२३ असार २०७७ मंगलबार
ब्लग

‘चिन्ताले कहिल्यै हिजोको दुःख मेट्दैन, आजको आनन्द समाप्त गरिदिन्छ’

अवसादको प्रबन्धन

नन्दनप्रसाद अधिकारी

विश्व स्वास्थ्य संगठनअनुसार करिब २७ करोड मानिस अवसाद (डिप्रेसन)बाट ग्रसित छन् । विश्वमा हरेक पाँचमध्ये एकजना मानिसको अवसाद र उदासपन वा व्यक्तित्वको कमीले क्रमशः मृत्यु र आत्महत्या हुन्छ । २०७२ को महाभूकम्पपछि धेरैलाई अवसादले गाँजेर अस्पताल पुर्याएको सन्दर्भमा कोरोना महामारीले निम्त्याउने अवसादको अकल्पनीय खतरा थप विचारणीय छ ।

नन्दनप्रसाद अधिकारी

नेपालमा करिब नौ लाख मानिस अवसादबाट पीडित देखिए पनि करिब ८५ प्रतिशतको उपचार हुँदैन । परिणामतः प्रत्येक वर्ष घटीमा पाँच हजार र एक लाख मानिसले क्रमशः आत्महत्या र आत्महत्या प्रयास गर्छन्, जुन करिब ८० प्रतिशत अवसादकै एकलौटी परिणाम ठानिन्छ । यसर्थ, कोरोना रोगको त्रासभन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक मनोविज्ञान ज्यादा प्रभावित भएकाले घरबन्दीको वर्तमान समयमा सरदर दैनिक १५ देखि २० जनाले आत्महत्या गरिरहेको कहालीलाग्दो तथ्यांक छ । कुल अपराधमा आत्महत्याको हिस्सा २८ प्रतिशतभन्दा बढी भएकाले अवसादको समस्या विकराल देखिन्छ ।

कोरोना रोगको त्रासभन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक मनोविज्ञान ज्यादा प्रभावित भएकाले घरबन्दीको वर्तमान समयमा सरदर दैनिक १५ देखि २० जनाले आत्महत्या गरिरहेको कहालीलाग्दो तथ्यांक छ ।

 

असामान्य रूपमा मानिस सधैँ दुःखी, उदासीन वा दिक्दार हुने स्थितिलाई अवसाद भनिन्छ । यसलाई अत्यधिक तनावबाट उत्पन्न हुने शारीरिक वा मानसिक विकार मानिए पनि मानसिक स्वास्थ्य समस्यासँग मात्र जोडेर हेर्नु मिथ्या हुन्छ । यसलाई मनोवैज्ञानिक वा मनोसामाजिक कारणले ज्यादा प्रभावित पार्छ । धेरैले अवसादलाई फगत चिन्ता र तनावका रूपमा बुझ्छन् । चिन्ता भनेको अवसाद होइन र ‘चिन्ता जोड  तनाव बराबर अवसाद’ हुन्छ भन्ने सोच पनि गलत हो । तसर्थ, अवसाद हुनलाई चिन्ता र तनाव दुवै हुनैपर्छ भन्ने छैन ।

एकातर्पm अत्यधिक कामको चाप र जिम्मेवारी बोझले मानिसलाई समय–समयमा असह्य निराश बनाउँछ भने अर्कोतर्फ अस्वस्थ्य जीवनशैलीको सही प्रबन्धन गर्न नसक्दा डाह, रिस र आक्रोश उत्पन्न भई सुख, आनन्द र हर्षलाई दुःख, नैराश्य र कुण्ठाले थिच्दै आत्मग्लानि हुन्छ । मानिसको नियमित स्वभावभन्दा भिन्न, बानी–व्यहोरामा लामो गडबडी र अत्यन्त नकारात्मक सोचद्वारा चरम उदासीपनको फलस्वरूप उत्पन्न असाध्य नैराश्यताले अवसाद जन्मिन्छ ।

जीवनप्रतिको घृणा समेतले गर्दा सदैव मन उदास हुने, एक्लै बस्न मनपराउने, कुनै कुरामा नरमाउने, मनमा अनेक कुरा खेल्ने र दैनिक कार्यमा बाधा उत्पन्न भई कार्यक्षमतामा प्रत्यक्ष ह्रास पुग्नेजस्ता समस्या लगातार दुई–तीन हप्तासम्म भएमा अवसादको शंका गरिन्छ । अवसादको यकिन कारण यही हो भनी ठोकुवा गर्न नसकिने भए पनि यो जुनसुकै अवस्थामा जति बेला पनि जोसुकैलाई हुन सक्छ, जसको प्रयोजन सबैको हकमा एउटै नहुन पनि सक्छ । अवसाद देखिनेबित्तिकै उपचार गरेमा निको हुने सम्भावना शतप्रतिशत हुन्छ, अन्यथा रोग उच्च स्तरमा पुगेमा सामान्य अवस्थामा ल्याउन धेरै समय लाग्न सक्छ ।

अवसादको प्रथम चरणमा संयमित, शान्त र धीर रहन प्रेरित गर्नुपर्छ भने दोस्रो चरणमा मनोविज्ञको परामर्श लिनुपर्छ र अन्तिम चरणमा मनोचिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्छ । कसैलाई परामर्शबाट बिनाऔषधि निको हुन्छ भने केहीलाई औषधि सेवनद्वारा उपचार गर्नुपर्छ र अन्यलाई घर–परिवारसँग सहकार्य गरी चिकित्सकीय पद्धतिद्वारा उपचार गर्नुपर्छ । वंशाणुगत अवसादमा औषधि सेवनको विकल्प हुँदैन भने मनोवैज्ञानिक वा मनोसामाजिक सन्दर्भमा उचित परामर्शले ठीक गर्दछ । करिब ६० प्रतिशत अवसादका बिरामी औषधि सेवनबाटै ठीक हुन्छन् भने बाँकीको हकमा अस्पतालको उपचार विधि आवश्यक पर्छ । मस्तिष्कमा रासायनिक असन्तुलनले समेत अवसाद हुने भएकाले यसको अवस्था, प्रकृति र गाम्भीर्यतालाई निक्र्याेल गरी उपचारमा कसैलाई कम वा लामो समय लाग्न सक्छ ।

अवसादको कारक तत्वमा घरकलह, दीर्घरोग, सद्भावको कमी, इच्छाशक्तिको अभाव, प्रगति गर्न असक्षम, असुरक्षित यौनचाहना, चुनौतीको सामना गर्न नसक्नु र अपमानित वा शोषित भइरहनु आदि पर्छन् । त्यस्तै, बेरोजगारी, नोक्सानी, वैदेशिक रोजगारी, अनियन्त्रित खर्च र ऋणभार आर्थिक कारण हुन् । जुन करिब ६० प्रतिशत अवसादको प्रमुख कारक तत्व मानिन्छ । साथै, नचाहिँदो घमण्ड, कमजोर आत्मबल, महामारी, अप्रिय घटना, प्रकृतिक विपत्, धनजनको क्षति र सामाजिक सञ्जाल अन्य कारण हुन् । मस्तिष्कमा खुसी ल्याउने हर्मोन सेरोटोनिन र मनोएमाइन्सजस्ता बायोकेमिकल पदार्थको कमीले समेत अवसाद हुन्छ । तनाव निर्मूल गर्ने बहानामा केहीले मादक पदार्थ सेवन गर्छन्, जसले अवसादलाई थप बढाउँछ ।

अवसादका लक्षणमा रुने, रिसाउने, झर्किने, चिढिने, एकोहोरिने, डराउने, खर्चालु, भनेको नमान्ने, झगडा गर्ने, आक्रामक हुने, जिद्दी गर्ने, शारीरिक कमजोरी, खेल्न–डुल्न नमान्ने, निद्रा–भोक नलाग्ने र नबाँच्ने सोच आदि पर्छन् । अत्यधिक खुसी हुने वा दुःख लाग्ने, आवश्यकताभन्दा बढी जाँगर चल्ने वा अत्यन्तै सुस्त हुने र धेरै बोल्ने वा बोल्दै नबोल्ने अन्य लक्षण हुन् ।

बेलायतको म्यान्चेस्टर मेट्रोपोलियन युनिभर्सिटीअनुसार शरीरको रगतमा बोसोयुक्त कोलेस्ट्रोल र कार्बोहाइड्रेटको मात्रा बढी भएको जंक÷फास्ट फुडजस्ता खाद्यपदार्थको सेवनले मानिसमा करिब ४० प्रतिशतसम्म तनाव बढ्छ भने भिटामिन डीको कमीले अवसादलाई करिब ७५ प्रतिशतसम्म बढाएर आत्महत्या गर्न प्रेरित गर्दछ । 

मानिस जीवनभर उदास हुने सम्भावना करिब १७ प्रतिशत भएकाले नकारात्मक भावना मनमा खेलाउने प्रवृत्तिले गर्दा पुरुषको तुलनामा महिलामा दोब्बर उदासीपन देखिँदा पुरुषमा ४० र महिलामा ३० वर्षको हाराहारीमा एवं अविवाहित र एक्ला व्यक्तिमा अवसाद ज्यादा देखिन्छ । तनाव व्यवस्थापन नभएमा करिब ६५ प्रतिशत मानिसलाई अवसादजन्य कडा टाउको दुख्ने रोग माइग्रेनले सताउँछ । केही अवसादका बिरामी दुखाइ कम गर्ने ट्रेन्कुइलाइजर र मानसिक रोगको औषधिको कुलतमा परेर लागूऔषध दुव्र्यसनी समेत बन्न सक्छन् ।

मानसिक रोग भन्नासाथ पागलपन ठानिने गलत धारणाले गर्दा साधारण मानसिक समस्याको समेत चर्चा हुँदैन । बदनामी हुने डर, कलंक वा संकोचका कारण धेरैले मानसिक समस्यालाई लुकाउँछन् । कतिपय मानिस भित्रभित्रै गुम्सिएर अवसादबाट ग्रसित भइसक्दा पनि खुलेर बाहिर आउन नसक्नुमा आँट, चाहना र आत्मविश्वासको कमी देखिन्छ । तथापि अवसादको निदानमा सामाजिक चिन्तन, चेतना र संवेदनशीलता बाधक देखिन्छ भने गरिबी, अशिक्षा, मनोविद् र मनोचिकित्सकको अभाव, अस्पताल र औषधिको कमी तथा स्वास्थ्यप्रतिको उदासीनता उपचारका अड्चन हुन् ।

‘चिन्ताले कहिल्यै हिजोको दुःख मेट्दैन, आजको आनन्द समाप्त गरिदिन्छ’ भन्ने प्रसिद्ध अमेरिकी लेखक लियो बुस्काग्लियाको भनाइअनुसार भविष्यमा आइपर्ने समस्याको चिन्ता गर्नुभन्दा तनाव हुनुको मुख्य कारण पत्ता लगाई समाधानको उपाय खोजेर निरन्तरको अभ्यासद्वारा अवसादलाई कम गर्न सकिन्छ ।

आयुर्वेदअनुसार अश्वगन्धा, कुरिलो, झुसे करेला, चट्टेल र च्याउको सेवनले अवसाद घटाउन सघाउँछ । घाम ताप्नाले शरीरमा भिटामिन डी र बिटाइन्डोर्फनको मात्रा बढ्न गई रोग प्रतिरोधात्मक क्षमता बढाएर अवसादबाट जोगाउँछ । कामको बोझलाई आवश्यकता र महत्वका आधारमा वर्णीकरण गरी योजनाअनुरूप कार्य गर्दा विषयादि झमेलाबाट मुक्त गराउँछ । 

धूमपान र मद्यपानरहित सकारात्मक सोच, आवश्यक व्यायाम र आराम, समय तालिकाअनुसार पर्याप्त र सन्तुलित आहार, नियमित सुत्ने र उठ्ने बानी, थकित हुने कार्य नगर्ने, एक्लै नबस्नेजस्ता नियमको इमानदारीपूर्वक पालनाद्वारा मन, मस्तिष्क र शरीरको द्वन्द्व समाप्त भई अवसादबाट बचाउँछ । अवसादबाट मुक्तिका लागि जीवनशैलीमा व्यापक रचनात्मक परिवर्तन अत्यावश्यक भएकाले आध्यात्मिक चिन्तन, योग, ध्यान र प्राणायामलाई दैनिकी बनाउँदा मन स्थिर हुन्छ, विचार शुद्ध हुन्छ र धैर्यताको क्षमता बढ्छ भने संगीत, घुमघाम, मनोरञ्जन, घरपालुवा जनावर तथा हरियाली र पारिवारिक वातावरणले शान्ति, आनन्द र सुखको अनुभूति गराउँछ ।

अवसादको उपचार सर्वत्र सुलभ, सुपथ र सुगम भएको सन्देश सम्प्रेषण गर्न जरुरी छ । यसर्थ मनोसामाजिक परामर्शदाताको आवश्यकता केही हदसम्म पूर्तिका लागि स्थानीय तहका विद्यालयका स्वास्थ्य शिक्षकलाई प्रभावकारी तुल्याउन सकिन्छ । मनोशिक्षा, मनोविमर्श, औषधिको पर्याप्तता, स्वयं हेरचाह विधि, नियमित स्वास्थ्य परीक्षण, पर्याप्त स्वास्थ्य जनशक्ति र आवश्यक चिकित्सकीय सहयोगका लागि राष्ट्रिय स्वास्थ्य नीतिको समयानुकूल परिमार्जन आवश्यक छ । 

अवसादजन्य सामाजिक त्रासदिको सुरु अवस्थामै रोकथामका लागि स्थानीय तहका सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन सकिन्छ । आर्थिक विचलनले परिवारिक द्वन्द्व निम्त्याइ आत्महत्या, हत्या, चोरी, डकैती, हिंसा र लुटपाटमा रूपान्तरण हुने खतरालाई न्यून गर्न आर्थिक क्षेत्रमा व्यापक सम्बोधन जरुरी छ । कोभिड–१९ को महामारीले सिर्जना गरेको चरम आर्थिक संकटले आमन्त्रण गर्ने अपराध नियन्त्रणमा स्थानीय, प्रदेश र संघीय सरकार थप जिम्मेवार भई नागरिक हितका खातिर आय–आर्जनसहितका उत्पादनशील कार्यक्रम ल्याउन जरुरी छ ।

अवसादको अजंग द्वार ल्याकतविनाको आशा पनि भएकाले अनन्त आशा र अपूर्ण चाहनालाई समयमै रोक्न आकांक्षा नियन्त्रणको सीप सिक्न अपरिहार्य छ । यसर्थ पीडा, संवेग र असफलतालाई सहजै स्वीकार गरी ‘जे हुन्छ राम्रैका लागि हुन्छ र काम गर्दा सफल वा असफल भइन्छ’ भन्ने मनन गर्न आवश्यक छ । अमूल्य जीवनलाई सरल र सकारात्मक ढंगले परिचालन गरी स्वस्थ्य, सुखी र शान्त मनद्वारा प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउन जरुरी छ । अवसादबाट ठीक भएको सन्दर्भमा भनिन्छ, ‘आनन्दको अनुभूति आफूभित्रबाट गर, जे छ तिमीभित्रै छ, अन्तर्मुखी भएर आफूभित्र आफैँलाई नियाल, बहिर्मुखताले आनन्दको अनुभूति हुँदैन !’

अवसादमा जीवनयापन गरिरहेकाले निःसृत भावद्वारा अवसादको आत्मिक स्वीकारोक्ति, उपचारको याचना र सफलताको कामनासहित सार्थक, सुन्दर र अतूल्य जीवनयात्रा तय गर्नु श्रेयष्कर छ । अदम्य संघर्ष, अनुपम अठोट र बलियो आत्मविश्वासद्वारा अवसादको सरल एवं सफल प्रबन्धन सम्भव छ ।

प्रकाशित: २ असार २०७७ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App