२१ असार २०७७ आइतबार
ब्लग

गौरीफन्टा नाकामा छताछुल्ल सपना

अमर बहादुर शाही

मुस्कान र रोदनसँगै सुरु हुन्छ मान्छेको यात्रा । उसो त आँसुकै बाहुल्य रहेको मानव जीवन आफैंमा एउटा यात्रा न हो । जन्मदेखि मृत्युसम्म योजनाबद्ध ढंगले गरिने हुन् वा भैपरी आउने यात्रा नै किन नहुन्, बेलाबखत लामबद्ध बनिदिन्छन् स्मृतिपटलमा ।

आजभन्दा ४५ वर्षअघिको कुरा । त्यति बेला म १२ वर्षको थिएँ । पढाइ अघि बढाउने उद्देश्यका साथ कान्छा बुवाको पछि लागेर काठमाडौंका लागि हिँडेको थिएँ घरबाट । डोटीबाट फल्टुँडेसम्म दुई दिने त्यो हिँडाइ अनि त्यहाँबाट धनगढीसम्म रसियन जीपको यात्रा ।  

धनगढीबाट रिक्सा चढेर पुगेको थिएँ कैलालीसँग सीमा जोडिएको भारतीय नाका गौरीफन्टा । यो नै थियो मेरो पहिलो भेट थियो गौरीफन्टा नाकासँग । सुदूरपश्चिमेलीको सदियौंदेखिको चलनचल्तीको नाका हो गौरीफन्टा ।  

मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?

गौरीफन्टा नाका पार गर्नेहरू भारतमा दरवानी गर्न जाने लाहुरे भनेर नै चिनिन्थे । चाहे तिनका गन्तव्य फरक किन नहुन् । तिनका सपना फरक किन नहुन् । त्यो बेलाको बोलीचालीमा नेपाल अर्थात् काठमाडौंं पुग्न गौरीफन्टा नाकाबाटै लखनउ, गोरखपुर, सुनौली र भौरहवाबाट सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको बाटो हुँदै काठमाडौं पुग्ने गर्थे यात्रु । यो नाकाबाट काठमाडौं जाने भनेका त हातका औंलामा गनिने मात्रामा हुन्थे । खासमा भारतका ठूला शहर मुम्बई, बैंगलोर, मद्रास, पंजावका सपना देख्नेको नाका थियो । दुई छाक खान र एकसरो लाउने सुनौलो सपना अनि कल्पना गर्नेहरूको नाका थियो गौरीफन्टा । उसो त कसैले पछि लगाएर कसैको पछि लागेर सपनाको गन्तव्यमा पु¥याउने नाका पनि थियो गौरीफन्टा ।  

हरेक नाकासँग अनेकौं कथा हुन्छन् । अर्थात् हरेक नाकाले बोकेका हुन्छन्  जनजीवनका कथा । सीमाना पार गर्दाका दुःखको श्रृङ्खला हुन्छ हरेक यात्रुसँग । यो नाकाले पनि कतिको चित्त दुखायो, कतिको चित्त बुझायो । कतिको इज्जत गुमायो, कतिको इज्जत बचायो । कतिले के गुमाए, कतिले के कमाए । कतिका सपना तुहिए । कतिका सपना सपनै रहे । कतिले अझै सुनौला दिनका सपनादेखि नै रहेका होलान् । आपूmले देखेका सपना सपनामै रहने भएपछि कतिका सपना पनि पुस्ता हस्तान्तरण भए होलान् । सपना पनि के नै थिए होलान र ! त्यही दुई छाकको जोहो, एकसरो लुगाको चाहना ।  

समयअनुसार फरक हुन्छन् मान्छेले देख्ने सपना । विकास र प्रविधिले देख्न लगाउँछ पृथक सपना । सुदूरपश्चिमेलीका लागि विकास भन्नु नै वर्षौंसम्म आकाशको फल आँखा तरी मर भनेझैं भएपछि, बेरोजगार जिन्दगीले के नै देख्नु थियो र पृथक् सपना । सपना भन्नु पनि भोगाइ र आवश्यकता अनुसारको न हो देखिने । कल्पना बाहिरको सपना पनि त हुँदैन । हो यही गौरीफन्टा नाकाबाट ब्रिटिस साम्राज्यताका बनेको रेलवे लिगमा कोइलाबाट चल्ने रेल हुइँकिन्थ्यो । रेलले मार्ने टुक टुक आवाज र इन्जनको धुँवाबाट निस्कने ससाना कण आँखामा पर्दा आँखा मिच्दै यात्रा गर्नुपर्ने हुन्थ्यो । यसरी यात्रा गर्नेमध्ये कसैका पैतालाले बैंगलोर, कसैकाले पंजाव र कसैकाले मद्रास अनि मुम्बई छुन पुग्थे ।  

केही वर्ष भयो गौरीफन्टा नाकामा रेल आउन छाडेको । अनि उहिले नेपाल भनेर चिनिने काठमाडौं जानेहरूको बाटो पनि छुट्टै भैसक्यो । आउँदैनन् ती पनि । तर,  भारतका शहर गई रोजीरोटी जोहो गर्ने अनि केही सुन्दर सपना देख्ने विवश सुदूरपश्चिमेलीका लागि उत्तिकै महत्वपूर्ण छ गौरीफन्टा नाका । रेल नआएर के भो र यातायातका अन्य साधन चलि नै रहेका छन् । ती सबैका सपना बोक्न ।  

यहींबाट हो कुनै दिन अनैकौं सपना र कल्पनामा डुबुल्की मार्दै मुग्लानको यात्रा शुभारम्भ भएको । तर ती सबै सपना र कल्पना तुहिएर पुनः पुगेका छन् यही नाकामा । मुग्लान बसाइमा भोगेका दुःखपीडा सम्झना पुनः यही गौरीफन्टा नाकामा थाती राखेर जन्मथलोतिरको यात्रा अगाडि बढाइरहेका छन् कैयौंले ।  

मैले गौरीफन्टा नाकाबाट यात्रा गर्दा आफूले भोगेको दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् । आत्मसात् गरे होलान् । जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?  

देशले प्राकृतिक पीडा भोग्यो, राजनैतिक परिवर्तनलाई आत्मसात् ग¥यो तर पनि सपना देख्न र सपना किन्ने सुदूरपश्चिमेलीको लावालस्कर यही गौरीफन्टा नाका हुँदै भारतका शहरतिर पाइला चालि नै रह्यो । देशमा राजनैतिक परिवर्तन आयो तर यो गौरीफन्टा नाका हुँदै सपनाको खोजीमा भौतारिने सुदूरपश्चिमेलीरूको  नियतिमा परिवर्तन आएन । परिवर्तनले तिनको चाहना, इच्छा र सपनालाई आत्मसात् गर्न सकेन । सपना त सपना न हुन्, ती सबै पूरा हुनलाई पनि त देखिएका होइनन् । तर, असम्भवप्राय थिएनन् सुदूरपश्चिमेलीले देख्ने सपना ।  

ती सपना कुनै रेलको धुँवासँगै उडेर गए । कुनै रक्सीको बोतलसँगै रित्तिदै गए । घरमा केटाकेटी बूढा आमाबुवा, श्रीमती र अरूले पनि देखिरहे सपना । हेरिरहे बाटो । छोडेनन् दिन गन्न । समयले कोल्टे फेर्यो परिस्थितिले बाध्य तुल्यायो । आखिर कोरोना कहरको छालले मुग्लान पसेकालाई फिर्ता बोलाएरै छोड्यो । कसैलाई दसकौंपछि, कसैलाई वर्षौपछि, कसैलाई महिनौंपछि फेरि त्यही गौरीफन्टा नाकामा थचारी छोड्यो । नांगो खुट्टा रित्तो हात । सँगै छ त तीन चार दिनदेखि अन्न पानी नपाएको जर्जर र शिथिल शरीर मात्रै । छैनन् त्यहाँ कुनै सपना खालि सही सलामत आफ्नो जन्मथलो पुग्ने इच्छा र आकांक्षासिवाय ।  

देशले प्राकृतिक पीडा भोग्यो, राजनैतिक परिवर्तनलाई आत्मसात् गर्यो तर पनि सपना देख्न र सपना किन्ने सुदूरपश्चिमेलीको लावालस्कर यही गौरीफन्टा नाका हुँदै भारतका शहरतिर पाइला चालि नै रह्यो । परिवर्तनले तिनको चाहना, इच्छा र सपनालाई आत्मसात् गर्न सकेन ।  

नाकामा कसैलाई चर्को घामले सतायो । कसैलाई अप्रत्याशित परेको पानीले भिजायो । केके न गरिएला जिन्दगीमा भन्ने सपना र कल्पनाका तरेलीहरूलाई  थाँती राखी जिउँदो लाशरूपी शरीर र मन हाई काढिरह्यो । हजारौं कोस टाढाबाट फर्केर पुनः यही गौरीफन्टा नाकामा । यहींबाट हो कुनै दिन अनैकौं सपना र कल्पनामा डुबुल्की मार्दै मुग्लानको यात्रा शुभारम्भ भएको । तर ती सबै सपना र कल्पना तुहिएर पुनः पुगेका छन् यही नाकामा । मुग्लान बसाइमा भोगेका दुःखपीडा सम्झना पुनः यही गौरीफन्टा नाकामा थाती राखेर आफ्नो जन्मथलोको गन्तव्यतिरको यात्रा अगाडि बढाइरहेका छन् कैयौंले ।  

हिजोआज भोकभोकै जर्जर र थकित शरीर अनि हात लाग्यो शून्य यही नियति लिएर ती मुर्झाएका मुहारहरू टेलिभिजन, पत्रपत्रिका र फेसबुकका भित्तामा  भरिभराउ भएका छन् । सरकार मूकदर्शक बनेकै छ । हो तिनै गौरीफन्टा नाका भएर फर्केका सपना शून्य मलिन मुहारहरूले भनिरहे होलान्, ‘फेरि फर्किनु नपर्ने भए, देशमै रोजगारी पाइने भए नि हुन्थ्यो ।’

यतिखेर म आफैंले आफैंलाई सोधिरहेछु, ‘कृषि क्षेत्रमा आकर्षक बजेट ल्याएको घोषणा गर्ने सरकारले के अब सक्ला त घरदेशमै ती लाहुरेका सपना फुलाउन ?’  

प्रकाशित: २४ जेष्ठ २०७७ २१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App