८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

खेर नगएको लकडाउन

महामारीकारूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै त्रसित बनाएको सर्वविदितै छ। नेपालमा वैशाख १७ सम्म ५४ जना संक्रमित भएका छन्। खुसीको विषय यसमध्ये १६ जना निको भएर घर फर्केका छन्। अर्थात एक जनाको पनि मृत्युको खबर सुन्नुपरेको छैन। महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गरेको छ। यातायात, उद्योगधन्दा, कलकारखाना, संघ/संस्था र शैक्षिक संस्था सबै ठप्प छन्। आफन्तकोमा समेत आउजाउ र भेटघाट गर्ने स्थिति छेैन्। दिनहुँ श्रम गरी खाने वर्गलाई जीवन गुजारा गर्न कष्ट भएको छ। 

सरकारले लकडाउनको घोषणा १० गते अर्थात अघिल्लो दिन मात्र गर्‍यो। त्यसैले कार्यालयको काम सकी बेलुका ६ बजे घर पुगेपछि मात्र यसबारे थाहा भयो। त्यसको दुई दिनअघि नै सार्वजनिक यातायातमा रोक लगाइएको थियो। कोही पनि घरबाट बाहिर निस्कन नपाइने, हिँड्डुल गर्न नमिल्ने, बाहिर हिँड्यो भने कोरोना भाइरस सरिहाल्छ भन्ने जस्ता खबरले मन त्रसित बनायो। पहिलो हप्ता म पनि कतै ननिस्की लकडाउन पूर्ण पालना गरेर बसिरहेँ। घरमा एक्लो थिएँ।  छोरीहरू परीक्षा सकेर गाउँ गएका थिए। लामो लकडाउन हुन्छ र एक्लै बस्नुपर्छ भनेर सय मनमा एक मनले पनि सोचेको थिइन्। फेरि यसअघि लकडाउन भोगिएको पनि त थिएन। दैनिकरूपमा कार्यालयमा काम गर्ने बानीले गर्दा घरभित्र एक्लै बस्नुपर्दा पिँजराभित्रको सुगा जस्तै भएँ। छटपटी र डर उत्पन्न भयो। मुख बोल्ने एक जना साथी पनि नभएकाले नमीठो महसुस हुँदै गयो।

टिभी र सामाजिक सञ्जाल घरिघरी हेर्‍यो। खाली निराशा र डरमात्र बढ्ने समाचारले थप दिक्क बनायो। मृत्यु र संक्रमितको बढ्दो संख्याले कतै संसार नै सकिन्छ कि भन्ने त्रास बढि नै रह्यो। घरमा म एक्लो छु भन्ने कुरा मलाई माया गर्ने धेरैलाई थाहा थियो। फोन गरेर वा मेसेज पठाएर एक्लै कसरी बसेकी छस्? पकाएर खान्छेस् कि खान्नस्? अल्छी नगरी पकाएर खानु, तँलाई अरू पनि रोग छ, यस्तोलाई कोरोनाले चाँडो आक्रमण गर्छ रे भन्ने गर्नुहुन्थ्यो। नजिक हुने आफन्त राति लिन आउँछौँ, सँगै बसौँ भन्नुुहुन्थ्यो। त्यति भन्दा पनि मलाई ठूलो साथ दिएको महसुस हुन्थ्यो।  म कतै नगई एक्लै घरमा नै बसिरहेँ। जाँगर लागे पकाएर खान्थेँ। मनमा अनेक कुरा खेल्थ्यो। डायलासिस गरेकी आमालाई यो बेलामा गाह्रो भयो भने के गर्ने होला ? कोरोनाले सबै भन्दा बढी क्षति पुगेको देश अमेरिकाको न्युयोर्कमा एक्लै बसेको भाइको यादले उत्तिकै सताउँथ्यो। म आफ्नो देशमा छु। आफ्नै घरमा बसेको छु त एक्लै बस्दा यति छट्पटी र पीडा भयो भने ऊ अर्काको देशमा एक्लै बस्दा कति पीडा भयो होला ?प्रश्नले निकै सताइरह्यो। सुरुको हप्ता दिनको एकपटक आमा र भाइसँग कुरा गरियो। अलि शान्ति मिलेको महसुस भयो।

अरू आफन्तलाई पनि अमेरिका बस्ने भाइको चिन्ता थियो। सबैले फोनमा सोध्नुहुन्थ्यो– रवीन भाइको खबर के छ ?यो प्रश्नले मलाई झनै झस्क्याइरहन्थ्यो। आफैँलाई झस्क्याउने प्रश्नको उत्तर कसरी दिन सक्थेँ र ? तर पनि सकभर अरूलाई आफ्नोपीडा थाहा नहोस् भन्नेबारे सतर्क भइरहने प्रयास गरेँ। घरको सरसफाइ र फूलको हेरचाह भने राम्रैसँग गरियो। डा. नम्रता र डा. प्रद्युम्नराज पाण्डेले लेखेका रहस्य जीवन र प्रेम, नारायण ढकालको प्रेतकल्प र मोहन मैनालीको उपल्लो थलो पढेर सकेँ। पढ्दा समय बिताउन भने सजिलो भयो। थोरै शान्ति पनि मिल्यो।लकडाउनले कार्यालय ‘भूमि घर’ पनि बन्द थियो। बेलैमा सचेतता अपनाउनाले टाढाका सबै साथी घर÷परिवारमा पुग्न पाउनुभयो। १२ दिन पुग्दासम्म अफिस र साथीहरूलाई धेरै मिस गरेको अनुभूति भयो। कहिले भेटौँ, कहाँ भेटौँभइरह्यो। यसबीचमा प्रत्येक हप्ताको शुक्रबार इन्टरनेटमापहुँच हुने साथीबीच स्काइप कल हुने निर्णय भयोे। प्राविधिक कठिनाइका कारण मैले पहिलो स्काइप कल मिस गरेँ।सृष्टि बहिनीको सहयोगमा दोस्रोपटकको स्काइप कलमा सहभागी भएँ।

साथीहरूसँग कुराकानी गर्दा खुसी महसुस गरेँ। पालैपालो घरबाट गरेको काम र अर्को हप्तामा के गर्न सकिन्छ भन्ने कुरा पनि छलफल हुँदै गयो। कार्यक्रमका टिमको त घरमा बसेर पनि गर्न सकिने काम केही न केही हुँदोरहेछ। तर व्यवस्थापन टिमका सदस्यको भने कार्यालयमा नआइ इमेल हेर्न र लेख्ने/पढ्नेबाहेक अरु काम गर्न सकिँदो रहेनछ। टिममा छलफल हुँदै गएपछि सावधानी अपनाएर नजिक हुने साथीहरू अफिसमा आएर काम गर्ने सहमति भयो। हामी ४–५ जना साथीहरू लकडाउनको १३ दिन (चैत २३) देखि  कार्यालय जान थाल्यौँ। संस्थाका कार्यकारी निर्देशक त लकडाउनको चौथो दिनबार्ट कार्यालयमा नियमित आउजाउगर्न थालिसक्नुभएको थियो। कार्यालयमा गर्नुपर्ने काम धेरै थिए। कहाँबाट सुरु गर्ने ? कता पुर्‍याएर अन्त्य गर्ने ?अलमल भयो पहिलो दिनमा। अफिस शून्य थियो। कुर्सी खाली थिए। साथीहरूलाई मिस गरेको अनुभूति भयो। कमलाजी र म भएर सरसफाइबाट काम थाल्यौँ। यसपछिका दिनमा पनि खाना बनाउने र सरसफाइ गर्ने काम मिलेर गरियो। अफिसमा काम गर्दा आनन्द महसुस भयो। दिन कटेको पनि पत्तो भएन। 

बिहान ८ बजेभित्र अफिस पुग्ने र बेलुका ६ बजेपछाडि मात्र घर फर्किने काम नियमित गरियो। कर्मचारीलाई मार्च महिनाको तलब कसरी पठाउने भन्ने चिन्ता पर्‍यो। सम्बन्धित बैंकमा सम्पर्क र समन्वय गरी निकै मुस्किलका साथ विकास दाइको सहयोगमा तलब भुक्तानी गर्ने काम भयो। तलब भुक्तानीपश्चात सबै साथीलाई केही सजिलो भएको महसुस भयो। र, काम सम्पन्न भएकामा सन्तुष्टि पनि प्राप्त भयो। फोनमार्फत बोर्ड, अडिट कमिटी, साधारण सदस्य र समुदायका अगुवासँग कुराकानी गर्दा उहाँहरूको खुसी र माया पाउँदा आफूलाई पनि काममा सन्तुष्टि र थप ऊर्जा मिल्यो। यस्तो बेलामा सामान्य सञ्चो/विसञ्चो मात्रै सोध्दा पनि धेरै राहत मिल्ने रहेछ। कुराकानीका क्रममा धेरैले हाम्रा संगठनमा दिन/प्रतिदिन खाद्यान्न सकिँदै गएको गुनासो गर्नुभयो। कतिले आफ्नो क्षमताले भ्याएअनुसार स्थानीयस्तरमा सहयोग गरेको पनि सुनाउनुभयो।

हामीले पनि हाम्रो संस्थाको क्षमताअनुसार महोत्तरीमा २६ र सर्लाहीमा १४३ मुसहर परिवारलाई जिल्ला मञ्चसँगको सहकार्यमा खाद्यान्न सहयोग गर्‍यौँ।यो ठूलो काम त थिएन तर पनि सन्तुष्टि मिल्दोरहेछ। यहाँबाट रकम पठाउनै धेरै मेहनत गर्नुप¥यो। रकम नपठाएको भए यो काम सम्भव थिएन। सहयोगी संस्थाबाट पनि पटकपटक फोन आउने गथ्र्याे। ‘रिपोर्टिङका लागि के गर्न सकिन्छ ? डेडलाइनभित्र रिपोर्ट पठाउन पाए राम्रो हुन्थ्यो। भन्न त नमिल्ने हो, जे/जति खर्च भएको छ त्यही खर्च बुक गरेर रिपोर्ट पठाउन सकिन्छ कि ?’– उताबाट राखिने जिज्ञासा हुन्थ्यो। कार्यक्रममा केही पनि खर्च गर्न सकेको छैन भन्दा तलब र व्यवस्थापन खर्च त होलान्नि, त्यही भए पनि खर्च उठाएर दिनूस्, हामीलाई पनि अप्ठेरो छ भन्ने जवाफ आउँथ्यो। वास्तविकता जे भए पनि कार्यक्रमको खर्चबिना व्यवस्थापनको खर्च मात्र बुक गर्दा अप्ठेरो महसुस भयो। लकडाउनको बीचमा सुुख र दुःखका क्षण पनि आए। जसमा संस्थामा लामो समयदेखि संघर्ष गर्नुभएका कार्यकारी निर्देशक जगत देउजा भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा नियुक्त हुनुभएको खबर सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुँदा धेरै खुसी लाग्यो।

दिनभर काम गर्ने छुट्टै माहोल र ऊर्जा मिल्यो। तर पनि त्यस दिन मैले संस्थामा २००१ मा आइपरेको दुःखद घटर्ना सम्झेँ। किउल, हेलम्बूको डाँडाकाँडामा हिँडेको र त्यहाँका समुदाय अनिबासिन्दालाई झल्झली सम्झेँ। दुःखमा नआत्तिने, सुखमा नमात्तिने आफ्नै स्वभाव पनि मनन गरेँ। खाएको विष लाग्छ, नखाको लाग्दैन, एक दिन पक्कै दुःखको फल प्राप्त हुन्छ भन्ने उखानमाथि गरिएको विश्वास पनि सत्य सावित भएको ठानेँ। त्यसैगरी दुःखको क्षण पनि आइलाग्यो। एकै दिन संस्थामा कार्यरत यशोदा सापकोटा र मेनुका आचार्यको बुबाको मृत्यु भयो। केही दिनपछाडि विकास दाइको माइजूको पनि मृत्यु भयो। यस्तो दुःखद घडीमा पनि भेट्न जान नपाउँदा थप दुःख लाग्यो। तर मसँग यस्तो अवस्थामा दुःखको बोझ स्वीकार्नुबाहेक विकल्प नै के थियो र ? यहीबीचमा सहकर्मी सावित्री पुरीकी आमालाई एपेन्डिसाइड भई अपरेसन गर्नुपर्‍यो। शीघ्र स्वास्थ्य लाभको कामनाबाहेक केही गर्न सकिएन। त्यो पनि फोनबाटै। नजिकै भएको हुनाले सहकर्मी कमला गौतमको छोरीको पत्थरीको अपरेसनपश्चात भने हिँडेरै भए पनि चिरायु हस्पिटल गएर भेट्न पाइयो। परिस्थिति प्रतिकूल भएकाले होला, यसरी अस्पतालमै गएर भेट्न पाउनुलाई पनि ठूलै उपलब्धि मान्नुपर्‍यो।

वैशाख ११ गते आमाको मुख हेर्ने दिनमा पनि बिरामी आमा भेट्न सिन्धुपाल्चोक जान पाइएन। उक्त दिन धेरै छोरीहरूले फेसबुक र फोनमार्फत आमाको मुख हेरी चित्त बुझाए। म पनि यसबाट पृथक हुन के सक्थेँ र ?त्यसै गरेँ। वैशाख १४ गते ठूलो जेठाजुको छोरा मनिषको विवाह भयो। त्यसमा पनिसामेल हुन पाइएन। ५ वर्षदेखि नियमित मिर्गाैलाको डायलासिस गरिरहनुभएकी आमाको औषधि लिन जाँदा निदान हस्पिटल पुल्चोकमा भर्ना भएका बिरामी र होमोडायलासिस गर्ने बिरामीको लाइन देख्दाचाहिँमुलुकमा लकडाउन छ र ? भन्ने सोच्न बाध्य भएँ। एकजना डायलासिस गर्ने आमाको कुरुवा हस्पिटलको प्यासेजको एक कुनामा स्टोभमा खाना बनाउँदै हुनुहुन्थ्यो। छेउमा एक सेट ओढ्ने/ओछ्याउनेसहित बिरामी सुताइएको थियो। यो दृश्य देखेपछि म नबोली रहन सकिन। किन यसरी यहाँ बस्नुभएको भन्दा उहाँले मलिन अनुहार लगाएर भन्नुभयो– आमाको हप्तामा २ चोटि होमोडायलासिस गर्नुपर्छ। घरवेटीले घर र हस्पिटल आउने/जाने गर्ने हो भने तिमीले मेरो घरमा कोरोना लिएर आउछौँ। कोठा छोडिदिनू भन्नुभयो।

त्यही भएर लकडाउन भरी हस्पिटलसँग अनुरोध गरी यहीँ बस्ने गरेको बताउनुभयो। बिरामी आमाको जिउ सुन्निएको थियो। बिरामीलाई साह्रै गाह्रो भएको देखिन्थ्यो। यो स्थिति देख्दा मन नै छिया छिया हुने गरी दुख्यो। धन्य छ गरिबको जीवन जस्तो लाग्यो। अर्काको घरमा बस्दाको दुःख र  पीडा। आफ्नो घर भइदिएको भए यस्तो दुःख किन झेल्नुपथ्र्यो र ? मैले आफू र आमालाई भाग्यमानी सम्झेँ। आमालाई मासिकरूपमा लगाउनुपर्ने होमोग्लोबिनको सुइ सिन्धुपाल्चोकमा समयमा पठाउन नपाउँदा दुई रात राम्रोसँग निन्द्रा पनि लागेन। आमालाई केही भइहाल्ला कि भन्ने चिन्ता लागिरह्यो। आमालाई नियमितरूपमा जाँचिरहने कल्पना डाक्टरलाई फोन गरेर दुई चार दिन ढिला हुँदा केही फरक पर्दैन होला नि डाक्टर साब भन्दा उहाँले हुँदैन, रगत घट्यो भनेचाहिँ समस्या हुन सक्छ, जतिबेला जे पनि हुन सक्छ, डायलासिस गरेको बिरामी हो, बिरामीको औषधि लिएर जान त दिइहाल्छ नि, ढिला नगर्नुहोस् भन्नुभयो। त्यसपछि त झन् बढी डर लाग्न थाल्यो। तुरुन्तै सिन्धुपाल्चोकमा हस्त दाइलाई फोन गरेर समस्या बताएँ। त्यही दिन बेलुका दाइले भोलि हेलम्बू गाउँपालिकाको एम्बुलेन्स बिरामी लिएर आउँदैछ भनेर एम्बुलेन्सवालाको नम्बर मेसेज गरिदिनुभयो।

भोलिपल्ट एम्बुलेन्सबाट केही बाकस पानी र औषधि पठाएपछि ढुक्क भएँ। एम्बुलेन्स चालक किउलको मिठ्ठे दाइ (अहिले हुनुहन्न, किउल बस्दा एउटै परिवार जसरी बसिएको हो) का छोरा रहेछन्। उनले पनि चिनेका हुँदा सजिलो भयो। धेरैले यस्तो बेलामा पनि अफिस गएर के काम हुन्छ ? कति अफिस अफिस भनेर दौडेको ? बस्न पाएको बेलामा मग्न बस्नु नि पनि भन्नुभयो। मलाई भने कार्यालय नजिक भएर काम गर्न सकेकामा खुसी लागेको छ। काम नगरी बस्न गाह्रो हुँदोरहेछ। यस समयमा आफू र संस्थाले गरेकै कामबारे सोच्ने समय बढी भयो। संस्थाले भूमि अधिकार र दिगो कृषिबारे गरेको काम ज्यादै महत्वपूर्ण रहेछ भन्ने थप महसुस भयो। खानेकुरा कति महत्वपूर्ण छ र यसले मानव स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने त यस समयमा सबैले थाहा पाउने नै भइहाले।खानाको सबभन्दा बढी समस्या मजदूरलाई भयो। मजदूर को हुन् ? त्यही जमिन नभएका मानिस त हुन्। ती सबै मेहनती मजदूरलाई जमिनमा हक कायम गराउनका लागि काम गरेको संस्थामा जोडिन पाउँदा गर्व पनि लाग्यो। स्रोत आउला वा नआउला। आफ्नो क्षमताले सकेको गरिनै रहनेछु भन्ने अठोट फेरि एकपल्ट दोहोर्‍याएँ यस अवधिमा। अफिसमा पनि सामाजिक दूरी कायम गरी सावधानीपूर्वक काम गरियो।

१० मिनेटमा घर पुगिहालिन्छ। अफिसभित्र पसेपछि सुरक्षित होइन्छ। डराउनु पनि के छ र ? कहिलेकाहीँ काममा विरक्त पनि लाग्छ। बिरामी आमासँग यस्तो बेलामा १०(१२ दिन बस्न पाएको भए कस्तो हुन्थ्यो भन्ने पनि नलागेको हैन।तर सबै आफैँले चाहेजस्तो मात्र कहाँ हुँदोरहेछ र ? जे होस्, गरिब समुदायका लागि काम गरेका छौँ। बाँचुन्जेल काममा नै रमाउने हो आफ्नो क्षमताले भ्याएसम्म। काम गरेर मरिँदैन भन्ने भावनाले नै यस्तो लकडाउनमा पनि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काम गरिरहेको छु।
(१८ वैशाख, २०७७।भूमि घर–धापासी)

प्रकाशित: १९ वैशाख २०७७ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App