२८ असार २०७७ आइतबार
ब्लग

गाउँघर नै लाहुर

साहसिक पर्यटन अभियन्ता

कास्कीको घलेल गाउँ । तस्बिर: अमृत भादगाउँले

युवा पर्यटनकर्मी रामबहादुर गुरुङले आफ्नो होटलको नाम ‘कोकार’ राखेका छन् । कस्तो अनौठो नाम ! मर्दी हिमाल पदमार्गमा पर्ने फरेष्ट क्याम्पको वास्तविक नाम ‘कोकार’ रहेछ । उनी त्यही मौलिक नामलाई ब्युँताउँदैछन् ।      

उहिल्यै जंगल बीचमा विदेशीहरूले टेण्ट गाडेर बसेकाले ‘फरेष्ट क्याम्प’ भनियो । कोकार गुरुङ भाषाको शब्द । गुरुङ शब्द ‘को’ को नेपालीमा अर्थ हुन्छ–रगत । त्यस्तै ‘कार’ को अर्थ–सुकेको । इतिहासको कालखण्डमा रगत सुकेको ठाउँ भएकाले कोकार भनिएको ।  

उहिले भुरेटाकुरे राजाको शासन हुँदा लडाइँ भैराख्थ्यो । त्यो समय यहाँ धेरै रगत बग्यो । दुवै पक्षको ठूलो क्षति भयो । तर, कसैको हारजित भएन । त्यसैले दुवै पक्षले ‘अब रगत नबगाऔं । बगेको रगत सुक्न दिऔं’ भनेर यहीँ बसेर सहमति गरेछन् !’  

रगत सुकेको ठाउँ भएकाले रैथाने गुरुङ समुदायले कोकार भन्न थाल्यो । बिर्सिंदै गएको नामलाई जगाएका छन् रामले । उनको ‘होटल कोकार’ ०७६ फागुनदेखि सञ्चालनमा आएको छ । त्यहाँ ६ वटा कोठा छन् । कोकार खर्कमा उनको सहित ७ होटल सञ्चालित छन् भने ५ वटा बन्दै छन् ।    

राम गुरुङ

नेपाली तन्नेरीेहरू माझ लोकप्रिय पदमार्ग हो–मर्दी हिमाल ट्रेक । बर्सेनि हजारौं नेपाली कोकार हुँदै मर्दी हिमालको काखमा पुग्छन् । छोटो, मीठो र सस्तो पदमार्गका रूपमा यसले ख्याति कमाएको छ ।  

दुःखको कुरा अचेल मर्दी हिमालको नाउँ पनि बिगारिएको छ । धेरैको ओठमा ‘मार्दी हिमाल’ झुण्डिएको सुनिन्छ । सही नाम मर्दी हिमाल हो र त्यो हिमालको फेदबाट बग्ने मर्दी खोला । त्यसैले रामहरू ठाउँठाउँमा नेपाली भाषामा ‘मर्दी हिमाल पदमार्ग’ लेखिएको होर्डिङ बोर्ड राख्दैछन् ।  

मर्दी भ्यालीको घलेल गाउँमा ‘पोखरा क्यानोनिङ’ सञ्चालन गर्दै आएका रामबहादुर गुरुङ मर्दी हिमाल पदमार्गको विकासमा सक्रिय छन् । उनी घलेल गाउँका चम्किला तारा हुन् ।   

मर्दी पदमार्गमै पर्ने घलेल गाउँमा जन्मे÷हुर्केका राम ४१ वर्षका भए । पर्यटन र सामाजिक कामलाई उनले सँगसँगै अघि बढाएका छन् । कोकारमा त भर्खरै होटल खोले, उनले घलेल गाउँकै कुदी छाँगोमा ‘पोखरा क्यानोनिङ’ सञ्चालन गर्दै आएको केही वर्ष भैसक्यो ।  

डोरीमा तुर्लुङ्ग झुन्डेर झरनामा नुहाउँदै झर्ने साहसिक खेललाई क्यानोनिङ (छाँगावरोहण) भनिन्छ । कुदी खोलामा १२, ९, ७५ र ४५ मिटरका चार वटा झरना छन् । झरनाको छेवैमा उनले वाटरफल रिट्रिट नामक होटल पनि चलाएका छन् जहाँ ३० जना बास बस्न सक्छन् ।  

उनी बर्सेनि छ हजार जनालाई क्यानोनिङ गराउँछन् । तिनमा थोरै संख्यामा विदेशी हुन्छन् भने बाँकी सबै नेपाली । घलेलको क्यानोनिङ नेपालकै पर्यटन उद्योगमा नमुना प्रोडक्ट हो । यत्तिको व्यवस्थित क्यानोनिङ मुलुकभित्र मैले अन्यत्र देखेको छैन ।  

स्थानीय युवा सुनिल गुरुङ, स्विकार सुनार, देवेन्द्र सुनार, अनिल सुनार, अशोक अधिकारी, राजकुमार गुरुङ र राजेश गुरुङ क्यानोनिङ गाइडका रूपमा स्थापित भैसकेका छन् । यहाँ क्यानोनिङ एक्सप्लोर गर्न नेपाल क्यानोनिङ एशोसियसन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, टान पोखरा र तत्कालीन ल्वाङघलेल गाविस, लगायतले सहयोग पु¥याएका थिए ।  

आज घलेल क्यानोनिङ गाउँका रूपमा चिनिएको छ । कास्की जिल्लाको माछापुच्छे« गाउँपालिकाको ८ र ९ वडामा पर्दछ घलेल । क्यानोनिङसँगै संसारमै चम्किँदै गएको घलेलमा हेर्न र घुम्नलायक थुप्रै सम्पदा पनि छन् ।  

गाउँबाट कुमारी माछापुच्छे«, मर्दी र अन्नपूर्ण हिमालको दर्शन पाइन्छ । तारे बराह, महागुरु गुफा र गुरुङ संस्कृतिको भण्डार–घलेल गाउँ । यहाँ गुरुङ र दलित समुदायको बसोबास छ । पहिला गाउँमा ठूलो बस्ती थियो । बोन धर्मावलम्बीले घना गुरुङ बस्तीको नाम लिँदा घान्द्रुक, घलेल र सिक्लेसको नाम लिन्छन् ।  

घलेल गाउँ

‘पहिला त गाउँमा ४०० धुरी थियो’, गुरुङले सुनाए, ‘अहिले १२० धुरी मात्र छौं ।’  

गाउँको शिरमा अवस्थित भैरुम डाँडामा दुइटा गुफा छन् । एउटामा बौद्ध धर्म गुरु पद्मसंभवले योग, ध्यान र तपस्या गरेका थिए भने अर्कोमा मुक्तिनाथ ओहोरदोहोर गर्ने साधुसन्त बसेका थिए । गुरु रिम्पोचे बसेको गुफा क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको छ । बेलायत निबासी आइबहादुर गुरुङले संकलन गरेर पठाएको रकमबाट गुम्बा निर्माण हुँदैछ । त्यसको अगुवाइ लामा कर्मा गुरुङले गरेका छन् ।

पहिला बेलायत जान लाग्दा त्यत्रो दुःख पाएका रामले सन् २०१२ मा चाहिँ त्यही देशमा घुम्ने अवसर पाए । त्यहाँ ४ महिना बस्दा उनले साहसिक खेल ‘वाटर स्कि’को अध्ययन गरे ।  

‘महागुरु गुफालाई प्रर्वद्धन गर्न सके घलेल धार्मिक गन्तव्यका रूपमा समेत स्थापित बन्न सक्छ’, साहसिक पर्यटन अभियन्ता राम भन्छन्, ‘हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रूपमा विकास गर्छौं ।’  

घलेल गाउँ शान्त छ । गाउँमा आनन्दले दुई–चार दिन बिताउन सकिन्छ, जहाँ  २०६६ सालदेखि होमस्टे सुविधा सुरु गरिएको छ । अचेल ९ घरमा होमस्टे गराइन्छ । छाँगोको छेउमा रामको होटल छ । त्यस्तै भर्खरै आइबहादुर र कन्याकुमारी गुरुङ दम्पतीले गाउँमा ‘होटल घलेल’ खोलेका छन् । लामो समय विदेश र पोखरामा बसेको यो जोडी गाउँकै पर्यटनमा योगदान पु¥याउन गाउँ फर्केको हो ।

क्यानोनिङ खेलका गाइडहरू

घलेलमा जुवातास खेल्न पाइन्न । गुप्तबहादुर गुरुङको नेतृत्वमा घलेल टोल विकास संस्था गठन भएसँगै सामाजिक परिवर्तन आएको हो । संस्थाले महागुरु गुफाका लागि आर्थिक संकलनको काम पनि गरिरहेको छ ।  

असला माछाका लागि समेत घलेल प्रख्यात छ । असलाको स्वाद तिक्खर हुन्छ । गाउँ मुन्तिरको मर्दी खोलामा छयासछयास्ती पाइन्छन् माछा ।  

ट्राउट माछा 

पर्यटनसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् उनी । बौद्ध सिर्जना युवा क्लबका अध्यक्ष पनि । गाउँको बिजुली, बाटोघाटो, पाटीपौवा र विद्यालय निर्माण लगायतका काममा सहयोग गर्छन् ।  

उनका समकालीनहरू सबै परदेशमा छन् । उनीचाहिँ घरदेशमा बसेर अगुवाइ गर्दैछन् । त्यसो त उनी पनि बेलायत जान हिँडेका थिए तर, नराम्ररी दुःख पाए । दलाललाई पैसाको बिटो बुझाएर दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उड्ने तयारीमा हुँदा पक्राउ परे । दलालले नकली भिसा बनाएको रहेछ । त्यसैले पक्राउ परिहाले र तिहाड जेलमा अढाई महिना बसे ।  

बित्थामा पैसा पनि सकियो । दुःख पनि पाइयो । नेपाल फर्केपछि उनले दुई वर्ष सुन्धारा, काठमाडौंको भिक्टोरिया होटलमा काम गरे । त्यसपछिका दुई वर्ष ट्राभल कम्पनी चलाए अनि आफ्नै गाउँ फर्के ।  

‘हाम्रो मर्दी हिमालक्षेत्र नेपाली पदयात्रीका कारण चलेको हो’, उनी ढुक्क छन्, ‘लकडाउनबाट उकुसमुकुस भएर बाँचेका नेपाली कोरोनाको महामारीबाट उम्केपछि फेरि घुम्न थाल्नेछन् । केही समय धैर्य गरेपछि उज्यालो दिन आउँछ ।’  

समय बगिरह्यो । पहिला बेलायत जान लाग्दा त्यत्रो दुःख पाएका रामले सन् २०१२ मा चाहिँ त्यही देशमा घुम्ने अवसर पाए । त्यहाँ ४ महिना बस्दा उनले साहसिक खेल ‘वाटर स्कि’को अध्ययन गरे । उताबाट फर्केपछि पोखरा उपत्यकाको दिपाङ तालमा वाटरस्कि चलाउने योजना बनाए ।  

‘ताल भाडामा मागेको’, उनले सम्झे, ‘नगरपालिकाले भाडामा दिएन ।’  

त्यसपछि उनी गाउँमै बसेर काम गर्न थाले । पोखराबाट १९ किमि दूरीमा छ उनको घलेल गाउँ । गाउँमा क्यानोनिङ चलाउन पनि सजिलो कहाँ छ र ! साहसिक खेल पर्यटनको न सरकारसँग व्यावहारिक कार्यविधि छ न त गाउँपालिकासँग । सरकारले पर्यटनमैत्री नियम कहिले बनाउला खै ?    

जेहोस् उनी घलेल र समग्र मर्दी क्षेत्रको पर्यटन विकासमा समर्पित छन् । हाल मर्दी पदमार्गमा ४३ वटा होटल खुलिसके । तीमध्ये ११ वटा मात्र दर्ता छन् । बाँकी सबैलाई दर्ता गरेर राज्यले कर लिँदा राम्रो ।  

आज लकडाउनमा उनी गाउँघरतिरै छन् । ठूलो आशा, उत्साह र सपना बोकेर १ करोड रुपैयाँ लगानी गरेर उनले कोकार होटल बनाउन नभ्याउँदै संसारलाई कोरोनाले थुचुक्क बसायो । तर, उनी निराश बनेका छैनन् । आशावादी छन् ।  

‘हाम्रो मर्दी हिमालक्षेत्र नेपाली पदयात्रीका कारण चलेको हो’, उनी ढुक्क छन्, ‘लकडाउनबाट उकुसमुकुस भएर बाँचेका नेपाली कोरोनाको महामारीबाट उम्केपछि फेरि घुम्न थाल्नेछन् । केही समय धैर्य गरेपछि उज्यालो दिन आउँछ ।’  

ठीकै भने उनले कोरोना कारण लगत्तै कम्तीमा दुई वर्ष विदेशी पर्यटक आउने छैनन् । स्वदेशमा डुल्ने भनेका हामी नेपाली नै हौं । पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनको योगदान ठूलो छ ।  

रामहरूले मनमा आशा र उत्साहको दियो जलाइरहून् । धेरैधेरै शुभकामना !   

मर्दी हिमाल पदमार्ग 

 

प्रकाशित: १७ जेष्ठ २०७७ २०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App