२२ असार २०७७ सोमबार
ब्लग

‘रविजी राजनीतिमा आउन नसकेपनि जनताको नायक बन्न सक्नु हुन्छ‘

राजनीति सिधा बाटो मात्र हिड्दैन भन्ने कुरा ईतिहासले प्रष्ट पारेको छ। नेपालको  राजनीतिक परिवर्तनले नेपाली राजनीतिको आकारका एउटा मुख्य अंग टाउको मात्र वा नेताहरु मात्र फेरिएको तर शरीरका अन्य मुख्य अंगहरु हात खुट्टाहरु ब्युरोकेसी यथावत रहदा के कस्ता उपलब्धी भए भन्ने प्रष्ट भएको  छ।नेपाली ब्यूरोकेसी वा कर्मचारीतन्त्रलाई यथावत राख्दा एउटा खास समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक प्रतिष्ठा बढाउन सहयोग भइरहेको कुरा पनि धेरैलाई थाहै छ।

यहाँ २५० वर्ष पुरानो ब्युरोकेसीलाई जोगाउने हस्तीहरु पनि छन भन्ने बुझन जरुरी छ।  संघीयताले केही मात्रामा ब्युरोकेसीको केन्द्रियतालाई कमजोर बनाउन खोजेको छ। तर संघीयताले पूर्णता नपाउदै संघीयतालाई नै असफल बनाउने ग्रान्ड डिजाईन पनि सुरु भै सकेको छ। संविधानको ठाडो उलङ्घन हुने गरि हालैको असमाबेसी लोकसेवा बिज्ञापन भनेको ब्युरानै ब्युरोकेसीको निरन्तरताको अभियान हो भन्ने कुरा कतिले बुझेका छन। तर, आजको यो युवा जमातमा, असुष्ट र रुष्ट भीडमा, आम जनतालाई यस्ता ग्राण्ड डिजाईनहरुको कुरा बताउने, बुझने बुझाउने सचेत समुदायको खाँचो अवश्य खड्केको छ।

राजतन्त्र र पंचायत ब्यावस्था, २०४६ साल पछिको प्रजातन्त्र र २०६३ साल पछिको लोकतान्त्रीक गणतन्त्र हाक्ने, सवारी चड्ने नेत्रृत्व गर्ने पात्रहरु, अनुहारहरु फेरिए पनि, श्रोत साधनको तालाचावी हातमा लिने स्थायी सरकार, पुरानै ब्युरोक्रेसी वा सवारीको साधन (पुरानो गाडी) कर्मचारीतन्त्र, जसको बलमा समृद्धिको लक्ष्य तर्फ हिड्नु पर्ने, अघि बढनु पर्ने बाध्यता हुन्छ त्यो सवारी साधनको गति र मानसिकता २००७ साल अगाडि कै भएको हुँदा, सवारी हाँक्ने जो आए पनि केही परिवर्तन हुन सक्दैन, भन्ने कुरा कतिले बुझेका छन्।

बिदा लिएका राजालाई  राजगद्धीमा फेरि राखे पनि वा प्रधानमन्त्री पदमा पत्रकार रबि लामिछाने वा कमल थापा, युवा अभियन्ता ज्ञानेन्द्र शाही जसलाई ल्याए पनि ८—९ महिना भित्रै असफल साबित हुनेछन् र यिनकै बिरुद्धमा, यिनै जनता फेरी हातमा हतियार लिएर सडकमा नआउलान् भन्न सकिदैन। पात्र बदल्दैमा समृद्धी आउदैन। रामेको ठाँउमा श्यामेलाई ल्याउने भनेको टाउको दुबै नाँईटोमा राख्ने जस्तै हो।

राजतन्त्र ढालेर, सदियौं देखिको सामन्तीहरुलाई परास्त गरेर गणतन्त्र प्राप्ती भएमा देशले समृद्धि प्राप्त गर्नेछ भनेर सशस्त्र जनयुुद्ध भयो। १७००० नेपालीको ज्यान गयो। २०६२/६३ सालमा हजारौ लाखौ जनता आन्दोलनमा होमिए। कैयौ शहिद भए। हजारौ आन्दोलनकारीहरुको टाउको फुट्दा अनि शहिदहरुको छातीमा गोली लाग्ने बेला रवि लामछानेजीहरु, अभियन्ता ज्ञानेन्दै जी कता थिए, के गर्दै थिए भनेर प्रश्न गर्ने नेपालीहरु पनि धेरै छन्।

वहाँहरुलाई नै थाहा होला वहाँहरु कता के गर्दै थिए। त्यो वहाँहरुको कुरा भयो। तर धेरै नेपाली बेरोजगार छन्।अनि नेपाली जनताको ईतिहास बिर्सने र चाँडै भाबुक बन्ने र चाँडै आबेशमा आउने बानी छ। यसैको नतिजा होला चितवनमा रवि प्रतिको देखिएको समर्थन जुलुस। काममा ब्यस्त हुनु पर्ने बाध्य भएकाहरुको निम्ति खाने फुर्सद निकाल्न हम्मे हुन्छ भने कहाँको जुलुसमा जाने फुर्सद पाउनु।

रबि लामीछानेजी एउटा सफल पत्रकार अवश्य हुन। तर, एउटा कुरा प्रष्ट छ त्यो के हो भने, राज्यको चौथो अंग पत्रकारिताले रबीजीलाई साँसद, मंत्री, प्रधान मंन्त्री वा राष्ट्रपतिको पद सम्म पुराउदैन। त्यसको निम्ति राजनीतिमा आउनु जरुरी छ। उनी राजनीति हाँक्न सक्ने नेत्रृत्वमा पुग्लान नपुग्लान त्यो चै भविष्यले देखाउने कुरा भएकोले अहिलेलाई धैर्य गरेर पर्खनुको बिकल्प छैन। रबि लामीछानेजी राजनीतिमा आउन नसके पनि नेपाली जनताको नायक  बन्न पक्कै सक्नु हुन्छ भन्न सकिन्छ।

प्रकाशित: १३ भाद्र २०७६ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App