२६ श्रावण २०७७ सोमबार
ब्लग

फूल खोज्ने मान्छे !

उदाहरणीय युवा

वनस्पतिविद् ला दोर्ची शेर्पा ।

वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले शेर्पा संस्कृतिमाथि लेखेको एउटा लेखमा गल्ती भेटेपछि ला दोर्ची शेर्पालाई झ्वाँक चलेछ । उनले फोनबाटै श्रेष्ठलाई जानकारी गराएछन् ! पटकपटकको फोन वार्तापछि एक दिन श्रेष्ठले ट्रेकिङ गाइड शेर्पालाई आफ्नै घरमा बोलाएछन् । मिठो भएछ त्यो पहिलो भेट !    

असल नियतले काम गर्दागर्दै पनि कहिलेकाहीँ गल्ती हुन्छ ।  श्रेष्ठसँग शेर्पा प्रभावित भए । उनीसँगको संगत बाक्लिँदै जाँदा कताकता शेर्पाको मनमा पनि वनस्पतिको अध्ययन मोह जाग्यो ।  

‘त्यसपछि विदेशीसँग ट्रेकिङ  जाँदा पदमार्गमा फूलको अध्ययन गर्न थालें’, शेर्पाले भने, ‘तीर्थबहादुर मेरो गुरु नै बन्नु भयो ।’

यसरी सन् २०१२ देखि उनले फूलको अध्ययनमा मन दिए । समयसँगै श्रेष्ठसँग मिलेर हिमाल खबरपत्रिकामा वनस्पति सम्बन्धी केही लेख पनि लेखे । त्यति मात्र होइन, उनले विभिन्न विश्वविद्यालयबाट पिएचडी र थेसिस गर्ने विद्यार्थीका लागि वनस्पतिको तथ्याङ्क संकलनको काम पनि गरे ।  

याकखर्क, मनाङमा बग्रदन्ती फूल ।  

आफूले सहयोग गरेका विद्ध्वानहरूबाट न उनले कुनै रिपोर्ट पाए न कुनै सहयोग । त्यसैले पछिल्लो समय त्यस्ता स्कलरलाई सहयोग गर्न छाडिदिएको बताउँछन् उनी ।  

भोजपुरमा जन्मे÷हुर्केका ला दोर्ची शेर्पा भरिया बनेर पर्यटन उद्योगमा पसेका थिए । समयसँगै उनी नेपाली फूलको अध्ययनमा चुर्लुम्म डुबे । हाम्रा विश्वविद्यालयले गर्नुपर्ने काम उनी एक्लै गरिरहेका छन्, त्यो पनि निजी खर्चमा ।  

फूल हेर्दा तनाव मेटिन्छ । मनमा हरपल फूल घुम्छ । मात्र फूल । कतिसम्म भने लकडाउनमा पनि उनी चुप बस्न सकेनन् । फुत्त एक्लै निस्केर ललितपुरको मानीखेल क्षेत्रमा ९ दिन पदयात्रा गरेर फर्किए, साथमा ६० प्रजातिका फूलका तस्वीरको भारी बोकेर ।  

वनस्पतिको अध्ययन गर्न जिज्ञासु मन, शारीरिक तन्दुरुस्ती, धैर्य, समय र पैसा चाहिन्छ । उच्च पहाडी र हिमाली भेकमा विशेषतः बर्खामासमा फूलको फोटोग्राफी राम्रो हुन्छ । फूल अध्ययन गर्नै भनेर ७० वटा जिल्ला घुमिसकेको बताउँछन् उनी ।  

यात्रा सधैं सजिलो हुँदैन । ‘रुखमा डोरी टाँगेर त्यसकै भरमा पनि फोटा खिचेको छु’, उनको अनुभव, ‘कतैकतै गाउँलेले फोटो खिच्न समेत दिँदैनन् ।’    

फूलको अध्ययन गर्न उनले कुनै ‘प्रोजेक्ट’ हात पारेका छैनन् । आफ्नै मर्जीले डाँडापाखा डुल्छन् । झोलामा कपडा, क्यामेरा र खानेकुरा बोकेर यात्रामा निस्कन्छन् । कहिले मध्य पहाड त कहिले हिमाली भेकमा ।  

तोप्केगोला, ताप्लेजुङमा प्रिमुला । 

उनी प्रायः ५ हजार मिटरसम्मको उचाइमा पुग्छन् । फूलकै फोटो खिच्न भनेर मकालु क्षेत्रमा ६ हजार ३ सय मिटर उचाइको हिमाल पनि चढेका थिए ।      

‘वर्षको १ महिना जति घर बाहिरै हुन्छु’, उनी सुनाउँछन्, ‘पैसाको लागि होइन, आत्मसंतुष्टिका लागि फूलको अध्ययनमा लागेको हुँ ।’  

उनले १५ सयभन्दा बढी प्रजातिका फूलको अध्ययनसँगै फोटा संकलन गरिसकेका छन् । अर्काइभमा हजारौं फोटा छन् । डेराको एउटा कोठामा वनस्पति, चरा, जीवजन्तु र पर्यटन सम्बद्ध पुस्तकहरूको संग्रहालय नै बनाएका छन् ।  

उनले १५ सयभन्दा बढी प्रजातिका फूलको अध्ययनसँगै तिनका फोटा संकलन गरिसकेका छन् । उनको अर्काइभमा हजारौं फोटा छन् । डेराको एउटा कोठामा वनस्पति, चरा, जीवजन्तु र पर्यटन सम्बद्ध पुस्तकहरूको संग्रहालय नै बनाएका छन् । 

उनी आफूले खिचेका नयाँ फूलका विषयमा जानकारी लिन  विज्ञहरूसँग सोधखोज गर्छन् । उनको फेसबुक ग्रुप ‘फ्लोरा अर्काइभ अफ हिमालय’मा १८ सय जना सदस्य छन् । उनीहरूसँगको निरन्तर अन्तरक्रियाबाट ज्ञानको दायरा फराकिलो बनाउँदैछन् ।  

फूलमा किन यति गहिरो लगाव ? प्रश्न सुन्नेबित्तिकै उनले जवाफ दिए, ‘नेपाली शब्दसागर पुस्तक जस्तै नेपालमा पाइने फूलहरूको ठूलो पुस्तक निकाल्ने योजना छ ।’  

तोप्केगोला, ताप्लेजुङमा ब्रम्हकमल ।

खासमा वसन्तकुमार शर्मा नेपालले लेखेको ‘नेपाली शब्दसागर’ आजसम्मकै नेपाली भाषाको ठूलो शब्दकोष हो । हाम्रा शेर्पाले पनि फूलहरूको बढीभन्दा बढी जानकारी समेटिएका ठूलो पुस्तक प्रकाशन गर्ने सपना देखेका छन् ।  

सरकार वा कुनै विश्वविद्यालयले उनको पुस्तक प्रकाशन गरिदियो भने त्यो सत्कार्य हुनेछ । पुस्तौंपुस्ताका लागि उपहार बन्नेछ ।  

नेपालमा फ्लोरा टुरिजमको ठूलो संभावना देखेका छन् उनले ।  विदेशमा अध्ययन गर्ने विद्यार्थीलाई यसमा लोभ्याउन सकिन्छ । ‘हामी नेपालीले आफुसँग भएका चीज मार्केटिङ गर्न जानेकै छैनौं’, ठिकै भने उनले । न यसमा सरकार गम्भीर देखिन्छ न पर्यटनविद् भनिनेहरू नै ।  

फूलसँगै उनी पुतली, चरा, छेपारा, भ्यागुताको पनि अध्ययन गर्छन् । उनले काठमाडौंको स्वयम्भुस्थित प्राकृतिक विज्ञान संग्रहालयमा तिनका केही तस्वीर छापेर हस्तान्तरण गरेका रहेछन् ।   

फूलको अध्ययन गर्न उनले कुनै ‘प्रोजेक्ट’ हात पारेका छैनन् । आफ्नै मर्जीले डाँडापाखा डुल्छन् । झोलामा कपडा, क्यामेरा र खानेकुरा बोकेर यात्रामा निस्कन्छन् ।  

एउटा खुसीको खबर–उनीसहित ६ जना मिलेर ‘फ्लोरा अफ काठमाडौं भ्याली’ पुस्तक प्रकाशन हुनै लागेको छ । वनस्पतिविद्हरू मानबहादुर रोकाया, शालिग्राम सिग्देल, साजन सुवेदी, सरोजकुमार कसजू, संजीवकुमार राई र ला दोर्ची शेर्पा मिलेर पुस्तक लेखेका ।  यसमा काठमाडौं उपत्यकामा फुल्ने ८ सय ३५ भन्दा बढी प्रजातिका फूलको सचित्र वर्णन हुनेछ ।  

बन्दुके पोखरी, ताप्लेजुङमा पदमचाल र कपासे फूल ।  

अचेल उनी ट्रेकिङ गाइड बनेर पर्यटक डुलाउँदैनन् । सन् २०१५ देखि उनले गाइड पेशा चटक्कै छोडिदिए । मान्छेले बाँच्न दालभातको जोहो त गर्नैपर्छ । साथी सुमन मैनालीसँगको सहकार्यमा सन् २०१४ बाट उनले काठमाडौंको तीनकुनेमा एसडी क्याटरिङ चलाउँदै आएका छन् । क्याटरिङबाट कमाएर बचेको पैसा बोकेर उनी अध्ययन भ्रमणमा निस्कन्छन् ।  

उनले पदयात्रा पर्यटनमा ११ वर्ष बिताए । जीवनका ऊर्जाशील ६ वर्ष भरिया र सहयोगी बनेर हिमाली भेकमा डुले भने ५ वर्ष गाइड बनेर पर्यटक घुमाए । उनी नपुगेको कुनै पदमार्ग छैन । मनाङ, मुस्ताङ, अन्नपूर्ण, घोडेपानी, मकालु, मनास्लु, सगरमाथा, कन्चनजंघा छिचोल्न भ्याइसके । त्यो पनि एक पटक मात्र होइन, पटकपटक ।  

गाउँको हावापानीमा जन्मेहुर्केका शेर्पा हट्टाकट्टा छन् । मनमा आत्मविश्वास र उत्साह छ । त्यसैले गर्दा उनी कामको गहिराइमा डुबुल्की मार्छन् । यसमा उनलाई पक्कै सफलता मिल्नेछ ।  

उनको जीवनकथा संघर्षपूर्ण छ । पूर्वी पहाडी जिल्ला भोजपुरको भोजपुर गाउँपालिका–२ हात्तीखर्कमा ३६ वर्षअघि जन्मिएका थिए उनी । गाउँबाट एसएलसी परीक्षा सकेपछि काठमाडौं आए । काठमाडौंमा उनका दाई थिए ।  

नागी गुम्बा, काठमाडौंमा सुनाखरी ।  

के सपना बोकेर काठमाडौं आउनुभएको थियो ?  

गरिब मान्छेको के सपना हुन्थ्यो र ? कलेज पढ्न भनेर आएको’, उनले पुराना दिन सम्झिए, ‘दुःखजिलो गरेर आइए गरेपछि पढाइमा समय दिन पाइनँ ।’

हुन त किताबीभन्दा व्याबहारिक ज्ञान प्रभावकारी हुन्छ । यसैले मान्छेलाई जीवनमा सफल बनाउँछ । अरुले लेखेका पुस्तक पढेर भन्दा आफैंले जीवन र जगत भोगेर बटुलको ज्ञान कयौं गुणा बढी उपयोगी हुन्छ ।  

हरेक मान्छेको आफ्नै जीवन हुन्छ । आफ्नै इच्छा हुन्छ । तर समाज न हो, कुरा काट्न छाड्दैन । उनको जीवनशैली देखेर कसैले ‘बौलाहा’, कसैले ‘पिके’, कसैले ‘क्रेजी’ भन्न भ्याइसके ।  

कसले के भन्छ भनेर उनी वास्ता गर्दैनन् । मनमा फूलको अध्ययन गर्ने भोक छ जसले उनलाई बरोबर गाउँघरतिर उकालिरहन्छ ।  

फूल्चोकी जंगलमा पुतली । 

लकडाउनले उनको रुटिनलाई बिथोल्यो । हिमाली भेकतिर पुगेर फूलहरूमा आँखा, मन र क्यामेरा सोझ्याउन नपाए पनि ल्यापटपमा पुराना तस्वीर हेरेर चित्त बुझाउँदैछन् । फरक यत्ति हुन्छ कि तस्वीरमा फूलको बासना आउँदैन ।  

ला दोर्ची शेर्पा उदाहरणीय युवा हुन् । उनको लगाव, सक्रियता र योगदानका लागि सलाम ! हाम्रा विश्वविद्यालयले गर्नुपर्ने काम उनी एक्लै गरिरहेका छन्, त्यो पनि निजी खर्चमा । उनलाई धेरैधेरै शुभकामना !  

वनस्पतिविद् ला दोर्ची शेर्पा ।

 

प्रकाशित: २० जेष्ठ २०७७ २१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App