२२ असार २०७७ सोमबार
ब्लग

गाँजाखेती नेपालीको प्रमुख आयस्रोत र क्यान्सरको औषधि

विष्णुप्रसाद खत्री

नेपालका किसान र व्यापारीको मूल परम्परागत आम्दानीको स्रोत हँुदै आएको थियो– भाङ, गाँजा र चरेसखेती । यसले राज्यलाई ठूलो आम्दानी र किसानलाई कम मेहनतमा बढी आम्दानी आयआर्जन हुन्थ्यो । तत्कालीन समाज झन्डै आत्मनिर्भर थियो, तर हाल कृषिखेतीको लागत उठ्दैन र उल्टो भएको छ ।  

तत्कालीन समयमा पश्चिमी देशबाट विकसित उच्शृंखल हिप्पी संस्कृतिले संसारभरि नै परम्परागत संस्कृतिमा विकृति छायो, त्यसबाट नेपाल पनि अछुतो रहेन । दुर्भाग्यवश यो विकृत संस्कृतिले अशान्त र बेचैनको वातावरण बनायो ।

यो परिस्थितिको सिकार भई धनी देशको आन्तरिक दबाबमा  नेपालमा पनि २०३३ सालदेखि गाँजा, भाङ, चरेसको खेती र कारोबारमाथि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि गर्न दिइएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो ।  

मुलुकको यस्तो आर्थिक दुरदशाको मार्मिकता बुझेर गाँजाखेतीलाई वैधानिकता दिइयोस् भनेर सर्वप्रथम विरोध खतिवडाले गैरसरकारी विधेयकका रूपमा संसद्मा विधेयक पेस गरेकामा सो सफल हुन सकेन । पुनः यसपटक काभ्रे जिल्लाका सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले ‘भाङखेतीले वैधानिकता पाओस्, यसबाट जनतामा आयआर्जनको बाटो खुलोस्’ भनेर निजी विधेयक बनाई विधायिका सदनमा पेस गरेका छन् । उनको माग सराहनीय छ । नेपालजस्तो देशमा बढी उब्जाउ हुने, कम लागतमा बढी आय हुने, व्यर्थै खेर जाने हाम्रो प्राकृतिक सम्पदा भाङखेतीको सदुपयोग गरी भाङको प्याटेन्ट राइट समेत लिनुपरेको छ ।  

हाम्रो देश र जनताको आम्दानी बढाउन भाङ, चरेस, गाँजाखेतीको विशेष महŒव छ ।  

गाँजाखेतीको सदुपयोग :  नेपालको अधिकांश भू–भाग हिमाल, पहाड, भित्री मधेस समेतको पाखा–पखेरामा उर्वर रूपमा भाङ, गाँजा र चरेसखेती हुन्छ । यसले हिमाली, पहाडी, गोठ–खरकदेखि खेतीयोग्य जमिनमा थोरै मेहनतले धेरै आम्दानी दिन्छ । लेकका पाखो जग्गामा बिउ मात्र छरेर यसको उब्जाउ हुन्छ ।  

भाङ खेतीबाट उत्पादित वस्तु अझै बहुआयामिक उपयोगी छन् ।  

(१) यसको पलाएको हरिया घाँसलाई दुई हातले माड्दा हातमा आउने कालो लेउ वा चोपले चरेसको लोला तयार हुन्छ । यो तोलाका हिसाबले राम्रो मूल्यमा बिक्री हुन्छ । त्यसलाई अझै प्रक्रियागत प्रशोधन गरेमा चरेसको तेल चरक पनि बनाइन्छ ।  

(२) यसको दानासहितका हाँगा सुकाएमा त्यसको भाङ गाँजा बनाइन्छ । यो साधुसन्त नागा बाबाहरूको अखडामा कक्कडको रूपमा प्रयोग हुन्छ । यो भाङ पनि तोलाका हिसाबले नै बिक्री हुन्छ ।

(३) भाङका दाना खाद्यान्नको रूपमा खाजा, अचार र भाङ घोट्टा आदि बनाई उपयोग गर्छन् ।

(४) यसको बोटका डाँठ काटेर सुकाइन्छ र तिनलाई पानीमा केही दिन भिजाउँदा सफा रेसा धागो निकालिन्छ । यसलाई कतुवामा कातेर मसिनो तथा मोटो कपडा कार्पेट, भांग्रो तथा बोल्दो बनाइन्छ । अझै रंगीन तथा ऊनी धागो मिसाएर सुन्दर सुट तथा कोट बनाउने गर्छन् । यसको कपडा धेरै टिक्छ, जति धोयो उति सफेद हुन्छ । यो परम्परागत प्रविधिको सीपबाट राम्रो आम्दानी हुन्छ ।

(५) बाक्कल निकालेको डाँठबाट इँटा पोल्न र भान्सामा आगो बाल्ने काममा प्रयोग गरिन्छ । यो भाङखेती व्यवसायले अनेक आर्थिक रोजगारी, कुटिर उद्योगको मूल मुख्य माध्यम परम्परागत सीपको आधारमा चल्दै आइरहेको छ ।  

पहाडका आदिवासी जनजातिहरू मगर, गुरुङ, तामाङहरूको आफ्नो धार्मिक पर्वहरूमा आफ्नै परम्परागत पोसाकको पहिरन हुन्छ । सफेद मसिनो बोल्दाको गादो बाँध्ने चलन गुरुङ, तामाङ, मगरहरूमा छ । यिनीहरूको उधौली र उभौली चाड पर्वहरूमा यो वेशभूषा बढी प्रचलित हुँदै छ ।

धार्मिक महत्व : हिन्दू परम्परामा पशुपतिको शिवरात्रि जस्ता ठुल्ठूला मेला जात्रामा साधुसन्त नागा बाबाको अखडामा चरेस र भाङका पत्ता माडेर तथा चरेस राखेर शिव बुटीको रूपमा प्रयोग गर्छन् । भाङमा ९८ प्रतिशत जनउपयोगी तŒव भएकाले शिव बुटीको रूपमा धार्मिक मान्यता छ । शिवको शक्ति उपार्जन गर्न सन्तहरू बम भोले बाबा भनेर पुकार्छन् । नागा बाबाहरू विभूति दलेर खरानी घसेर जाडो हटाउन चरेसको प्रयोग गर्ने गर्छन् । त्यसैले हिन्दू परम्परा अनुसार पशुपति नाथको मेलामा नेपाल सरकारले साधु सन्तलाई दान उपहारका रूपमा नगद, भेटी, वस्त्र, चरेस, भाङ दिने प्रचलन छ । नेपाली चरेस उच्च गुणस्तरको भनी अखडामा तारिफ गरिन्छ । घरायसी औषधिको रूपमा यो चरेस जिउ दुखेमा, पेट दुखेमा, नसा दुखेमा, पिसाबसम्बन्धी रोग भएमा डिमेन्सिया तथा मस्तिष्क रोगीलाई प्रयोग गरिन्छ । हाल यो भाङ, चरेस, क्यान्सर रोग निरोधकको रूपमा प्रयोग हँुदै छ र यसको अझै अनुसन्धान चलिरहेको छ । नेपाल सरकारको सिंहदरबार वैद्यखानामा यो भाङ चरेसबाट अनेक किसिमका तेल चरक बनाई विभिन्न किसिमका औषधि तयार पारिन्छ ।  

भाङको औषधोपचारिक महत्व 

भाङ, गाँजा, चरेस नेपाल तथा संसारभरि नै परम्परागत औषधोपचारका रूपमा प्रयोग हँुदै आएको छ । अझै यसको अनुसन्धान खोज कार्य विभिन्न मुलुकमा जारी छ ।

० यसै क्रममा खोजकर्ताहरूले सन् १९४० तिर भाङमा ‘कन्नाबिनोइड्स’ नामक तŒव छ भन्ने खोजी गरेर अमेरिकामा ‘कन्नाबिनोइड्स रिसर्च इन्स्टिच्युट’ खोलेर भाङले क्यान्सर रोगलाई फाइदा गर्छ भन्ने पत्ता लगाए ।  

० क्यान्सर रोग निको पार्न प्रचलित किमो तथा रेडियो थेरापी गर्दा क्यान्सर भएको अंगका कोशिकालाई मार्छ, कमजोर पार्छ भन्ने मानसिक पीडा खप्न नसकी क्यान्सर रोगले बढी खर्च पनि गराउँछ र मृत्यु पनि हुन्छ भनेर यसको विकल्पको खोज भइरहेछ ।

० नेसनल क्यान्सर इन्स्टिच्युट अमेरिकाको प्रयोगशालामा क्यान्सर लागेको मुसामा प्रयोग गर्दा भाङले क्यान्सर लागेका अंगका कोशिकालाई मार्छ र पुनः जीवित पनि गर्छ । यसरी स्वस्थ कोशिकाको वृद्धि हुन्छ भनेर प्रमाणित गरी देखाए । अझै सन् २०१५ तिर ‘अमेरिकन नेसनल इन्स्टिच्युट अफ ड्रग एभ्युजेज’ले भाङमा ट्युमर क्यान्सरविरुद्ध लड्न सक्ने तत्व रहेको कुराको थप अनुसन्धान गरे ।  

० त्यस्तै सेन्ट जर्ज विश्वविद्यालय लन्डनका अनुसन्धानकर्ता डाक्टर लिउले मस्तिष्क क्यान्सर बिरामीलाई भाङमा भएका तŒवले क्यान्सर रोगले मारेका अंगका कोशिकालाई पुनः जीवित पार्छ भनेर रेडियसन किमो थेरापी नगरी मस्तिष्क क्यान्सरका बिरामीलाई भाङ बढी उपयोगी र प्रभावकारी हुन्छ भनेका छन् । ल्युकोमिया कोषविरुद्ध भाङको प्रयोगले क्यान्सर भएको कोशिकालाई स्वस्थ पारी पुनः जीवित पार्न सक्छ भनेर खोज गरे ।  

० अझै सन् २०१० मा क्यान्सर अनुसन्धानकर्ता डेनिस हिलले आफूलाई प्रोस्टेड क्यान्सर हुँदा भाङको तेल केही महिनासम्म प्रत्यक्ष सेवन गरेर प्रोस्टेड क्यान्सर निको भएको बताएका छन् ।  

० अमेरिका क्यान्सर सोसाइटीका अनुसन्धानकर्ता डाक्टर ओटिस ब्राउले भाङको कुन तत्वले क्यानसर रोग निको पार्छ, त्यसको वैज्ञानिक अनुुसन्धान अझै जारी छ । यसमा संसारभरिकै अनुसन्धानकर्ता जुटेका छन् । यसका निम्ति भाङलाई संयुक्त राष्ट्र संघ समेतका सबै देशले मानवीय कल्याण हेतु वैधानिक बनाई तत्सम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाई आमरूपमा यसको अनुसन्धान र उपयोग गर्न पाउने वातावरण सिर्जना गर्नुपर्छ, ताकि अनुसन्धानकर्ता एवं यससम्बन्धी खोज गर्ने संघ संस्था तथा विश्वविद्यालयले निर्भिक रूपमा अनुसन्धान गर्न सकून् भन्ने सुझाव दिएका छन् ।

यसरी प्राणघातक क्यान्सर रोग निरोधकको रूपमा पहिचान भएको गाँजा, भाङको अझै विस्तृत अध्ययन खोज गरी औषधोपचारका निम्ति भाङको मुख्य सारभूत तत्व खोजी कार्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायत समृद्ध देशले गाँजाखेतीलाई वैधानिकता दिएर अनुसन्धान कार्यमा जुटेका छन् । यसमा नेपाल जस्तो भाङ खेतीको प्रचुरता एवं गुणस्तरीय चरेस उत्पादन हुने मुलुक नेपालले पनि पछि पर्नु हुँदैन । निकट भविष्यमै यो खोजको निष्कर्ष प्राप्त हुने अपेक्षा गरिन्छ ।

परिस्थिति अनुसार मानव समाजको कल्याणका निम्ति ऐन कानुन नीति–नियम, सन्धि–सम्झौता बनेका हुन्छन् । सन् १९६० तिरको हिप्पी संस्कृतिले संसारभरि नै विकृति फैलाएकाले संयुक्त राष्ट्र संघ समेतका अधिकांश देशले गाँजालाई लागू पदार्थको रूपमा लिएर गाँजा खेतमा प्रतिबन्ध लगाइयो । तद्नुसार नेपालले पनि सन् १९६१ मा संयुक्त राष्ट्र बडापत्रमा निसर्त हस्ताक्षर गरी सम्वत् २०३३ मा लागू औषध नियन्त्रण ऐन लागू भएको हो । हाल लामो काल खण्डपछि प्राणघातक क्यान्सर रोगको निरोधक प्रमुख तत्व भाङ चरेस नै हो भन्ने कुरा सिद्ध भइसकेपछि अब मानव कल्याणका निम्ति भाङखेतीलाई वैधानिक मान्यता दिई समाजमा विकृति आउन नसक्ने लागुपदार्थ पनि मात्रागत प्रयोग हुने गरी निर्बाध रूपमा भाङ खेती र त्यसको औद्योगिक कारोबार गर्न पाउने व्यवस्थापनको खाँचो छ । 

यससम्बन्धी समसामयिक व्यवस्थापकीय प्रविधि र प्रणाली अपनाई भाङ खेती गर्न सके राष्ट्रिय आम्दानी बढ्ने र जीविकापार्जनका निम्ति नयाँ आयस्रोतको ढोका खोलिनेछ । गरिबी निवारणको मुख्य माध्यम हुन सक्छ । अन्तर्राष्ट्रिय बजारमा यो गुणस्तरीय नेपाली भाङको ठूलो माग छ । यसले वैधानिकता पाएको दुई–तीन वर्षमै यहाँका किसान र राज्यलाई धनी बनाएर अकाल्पनिक परिणाम दिन सक्छ । जनतालाई कमाउने बाटो दिएपछि मात्र राज्यको प्रगति र उन्नति हुन्छ ।  

प्रकाशित: ८ असार २०७७ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App