coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

ज्ञानेन्द्र शाहले गणतन्त्र सुदृढ पार्न लागेकै राम्रो

मध्यममार्ग प्रतिगमन होइन

डा. गेहेन्द्रमान उदास ‘पोखरेली’

मध्यममार्ग अर्थात् सम्यक मार्ग यथार्थतामा आधारित उचित मार्ग हो । यस मार्गका प्रथम प्रणेता गौतम बुद्ध हुन् । उनको यो सम्यक मार्ग राज्य चलाउने शासकहरूले जनताको मान–सम्मान, निरन्तर शान्ति र सन्तुष्टमय सुख प्राप्तिका लागि अपनाउनुपथ्र्यो । विडम्बना, उनको यथार्थवादी वैज्ञानिक धम्मलाई हिन्दू, मुस्लिम, ईसाइ आदि धर्मजस्तै गरी ईश्वरीय धर्म भनी नाम दिएर गौतम बुद्धको सिद्धान्तविपरीत अपनाएका छन् । वास्तवमा बुद्धको ‘धम्म’ धर्म होइन । यो लेखको विषयवस्तु राजनीतिसँग सम्बन्धित भएकाले राजनीतिक सन्दर्भमा हेरौँ । 

६ वर्षअघि १८ फागुन २०७० को काठमाडौंबाट प्रकाशित भएको ‘नागरिक’मा राजा त्रिभुवन र गणतन्त्र नामको शीर्षकमा मेरो लेख प्रकाशित भएको थियो । उक्त लेखमा ‘राजा वीरेन्द्र व्यवहारमा पनि जनता नै राज्यको मौलिक, सार्वभौमिक शक्तिको स्रोत भन्ने नवीन संस्कार र भावनाले युक्त भएका व्यवहारवादी जनमुखी गणतन्त्रात्मक भावनाका राजा थिए’ भन्ने लेखिएको थियो । त्यस लेखप्रति छपकैया, वीरगन्ज निवासी शिवशंकर यादवज्यूले शुक्रबार २३ फागुन २०७० को उक्त नागरिकमा ‘राजाको नियोजित बखान’ शीर्षक दिएर निम्न लिखित प्रतिक्रिया जनाएका थिए, ‘१८ गते आइतबार’को नागरिकमा गेहेन्द्रमान उदास पोखरेलीको लेख ‘राजा त्रिभुवन र गणतन्त्र’ पढेर उनको विद्यावारिधिको ज्ञान थाहा पाउने मौका दिएकामा खुसी लाग्यो । साथै मलाई पनि केही कुरा भन्न मन लाग्यो । चार सहिदको माथि बसेका राजा त्रिभुवन गणतन्त्रको माथि पनि बस्ने छन् जस्तो भान भयो । गणतन्त्रको शाब्दिक उच्चारण उनले गरे होलान्, तर चाहेकामा, २००७ देखि कति वर्ष चाहेको थियो ? त्यो उनको जीवनकालमा किन भएन ? मलाई त यस्तो लाग्छ कि नेपालमा अब सुनियोजित ढंगले शाह वंशलाई महिमा गर्ने काम सुरु भइसकेको छ । पृथ्वीनारायण शाहको बहस हुँदाहुँदै अब हामी त्रिभुवनको बहसमा लाग्नुपर्ने भयो । केही दिनअघि पनि यस्तै मध्यममार्गी लेख पृथ्वीनारायणको बारेमा आएको थियो, (सायद त्यो लेख मेरै हुन सक्छ) । यी निकम्मा राजाहरूको बयान गर्नु अब जनताको समय खेर फाल्नु हो ।’ यसरी यादवज्युले मेरो लेखलाई मध्यममार्गी भन्दै निकम्मा राजाहरूको बयान गर्नु अब जनताको समय खेर फाल्नु हो भनी टिप्पणी गर्नुभएको छ । मध्यममार्गलाई प्रतिगमनको प्रतीकको रूपमा इंगित पनि गर्नुभएको भन्ने लागेको छ । तर मध्यममार्ग अगाडि बढेको कदमलाई फेरि पछाडि फर्काउनु होइन ।

फेरि राजतन्त्र फर्काउने नियत राख्नु, नागरिक भएका ज्ञानेन्द्र शाहको आफ्नै वचनबद्धताको उल्लंघन हो । यसको सट्टा गणतन्त्रलाई सुदृढ गर्ने कदम चाल्नु युग अनुसारको अग्रगमन हो र मध्यममार्ग पनि । ज्ञानेन्द्रलाई फेरि सत्तामा आउने पूर्वाग्रह छ भने राजा हुनका लागि होइन, राष्ट्रपति र प्रधानमन्त्री हुनका लागि राजनीति गर्नुपर्छ ।

अब म यही कुरालाई केन्द्रमा राखेर अघि बढ्छु । सर्वप्रथम पृथ्वीनारायण शाहको सन्दर्भको कुरा गरौं । राजा पक्षका परम्परावादीले ईश्वरको कुरासँग जोड्ने प्रयास गरेर गर्भदेखि नै नेपाल एकीकरणको अवतारको रूपमा जन्मेका र राष्ट्रिय एकीकरण कर्ता भनी अतिशयोक्ति कुरा गर्छन् भने उनका विरोधी खासगरी नेपालका आदिवासीले हाम्रो राज्य अपहरण गर्ने भाषा, संस्कृति र इतिहासलाई विस्थापित गर्ने निरंकुश साम्राज्यवादी हुन्’ भनेर विरोध गर्छन् । उनीहरूले २०६२÷६३ को जनआन्दोलनमा त उनको शालिक समेत ढलाइयो ।  

यथार्थ कुरा के हो भने उनी ईश्वरको अवतार पनि होइनन्, राष्ट्रिय एकीकरणकर्ता  पनि होइनन् । तर नेपाल एकीकरणकर्ता भने निसन्देह हुन् । एकीकरणकर्ताको रूपमा गर्भमै अवतार लिएर जन्मेका होइनन् । गोर्खा राज्य गरिब भएको र आँगनकै नेपाल मण्डल धनी भएकाले काठमाडौं उपत्यकाका शक्ति र सम्पत्तिले मात्तिएका तीन झगडालु राजाहरूलाई जित्ने मनसुवाले अगाडि बढेका हुन् र उनको कदममा गोर्खाका जनताले साथ दिएकाले पृथ्वीले सफल अभियान थाल्न सकेका हुन् । तर त्यो साम्राज्यवादी अभियान उनका कान्छा छोरा बहादुर शाहको नायबी काल र त्यसपछि मुख्तियार भीमसेन थापाको शासनकालमा किल्ला काँगडामा पुगेर मात्र पूरा भएको हो । यद्यपि काठमाडौं उपत्यका जित्ने साम्राज्यवादी अभियान भए पनि, त्यसले नेपालको राजनीतिक र भौगोलिक रूपले एकीकरण भएको तथ्य कसैले नकार्न सकिँदैन र नकार्न पनि हुँदैन । किनभने यसले नेपालको अस्तित्वमा एकीकृत अस्तित्वको, पहिचान बनाएको छ ।  

पृथ्वीनारायण शाहको सन्दर्भमा मैले मध्यम मार्गलाई यसरी औँल्याएको छु । त्यो कुरालाई पृथ्वीनारायण क्याम्पसका इतिहासका एक प्राध्यापकले पृथ्वीजयन्तीको उपलक्ष्यमा ‘श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको उपदेश आज पनि सान्दर्भिक छ’ भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुत गरेको थियो । मलाई टिप्पणीकारको रूपमा नियुक्त गरिएकाले मैले यस्तो व्यहोराको टिप्पणी गरेँ, ‘कार्यपत्रमा पृथ्वीनारायणको उपदेशको अनुकूल पक्षको मात्रै विश्लेषण र विवेचना भएको छ । तर प्रतिकूल सन्दर्भको कुरा उठाइएको छैन । जस्तै, नेपाललाई ‘खास हिन्दूस्तान हो’ भनेको र चार वर्ण छत्तीसजातको साझा फूलबारी’ भनेको कुरा नेपालीको आन्तरिक राष्ट्रियता, स्वाभिमान र सुदृढ एकताका लागि आपत्तिजनक छ । यसमा पनि प्रकाश पार्नुपर्दछ । शुद्धीकरण गर्नुपर्दछ । यसरी इतिहासबाट पाठ सिक्नका लागि र नेपालको राष्ट्रियता र स्वाभिमानको प्रगतिका लागि पृथ्वीनारायणको राम्रो गुण नेपालीले सम्झनुपर्छ ।’ यो विचार मध्यम मार्ग हो ।  तर यसको मतलब परम्परावादीहरूको निरंकुश धारमा शाह वंशको राजतन्त्र फर्काउने भनेको होइन ।

राज्यको विकासको सिद्धान्तमा राज्यका चार अंगमध्ये जनता प्रमुख अंग (आधार) भएको देखिन्छ । राज्यको सार्वभौम शक्ति र मालिक अन्ततोगत्वा जनता नै देखिन्छ, यद्यपि निरंकुश राजतन्त्रमा यो शक्ति राजाले प्रयोग गरेको इतिहासमा देखिन्छ । त्यसैले गणतन्त्र यथार्थमा जनताको तन्त्र हो । अब यसलाई फेरि हटाएर राजतन्त्र पुनस्र्थापना गर्नु भनेको पूर्ण प्रतिगामी कदम हो ।

राजदरबारको हत्याकाण्ड र अरुमा समेत जस्तोसुकै दोषारोपण भए पनि ६२÷०६३ को जनआन्दोलनमा ज्ञानेन्द्रको शाहले हत्याहिंसा नगरीकन आठ दलसँग सम्झौता गरेको भए न राजतन्त्र उन्मूलन हुन्थ्यो, न आजसम्म संक्रमण काल लम्बिन्थ्यो । यो सम्झौताको एक मात्र कडी त्यसबेला राजाले संविधानसभाको घोषणा गर्नु थियो । त्यस कुरालाई लिएर मैले ‘राजाले तुरुन्त संविधानसभाको घोषणा गर्नुपर्छ’ भन्ने शीर्षकमा मेरो लेख ३०÷१२÷०६२ मा पोखराबाट प्रकाशित ‘पोखरापत्र दैनिकमा’ प्रकाशित भएको पनि थियो । तर मेरो कुरा कसैले पनि सुनेन । आवाजहीनहरूको आवाज भयो । अहिले फेरि राजतन्त्र फर्काउने नियत राख्नु, नागरिक भएका ज्ञानेन्द्र शाहको आफ्नै वचनबद्धताको उल्लंघन हो । यसको सट्टा गणतन्त्रलाई सुदृढ गर्ने कदम चाल्नु युग अनुसारको अग्रगमन हो र मध्यममार्ग पनि । ज्ञानेन्द्र शाहलाई फेरि सत्तामा आउने पूर्वाग्रह छ भने राजा हुनका लागि होइन, राष्ट्रपति र प्रधानमन्त्री हुनका लागि राजनीति गर्नुपर्छ । त्यो पनि धर्मको आडमा होइन, आजका नेताहरूले गरेको राजनीति र सत्ता सञ्चालन गर्दा गरेको प्रत्यक्ष वा अप्रत्यक्ष भ्रष्टाचार, अनियमितताको विरुद्ध राजनीति गर्नु आजको आवश्यकता हो । त्रिभुवन र वीरेन्द्रबाहेक अन्य शाह राजाहरूले गरेजस्तै जनताको सार्वभौम सत्ता र राज्यको मालिकत्वको विरुद्ध धर्मको नाममा अदूरदर्शी राजनीति गर्नु हुँदैन । यसले अशान्ति र अन्योलको वातावरण मात्र ल्याउँछ । गणतन्त्रात्मक लोकतन्त्रका नेताले पनि अप्रत्यक्ष रूपले धर्मको राजनीति गरिरहेछन् । कसैले पनि कुनै पनि धर्मको आडमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राजनीति गर्न हुँदैन । मानवीय विश्वका सबै देश धर्म निरपेक्ष राज्य हुनुपर्छ । तब मात्र मानवीय जीवनशैली विश्वमा विकास हुन्छ । यसको आवश्यकता विश्वमा फैलेको कोभिड–१९ कोरोना भाइरसको प्रकोपले देखाएको छ । यस तथ्यलाई वास्ता नगरी राजनीतिकर्मीले ‘राज्यसत्ता प्राप्त गर्न परिस्थिति अनुसार जता पनि लाग्न सकिन्छ’ भनी वेश्यावृत्तिको उपमा दिएको सुन्दा गणतन्त्र मात्र होइन, लोकतन्त्र नै त्यही कारणले असफल हुने वास्तविकता आउने देखिन्छ ।  

मैले जहिले पनि मध्यममार्गको वकालत गर्दै आइरहेको छु अर्थात् सत्यतथ्य (यथार्थ)लाई समातेर इतिहासमा गरेको गल्तीलाई नदोहो¥याउने, राम्रो कामलाई कोसेढुंगा थपेर प्रगति गर्ने यथार्थ कुरालाई ढाकछोप गरेको दोष हटाएर यथार्थलाई अँगाल्ने । यी निर्देशन मध्यम वा सम्यक मार्गका स्रोत हुन् ।  

यसरी धेरै क्षेत्रका समस्या समाधान गरी प्रगति गर्न धेरै मध्यममार्ग लेखद्वारा सार्वजनिक गरेको छु र गर्दैछु पनि ।  

नेपाललाई विधिवत संघीय लोकतान्त्रिक गणतन्त्र’ कार्यान्वयन भएको प्रस्ताव पारित गरेको घोषणापछि मैले पाँच विकास क्षेत्रलाई नै पाँच विकास प्रदेशको रूप दिने विचार तत्काल पोखराबाट निस्कने स्थानीय पत्रिकामा दिएको थिएँ । संक्रमण कालमा कोसेढुंगाका रूपमा संघीयताको अग्रगामी कदम विकास गर्न, यो नै त्यो बेलाको उचित अर्थात् यथार्थवादी मध्यम मार्ग थियो । किनभने प्रत्येक विकास क्षेत्रले हिमालदेखि तराईसम्मको भूगोल समेटेको, सबै क्षेत्रका जनतामा मनोवैज्ञानिक भावना विकास गरेको, प्रशासनिक प्राथमिक पूर्वाधार बनाएको, प्रत्येकको सिमाना निर्धारण गरिएको, नयाँ संरचना बनाउनुभन्दा विकास क्षेत्रलाई प्रदेशको रूप दिँदा खर्च पनि कम हुन्थ्यो । यी कुरालाई दर्शाउँदै २०७२ को साउन ४ र ५ गते पोखरामा सुझाव संकलन गर्न आएका टोलीसमक्ष पनि राखेको थिएँँ । मेरो कुरालाई सायद पञ्चायतकालको भनेर कसैले वास्ता गरेन । तैपनि म निराशाबाट हार नखाने मान्छे भएको हुनाले ‘पाँच विकास क्षेत्रलाई नै तत्काल पाँच प्रदेश किन नबनाउने ?’ भनी शीर्षक राखेर २०७२÷४÷१५ को पोखराबाट निस्कने राष्ट्रिय दैनिक आदर्श समाजमा प्रकाशित गरेँ । आज ७ प्रदेश लागू भए पनि त्यसले स्थिरता नपाएको, नामाकरणमा विवाद आएको र खर्च बढेको आदि धेरै कुराले गर्दा सुचारू लिन र सुव्यवस्था कायम गर्न नसकिरहेको परिस्थितिमा संघीयता के होला ? भन्ने प्रश्न समाधान भएको छैन । अहिले पनि संघीयता खारेज गर्ने प्रतिगमनका कुरा निस्किरहेका छन् । पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाएको भए संघीयताले पूर्ण स्थायित्व प्राप्त भई प्रशासनिक सुव्यवस्था र समृद्धिमा कोसेढुंगाको रूपमा देशले आजसम्म स्थायित्व पाइसक्ने थियो ।  

प्रकाशित: ३ असार २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App