२३ असार २०७७ मंगलबार
ब्लग

निजी विद्यालयका शिक्षकको मर्का कसले बुझ्ने ?

परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ ।

विष्णुप्रसाद शर्मा

 

मनोभाव र मानसिक अध्ययनको विज्ञान नै मनोविज्ञान हो । फरक परिस्थितिले फरक मनोविज्ञान सिर्जना गर्छ । कोरोना महामारीले संसार नै आतंकित बनेका बेला आम शिक्षक पनि यसको चपेटामा छन् । अब विशेषगरी निजी संस्थामा आबद्ध शिक्षकमा देखिएका समस्यालाई कसरी हटाउन सकिएला भन्ने विषयमा गम्भीर हुने बेला आएको छ ।  

विगत तीन महिनादेखि शिक्षण संस्था बन्द रहँदा पठनपाठन त हुन सकेको छैन, नियमित रूपमा पारिश्रमिक नआएको अवस्थामा लाखौँको संख्यामा रहेका शिक्षकको दैनिक जीवनमा बाधा–व्यवधान देखिनु सामान्य बनेको छ । परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ । सामान्य अवस्थामा पनि दैनिक जोहो (जस्तैः कोठाभाडा, खानेकुरा, विद्युत्, इन्टरनेट लगायत) आवश्यक खर्च धान्न कठिन हुने गर्छ भने लामो समय आफूले काम गरेको संस्थाबाट पारिश्रमिक नआउने वातावरण सिर्जना हुँदा मनसाय नै परिवर्तन हुने देखिएको छ ।  

नेपालका प्रमुख सहरमा सञ्चालनमा आएका केही संस्थाले आर्थिक अभाव देखाएर ‘नो वर्क नो पे’, ‘बेतलबी बिदा’ आदि बहानामा शिक्षकलाई बिदा गरेको खबर आउन थालेका छन् । विषम परिस्थितिमा आफूले काम गरेको संस्थाबाट यस्तो किसिमको व्यवहार हुनुले आम शिक्षकमा फरक किसिमको मनोवैज्ञानिक असर देखिन थालेका हुन् । कालान्तरमा यसको प्रत्यक्ष असर ती र त्यस्तै संस्थामा पर्ने निश्चित प्रायः छ । ज्ञान दिने गुरुको महिमालाई संस्कृत भाषामा ‘गुरुर्विष्णुः गुरूर्देवो महेश्वरः, गुरुः साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः’ जस्ता श्लोकमा उल्लेख गरिए पनि केही निजी संस्थाले शिक्षकलाई ‘चाँहिदाको भाँडो, नचाहिँदाको ठाँडो’ जस्तै व्यवहार गरेका छन् । तर उनीहरुले कर्तव्य विमुख नभई विभिन्न प्राविधिक समस्याको उल्झनसँगै घरैबाट भए पनि शिक्षण सिकाइ क्रियाकलापमा सहयोग गरेकै छन् । कोरोनाले लोकप्रिय बनाएका अनलाइन लगायत शिक्षण पद्धति तिनै लगनशील शिक्षकका माध्यमबाट मात्र सफल भएको कुरा नकार्न सकिन्न । तथापि एक सामान्य शिक्षकको दैनिक जीवनयापनलाई सहज बनाउनुको साटो कतिपय शैक्षिक संस्थाका अप्ठेरो पार्ने किसिमका क्रियाकलापले शिक्षण पेसाप्रति नै आमशिक्षकको मनोभावना परिवर्तन भएको छ ।  

‘अनलाइन कक्षा मात्र लिन लगाउने तर तलबको कुरै नगर्ने’, ‘माघ महिनाकै तलब बाँकी थियो, अहिले त झन्डै ६ महिना भयो, कहिले पो आउने हो’ आदि जस्ता शब्द शिक्षकका मुखबाट सुनिएका प्रतिनिधि प्रतिक्रिया हुन् । यी र यस्ता किसिमका मिश्रित प्रतिक्रियाले शैक्षिक क्षेत्रमा निकै नकारात्मक असर देखिने अनुमान लगाउन सकिन्छ । कोराना कहरका कारण नेपाल सरकारको निर्णय अनुसार शैक्षिक संस्था असोज यता खुल्ने सम्भावना छैन, सरकारी स्कुलका शिक्षकको त ढिलो चाँडो सम्बोधन होला, तर यो महामारीको अन्त्य नभएसम्म निजी संस्थामा काम गर्ने आमशिक्षकका बारेमा सम्बन्धित निकायले समयमै चासो दिनु जरुरी छ ।  

यथार्थमा नेपालका निजी शैक्षिक संस्थामा काम गर्ने अधिकांश शिक्षकको आयस्रोत दैनिक जीवनयापन गर्न पनि नपुग्ने खालको छ । जसले गर्दा धेरैजसो शिक्षकले शिक्षण पेसालाई प्राथमिकतामा राखेको पाइँदैन । राम्रो अवसर नआउन्जेलसम्म मात्र शिक्षण पेसालाई अँगाल्ने र अवसरको खोजीपछि यसलाई लŒयाइनुले नेपालको शैक्षिक भविष्य कस्तो हुने हो, यो हेर्ने बाँकी छ । विद्यालय सञ्चालकको अनावश्यक दबाब, उचित पारिश्रमिकको अभाव, जागिरको कम सुनिश्चितता, समयमै तलब नपाउने, चाप्लुसीपनजस्ता व्यवहार आजका निजी संस्थामा काम गर्ने आमशिक्षकका मुख्य भोगाइ हुन् । शिक्षालाई सेवाभन्दा व्यवसायका रूपमा लिइँदा शिक्षासेवी भनिएका व्यक्तिको अकर्मण्यताका कारण आज शिक्षण पेसा नै अलोकप्रिय बन्ने अवस्थामा छ । शिक्षक नै शिक्षाको सफलता र असफलताको मुख्य कारण हो । शिक्षकले राम्रो शैक्षिक वातावरण उत्पन्न गरेको छ छैन भन्नेमा शिक्षाको सफलता र असफलता निर्भर रहन्छ । शिक्षकले शैक्षिक क्रियाकलापमा आफूलाई अब्बल राख्नुपर्छ । शिक्षक व्यक्तिगत रूपमा राम्ररी विकसित हुनुपर्दछ र अविछिन्न रूपले आफूलाई विकास गर्न जान्ने कार्यविधिमा दक्ष हुनुपर्छ, यसको मूल्यांकन कसले गर्ने ? यति हँुदाहुँदै पनि विभिन्न समस्याबाट गुज्रिरहेका शिक्षकलाई कोरोना महामारीले आक्रान्त पारेको छ । यस्तै कारण कतिपय शिक्षक शिक्षण पेसा नै छाडेर फरक किसिमका पेसा व्यवसायमा लागेका उदाहरण पनि हामीमाझ नै छन् ।  

‘सुखी नेपाली, समृद्ध नेपाल’ अहिलेको हाम्रो नारा छ । कोनारालाई पछ्याइरहेको नेपालले आजको कठिन परिस्थितिमा आमसर्वसाधारणसँगै शिक्षकका मनोभावनालाई समयमै सम्बोधन गर्न नसक्ने हो भने भोलिको त्यो स्वर्णिम समाज स्वैरकल्पनामा सीमित हुनेछ । जनजीवनलाई व्यवस्थित गराउँदै लैजाने क्रममा यथाशीघ्र सम्बन्धित सबैले आ–आफ्ना कर्मचारी सबैलाई हौसला दिने गरी सम्बोधन गर्नु जरुरी छ । शिक्षकको हितलाई ध्यानमा राख्दै यथोचित व्यवहार भएमा मात्र भोलिका दिन सुनौला बन्नेछन् । थोरै कमाइकै भरमा आफ्नो जीवन व्यतीत गरिरहेका ती शिक्षक नै आजको समाजका मार्गदर्शक हुन् । उचित समयमा सही आत्मसम्मानको अभाव हुँदा समाज परिवर्तनका संवाहक शिक्षकको मनोबल गिर्न सक्छ, जसकारण भविष्यमा नेपाली शैक्षिक जगत् कतातिर मोडिने हो, अनुमान गर्न गाह्रो छ ।  

सर्वांगीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट–२०१८ मा शिक्षक शिक्षा सम्बन्धमा यसरी उल्लेख गरिएको छ– तलब भत्ताको सन्तोषजनक स्केल र सामाजिक स्तर दिएर शिक्षण पेसाको उचित सम्मान, जसबाट यस पेसामा योग्य मानिस प्राप्त हुन सकून् । तर, शिक्षक र शैक्षिक संस्थाको हकहितका लागि स्थापित विभिन्न संस्था र कमजोर सरकारी नीतिले आज निजी शैक्षिक संस्था र त्यसमा आश्रित कर्मचारी लगायत शिक्षकको भविष्य सुनिश्चित हुन सकेको छैन । नातावाद, कृपावादको जालोबाट बेरिएका संस्थामा दिलोज्यान लगाएर मेहनत गरेकाहरू आज अलपत्र अवस्थामा छन् ।  

तसर्थ, समग्र सरकारी विद्यालयका शिक्षकको सही मूल्यांकन तथा निजी शैक्षिक संस्थामा आबद्ध भएका शिक्षकको समस्याको विषयमा समयमै ध्यान पुगेको खण्डमा मात्र शिक्षित समाजको परिकल्पना गर्न सकिन्छ ।  

(शर्मा पेसाले प्राध्यापक हुन् ।)  

प्रकाशित: ८ असार २०७७ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App