coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

करेसाबारीकै मीठो

रुबिआ पराजुली

रुबिआ पराजुली 

कक्षा : ६

बुढानिलकण्ठ स्कुल, काठमाडौं  

घरवरपरका खाली जमिन जहाँ हामी तरकारी रोप्छौं, त्यसलाई करेसाबारी भनिन्छ । धेरैजसोको करेसाबारी होला ! कतिका वरपरका जग्गा खाली पनि हुन सक्छ । त्यसलाई करेसाबारीका रुपमा प्रयोग गर्न सक्दा धेरै फाइदा हुन्छ । म यहाँ करेसाबारीको महत्वबारे चर्चा गर्छु ।    

हाम्रो स्वास्थ्य भान्सासँग जोडिन्छ, त्यसैले भान्सालाई करेसाबारीका ताजा र स्वस्थ  सागसब्जीसँग जोड्न सक्यौं भने हामी स्वस्थ रहन सक्छौं । हामीले बजारमा धेरै सागसब्जी र फलफूल किनेर खाने गरेका छौं । तर ती खानामा विषादी राखेर टलक्क टल्किने बनाइएको हुन्छ जुन हाम्रा लागि हानिकारक हुन्छन् । त्यसैले ताजा र स्वस्थ  तरकारी उत्पादन गर्न हामी करेसाबारी प्रयोग गर्न सक्छौं ।

पहिलेका मानिस निकै काम गर्थे, घरमै फलाएका ताजा सागसब्जी, फलफूल र अन्न खाने गर्थे । किनेर खानेको इज्जत नहुने सोचाइ राख्थे । तर अचेल मानिसले परिश्रम गर्न छाडेकाले विभिन्न रोगका शिकार समेत भएका छन् । कतिपय साँझबिहान हिँडेर कसरत गर्ने, योग गर्ने, व्यायाम गर्ने गर्छन् । तर त्यही समयमा करेसाबारीको काम गर्ने हो भने एकातर्फ शरीर फूर्तिलो हुन्छ । रोग लाग्नबाट बचिन्छ । अर्कोतर्फ सफा र ताजा सागसब्जी उत्पादन गरेर खान पाइन्छ ।  

घरका सबैजना मिलेर बारीमा सागसब्जी फलाउन शुरू गरौं । अरुको भर पर्नुभन्दा आफैँले फलाएर खाँदा स्वस्थ भइन्छ ।

फोहोरमैला व्यवस्थापन गर्न पनि करेसाबारी महत्वपूर्ण हुन्छ । घरका कुहिने फोहोरलाई कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ । यसरी कुहिने फोहोरको करेसाबारीमा सदुपयोग गर्न गर्न सके तरकारी राम्रो फल्छ । अनि हाम्रो वरपरको वातावरण सफा र स्वच्छ हुन्छ । कुहिने फोहोर सदुपयोग गर्न करेसाबारी नहुने घरमा पनि छत, बरण्डा वा गमलामा तरकारी फलाएका हुन्छन् । यसबाट करेसाबारीको कति महत्व छ भन्ने छर्लङ्ग हुन्छ ।  

करेसाबारीको धेरै महत्वमध्ये औषधीजन्य वनस्पतिको उपलब्धता पनि एक हो । हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, घ्यूकुमारी, तुलसी, अकबरे खुर्सानी, कुरिलो लगायत रोप्न सक्छौं । सजिलोसँग उपयोग गर्न सक्छौं । किनेर ल्याएका खानेकुरामा बिषादी मिसिएको हुन सक्छ, त्यसैले निर्धक्क खान सकिन्न । करेसाबारीमा उत्पादन गरेका खानेकुरा भने ढुक्क भई उपयोग गर्न सकिन्छ ।  

अहिले लकडाउन जस्तो महामारीमा घरबाट बाहिर जान नपाउने अवस्थामा करेसाबारीको त निकै महत्व हुँदो रहेछ । बाहिरबाट तरकारी ल्याउँदा संक्रमण होला कि भन्ने डर हुन्छ । त्यसैले आफ्नै करेसाबारीका ताजा सागसब्जी खानुको आनन्द बेग्लै छ ।  

हामी सबै घरमै बसिरहेका छौं । यतिबेला घरका सबैजना मिलेर बारीमा सागसब्जी फलाउन शुरू गरौं । अरुको भर पर्नुभन्दा आफैँले फलाएर खाँदा स्वस्थ भइन्छ । साथै पैसाको बचत र समय पनि सदुपयोग हुन्छ ।  

अहिलेको समयमा घरबाहिर निस्किएर अरु केही गर्न सकिने अवस्था छैन त्यसैले सबै आमाबुबाले बालबालिकालाई करेसाबारीमा काम गर्न सिकाउनुभयो भने हामी पनि तरकारी उत्पादन कसरी गर्ने भन्ने सिक्न सक्छौं । सधैँजसो पढाइमा व्यस्त रहनुपर्ने हाम्रो बाध्यता थियो तर अहिले लकडाउन भएर घरमै बसेका छौं । यही समयमा हामीलाई खेती कसरी गर्ने भन्ने करेसाबारीबाट सिकाउन सक्नुहुन्छ ।

जसरी मानिसको शोभा उसको व्यवहारबाट देखिन्छ त्यसैगरी घरको शोभा करेसाबारीले बढाएको हुन्छ । त्यसैले वरपरका खाली जमिनलाई करेसाबारीका रुपमा उपयोग गरौं । आफैं फलाएर खाने परिश्रमी बन्न सकौं । किनेर भन्दा उत्पादन गरेर खाने बानीको विकास गरौं ।  

यसरी करेसाबारीका धेरै महत्व छन् । परिवारका सदस्यले करेसाबारीमा सँगै काम गर्दा पारिवारिक मेलमिलाप बढ्न जाने, तनाव व्यवस्थापन गर्न सकिने, परिश्रम गर्ने बानीको विकास हुने लगायत फाइदा पाउन सकिन्छ । त्यसैले करेसाबारीमा सागसब्जी फलाएर खाने गरौं ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App