२६ श्रावण २०७७ सोमबार
ब्लग

गोकुल बास्कोटा प्रवृत्ति : राजनीतिको विकृतरुप

ग्राफिक्स : कमल सुवेदी

सामाजिक, राजनीतिक विषय समेटेर चलचित्र बनाउन माहिर निर्देशक प्रकाश झा यसै साता नेपाल आएका थिए। एक फिल्म फेस्टिवलमा सहभागि हुन आएका झाले भनेका थिए, 'सिनेमा समाजको प्रतिवम्व हो।' उनी यतिमा मात्र सिमित भएनन्। चुनावको गणितले लोकतन्त्रलाई पारिरहेको प्रभावबारे पनि उनको धारणा छ। आफ्ना भनाई प्रतिविम्वीत गर्ने चलचित्र बलिउडमा उनले बनाइरहेकै छन्।

सिनेमा मात्र होइन राजनीति पनि समाजकै प्रतिविम्व हो। त्यो प्रतिविम्व सिधा सत्तामा देखिन्छ, राज्यका निकायहरुमा देखिन्छ। लोकतन्त्रमा चुनाव महत्वपूर्ण हुन्छ। जसले जनमत प्राप्त गर्छ त्यसले आफूलाई जनताको सच्चा प्रतिनिधि सम्झन्छ। एक पटक चुनाव जितेपछि पाँच वर्ष ढुक्क। त्यही बीचमा मौलाउँछन्, घुस, कमिसन र सेटिङका अनेक खेल। हामीले जतिनै ढाकछोप गर्न खोजे पनि त्यो भइरहेको छ। शक्तिमा पुगेपछि स्रोतमा पहुँच हुनु स्वभाविक हो तर त्यसको दूरुपयोग गर्नु अपराध मात्र होइन जनता प्रतिको धोका पनि हो। तर यहाँ पटक पटक त्यो धोका दोहोरिरहेको छ। यसको पछिलो उदाहरण गोकुल बास्कोटा प्रकरण बनेर उदायो।

नेता किन बन्ने ? देश सेवा गर्न वा पैसा कमाउन? अहिलेको प्रवृत्ति राजनीति पैसा कमाउनको  लागि गर्ने जस्तो भइरहेको छ। जसरी भए पनि पैसा कमाउनु पर्छ भन्ने समाजिक मनोदशाको प्रतिविम्व राजनीतिमा लागेकाहरुमा नपर्ने कुरै भएन। गैह्रकानुनी रुपमा धन आर्जन गर्नेहरुलाई 'समाजसेवी' छवि बन्न दिनबाट पर धकेल्नै पर्छ।

सेक्युरिटी प्रेस खरिदको विषयमा सञ्चारमन्त्री समेत रहेका बास्कोटले स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग गरेको कमिसन बार्गेनिङको अडियो बाहिरियो। जसका कारण बास्कोटाको सिंहासन तासको महल जसरी ढल्यो। बास्कोटाको बोलीमा रहेको 'छुद्रपन' का कारण उनको चर्चा थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटाको जसरी एकाएक उदय भएको थियो त्यहाँबाट झर्न २४ घण्टाको समय पनि कुर्नु परेन। उनको घुस बार्गेनिङको अडियो बाहिरिँदा सुदुरपश्चिममा रहेका उनले त्यहाँ एक कार्यक्रममा भनेका थिए, 'एक दुई दिन रमाइलो गर्छन् सकिइहाल्यो। खाएको विष पो लाग्छ।' तर त्यो उनको भनाई केही घण्टा पनि टिक्न सकेन। काठमाडौं आइनपुग्दै बास्कोटाको राजीनामा आयो।

यति मात्र कहाँ हो र? प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको एक कार्यक्रममा आफ्ना प्रिय गोकुल बास्कोटालाई बोलीले तुलामा जोखेका थिए। ' देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा अर्को तिर अरु बसे जस्तो,' प्रधानमन्त्री ओलीले बास्कोटाबारे यसो भनिरहँदा सहभागिले परर तालि पिटिरहेका थिए। बास्कोटा मुसुमुसु हाँसिरहे। उनको त्यो हाँसो र ओलीको भनाई एक हप्ता दिन पनि टिकेन। अडियो प्रकरणमा आएर त्यो छताछुल्ल बन्न पुग्यो।

बास्कोटा एक प्रतिनिधि पात्र मात्र हुन्। तर बास्कोटाको जुन हर्कत छ, त्यो हाम्रो राजनीतिक प्रवृत्ति बनेको छ। कमिसन डिल गरेर सार्वजनिक पदबाट बाहिरिने उनी पहिलो र अन्तिम व्यक्ति भने होइनन्। भ्रष्टाचार वा अनैतिक काम गरेर कारबाही भोग्ने 'विशिष्ट' हरुको नाम टिपोट गर्न थाल्ने हो भने यहाँ लामै सूची बन्छ। खतरा त यो हो यस्ता विषय राजनीतिको मुल प्रवृत्ति बनेका छन्।

पैसामा चुनावको टिकट वार्गेनिङ भएका समाचार हाम्रा लागि नौला होइनन्। पैसा तिरेर समानुपातिक कोटामा सांसद को को भए भनेर हरेक निर्वाचन पछि हुने चर्चा हाम्रो लोकतन्त्रमा नयाँ विषय अब रहेन। निर्वाचनका लागि पैसा जोहो गर्नु राजनीतिको पहिलो सर्त बन्दासम्म अनियमितताका समाचार नौला हुँदैनन्। चट्याङ मास्टरको एउटा कविता छ। जसले विकृत नेताहरुलाई कटाक्ष गर्छ :

तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ
तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाउँ भन्छ
ए बाबु ! कुरो बुझ है,
उद्योग नखोल्, पार्टी खोल् ।

नेता किन बन्ने ? देश सेवा गर्न वा पैसा कमाउन? अहिलेको प्रवृत्ति राजनीति पैसा कमाउनको लागि गर्ने जस्तो भइरहेको छ। जसरी भए पनि पैसा कमाउनु पर्छ भन्ने समाजिक मनोदशाको प्रतिविम्व राजनीतिमा लागेकाहरुमा नपर्ने कुरै भएन। गैह्रकानुनी रुपमा धन आर्जन गर्नेहरुलाई 'समाजसेवी' छवि बन्न दिनबाट पर धकेल्नै पर्छ। सुरक्षा निकाय, संस्थान, वा अन्य ठाउँमा सरुवा  बढुवा हुँदा त्यसको 'रेट' थिएन भनेर विश्वास गर्न जनताले सक्दैनन्। त्यसो हो भने हाम्रो शासन पद्धति कहाँ चुक्यो भन्ने प्रश्न यतिबेला टड्कारोरुपमा उठ्छ। बेला बेला नेताहरु ठूलो स्वरमा भन्ने गर्छन् लोकतन्त्रमाथी खतरा बढेको छ। उनीहरु त्यो खतराको सुई पूर्वराजा तर्फ सोझ्याउँछन्। तर लोकतन्त्रलाई सबैभन्दा खतरा पूर्वराजाबाट होइन गोकुल बास्कोटा प्रवृत्तिबाट छ। त्यो प्रवृत्ति गाउँपालिका सदस्यदेखि प्रधानमन्त्रीसम्म छ। प्रहरीको फरार सूचीमा रहेकालाई अस्पतालमा पुगेर भेट्दै आँसु चुहाएका दृष्य धेरै पुराना होइनन्। हो प्रधानमन्त्री ओलीज्यू तपाईबाटै लोकतन्त्रलाई खतरा हुने प्रवृत्तिमाथी मलजल भइरहको छ। यो तपाई भन्दा तलकालाई सिक्न धेरै बेर लाग्ने कुरै भएन। दुई महिना अघि नै बास्कोटा प्रकरणको अडियो प्रधानमन्त्रीकोमा पुगेको समाचार आइरहँदा तपाई किन मौन रहनु भयो ? प्रश्न उठ्नु स्वभाविक हो। जवसम्म राजनीतिले नागरिकमा विश्वास दिन सक्दैन अरु सबै कुरा गौण हुन्छन्।

जब देश बनाउँछु भनेर सत्तामा पुगेका व्यक्तिहरु नै भ्रष्टाचार र अनैतिक क्रियाकलापमा लिप्त हुन्छन् तब लोकतन्त्रमा बलियो आधार मानिने कुनै पनि बहुमतले समृद्धिको पँखेटा फिजाउन सक्दैन। लोकतन्त्रको जस्तै समृद्धिको पहिलो सर्त सुशासन हो र हुनै पर्छ। तर दुई तिहाई बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्रीले त्यो पालना गरेको जनताले महसुश गर्न सकेका छैनन्। सरकार एउटा साधान हो त्यसले जनतालाई आफ्नो कारण सजिलो भएको अनुभुति गराउन सक्नु पर्छ, आफ्ना नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ। तर  त्यो हुन सकेको छैन। धेरै पर जानु पर्दैन यती समूहलाई अत्यन्तै सस्तो र कतिपय अवस्थामा नियम मिचेर राज्यको सम्पत्ति सुम्पदा प्रधानमन्त्रीको नाम जोडिन पुग्छ। यसले सुशासन र समृद्धिको यात्रा कता जाँदैछ भन्ने तस्बिर देखाउँछ। पार्टी र सरकारको सर्वोच्च स्थानबाट हुने यस्ता क्रियाकलापले तल्ला निकायमा 'छुटको महसुश' गराउँछ। गोकुल बास्कोटा प्रकरण कहिँ न कहिँ मनोवैज्ञानिकरुपमा यहाँ जोडिन आइपुग्छ।

प्रकाशित: ९ फाल्गुन २०७६ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App