७ वैशाख २०८१ शुक्रबार
ब्लग

मन बहकाउने तस्बिर

बढ्दै गएको गर्मी। त्यसमा बन्दाबन्दी (लकडाउन) ले घरभित्रै बस्नु पर्दाको पठ्यार लाग्दो दैनिकी। यस्तो बेलामा सामाजिक सञ्जाल नचलाएर दिन काट्न पनि मुस्किल।

सामाजिक सञ्जाल चलाउँदै थिए। विश्वभरि फैलिरहेको कोरोना भाइरससम्बन्धी विभिन्न समाचारहरू सेयर गरिएका थिए। अहिले चासो पनि यसैमा छ। यही भिडमा एउटा स्टाटस नेर मेरो हात रोकियो। पत्रकार खिलबहादुर भण्डारीको सामाजिक सञ्जाल फेसबुकमा लेखिएको थियो उक्त स्टाटस। मात्रै दुई हरफको। तर लाग्थ्यो पूरै किताब पढे जस्तो।

‘पोल्छ साइला यी मनहरू
के काम सरकारी धनहरू’

यसको मुनि करिब ११ वटा फोटा पोस्टिएका थिए। फोटोमा प्रस्ट देखिन्थ्यो, ‘सरकार हराएको।’ कोठाभित्र बस्दा मलाई गर्मी महसुस भएकै छ। चर्काे घाम त्यसमा तातो सडक। चर्काे घाम र तातो सडक नभिन तालु तताउँदै पसिना चुहाउँदै भोकै प्यासै हिँडेका पैदल यात्रीका ती तस्विरले सरकार भएको अनुभूति गराउँदै गराएन। यदि सरकार भएको अनुभूति हुन्थ्यो भने यस्ता तस्विर सामाजिक सञ्जालभरि छरपस्ट हुने थिएनन्। ती तस्विरमध्ये पनि दुई तस्विर झनै दर्दनाक थिए। 

एउटा केटा अगाडि हिँड्दै गरेका। अर्काेले पछाडि एउटी महिलालाई काँधमा उठाएर हिँडिरहेका। उनीसँग आफ्नो सामान पनि। लाग्छ उनले रहरले ती महिलालाई काँधमा हालेका होइनन्। मेरो सहजै अनुमान भयो, ‘हिँड्दा हिँड्दा ती महिलाका खुट्टामा फोका उठे थिए। मानवीय स्वभाव या त आफन्तको हिसाबले आफ्नै झोलासँगै ती महिलालाई पनि बोकेको हुनुपर्छ।’ 

अर्काे तस्विरमा एउटा प्रतिक्षालय छ। त्यहाँ महिला पुरुष दुवै छन्। त्यहीँ भिडमा बच्चासहितका महिला पनि छिन्। यस्तो अवस्थामा पनि उनी बच्चासहित गन्तव्यमा निस्केकी छिन्। ती महिलालाई घर पुगिन् वा पुगेकी छैनिन् होला। कति दिनमा पुग्छिन् या पुगिन् होलिन्। यहाँ पोस्ट गरिएका सबै तस्विरले भावुक बनायो।

केही समय पछि ती तस्विरहरू सामाजिक सञ्जाल भरियो। पत्रकार भण्डारीले पनि सायद ती फोटा सामाजिक सञ्जालबाटै प्राप्त गरेका थिए। सयौं किलोमिटर पार गर्दै गन्तव्यमा निस्केका छन् पैदल यात्री। उनीहरूको यो रहर होइन् बाध्यता हो। उनीहरू कति दिन सडकमै बास बासे होलान्। भोक प्यासले कति सतायो होला, ती तस्विरले प्रष्टै देखाउँछ। एक ठाउँबाट अर्काे ठाउँ जाँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन लगायो। सोहीअनुसार कलकारखाना, उद्योग, यातायातलगायतका क्षेत्र बन्द छन्। बजार सुनसान छन्।

यातायात बन्द हुँदा खाना अभावमा कयौं मान्छे पैदलै यात्रा गरे। केहीले गर्दैछन्। उनीहरू भोग प्याससँगै बाटोमा हिँडिरहेका छन्। ती व्यक्तिलाई नत सरकारले रोक्न सकेको छ न त जहाँ हो त्यही खानाको व्यवस्था गरेको छ। सवारी साधनमा यात्रा गर्दा कोरोना सर्ने र हिँडेर गाउँ घर पुग्दा कोरोना संक्रमणको जोखिम नहुने हुन्छ र ? मेरो सरकारलाई यही प्रश्न छ। कित मान्छेलाई जहाँ हो त्यही सुरक्षित ढंगले खान र बस्नको व्यवस्था गर्नु पर्छ। होइन भने उचित स्वास्थ्य परीक्षण गरी गन्तव्यसम्म सरकार आफैँले उनीहरूलाई पु-याउनु जरुरी छ।

जनतालाई सरकार चाहिने नै दुःख पीडाका बेला हो। अरुबेला त जनता आफैँ संघर्ष गरेर दैनिकी चलाउँछन्। यस्तो बेलामा सरकारले अभिभावक्तव निर्वाह गर्न जरुरी छ। सरकारविहीन जस्तो बाटोमा हिँडिरहेका पैदल यात्रीलाई हेरेर बस्नु गैरजिम्मेवारी हो। अहिले सामाजिक सञ्जाल यी नै तस्विरले चर्चा पाएका छन्। यिनै तस्विरले म जस्ताको मन बहकाएको छ।

प्रकाशित: ९ वैशाख २०७७ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App