटा गह्रौँ ढुंगाले थिचेजस्तो भयो। बिहानीपख ब्यँुझिँदा टाउको उस्तै दुखिरहेको थियो।  

मेसेन्जर खोल्दा रङ्गीचङ्गी गुडमर्निङका स्टिकर लाम लागेका थिए। यी रेडिमेड स्टिकरको जवाफ दिन त्यति कर्तव्यबोध लाग्दैन। आफू प्राकृतिक बन्न खोज्ने ईप्साले हो या तिनमा आत्मीयताको महसुस नभेटेर हो। महिनौँ बेवास्ता गर्दा पनि भर्चुअल वल्र्डका साथीले आफ्नो कर्तव्य निभाउन बिर्सनुहुन्न। जसरी सूर्य बिहान उदाउन बिर्संदैन।  

०००

जब हिजोको महिला हिंसासम्बन्धी समाचार खोलेर भित्र पढेँ। समाचार ‘सासू–ससुरा र नन्द मिलेर महिनावारी भएकी बुहारी सुस्मिता क्षेत्रीलाई हत्या गरेको’ सम्बन्धमा थियो। पत्यारै नलाग्ने घटना, तर केही विश्वासिलो मानिएको मिडियामा आएपछि पत्याउनैप¥यो।

मलाई असाध्यै नरमाइलो लाग्यो। यस्तो नरमाइलो पहिला पनि थुप्रैपटक भएको छ। पीडाका यी फेहरिस्त जोड्न थालियो भने एउटा सिंगो पुस्तक तयार हुन्छ। जति नै बिर्सन्छु भने पनि निर्मला हत्याकाण्ड सायदै कसैले बिर्सेला ? त्यसपछिका दिनमा पनि शृंखलाबद्ध महिला हिंसाका घटनाको बढोत्तरी भइरहेकै छ। किन यस्तो भयो ? किन रोकिँदैनन् यी आततायी घटना ? पत्रपत्रिकाका लेखले जति नै सावधान गराए पनि लक्षित वर्गसम्म लेखिएका कुरा नपुगेर हो कि घटना कमी हुने कुनै लक्षण भेटिँदैन। कहिलेकाँही त यस्तो लाग्छ, हामी कसका लागि लेखिरहेका छौं। नत्र, लेख्न के बाँकी छ र ? भन्न के बाँकी छ र ? तर, समस्या ज्युँका त्युँ छ।  

‘सुस्मिताको हत्या’ बारेको मुटु हल्लाउने समाचार देखेपछि म सीमातीत पीडामा रन्थनिएँ। सुस्मितामाथि सासूससुराको आरोप रहेछ, ‘यसले हाम्रो छोरालाई खाई।’  

समाचार अनुसार, मकवानपुरका रुपेन्द्र थापा र कपिलवस्तुकी सुस्मिताको गत वर्ष मात्रै बिहे भएको रहेछ। गएको दशैँमा रुपेन्द्रको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि सुस्मिताका अँध्यारा दिन सुरु भएछन्।

म नारी हुँ। मलाई नारी भएर जन्मिएकोमा गर्व छ। यो संसारमा मैले दिने योगदान अतुलनीय छ। सन्तान जन्माउन सक्ने सृष्टिको अनुकम्पा मैसँग छ। यो अद्वितीय वरदान नै गर्व गर्ने मेरा आधारशिला हुन्। यति हुँदाहुँदै पनि मेरा पखेटा किन उन्मुक्त ढंगले आकाशमा विचरण गर्न सक्दैनन् ? कहिले के निहुँमा कहिले के निहुँमा, किन चढिरहेछु म बलिको वेदीमा ? किन खुम्च्याइएका छन् मेरा रहरका तानहरू ? किन रोकिँदैनन् हिंसाका कहालीलाग्दा घटना ? किन घटिरहेछन् ममाथि बर्बर नृशंसताका घटना ? कहिले दाइजो नल्याएको निहुँमा। कहिले छोरा नपाइदिएको निहुँमा। कहिले ‘श्रीमान् टोकेको’ निहुँमा। कहिले ‘अन्तर्जातीय बिहेका’ निहुँमा। कहिले ‘दलित महिला’ भएकै निहुँमा। कहिले ‘धेरै पढ्न खोजेको’ निहुँमा। अनेक अनेक आरोप–प्रत्यारोपमा महिलामाथि हुने जघन्य अपराधको सिलसिला कहिले रोकिन्छ ? हामी महिलाको सुरक्षित घर कहाँ छ ? एउटा गम्भीर विषय हरपल चुनौतीका लागि उभिएको छ।  

सुस्मितामाथि जुन नृशंस घटना घटेको छ। त्यसको पछाडि सम्पत्तिको लोभ नै मुख्य कारण रहेको देखिन्छ। आपूmमाथि बलात्कारको प्रयास गर्ने ससुराको नियत थाहा भएपछि सुस्मिताले आत्मसुरक्षाका लागि त्यो घर किन त्याग्न सकिनन् होला ? उनलाई के त्यस्तो बाध्यता प¥यो होला, त्यहाँ फर्केर जानका लागि ? हामी महिला पटक–पटक बाध्यताको सिकार हुने गरेका छौँ। सायद हामी चाहिनेभन्दा बढी कोमल छौँ। दयालु छौँ। यही नै हाम्रो कमजोरी बन्छ।

भन्न सजिलो छ, उनले त्यो घर त्याग्नुपथ्र्यो। उनीहरू पैसाका लागि मरिहत्ते गर्छन् भने त्यो पनि छोडिदिनुपथ्र्याे। कतिपय कुरा भनेजति सहज हुँदैनन्। उनलाई के कस्तो बाध्यता बन्यो, त्यो बाध्यता केलाउने सामथ्र्य मसँग छैन।  

बिहे भएको लामो समय भएको थिएन। परिवारका सदस्यबीच उनको भावनात्मक सम्बन्ध झांगिइसकेको थिएन, मोटरसाइकल दुर्घटनामा उनको श्रीमान्को मृत्यु भएछ। छोराको मृत्युपछि बुहारीले पाउने हक–अधिकारप्रति पनि परिवारका सबै सदस्य इष्र्याले जलेको समाचारले बुझाउँछ। यस्तो बेला तिनलाई आफ्नो ठान्नु उनको कमजोरी भनौँ कि महानता ! मेरो ब्रह्मले उनलाई कमजोर पात्रका रूपमा स्वीकार गर्न चाहँदैन। हामी नारीले खेल्ने भूमिका नै जटिल प्रकृतिका हुन्छन्। घर र समाजका लागि नारीले पटक–पटक बलिदान दिनुपरेको छ। यो सदियौँदेखि नेपाली समाजमा भएको विभेदको पुनरावृत्ति हो।  

एउटी नारीको प्राण लिन नारी नै लागिपरेका छन्। योभन्दा लज्जास्पद कुरा अरु के हुन सक्छ ? एउटी नारीले अर्की नारीको जीवन रक्षामा भूमिका खेल्नुपर्ने ठाउँमा कहाँबाट कुन दानवीय आत्मा सवार भयो तिनमा र छोरीसरहकी बुहारी, आमासरहकी भाउजूको हत्या गर्न पुगे। हत्या ससुराबाट हुन खोजिएको भए सासु र नन्दहरूले किन प्रतिवाद गर्न सकेनन् ? हत्या मनोवृत्तिको पतिलाई पत्नीले कसरी साथ दिइन् ? हत्या मनोवृत्तिको बाबुलाई छोरीहरूले कसरी साथ दिए ? व्यक्ति हत्या गरेपछि त्यसबाट कस्तो सजाय भोग्नुपर्छ भन्ने चेतना नहुने को होला र ? उनीहरूको बाहिरी आवरण देख्दा त्यति धेरै अशिक्षित जस्तो पनि लाग्दैन। जसरी आज कैयौँ घटना चिरफार हुन सकेका छैनन्। घटना रहस्यमै रहन्छन्। यसरी नै घटना लुकाउन सकिन्छ भन्ने मनोवृत्तिले काम गरेको हुन सक्छ। अपराध लुकाउन चाहे लुकाउन सकिन्छ भन्ने दृष्टान्त हाबी हुँदै गएको यथार्थ हामीसँग छ। सायद यसकै परिणाम हुन सक्छ।

सल्लाह र सहमतिले समाधान गर्न नसकिने त्यस्तो के समस्या होला र यो संसारमा ? खाना खान लागेका बेला बुवासरहको ससुराको हातबाट मर्नुपर्छ। खाने बेला त जस्तै अपराधीले पनि सुख पाउँछ, भनिन्छ। उनी त छोरीसरहकी बुहारी। त्यसमा पनि खुसी खोसिएकी नारी। दया देखाउने ठाउँ प्रशस्त हुँदाहुँदै मान्छे त्यति निर्दयी बन्न सक्छ ? म कल्पना गर्न सक्दिनँ। यो घटनाको जति नै निन्दा गरे पनि कमै हुन्छ। यो कुनै शब्दमा अटाउन सक्ने विषय होइन। सुस्मिताको घटना सम्झेर एक कप चिया खाने जाँगर समेत हराउँछ। साँच्चि, हामी महिला कति कमजोर धरातलमा बाँचिरहेछौँ ! न जन्म दिने घर हाम्रो हुन्छ। न बिहे गरेर गएपछि श्रीमान्को घर बलियो हुन्छ। आफ्नो वरपर पनि शंकाको दृष्टिले हेर्नुपर्ने बनाउँछ। अलिकति घटनाक्रम तल–माथि पर्नेबित्तिकै आफ्नो भनिएका मान्छे आफ्ना रहँदैनन्। उस्तै परे सुस्मिताले जस्तै मृत्युकै मुखमा पुग्नुपर्छ। यही आक्रान्तले थिलोथिलो बनी दैनिकी धान्नुको पीडा पहाडजस्तै अग्लिँदै छ। हामी नारी भएकै कारण भोग्नुपर्ने यो कस्तो नियति ? आँखामा लाखाँै पीडित महिला दिदीबहिनीको म्लान अनुहार छाइरहन्छ। राज्यको उदासीन व्यवहारले मुटुमा गाँठो पार्छ।  

जबसम्म हामी उच्चशिक्षा लिएर आफ्नो खुट्टामा उभिन समर्थ हुँदैनौँ। घर समाज मात्र भनेर पीडाहरू लुकाएर बसिरहन्छौँ। आफ्ना कुरा खुलस्त राख्न सक्दैनौँ। सहनशीलताको नाममा कमजोरी बुझ्नेलाई प्रश्रय दिइरहन्छौँ। असल र खराब समय अनि पात्र छुट्ट्याउन सक्दैनाैँ। हाम्रो वरपरको संसार बुझ्न सक्दैनौँ। त्यतिन्जेल हामी सर्वत्र असुरक्षित रहने पक्का छ।  

किनकि, यहाँ कानुनी राज्यको उपहास भइरहेको छ। यहाँ सिस्टमले काम गर्दैन। सिस्टम नै छैन भन्दा पनि हुन्छ। दोषी चस्माले हेरिन्छ हरेक कुरा। आफ्नो, अर्को भनिन्छ। न्याय किन्न सकिन्छ, भनिन्छ। जुन देशमा न्याय किनबेच हुन्छ, त्यो देशमा अपराधीले टाउको उठाउने मौका पाउँछन्। त्यतिन्जेलसम्म हामी नारी सुरक्षित छौँ भन्नु स्वरैकल्पना मात्र हुन जान्छ।

प्रकाशित: २० असार २०७७ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App