coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

कोरोनाको मारमा ईद

अल्लाहको नामबाट शुरु,

कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बिश्व नै आक्रान्त बनेको छ।  यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन।  फलस्वरुप हाम्रो दैनिकी दिन प्रतिदिन कठिन र प्रतिकुल बन्दै गइरहेको तथ्य सर्वविदित छ ।  

सबैभन्दा दुखद कुरा यस रोगको हालसम्म कुनै उपचार पत्ता नलागिसकेको हुनाले संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको समाचारले मन विचलित र आक्रान्त बनाउँछ।

विश्व स्वास्थ्य सङ्गठन तथा विज्ञहरुको राय बमोजिम कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी उपाय मानिएको लकडाउन र सामाजिक दूरी संसारका अधिकांश मुलुकहरुले अवलम्बन गरे झैं नेपाल सरकारले पनि विगत २ महिनादेखि लकडाउन गरेको छ। लकडाउन कहिलेसम्म केहि टुंगो छैन।

यसै क्रममा मुस्लिम समुदायको पवित्र महिना रमजान पनि आयो र यो विदा पनि हुन थालेको छ । यस महिनामा बालबालिका, वृद्ध र विरामी बाहेक हरेक मुसलमान बिहान सुर्योदयभन्दा करीब डेढ घण्टा अघिदेखि सुर्यास्तसम्म दिन भरि उपवास बस्ने गर्छन् । महिना भरि चल्ने उपवासमा दिन भरी कुनै पनि आहार (फलफुल, दुध, चिया, पानी समेत) नखाई ब्रत बस्ने चलन छ ।

यसै महिनाको अन्तिम शुक्रबार जुमातुल विदा अर्थात अलविदा र रमजानको समाप्तिमा मनाइने महान चाड ईद(उल(फित्र (ईद) सम्भवतः जेठ १२ गते पर्दैछ । उक्त दुवै दिन क्षेत्रकै ठूला मस्जिद वा ईदगाहमा भेला भई सामुहिक रुपमा विशेष नमाज सम्पन्न गर्ने र खुशीयाली साटासाट गर्ने परम्परा रहेको छ ।

इस्लामको हरेक परम्परा एवं प्रचलन पूर्ण रुपले तार्किक रहेको हुनाले रितिरिवाज लचकदार र परिवर्तनशील हुनु स्वाभाविक हो । वर्तमान महामारीको विषम परिस्थितिमा सरकारले गरेको लकडाउन र सामाजिक दूरीको परिपालना गराउन ईस्लामको महत्वपूर्ण कर्म नमाज (दैनिक पाँच पटक अनिवार्य रुपमा मस्जिदमा भेला भई सम्पन्न हुने)सामुहिक नमाजको सट्टा घरमै नमाज सम्पन्न गर्ने राय धार्मिक गुरुहरु तथा विज्ञहरुले दिइ सकेका छन र अधिकांश मुस्लिम धर्मावलम्बीहरुले सोही बमोजिम गर्दै आएको पनि पाइएको छ ।  

सो को अनुगमन हालै मुस्लिम आयोगले हरेक जिल्लामा जिल्ला समन्वय समिति र स्थानीय निकायको रोहबरमा समिति गठन गरि सम्पन्न गरिसकेको छ ।

हाल भारतमा रेल सञ्चालन भएपछि भारतमा रहेका नेपाली प्रवासी र मजदुरहरु घर फर्किने क्रम बढेको र खुल्ला सिमानाका कारण केही व्यक्तिहरु लुकिछिपी अवैधरुपमा नेपाल प्रवेश गरेका र क्वारेन्टिन नबसेको पनि पाइएको छ  र सबैको कोरोना परीक्षण पनि हुन नसकेको अवस्थामा कोरोनाको संक्रमण समुदायमा हुन सक्ने सम्भावना बढी छ ।

ईस्लामको व्यवस्था बमोजिम कुनै संकट वा महामारीबाट आफू पनि जोगिने र अरुलाई पनि जोगाउन मुसलमानहरुको परम कर्तव्य मानिन्छ ।

अतः अलविदा र ईदको दिन मस्जिद र ईदगाहमा भेला भई नमाज सम्पन्न गर्दा कोरोना संक्रमणको जोखिम बढी हुने देखिन्छ। समुदायका सम्पूर्ण दाजुभाइ तथा अगुवाहरुलाई उक्त दुवै दिन धार्मिक गुरुहरु तथा विज्ञहरुको राय बमोजिम घरमै नमाज अदा गर्न र चाडपर्व मनाउन तथा शुभकामना आदान प्रदानका निम्ति पनि अनुरोध छ। व्यक्तिगत भेटघाटलाई त्याग्दै मोबाइल, टेलिफोन र सामाजिक सञ्जाललाई प्रयोग गन सकिन्छ। सरकारले लागु गरेको लकडाउन तथा सामाजिक दूरी कायम गरी कोरोना नियन्त्रणमा सहयोग हामी सबैले सहयोग गर्नुपर्छ।  सबैमा ईद मुबारक

अल्लाहले हामीबाट जान अनजानमा भएका त्रुटि र कमजोरीहरूलाई क्षमा गरी हाम्रा नमाज, रोजा, दान र अन्य सुकर्महरुलाई स्वीकर गरी उचित प्रतिफल प्रदान गरुन् ।

आमीन  !

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App