शिव पोखरेल
सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई ढाक्छ, यसका लागि सूर्य र चन्द्रको गुढयुति हुनु आवश्यक हुन्छ। यो स्थिति औंशीको अन्त्यमा मात्र सम्भव हुन्छ।
हाम्रो पूर्वीय शास्त्रअनुसार वैदिक कालमा अत्रि ऋषि र उनका शिष्य ग्रहणको शोध र अनुसन्धानमा सर्वश्रेष्ठ थिए। यो कुरा ऋग्वेदको अनेक स्थानमा उल्लेख गरिएको छ। यसमा उनीहरूको ध्येय सूर्य–हाम्रो पृथ्वी रहेको सौर्यमण्डलको प्रमुख प्रकाश स्रोत र यसका जीवनदायी पवित्र किरणलाई ग्रहणका बेलामा आइपर्ने क्षणिक ‘राहुरुपी बाधा र दुःखको प्रभावबाट’ छुटकारा दिलाउनु थियो भनेर बिम्बात्मक रुपमा ऋग्वेदमा भनिएको छ।
यसको एक अर्थ जीवनको ऊर्जा स्रोत प्रकाशलाई पनि समयसमयमा दुःखरुपी ग्रहणबाट गुज्रँदै र परिष्कृत हुँदै चल्नुपर्छ। त्यो यात्रामा गुरुको साथ चाहिन्छ र त्यो नियम त्यही प्रकाशको कणमा पनि लागू हुन्छ।
गुरुका रुपमा अत्रि ऋषिले जीवनको स्रोत प्रकाशलाई ग्रहणको दुःखबाट बाहिर ल्याएको भन्दै, ऋग्वेदमा भनिएको छ, ‘यस्तो शक्ति उनीबाहेक अरु कसैसँग थिएन।’
यो ग्रहण ऐन्द्र पर्वमा परेकाले शासकहरूमा परस्पर वैमनस्य, युद्धको स्थिति, शासनको अस्थिरता, जाडोमा तयार हुने बालीको हानी, प्रायः कुशलता र शान्ति व्यवस्थामा कमी रहन्छ।
अत्रि ऋषिपछि आएका अरु ऋषि गुरुहरूले ग्रहणको अझै बस्तुनिष्ठ अध्ययन र गणितीय र ज्योतिषीय ब्याख्यालाई अघि बढाए। ती सबैमा प्राकृतिक आकाशीय प्रक्रियाका रुपमा रहेको ग्रहणलाई प्रतीक मानेर मानव जीवनमा बेलाबेलामा आइपर्ने दुःख र त्यसबाट धैर्यताका साथ अघि बढेर जीवनलाई पलपल नयाँ भएर बाँच्नु पर्छ भन्ने भाव पनि अभिव्यक्त छ।
असार ७ गते आइतबार बुध स्वामी मानिएको वायु तत्वीय मिथुन राशि, मध्य उत्तरको हात्ती मार्गमा पर्ने चन्द्रमा स्वामी मानिएको मृगशिरा र रूद्र स्वामी मानिएको आद्र्रा नक्षत्रमा काठमाडौंको समय बिहान १० बजेर ५० मिनेटमा सुरू भएर १२ː३८ मिनेटमा मध्य भई अपरान्ह १४ː२३ मा सकिने गरी चूडामणि खण्डग्रास सूर्यग्रहण लाग्नेछ। ग्रहण लाग्ने पूरा समय ३ घन्टा ३३ मिनेट हो। नासाको वेवसाइट अनुसार यो ग्रहण अधिकांश अफ्रिका दक्षिण(पूर्व यूरोप, एसिया कुण्डलाकारː मध्य अफ्रिका, दक्षिण एशिया, चाइना, प्यासिफिकबाट देखिन्छ।
सूर्यग्रहणको विशेषता
चूडामणि योग– जब सूर्यग्रहण आइतवारमा नै र चन्द्रग्रहण सोमवारमा नै लाग्यो भने अन्य बारहरूको अपेक्षा ग्रहणको फल अधिक हुन्छ।
दक्षिण मार्गमा पर्ने मृग वीथी(मार्ग)को नक्षत्रमा शनि, बृहस्पति र बुध ७६ पुसको सूर्यग्रहणमा सूर्यको अति नजिक र पृथ्वीबाट टाढा भएको अवस्था थियो। यो ग्रहण ठिक विपरित अवस्थामा लाग्दै छ। अहिले आकाशमा मण्डलमा शनिको आफ्नै एवं बृहस्पतिको निचो हुने पृथ्वी तत्वीय राशि मकरमा एवं वैदिक मान्यता अनुसार विश्वदेवले प्रतिनिधित्व गर्ने र वर्ष पुरूषको नाइटो (विश्वको बीच) मानिने उत्तराषाढा नक्षत्रमा शनि र बृहस्पतिले भ्रमण गरिरहेको देखिन्छ।
झन्डै ४ वर्ष अन्तरालमा देखिएको यो भन्दा अगाडि पुसको सूर्यग्रहण यसपाला भने ६ महिनाको अन्तरालमै फेरि देखिन लागेको छ।
पाँचौं शताब्दीका गणितज्ञ तथा खगोलविद् आचार्य वराह मिहिरले ग्रहणका विषयमा पौराणिक मतको खण्डन गरेर विशुद्ध वैज्ञानिक दृष्टिकोणलाई नै समर्थन गरेका छन्। बृहत्संहितामा ग्रहणको फल समष्टिगत प्रकारले देश विशेषका लागि शुभ या अशुभ अवस्था अनुसार बताइएको छ।
आज ग्रहणको समयमा कुन पर्व, अयण, महिना, कुन राशि, नक्षत्र परेको छ? दिनमानलाई सात भाग गर्दा कुन सप्तम भागको समयमा ग्रहणको प्रारम्भ तथा अन्त भएको छ? ग्रहण लाग्ने ग्रहलाई कुन र कुन ग्रहले हेरेको छ तथा कुन ग्रहको साथमा छ? ग्रहण देखिने ठाउँमा माथि भनेका संयोगहरूले, व्यक्ति, समाज, राष्ट्र तथा चराचर विश्वमा माथि संकेत गरेको विभिन्न प्रकारका संयोगहरूले के कस्तो प्रभाव पार्न सक्छ? यी सबै प्रकारका लक्षणलाई सरल रूपले बुझाउने छु।
६ महिनाअघि ग्रहणकै दिन प्रकाशित ७६ पुस १० गते सूर्य ग्रहणकै दिन नागरिक दैनिकमा प्रकाशित लेख ग्रहणका प्रभाव प्रकाशित भएको थियो। त्यो सूर्यग्रहणमा बृहस्पति र बुध पनि ग्रस्त देखिएका थिए। हुन त शनि पनि सूर्यको साथमा धनु राशिमा भइकन ग्रस्त भने थिएन।
त्यो लेखमा संकेत गरिएको केहि प्रभाव अध्ययन गरी हेरौं। धनु राशिमा ग्रहण हुँदा मन्त्री, प्रधान पुरूष, प्रधान अमात्य, घोडा, विदेह (मिथिला) प्रदेश, पहलवान्, वैद्य, चिकित्सक, व्यापारी, क्रूर व्यक्ति तथा हतियारको तकनीकी जानकारी राख्नेहरूलाई कष्ट हुने मानिन्छ।
ग्रहण लाग्ने दिनको दिनमानलाई ७ भाग गर्दा द्वितीय सप्तम भागमा ग्रहणको प्रारम्भ भएकाले (किसान, खेती गर्ने मजदुर, पशुपालक, स्थानीय नेता, सेनापति र सैन्य अधिकारीहरूलाई कष्ट हुने मानिन्छ।
ग्रहण लाग्ने ग्रह सूर्यका साथमा वृहस्पति पनि ग्रस्त देखिँदा राष्ट्रप्रमुख, सचिव, मन्त्री, बालक, विद्वान्, धर्माधिकारी जनलाई कष्ट, सिन्धु नदीआसपासका भूभाग (भारत पाकिस्तानको सीमान्त क्षेत्र कश्ीमरलगायत) तथा उत्तर दिशाको प्रदेशहरूमा हानी हुन्छ।
सूर्य एवं चन्द्रमाका साथमा बुध ग्रह पनि ग्रस्त हुँदा भारतको उत्तर प्रदेश, नेपालको सीमा, बिहार, बंगाल, भारतको पूरै पूर्वी सीमान्तमा उपद्रव, स्त्री, उच्च शिक्षित मान्छे र शासकहरूलाई कष्ट हुन्छ।
आजको सूर्यग्रहणको फल
गणनाअनुसार असार महिनाको सूर्यग्रहण तेस्रो नम्बरको इन्द्र पर्वमा पर्छ, जसको फल बृहत् संहितामा यसरी उल्लेख छ:
यो ग्रहण ऐन्द्र पर्वमा परेकाले शासकहरूमा परस्पर वैमनस्य, युद्धको स्थिति, शासनको अस्थिरता, जाडोमा तयार हुने बालीको हानी, प्रायः कुशलता र शान्ति व्यवस्थामा कमी रहन्छ।
सूर्य उत्तरायणमा ग्रस्त छ भने उच्चवर्ग, शासकवर्ग, ठूला नेता र शासनका लागि अशुभ हुन्छ।
असारमा ग्रहण लाग्दा नदी, पानीको बाँध, पानीको स्थानमा संकट एवं अशान्ति, पिउने पानीको समस्या, फल र सब्जी (तरकारी) को हानी अफगानिस्तान, चीन, कश्मीरमा संकट उत्पन्न हुन्छ।
प्रसिद्ध स्त्रीहरू, राजा वा राजसदृश मान्छे, कलाकार, बाहुबली, बलिष्ठ मान्छेलाई कष्ट हुन्छ।
ग्रहणको समय सूर्य वा चन्द्रका साथ कुनै ग्रह रहँदा पनि फल हेर्नु पर्छ। साथै, ग्रह जति नजिकै छ वा जति गहिरो युति छ, अशुभ फल र कष्ट पनि त्यति नै उत्कट हुन्छ।
ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्रमा पनि कष्ट हुन्छ भनिएको छ।
मृगशिराको कारक क्षेत्र– वस्त्र उद्योग, फल, फूल, सब्जी, महंगा रत्न वा पत्थर, वनवासी मानिस, वैदिक विद्वान, गायक वा संगीतज्ञ, कामुक व्यक्ति, सन्देश वाहक, पशुपंक्षी आदि।
आर्दाको कारक क्षेत्र–बलात्कारी, हत्या, गुण्डागर्दी, दहशत गर्दी, ठगेर जीविका चलाउने व्यक्ति, परस्त्रीमा लोभ गर्ने, भ्रष्ट कर्मचारी, भ्रष्टचारी, दलाल, झगडा लगाउने व्यक्ति, कपटी, कपट लेखक, चलाख, तान्त्रिक, अपहरणकर्ता, दण्ड दिने विभाग, विष चिकित्सा, गैरकानूनी काम गर्ने व्यक्ति आदि।
आकाशलाई ७ भागमा बराबर पार्दा तृतीय सप्तम भागमा ग्रहणको प्रारम्भ भएकाले कारीगर, दस्तकार, मन्त्री र हस्तकला क्षेत्रमा काम गर्नेवालालाई कष्ट र तनाव हुन्छ।
पाँचौं सप्तम भागमा ग्रहणको मोक्ष भएकाले शष्पभोजी अर्थात् घाँस खानेवाला पशुहरू, मन्त्री, शासक, राजकीय जन, शासनाधीशको विश्वस्त र व्यापारीलाई विशेष कष्ट हुन्छ।
ग्रहण लाग्ने ग्रह सूर्यको साथमा बुध भएकाले–उत्तर प्रदेश, नेपालको सीमा, बिहार, बंगाल, भारतको पूरै पूर्वी सीमान्तमा उपद्रव, स्त्री, उच्च शिक्षित मान्छे र शासकहरूलाई कष्ट। तर यसपाली बुध अस्त देखिए पनि पुसको ग्रहणजस्तो नजिक छैन।
दृक पञ्चाङ्ग अनुसार मंगलको चौथो दृष्टिको फल यसप्रकार छ:
ग्रहण लाग्ने ग्रहलाई मंगलले हेर्दा–राजपक्ष, शासक दललाई हानी, युद्धभय, अग्निकाण्ड, विस्फोट। अर्को कुरा यो वर्ष भदौ मध्यदेखि असोज मध्यको बीचमा जनमानसलाई मुखको रोगले पीडित बनाउन सक्ने पनि बुझिन्छ।
कूर्म (कछुवा) चक्रअनुसार यो ग्रहणको अशुभ प्रभाव कुनै पनि देश, प्रदेश, राज्य एवं नगरको मध्यभाग, उत्तरपश्चिम र पूर्व दिशातर्फ बढी देखिन सक्छ। असोजबाट दक्षिण दिशातर्फ पनि संघर्ष र विवाद बढ्ने हुन्छ, विश्वले युद्ध लगायत विषयमा विशेष सजगता अपनाउनु राम्रो हो।बृहस्पति, शनि एउटै राशि, परस्पर समसप्तक तथा एउटै नक्षत्रमा भ्रमण गर्दा विश्वमा अनीति,उपद्रव र जनहानी हुन्छ भनेर भनिएको छ। जबकी एक नक्षत्रमा सामान्य गति हुँदा पनि भीषण फल दिने हुन्छ। तब यी ग्रह बक्रि आदि र निचगत पनि हुँदा त अति भिषण फल हुन्छ नै भनिएको छ।
विसँ २०७७ को असार, साउन, भदौ र असोज पछि उताका महिनामा विशेष सजगता अपनाउनु पर्ने नै बुझिन्छ।
ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग पिसाब गर्नाले दरिद्रता तथा दिसा गर्नु पनि नराम्रो नै मानिन्छ। त्यसैले ग्रहण लाग्नु अलि अघि देखिनै सक्दो पानी पनि न पिउनु राम्रो।
ग्रहणका बेला मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ।
(पोखरेल वास्तु गुरू हुन्।)
प्रकाशित: ७ असार २०७७ ०६:०३ आइतबार