झापाको चन्द्रगढी विमानस्थलमा बुधबार दिउँसो उनी कमिलाले चिलेजस्तो छटपटाइरहन्थे। घरि यता जान्थे। घरि उता। कहिले बस्थे त कहिले उठ्थे। फोनमा कुरा गर्दै यताउता भौंतारिन्थे। झापाको गर्मी पसिना निकाल्ने त थियो नै। तर त्यति धेरै पनि होइन, जति उनको निधारबाट छुटिरहेथ्यो।
बारम्बार विमानस्थलको काउन्टरमा गएर सोध्थे उनी – मेरो फ्लाइट अझै कति ढिला हुन्छ? सामान्यतः विमान समयमै उड्छ, किनकि हवाइजहाज लोकल बस होइन। समयमै भनेको ठाउँमा पुर्याउने भएकाले मान्छेहरू महँगो शुल्क तिरेर हवाईजहाज चढ्छन्।
चन्द्रगढीदेखि काठमाडौंसम्मको हवाई भाडा बसको भन्दा ६ गुणा बढी छ। त्यतिधेरै रकम उनले यत्तिकै तिरेका थिएनन्। ३०–३५ वर्षका जस्ता देखिने युवा रोजगारीका लागि खाडी मुलुक हिँडेका रहेछन्। उनको फ्लाइट आजै रहेछ। साँझ ६ बजेको टिकट रहेछ उनको।
विमानस्थलको नियमअनुसार उनी ४ बजे नै प्रवेश गरिसक्नुपर्ने। एक दिन भए पनि परिवारसँगै बस्न महँगो भाडा तिरेर हवाईजहाजको टिकट काटेका उनले भन्दै थिए– यस्तो हुन्छ भन्ने थाहा पाएको भए त बरु हिजै बसमा जाने थिएँ नि!
उनले बुद्ध एयरको बिहान १०ः५५ को टिकट थियो। जहाजको पर्खाइमा बसेका उनले काठमाडौं गएर किनमेल गरेर विदेश उड्ने योजना सुनाउँदै थिए। तर उनको यो इच्छा पूरा हुन सकेन। १०ः५५ को फ्लाइट ३ बजेपछि मात्रै भयो। म पनि झापाबाट काठमाडौं आउँदै थिएँ।
बुद्ध एअरको उडान नम्बर ९५२ कै टिकट काटेका कारण उनको त्यो छटपटीलाई नजिकैबाट नियाल्न पाएँ। ३ तीन बजे फ्लाइट भए पनि समयमा काठमाडौंमा जहाज ल्यान्ड भएन। एयर ट्राफिक भन्दै विमानका कर्मचारीले १५ मिनेट जहाँ आकाशमै होल्ड भएको जानकारी गराए। जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण हुँदा दिउँसोको ४ः१५ भएको थियो।
ती युवा विमानस्थलको आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनलतिर सीधै लागे। विमानस्थलको आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनलसम्म मसँगै आए। उनी दुखेस पोख्दै थिए– हाम्रो देश कहिल्यै सुध्रिएन।’ उनी मात्र हैन चन्द्रगढी विमानस्थलमा रहेका धेरै यात्रुहरू यस्तै भन्दै थिए। कतिपय यात्रुहरू पहिलो फ्लाइटमा काठमाडौं आएर प्रशासनिक काम गर्ने योजना रहेको सुनाउँदै थिए। ४ घण्टा विमानस्थलमै गर्मीमा पसिना पुस्दै बसेका उनीहरू निकै आक्रोशित देखिन्थे।
यसरी जहाज ढिला हुनुको एउटै कारण चन्द्रगढी विमानस्थलले दिएको थियो, भीभीआईपी मुभमेन्ट। राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने कार्यक्रम आजै भएका कारण सम्पूर्ण उडानहरू रोकिएका रहेछन्। बेइजिङमा आयोजना हुन लागेको दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’ सम्मेलनमा भाग लिन राष्ट्रपति उनी बेइजिङ जाँदा सर्वसधारणले सास्ती भोग्नुपर्यो।
०००
बुधबार वैशाख ११, अर्थात् लोकतन्त्र दिवस। लोकतन्त्र स्थापनाको १३ वर्ष पूरा भएको दिन। अर्थात् १९ दिने जनआन्दोलनको आँधीबेरीले राजाको निरंकुश शासन व्यवस्थालाई ढालेको दिन।
राजाले जनताको नासो जनतालाई फर्काएको दिन। व्यवस्था परिवर्तन भयो। तर संस्कार फेरिएन। लोकतन्त्रका दिन नै लोकलाई सास्ती। सडकमा जाम आकाशमा समेत जाम। त्यसले शासकहरू राजाको निरंकुश शैलीतर्फ क्रमशः अघि बढेको देखिन्छ। राष्ट्रपति व्यक्ति होइन। देशको सम्मानित पद हो। सम्मानित संस्था हो।
भीभीआईपीको सुरक्षा अत्यन्तै आवश्य छ। तर सुरक्षाको नाममा जनतालाई सास्ती दिँदा जनताले नै रगत बगाएर ल्याएको व्यवस्थामाथि नै प्रश्न उठ्न सक्नेतर्फ सचेत हुन जरुरी छ। त्यसकारण भीभीआईपीको सुरक्षा व्यवस्था मिलाउँदा सकेसम्म जनताको सहजतालाई पनि ध्यानमा राख्नुपर्ने आवश्यक देखिन्छ।
भीभीआईपी सवारीको नाममा जनताले सास्ती भोग्नुपरेको पहिलो घटना हैन। यस्ता घटना कयौं पटक जनताले भोगेका छन्। भीभीआईपीको सवारीले आजित बनेका सर्वसधारणले केही महिनाअघि राष्ट्रपति सवारको नाममा गरिएको जामको अभज्ञा नै गरेका थिए। भीआईपीका कारण समयमा गन्तब्यमा पुग्न नसक्दा धेरैले आफ्ना महत्त्वपूर्ण काम छाड्नुपरेका उदाहारण पनि प्रशस्तै छन्।
लोकतन्त्र आएको १३ वर्ष मै जनतामा निराशा छाएको छ। महँगीले आकाश छोएको छ। जनताले अनुभूत हुने गरी विकास निर्माणका काम भएका छैन। देशमा परिवर्तन आयो। तर यो १२ वर्षमा जनताको जीवनस्तरमा भन्दा पनि नेताको जीवनशैलीमा भने निकै मज्जाले परिवर्तन आएको छ।
२०६२/०६३ को जनआन्दोलनले राजा त फाल्यो। तर पछिल्लो समय देखिएको बेथितिले जनता भन्न थालेका छन्– राजा त फालियो तर छोटे राजा धेरै जन्मिए। शासकको व्यवहार पनि उस्तै छ। शासकको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुनसकेको छैन। प्रवृत्ति परिवर्तन गर्न नसक्दा जनताबाटै शासक बनेकाहरूले जनतासँगै डराउनुपर्ने बेला आएको छ।
प्रकाशित: ११ वैशाख २०७६ १५:२५ बुधबार