९ मंसिर २०७७ मंगलबार
ब्लग

रिपोर्टर डायरी: गर्भवती डेरा निकाला कि ‘क्वारेन्टाइन’मा?

पीडित परिवार

प्रिय पाठकहरु 
नमस्कार, जोजोलोपा
विश्वभर कोरोना महामारी (कोभिड —१९)ले मानिसहरु आक्रान्त भएको बेला तपाइँहरु पनि पक्कै चिन्तित हुनुहुन्छ होला। कारोना भाइरसको सन्त्रासले तपाइँलाई पनि सताएकै होला। नेपाली मात्र होइन विश्व समुदाय नै कोरानालाई परास्त गर्न सामूहिक संघर्षको मैदानमा छ।

कोरोनाले मानव जगतलाई चुनौती दिएको छ। न धनी न त गरिब। महामारीसँग जुध्न आम समुदाय घरभित्र(क्वारेन्टाइन) छ। सरकारले आह्वान गरेको लकडाउनलाई सबैले पालना गरेका छौं। जसरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी फ्रन्टलाइनमा गएर कोरोनाको उपचार र न्यूनिकरणको दायित्व पूरा गरिरहेका छन्। सञ्चार क्षेत्रले पनि लकडाउन नभनी चेतना जगाउने काम गरिरहेको छ।

प्रियजनहरु, 
सञ्चारकर्म कै दौरानमा नागरिक दैनिकमा प्रकाशित ‘कोरोना त्रासमा गर्भवती डेरा निकाला’ समाचारले कीर्तिपुरका केही व्यक्तिलाई चित्त दुखेको खबर सामाजिक सञ्जालबाट थाहा पायौं। हामी प्रकाशित गरेको सामग्रीप्रति केही व्यक्तिले असन्तुष्टी पोखेकाले प्रष्टाउने प्रयास गरेका छौं। हामीले लेखेको खबरबाट यहाँहरु दुःखी हुँदा हामी खुशी हुने कुरै भएन। घरधनी वा कीर्तिपुरबासीलाई चित्त दुखाउन हामीले यो विषय उजागर गरेका पनि होइन।
 
यसअघि दाङको घोराही उपमहानगरपालिकामा घरधनीले कोरोना आउने त्रासले एक स्वास्थ्यकर्मीलाई घरबाट निकाला गरेको समाचारले तपाईँहामी सबैलाई चिन्तित तुल्यायो। कीर्तिपुरमा त्यसको पुनरावृत्त भयो। त्यसैले यो सामाजिक मुद्दा र समाचारको विषय बन्यो। 

हो, मलाई थाहा छ। ‘डेरा निकाला’ भन्ने समाचारप्रति घरधनी र उहाँका आफन्त सन्तुष्ट हुनुहुन्न। घरबाट निकालेको होइन क्वारेन्टाइनमा सुरक्षित राखेको हो भन्ने तपाईँको जिकिर छ। यसले तपाईको आत्मसम्मानमा ठेश पुगेको ठान्नु भएको छ। डेराबाट निकालिएपछि अहिले पीडित नौ महिनाकी गर्भवती देवी शर्मा, उनका पति वैकुण्ठ, छोरी बिभिषा र बबिता त्रिवीस्थित चिकित्साशास्त्र अध्ययन संस्थान जनस्वास्थ्य केन्द्रीय विभागको क्वारेन्टाइनमा छन्।

घरधनी डेराबाट निकालेको होइन, सुरक्षित क्वारेन्टाइनमा राखेको भन्नुहुन्छ। यसमा नौ महिनाकी गर्भवती सहमत छिन् त ? छैनन्। जसरी तपाईलाई डेराबाट निकालेको होइन भन्ने विषयले पिरोलेको छ। त्यसरी नै आफ्नै घरबेटीले समुदायको दबाबमा जबरजस्ती कोठाबाट निस्किनु पर्दाको पीडाले ती गर्भवतीलाई कति आघात परेको होला। अनुमान गर्न सक्नुहुन्छ ? तपाइँका पनि छोरी, बुहारी, आमा,दिदीबहिनी छन्। महिला दिदीबहिनीले पनि कल्पना गर्न सक्नुहुन्छ। 

एउटी गर्भवती महिला भक्कानिँदै फोन गरेर आफूलाई दुव्र्यवहार गरेर घरबाट निकालेको विषय जानकारी गराएपछि यो मानवीय संवेदनाको विषय हो कि होइन ? जिकिर आ—आफ्नै छन्। तपाइ डेराबाट निकालेको होइन भन्नहुन्छ। पीडित निकालेको भन्छन्। 

कीर्तिपुर–१० का गणेशमान महर्जनले संवाददातासँग समुदायको दबाबमा आफूले घरबाट क्वारेन्टाइनमा जान भनेको स्वीकार गर्नु भएको थियो। प्रहरीले पनि बाहिरबाट आएका मानिसलाई बस्न नदिने भनी स्थानीयले बिरोध गरेकाले क्वारेन्टाइनमा सुरक्षित राखिएको बताउँछ।’ कीर्तिपुर नगरपालिका वडा नं १०का वडाध्यक्ष अमन महर्जनले प्रकाशित गरेको विज्ञप्तिमा लेखिएको छ— ‘स्थानीयको आक्रोस नियन्त्रण बाहिर जाने अवस्था देखिएकाले शर्मा परिवारसँग छलफल गरी सुरक्षा निकायको समन्वयमा क्वारेन्टाइनमा राखिएको हो।’ प्रहरी र वडाध्यक्षको तथ्यले देखाउँछ। स्थानीयले घरमा राख्न नमानेपछि गर्भवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको हो।

स्थानीय आक्रोशित हुनुपर्ने अवस्था कसरी आयो ? यसको प्रमुख कारक त कोरोना भाइरस नै हो। तर, सहायक कारक तपाईहरु दुई पक्ष हो। स्थानीय आफ्नो न्यूनतम जिम्मेवारी र मानवीय व्यवहारबाट विचलित हुन मिल्छ ? अवश्य मिल्दैन। 

नेपाल प्रहरीले सार्वजनिक गरेको प्रेस नोट​

सामान्य अवस्था भए घरधनी र स्थानीयले को आयो को गयो भन्ने विषयमा खासै चासो हुने थिएन। कोरोनाको सन्त्रासले स्थानीय त्रसित हुनु स्वभाविक हो। स्थानीय र घरधनीले जे दाबी गरे पनि गभर्वतीका पति वैकुन्ठ कोरोनाको बहाननमा कोठाबाट निकाली मानसिक यातना, आत्मसम्मानमा चोट, धम्कीपूर्ण व्यवहार, मानव अधिकार, बालअधिकार, महिला अधिकारको हनन गरेको गुनासो गर्छन्। सबै पक्षका भनाई समेटेर हामीले प्रकाशित समाचारलाई केही व्यक्तिले दोषी करार गरी पित पत्रकारिताको बिल्ला भिराई भ्रम सृजना गर्ने प्रयास भैरहेको छ।

तथ्य के हो त ? के ती गर्भवती महिला आफ्नो कोठामा आउनु अपराध थियो ? गर्भवती जाजरकोटबाट आएपछि पाँच दिन डेरामा बसेको त सत्य हो। वडाध्यक्षकै रोबहरमा ताला लगाएर घरभित्र सेल्फ क्वारेन्टाइनमा राखिएको थियो। पाँच दिनपछि घरबाट निकाल्नुपर्ने बाध्यता किन आइलाग्यो ? 

के ती गर्भवती कोरोना शंक्रमित हुन् ? कोरोना शंक्रमित नै रहिछन् भने पनि उनको के अपराध गरिन् ? उनी जोखिम भएको क्षेत्र विदेशबाट आएकी पनि त होइनन्। कोरोना लागेको भए पनि दुरी कायम गर्दा सर्छ भन्ने छैन। कोरोना संक्रमित व्यक्ति पनि अन्य कुनै समस्या नआउँदासम्म घरमै बसेर उपचार गरेका समाचार पनि सुनेकै छौं। संक्रमण नभएको र जोखिम क्षेत्रबाट नआएको व्यक्ति विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार १४ दिन सेल्फ क्वारेन्टाइनमा घरमा बस्न सरकारले आह्वान गरेकै छ। विवाद उत्पन्न भएपछि ती गर्भवतीको कोरोना टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आए पनि घरबाट निकालेर क्वारेन्टाइनमा लगियो।

सरकारले लकडाउन गरेका बेला जाजरकोटबाट आउनुको उनको कमजोरी थियो। तर, उनीहरु रहरले नभई बाध्यताले काठमाडौं आएकी हुन्। देवीका अनुसार सामान्य अवस्थामा डेलिभरी नहुने चिकित्सकले बताए। सल्यक्रिया गरेर बच्चा जन्माउन चिकित्सकको सिफारिस अनुसार राजधानी आएका हुन्। आफन्तकोमा आएको भनिए पनि बबिता वैकुन्ठकी बुहारी हुन्। एउटै परिवारका सदस्यहरु सँगै नबसेर कहाँ बस्ने ? पाहुना भन्दासाथ सम्मान गर्ने हामी नेपालीको संस्कार पनि हो। 

पीडितका अनुसार पटक—पटक निस्किन दबाब दिइयो। पाँचौं दिनका दिन बलजफ्ती निकालियो। क्वारेन्टाइनमा नै लैजानुपर्ने थियो भने किन पहिलै समन्वय गरिएन। हरेक दिन कोठाबाट निस्किन दबाब दिएर पाँच दिनपछि लगियो ? कोरोनाको जोखिम छ भनेर आएकै दिन सम्झाई बुझाई गरी दुवै पक्षलाई चित्त बुझ्ने गरी क्वारेन्टाइनमा लैजान सकिन्थ्यो। कमजोरी दुवै पक्षबाट भएको हुनसक्छ। विवाद उत्पन्न भएपछि गर्भवतीको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घरबाट निकालेर क्वारेन्टाइनमा पठाउनु पर्ने कारण कसरी आइलाग्यो ? गर्भवतीले पनि समुदाय र घरधनीलाई किन आश्वास्त पार्न सकेनन् ?

यी विषय सम्बन्धित पक्षले जानुन्। एकछिन गर्भवती र उनका पतिले भनेको कुरालाई छाडौं। उनीहरुले एकपक्षीय आरोप लगाए। तर, प्रहरीले त झुठो बोलेन होला। नेपाल प्रहरीले सार्वजनिक गरेको प्रेस नोटमा लेखिएको छ— ‘करिब दुई सय जना भेला भई बाहिरबाट आएका मानिसलाई बस्न नदिने भनि बिरोध गरेको खबर प्राप्त गर्नासाथ प्रहरी उपरीक्षकको कमाण्डमा टोली खटाई देवी, उनका पति बैकुण्ठ, छोरी बिभिषा र बहिनी बबितालाई टियू स्थित चिकित्साशास्त्र अध्ययन संस्थान जनस्वास्थ्य केन्द्रीय विभागको क्वारेन्टाइनमा सुरक्षित राखिएको छ।’ तपाइँ हाम्रै शान्ति सुरक्षामा खटिने प्रहरीको लिखित प्रेस नोटलाई हामीले विश्वास नगरे कसलाई विश्वास गर्ने ? सामान्य अवस्थामा तीन जनालाई क्वारेन्टाइनमा पठाउन दुई सय जना भेला हुनुपर्ने अवस्था किन आइप¥यो ?

यो समस्यालाई पत्रकारिताको तराजुमा राख्दा गर्भवतीको पीडाले हामीलाई गम्भीर बनायो। सूचना पाउँनासाथ हामीले पीडित भनिएकी देवीको मात्र कुरा सुनेका छैनौं। घरधनी, प्रहरी, प्रशासनलाई सोधेर पत्रकारिताको व्यावसायीक धर्म पूरा गरेका छौं। समाचारको विश्वस्नीयतमा प्रश्न उठ्न हुँदैन भन्नेमा हामी सचेत छौं। वास्तविक तथ्यलाई बाहिर ल्याउँदा पनि केही व्यक्तिले मिडियालाई दोषी करार गरी एकपक्षीय ढंगले सामाजिक सञ्जाल, फोन, एसएमएसबाट समाचार हटाउन दबाब दिने, धम्की दिने काम गरे। धम्कीले विचलित हुनुभन्दा आफू अनुकुल समाचार प्रकाशित भएन भनेर धम्की दिने प्रवृत्तिप्रति चिन्ता लागेको छ। यो विषय नेपाल पत्रकार महासंघलगायतका संस्था, प्रहरी प्रशासनलाई पनि जानकारी गराएका छौं।

यस घटनाको कारक मिडिया हो त ? होइन। हामी मानव र समुदायबीचको सम्बन्धलाई तोड्न होइन, जोड्न चाहन्छौं। मानवबीच क्रोध, द्वेश, घृणा फैलाउन होइन प्रगाढ सम्बन्ध र प्रेम स्थापित गर्न चाहन्छौं। कुनै जात, धर्म, समुदाय, लिंग, बर्णबीच सामाजिक सद्भाव हुनुपर्छ चन्ने मान्यता राख्छौं। तपाई आक्रोशित हुँदा हामीलाई क्रोधित हुने छुट छैन। किनकि हामीमा समाज र नागरिकप्रति उत्तरदायी हुनुपर्ने अभिभारा छ। पत्रकारिता भीड वा कुनै शासकबाट निर्देशित हुने पेशा पनि होइन। कसलै धम्की दिएकै भरमा विचलित पनि हुँदैनौं। हामी आवाजविहीनको आवाज बन्नुपर्छ।

वडाध्यक्ष र स्थानीयको भनाइ राखेर दोस्रो पटक ‘क्वारेन्टाइनमा पठाएका हौंः स्थानीय, दुर्व्यवहार गरेर घरबाट निकालियोः पीडित’ शीर्षकमा समाचार प्रकाशित गरेका छौं। समाचारप्रति चित्त नबुझे खण्डन गर्ने, सम्बन्धित निकायमा न्याय खोज्न पाउने अधिकार छ। यसलाई ध्यान नै नदिई समाचार लेखेकै भरमा दोषी करार गर्न खोजियो त्यो दुुःखद पक्ष हो। स्थानीयले वडाध्यक्षले भनेको विषयलाई मात्र प्रचार गरिरहेका छन्।  वडाध्यक्ष आफ्ना मतदाताप्रति बढी जवाफदेही हुन स्वभाविक हो। तर, मिडिया आम नागरिकप्रति उत्तरदायी हुनुपर्छ।


 
प्रिय पाठकहरु,
घटनासँग जोडिएको कीर्तिपुर, जहाँ मुलुकभरबाट उच्च शिक्षा लिन आइपुग्छन्। त्रिभुवन विश्वविद्यालय यहीँ छ। वार्षिक हजारौं विद्यार्थी कीर्तिपुरबासीका घरमा बसेर शिक्षा लिएर विश्वविद्यालयबाट दीक्षित भएका छन्। तीनैका प्रतिनिधि पात्र हुन् देवी, बैकुण्ठ, बबिता। कीर्तिपुरमा बसेर शिक्षित भएकाले अहिले के सोचे होलान् ? गर्भवतीलाई डेराबाट निकालेको खबरले।

हो, त्यही डेराबाट निकालिएको खबर देश, विदेशमा फैलिएपछि केही व्यक्ति चिन्तित भएका छन्। यही विषयले सामाजिक प्रतिष्ठामा आँच पुगेपछि छटपटाइ रहेका छन्। आफ्नो व्यवहारले अरु व्यक्ति अपमानित भएको महसुस ग-यो कि भन्ने सोच्नुपर्छ। तपाइँले आफ्नो मानमा आघात पुगेको सोचिरहँदा स्थानीयको दबाबमा निस्किनु पर्दा ती गर्भवती महिलाले सोचेकी होलिन्। हरेक चिजमा दुईवटा पक्ष हुन्छन्। सबैलाई आफ्नो विषय प्रधान र अरु विषय गौण लाग्छ। यहाँ भएको यही हो।
समुदायमा भएका घटनामा एकबद्ध हुनु राम्रो हो। त्यसकै नाममा द्वेष फैलाउनु उचित हुँदैन। कीर्तिपुरको घटनालाई लिएर केही व्यक्तिले ‘पित पत्रकारिता’ बिल्ला भिराउन खोज्दैछन्।

पत्रकारिता आवाज विहीनको आवाज हो। एउटी पीडित महिलाको विषयलाई उजागर गरेर हामीले के अपराध ग-यौं ? हामीले लेखेको समाचारप्रति हामी विश्वस्त छौं। न्यायको तराजुमा कमजोरी गरेको भए आफ्नो गल्ती सच्चाएर र क्षमा याचना गर्न तत्पर छौं। सामाजिक दायित्वप्रति विचलित हुँदैनौं। 

अत्यमा,
पाठकले दिएका सुझाव हामीलाई स्वीकार्य छ। कसैको आत्मसम्मानमा ठेस पु¥याउने हाम्रो उद्देश्य होइन। पत्रकारिताले समाजलाई पु¥याएको योगदानको केही व्यक्तिले अवमूल्यमन गर्न खोजेकोमा हाम्रो चिन्ता हो। कुनै व्यक्तिले आक्रोश पोख्दैमा हामीलाई गैरजिम्मेवार बन्ने छुट छैन। नागरिक र समाजप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ। कसैले धम्की दिएकै भरमा हामी विचलित भएर पूर्वाग्रह साँध्दैनौं। समाजलाई फुटाउने होइन जोड्नु पर्छ। पाठक न्यायाधिश हुन्। सबैको साथ, सहयोग, माया, ममता, सुझाव र मार्गदर्शनलाई अनुशरण गर्दै अघि बढ्छौं।

प्रकाशित: ५ वैशाख २०७७ २०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App