८ वैशाख २०८१ शनिबार
ब्लग

टाँगाको घोडा र भारतको पट्टी

करिब १५ वर्ष अगाडि। सीमावर्ती सहर वीरगन्ज–रक्सौलमा चल्ने एउटा  टाँगाले धेरैको ध्यान तान्थ्यो। पर्साका एक ग्रामीण बासिन्दाले आफ्नो  रोजीरोटीको सजिलोका लागि घोडाको पिठ्युँलाई नेपाल र भारतको  झंण्डाले रंगाएका थिए। दर्जनौँ पटक वीरगन्ज–रक्सौल गरिरहनुपर्ने दैनिक यात्रामा यसले केही सहजता ल्याएको उनी सहर्ष सुनाउँथे।  

अहिले त्यो घोडा र टाँगावाला कुन बाटोमा छन् थाहा छैन तर नेपाल–भारतबीचको सम्बन्ध भने कठिन मोडमा छ।  रोटी–बेटी, धर्म–संस्कृति र विशेष सम्बन्धको हवाला दिएर टाँगाको घोडाजस्तै एकोहोरो कुदेको प्राचीन गल्ली साँघुरिएको छ। यसको ठाउँमा स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकताको नवीन राजमार्ग निर्माण हुनुपर्छ।

कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन?

साँघुरो जुत्ता लगाएर यसैपनि लामो यात्रा गर्न सकिन्न । जुत्ताको जतिसुकै तारिफ गरे पनि यात्रामा अवरोध त आउँछ नै। नेपाल–भारत सम्बन्धको पछिल्लो अवरोध त्यसैको कडी हो। सीमा विवादबाट सिर्जित पछिल्लो समस्याले नेपाल–भारत सम्बन्धको हरेक पाटो मिहिन तवरले नियाल्न बाध्य बनाएको छ यतिबेला।  

कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन? एउटा भनाइ नै छ–‘एक हातले दिँदा अर्को हातलाई थाहा नहोस्।’ यतिबेला भारतीय मिडिया चर्को स्वरमा ‘नेपालको  हमने इतान दिया, फिर भि हमरा कहाँ नही माना’जस्ता वाक्य दोहो¥याइरहेका छन्। उसले भनेको मान्दा राम्रो, अर्कोले भनेको मान्दा नराम्रो भन्न मात्र हैन, ठान्न समेत थालेका छन् । चीनलाई दोष दिँदै आफू भने पानीमुनिको ओभानो हुने प्रयासमा छन् । यसै प्रयासस्वरूप वास्तविता भन्दा भ्रम फैलाउन उद्यत छन्। त्यो पनि गोयबल्स शैलीमा।

हो, नेपाल–भारतबीच विशेष सम्बन्ध छ। रोटी÷बेटीको सम्बन्ध पनि छ। सीमावर्ती सहरमा बसेर लामो समय पत्रकारिता गर्दा यस्ता सम्बन्धका निकै आयाम आँखैले प्रत्यक्ष नै देखिएको हो। यसका निकै राम्रा पक्ष पनि छन्।  तर त्यही सम्बन्धकै आधारमा अन्य सबै कुरालाई नजरअन्दाज गर्ने हो त? मुखमा रोटी÷बेटी सम्बन्धको नारा लगाउँदै व्यवहारमा भने अर्काको मातृभूमि हडप्न पाइन्छ? के यस्तोखाले सम्बन्ध हडप्ने र मिच्नेमा आधारित हुन्छ?

विशेष सम्बन्ध भएका दुई देशले विशेष वार्ता गरेर समस्या टुंग्याउन किन नसकेको? कि नसकिने हो? पक्कै पनि सकिन्छ। यसका लागि फेरि पनि फराकिलो सोच चाहिन्छ। चीन, अस्ट्रेलिया जस्ता बलिया देशसँग वार्तामा बस्न बाध्य हुने भारत कमजोर देश भएकै कारण वार्तामा बस्न मानिरहेको छैन। कारण– अहिले कोरोना छ रे। त्यसो भए चीन र अस्ट्रेलियासँगवार्ता गर्न किन छेकेन कोरोनाले? जवाफ छैन ऊसँग। आखिर नियतवश गरिएका कुकर्मका जवाफ हुँदैनन् पनि।  

रोटी–बेटी, धर्म–संस्कृति र विशेष सम्बन्धको हवाला दिएर टाँगाको घोडाजस्तै एकोहोरो कुदेको प्राचीन गल्ली साँघुरिएको छ । यसको ठाउँमा स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकताको नवीन राजमार्ग निर्माण हुनुपर्छ ।

तथ्य र प्रमाणका आधारमा एकापसमा वार्ता गरेर हरेक समस्याको समाधान खोज्ने तरिका सनातनदेखिकै हो। तर भारत एकोहोरो रूपमा वार्ताबाट पन्छँदा उसलाई नै समस्या पर्नेपक्का छ । देश जतिसुकै सानो वा ठूलो भए पनि नैतिक मान्यता सबैका लागि उत्तिकै महत्वको हुन्छ। फेरि विवेकानन्दको देशले विवेकहीन कुरो गरेको त्यसै पनि सुहाउने विषय हुँदैन।  

उता भारतले नेपाली नेताले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरा उचालेका चर्चा गर्ने गरेका छन्। सत्ताका लागि हुने पटकपटकका चलखेलमा प्रत्यक्ष साक्षी भएका कारण भारतले यस्तो भन्न सकेको हो। त्यसैले नेपालले पनि आफ्नो अडान प्रस्टसँग राख्न सक्नुपर्छ। भारत सरकारले विवेक गुमाए पनि सिंगो भारतले के सही के बेठीक छुट्याउन सक्छ। महात्मा गान्धीको देशले पक्कै पनि असत्यको साथ दिने छैन भन्ने विश्वास गरौँ।  

अन्त्यमा, घोडाले दायाँबायाँ हेरेर आफ्नो बाटो समाउला भन्ने भयले मालिकले उसको आँखामा पट्टी लगाएको हुन्छ। पट्टी रहुन्जेल घोडा एकहोरो बाटोमा कुदिरहन्छ पनि । जब पट्टी खुल्छ मालिकलाई पनि थाहा हुन्छ, अब घोडा आफूले चाहेको बाटोमा मात्र कुद्नेवाला छैन। आशा गरौँ, नेपाल–भारतबीच बन्ने आपसी सद्भावको राजमार्ग अब टाँगाका घोडा हैन, न्याय र समानताका विकास रथहरूले कब्जा गर्नेछन्।

प्रकाशित: १० असार २०७७ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App