७ वैशाख २०८१ शुक्रबार
ब्लग

कोरोनाः मानवीय संकट र विश्वास

एडेलेइड इटालीको उत्तरी क्षेत्र पीडमन्टबाट हुन्, जो मेरै विश्वविद्यालयमा मानव अधिकार र बहुसंस्कृतिवादको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी छिन्। इटाली भन्ने बित्तिकै कोरोना भाईरस (कोभिड –१९) माहामारीको यूरोप केन्द्रबिन्दु, जहाँ  दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै छन् र सयौं मानिसहरु मरिरहेका छन्। हुन पनि, आजको इटाली अब हिजोको जस्तो नै पो कहाँ छ र। कताको हरदम पर्यटकको भिडले थामि नसक्ने ऐतिहासिक सभ्यता र संस्कृतिको धनी देश, कता अहिलेका कहालिलाग्दा सुनसान चोक, गल्ली र सडकहरु। रोगी र अशक्तहरुले भरिभराउ अस्पतालहरु। दैनिक आइरहने हृदय विदारक समाचारहरु।

तै पनि, सँधैजसो हाँसिरहने, सबैसँग बोलिरहने एडेलेइडमा पहिले र अहिलेमा म खास भिन्नता पाउँदिन। उनी भन्छिन, “हेर, जे कुरामा चिन्ता गरेर फाइदा छैन, त्यसमा घोत्लिएर टाउको दुखाउनु भन्दा जे छ त्यसमा खुसी हुनु धेरै उत्तम हो। समस्याहरु खोला जस्तै हुन्,आउँछन् जान्छन्। मुस्कुराउन  छोड्नु हुन्न। हेर,केही बर्ष नैलाग्ला तर हामी फेरी सक्षम हुन्छौं। हामी जहाँ हुनेछौं, त्यहीँबाट उठ्नेछौं।” यिनको कुरा सुन्दा एक किसिमले रुखो वा संवेदनाहिन जस्तो लागे पनि वास्तविकता त त्यही नै हो। जे जस्तो संकट वा महाविपत्ति आइपरे पनि या जस्तो अवस्था आइपरे पनि संसार आफ्नो रित मै चल्ने हो।

केहि दिनको अन्तरमानै अहिलेको विश्व परिवेश यसरि बदलिएको छ कि हाम्रो दैनिकी पूर्णरुपमा फेरिएको छ। हिजोसम्म स्कुल, क्याम्पस,कार्यालय जाने मानिसहरु घरमै बसेका छन्। कोरोना माहामारी बीच संसारका धेरै देशहरुले सम्भावित थप विपत्ति रोक्नका लागि आफ्ना सीमा नाकाहरु बन्द गरेका छन्।

केहि दिनको अन्तरमानै अहिलेको विश्व परिवेश यसरि बदलिएको छ कि हाम्रो दैनिकी पूर्णरुपमा फेरिएको छ। हिजोसम्म स्कुल, क्याम्पस,कार्यालय जाने मानिसहरु घरमै बसेका छन्। कोरोना माहामारी बीच संसारका धेरै देशहरुले सम्भावित थप विपत्ति रोक्नका लागि आफ्ना सीमा नाकाहरु बन्द गरेका छन्। अवस्था हेरेर कति देशहरुले सिमित आवत जावतका साधन एवम् खाद्यन्न तथा औषधी पसलहरु सञ्चालन गरे पनि एअरपोर्ट, होटल, रेष्टुरेन्ट, सपिङ मल, सिनेमा घर, सांस्कृतिक वा मनोरञ्जनात्मक स्थलहरु, नाइट कल्व, पब, जिम सेन्टर आदि पूर्णरुपमा बन्द छन्। त्यति मात्र होइन्, सांगितिक कन्सर्ट, वर्षभरि जसो चल्ने विभिन्न देशका फूटबल, क्रिकेट वा अन्य खेलकुदहरु स्थगित भएका छन्। यस किसिमको अर्ध वा पूर्ण लकडाउनको स्थिति सायद युद्धको अवस्थामा बाहेक धेरै देशहरुले आफ्नो भूमिमा विरलै मात्र देखेको या भोगेको घटना हो।

उदाहरणको लागि, नोर्डिक देशहरुमै सबैभन्दा प्रजातान्त्रिक मानिने नर्वेमा मानिसको जीवन शैली पूर्णरुपमा फेरिएको छ। यसको लागि उनीहरु न भौतिक तन मानसिक रुपमा नै तयार थिए। विशेषतःउदारवादी प्रजातान्त्रिक मुलुकको असिमित स्वतन्त्रतामा हुर्केका नयाँ पिढीं जो युवा अवस्थामा पुग्दा नपुग्दै आफ्ना बाबु आमाबाट छुटिन्छन्, जसका लागि  सप्ताहन्तको रमाइलो नै खुसी हुने माध्यम हो, जो आफूलाई बन्द कोठामा भन्दा खुला संसारमा विचरण गर्न मन पराउँछन्, उनीहरुका लागि त यो एक किसिमको ‘कल्चरल सक’ नै हो।

कोरोनाका कारण विश्वको भू–राजनैतिक तथा आर्थिक परिदृश्यमा के कस्तो फेरबदल आउला, देशहरुले आर्थिक मन्दिको सामना कसरी गर्लान्, कसरी सामाजिक, आर्थिक वा सांस्कृतिक पद्धति पहिलेकै अवस्थामा आउला त्यो त हेर्न बाँकी नै छ। तर अहिले आफ्नो वशमा नभएका ठूला–ठूला कुरा सोचेर आफू या आफ्नो वरपरको वातावरणमा सन्त्रास छर्नु भन्दा पाएको खाली समयमा आफ्ना गल्ती, कमजोरी केलाउनु, सवल–दुर्वल पक्षहरुबारे आत्मसमीक्षा गर्नु र आफ्नो अन्तरह्दयको आवाज सुन्नु भन्दा राम्रो र फलदायी काम सायदै अरु कुनै हुन्छ होला।

आजको युगमा संसारले जे जति फाइदा विश्वव्यापीकरणबाट उठाइरहेको छ त्यति नै यसका नकारात्मक असरहरुको पनि सामना त गर्नु परि नै रहेको छ। जब सिमाहरु खुला हुन्छन्, मानिस, उपभोग्य सामाग्री, सूचना प्रविधि र ज्ञानको प्रसारणसँगै रोग, महामारी, अपराध, अवैध कारोबार, लागुपदार्थ ओसारपसार जस्ता समस्याहरु पनि साथमा आउने नै भए। समय मात्र कति चाडो वा ढिलो भन्ने कुरा हो।

महामारीबाट बच्न विभिन्न स्वरुपमा अपनाइएको हालको लकडाउन वा सेल्फ आइसोलेसन को यो समयले हामी आफूलाई अझ नजिकबाट चिन्ने या नियाल्ने मौका दिएको छ।  यो समयमा सायद हामी हाम्रा ब्यवहार र जीवनशैलीमा ध्यान दिन सक्छौ, एक पटक पछाडि फर्केर नियाल्न सक्छौं कि हाम्रो जीवन कति दौड धुपपूर्ण र तनावमय छ। कति अनावाश्यक र फजुल काम र कुराहरुको पछाडि दौडेर हामीले हाम्रो उर्जा, क्षमता र समयको बर्बादी गरिरहेका छौं। किनकी यो स्थिति आउनुका पछाडि हाम्रै मानविय व्यवहार, जीवन पद्दति, सोच र मूल्य मान्यताहरु जिम्मेवार छन्।

यो विषम परिस्थितिमा समाजका सम्पूर्ण चलायमान आर्थिक र सामाजिक प्रणालीहरु तकिएका छन् त ? र यो स्थिति त्यति नराम्रो पनि छैन जति भयावह हामी यसलाई बनाइ रहेका छौ। हामीले सही ढंगले लिएको खण्डमा यो एक अवसर पनि त हुन सक्छ। यसका लागि, सकेसम्म आफ्नो तर्फबाट जसरी सकिन्छ परिस्थिति प्रति सजग रहने, अरुलाई पनि सहयोग गर्ने र बाँकी समय आफू वरपर सकारात्मक उर्जा प्रवाह गर्ने नै हो।

प्रायःजसो घर बाहिरै पाकेको खान मन पराउनेहरु हुन् या बर्गर, म्याक्डोनल्ड्स्को खाना चेपेर काममा दौडने बानी परेका हामीलाई घर परिवारसँग समय बिताउने यो सुनौलो अवसर हुन सक्छ। परिवारमा कोही रोगी, अशक्त वा बुढा–बुढी छन् भने हेरचाह गर्ने, माया र खुसी साट्ने माध्यम हुन सक्छ।  घरमै आफुलाई मन पर्ने खाना बनाएर खान सक्छौ। पुराना गर्न बाकी रहेका काम गर्न सक्छौ। चाहेर नि पढ्न नपाएका पुस्तकहरु पढ्न सक्छौं, मन पर्ने संगीत सुन्न सक्र्छौ या फिल्म हेरेर समय कटाउन सक्छौ। यो समय सायद हामीले आफ्ना इच्छा र खुसी फुलाउने एक उपयुक्त समय हो जहाँ हामी पटक पटक चुकीरहेका थियौं। आफु र आफ्ना सपनाहरु पुरा गर्ने ध्याउन्नमा आफुलाईनै बिर्सिसकेका थियौं वा यो भनौं जीवन बनाउने वहानामा जीवन जीउन चाँही भुल्न थालेका थियौं।

तनाव व्यबस्थापनको एउटा पाटो, यस्तो संक्रमणकालिन बेलामा आफुलाई शारिरीक तथा मानसिक रुपमा सवल राख्दै, संभावित परिस्थितिको लागि तयार राख्नु पनि हो। अतः व्यायम गर्ने, सन्तुलित भोजन सेवन गरी रोग प्रतिरोधि क्षमता बढाउने र मानसिक स्वास्थ्यको लागि योगा, ध्यान आदि पनि गर्न सकिन्छ जसले गर्दा आफू खाली रहेको महसुस हुँदैन र नकारात्मक विचार मनमा आउँदैनन्।

चीनको वुहान प्रान्तबाट संक्रमण शुरु भएको कोरोना विपत्तिलाई शुरुमा चीनको मात्र समस्या थियो। उता चीन कोरोनासँग एक्लै लडिरहँदा केही देश र व्यक्तिहरुले यसलाई खास जाती वा नस्लसँग पनि जोडेर हेरे जुन आफैंमा दूर्भाग्यपूर्ण त थियो नै, यसले हाम्रो साँघुरो सामाजिक चेत र फरक विचार, जीवनशैली र मूल्यप्रतिको असहिष्णू चरित्र पनि उदांगो पारेको थियो। अतः यी र यस्ता सोचहरुको अन्त्य गर्न विश्वबन्धुत्वको भावना जागृत गर्नै पर्छ। दोषारोपण, आरोप– प्रत्यारोपले समस्याको समाधान हुने हैन बरु घृणा, द्वेश र तनावको स्थिति सृजना गदर्छ। अझ यस्ता घटनाहरुबाट त, मानविय मूल्य र मान्यताको आपसी आड किन पनि दरिलो बनाउन आवाश्यक छ भन्ने सन्देश पनि प्राप्त भएको छ।

र अन्त्यमा, विश्वास र आशा जीवनका सबैभन्दा ठूला शक्ति हुन्। मानव इतिहासमा यस भन्दा अघि पनि कोरोना भन्दा ज्यादै प्राणघातक महामारीहरु आएका थिए। प्लेग, हङकङ फ्लु, एशियन फ्लु, हैजा, एचआइभी एड्स, स्वाइन फ्लु जस्ता महामारीमा परी करोडौं मानिसहरुले ज्यान गुमाएका थिए। तर पनि मानविय सभ्यता निरन्तर जारी नै रह्यो। आशा गरौं यो समस्या चाँडैं समाधान हुनेछ र हामी आफ्ना दैनिकिमा नयाँ उर्जाका साथ फेरी फर्कने छौं। अन्त्यमा, जसरी हरेक नयाँ  दिनले नयाँ सपना बोकेर आउँछ, त्यसरी नै हामीले एक अर्काप्रति विश्वास र भरोसा राख्दै यो कल्पना गर्नु छ कि सायद भोलिको बिहानी केही फरक हुनेछ। 

ओस्लो, नर्वे

 

प्रकाशित: ११ चैत्र २०७६ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App