२१ श्रावण २०७७ बुधबार
ब्लग

हाम्रो मेयर सा’बलाई मेरो प्रेमपत्र

विद्याजी, नमस्कार !
सर्वप्रथम त वर्तमान संविधानअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी हुनुभएकामा यहाँलाई धेरै धेरै बधाइ । नेपालको राजधानी काठमाडौँको महानगरपालिकाको प्रमुख हुनु भनेको अन्य महानगरपालिकाको भन्दा विशेष महत्वपूर्ण पद हो । काठमाडौँ महानगरपालिकालाई नमुनाका रूपमा देखाउन सक्नु नै अन्य महानगर, उप र नगरपालिकालाई समेत पथ प्रदर्शन हुने कुरामा दुईमत छैन् । अतः काठमाडौँ महानगरपालिकाका प्रमुखले काठमाडौँलाई स्वच्छ, सुन्दर र आकर्षक बनाउन केही दीर्घकालीन योजना तर्जुमा गरी आफ्नो कार्यकालभित्र गर्न सकिने कार्यलाई सम्पन्न गरी बाँकीलाई पछिका दिनमा के कसरी गर्ने भन्ने योजना बनाउन सके मात्र पछि सबैले सम्झिनेछन् । हुन त काठमाडौँ नेपालको सबभन्दा रमणीय र स्वस्थकर ठाउँ हो तर विगतका जनप्रतिनिधिलगायत सरकारी संयन्त्रबाट नै काठमाडौँलाई बिगार्ने काम भएको छ । बिग्रिसकेको छ तर सुधार्न सकिन्छ । यो पत्रमार्फत यहाँलाई म प्रेमपूर्वक केही कुरा सुनाउँछु, कृपया सके यहीँ जवाफ दिनुहोला, नसके पनि पढ्नुहोला भन्ने अपेक्षा राखेको छु।  

काठमाडौँ महानगरको प्रमुखले भक्तपुर र ललितपुरका प्रमुखहरूसँग सामन्जस्य कायम गरी यो उपत्यकालाई नै सुन्दर बनाउन नेतृत्व गर्नुपर्छ । काठमाडौँमा निश्चित ठाउँमा पुग्न सकिने स्थिति छैन। हरेक चौबाटोमा हवाईपुल बनाएर गाडी नरोकिने अवस्था हुनुपर्छ । बाहिरबाट आएका मालबाहक ट्रकहरूलाई कलंकी नाकामा र कोटेश्वर नाकामा नै सामान गोदाम गरी त्यहाँबाट भित्र साना मालवाहकले भित्र्याइनुपर्छ । सडकलाई फराकिलो बनाई, पैदलयात्रीका लागि छुट्टै, साइकलका लागि छुट्टै, मोटरसाइकलका लागि छुट्टै र चारपांग्रेका छुट्टै लेन रिङरोडमा बनाइनुपर्छ । रिङरोडभित्रका सडक र गल्लीहरूमा पनि निश्चित नियम बनाएर दुई पांग्रे र चार पांग्रेलाई छुट्टै लेन बनाइनुपर्छ । सकेसम्म रिक्सा र साइकललाई प्रोत्साहित गर्नुपर्छ । त्यसो भएमा इन्धनको खर्च पनि बचत हुन्छ । साइकल चलाउँदा शरीरलाई कसरत पनि हुन्छ । ब्लडप्रेसर, सुगर र ढाड दुख्ने रोग मोटरसाइकलले ल्याइराखेको छ । रिङरोडमा ठूला बस वा रेलको व्यवस्था गर्नुपर्छ । एक मिनेट पनि यात्रुलाई पर्खन नपर्ने व्यवस्था गर्नुपर्छ । माइक्रो बसलाई क्रमशः विस्थापित गर्नुपर्छ।

यहाँ रेमिट्यान्सबाट आएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी नगरीकन सोख र भोगविलासमा खर्च भइरहेको छ । मोटरसाइकलको र कारको विज्ञापन बढी छ । राष्ट्रबैंकले पनि ती सामान खरिद गर्न ऋण दिन्छ । जबकि अन्य कुरामा ऋण लिन कठिन छ । विदेशीको सामान व्यापार गर्ने नियत मात्र देखियो । विदेशीको सामान किनेर विदेशबाट आएको तेल हालेर गर्व गर्नु बेकार छ । जाम नियन्त्रण गर्न या त चौबाटोमा सबै आकाशे पुल हालेर गाडी नै नरोकिने व्यवस्था हुनुपर्‍यो या त दुई पांग्रे खरिद गर्नमा पनि नगरको अनुमति लिनुपर्‍यो । सामान बेचिने एउटाको, पैसा कमाउने व्यापारी अनि जाम र प्रदूषण नगरको ?

जथाभावी गाडी कुदाउनेलाई सिसिटिभीबाट कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । कसले नियम मिचेको छ त्यो सिसिटिभीमा कैद गरेर उसलाई सम्बन्धित ठाउ“मा पुगेपछि त्यो प्रत्यक्ष देखाएर कारबाही गर्नुपर्छ । माइक्रोबस चालक र मोटरसाइकल चालकहरूले सडक र ट्राफिक नियम बढी उल्लंघन गरेको देखिन्छ । त्यस्तालाई तुरुन्त कारबाही गर्नुपर्छ । ट्राफिक पुलिसको काम अनियमित गर्नेलाई कारबाही गर्ने हो । उपत्यकाबाहिर चलाउने अटोमोबाइलहरूलाई सहज र सरल बनाउनुपर्छ । उपत्यकाभित्र उनीहरूमा काम हेरेर कर लगाउनुपर्छ । सोखले घुमघाम मात्र गर्नेलाई विशेष कर लगाउनुपर्छ । सार्वजनिक सवारी साधनलाई व्यापक गरी निजीलाई न्यूनीकरण गरिनुपर्छ । अटोमोबाइल्सले कुल राजस्वमा १७ प्रतिशत योगदान दियो भन्दैमा सडकले नधान्ने साधन किन खरिद गर्ने ?

प्रिय विद्याजी ! एकदम आवश्यक परे मात्र प्रेसर हर्न बजाउनुपर्छ । अन्यथा जथाभावी हर्न बजाउनेलाई कारबाही गर्नुपर्छ । गाडी चलाउने पनि एउटा निश्चित गति निर्धारण गर्नुपर्छ । जथाभावी बाटो क्रस गर्नेलाई कारबाही गर्नुपर्छ । आवश्यक ठाउ“मा जेब्राक्रस अनिवार्य व्यवस्था गर्नुपर्छ । टेलिफोनका तार र बिजुलीका तारहरूलाई जमिनमुनिबाट व्यवस्था गर्नुपर्छ । माथिबाट गर्ने हो भने सबैलाई एउटै पाइपबाट व्यवस्थापन गर्नुपर्छ । जथाभावी कालो तारले सडक वरपर तान्द्राङ–तुन्द्रुङ झुन्डेको अवस्थालाई तुरुन्त विस्थापन गर्नुपर्छ । जबसम्म फोहोरको व्यवस्थापन हु“दैन, तबसम्म कसैले पनि फोहोर सडकमा फाल्न नपाइने गर्नुपर्छ । सुर्ती खानेले थुक्ने र सुर्तीको खोल बाटामा फाल्नेलाई सिसिटिभीमार्फत रेकर्ड राखी तुरुन्त कारबाही गर्नुपर्छ । घरमा कुकुर पाल्ने र सडकमा लगेर कुकुरलाई दिसा गर्न लगाउनेलाई कडा कारबाही गर्नुपर्छ । कुकुर पाल्नेले कुकुरको दिसा–पिसाब सडकमा लगेर हैन, तिनले आफ्नो घरभित्र नै व्यवस्थापन गर्नुपर्छ। नगरले प्रत्येक घरलाई डस्टबिन व्यवस्था गर्न लगाई कुहिने र नकुहिने पदार्थ रिसाइकिलिङ गर्ने संस्थालाई दिन लगाउनुपर्छ । कुहिने पदार्थबाट बायोग्यास र जैविक मल बनाउने संस्थालाई दिने व्यवस्था गर्नुपर्छ । फोहोरलाई ती दुवै थरी संस्थाले किनेर लाने व्यवस्था हुनुपर्छ । फोहोरबाट पैसा आउ“छ भन्ने धारणा प्रत्येक व्यक्तिमा जागरण गराउनुपर्छ। यहा“ फोहोर त उल्टो पैसा दिएर पठाउनुपर्छ । त्यसैले जथाभावी सडकमा फोहोर फ्याँक्ने काम गर्छन् । कुहिने र नकुहिने फोहोरलाई घरबाट नै भिन्नाभिन्नै बनाएपछि त्यसको व्यवस्थापन पनि सजिलोसँगै गर्न सकिन्छ । नकुहिने पदार्थ अर्थात् प्लास्टिकहरू जलाउने कार्य गर्न पाइन्न । यसबाट आएको धुवाँले स्वास्थ्यलाई धेरै असर गर्ने भएकाले कसैले जलाउने, डढाउने गरेमा उसलाई जरिवाना गर्नुपर्छ । घरघरबाट निस्कने फोहोरबाहेक बाह्य सडक वरपर देखिने चाउचाउका खोल, चकलेटका खोल वा अन्य पाकेटवाला पदार्थको खोल, सुर्तीको खोल, चुरोटको बट्टा आदिलाई सडकको किनारमा डस्टबिन राखेर व्यवस्था गर्नुपर्छ । सडक किनारा र आकाशे पुलमा राखिने खुद्रा व्यापारीलाई निश्चित ठाउ“ तोकेर व्यापार गर्न दिनुपर्छ । धुवाँ निकालेर कुद्ने गाडीलाई तुरुन्त बन्द गर्नुपर्छ । त्यस्ता गाडी चलाउन दिनुहुँदैन । सडकमा धुवाँ–धुलोलाई नियन्त्रण गर्न र सवारी चालकलाई जथाभावी गाडी नचलाउन निर्देशन गर्नुपर्छ । नियम उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ । सडकका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीले निर्देशन गर्ने हैन, सम्बन्धित नगरको पदाधिकारीले नै आफ्नो वडाको धुलो हटाउन र खाल्डाखुल्डी पुर्न तुरुन्त विभिन्न स्रोत परिचालन गरी स्वच्छ, सफा र हराभरा बनाउनुपर्छ । जुन वडाले सरसफाइ र वातावरण स्वच्छ राख्न पहल गर्छ त्यस्तो वडाको प्रतिनिधिलाई पुरस्कृत गर्नुपर्छ । 
नेपालको पहिचान नै काठमाडौँबाट हुन्छ । विदेशी पर्यटकले आएर हेर्ने भनेकै काठमाडौँलाई हो । यदि काठमाडौँ हराभरा हुन्छ भने उनीहरूले अन्त पनि यस्तै छ भन्ने सोच्छन् । घरका सबैले फोहोरलाई आफ्नै ढंगले व्यवस्थापन गर्ने हो भने सडकमा फाल्न पनि पर्दैन । दैनिक सडक बढार्न कुचिकारको आवश्यकता नै पर्दैन । सडकको किनारामा दिसासमेत देखापर्छ । त्यो त्यहीका मानिसले गरेको हो । दरबार हाइस्कुल अगाडि जमलतिर, भोटाहिटीतिर, रानीपोखरी अगाडितिर दिसा–पिसाब सडकमै गरेको पाइन्छ । नारायणहिटी दरबारको पश्चिम ढोका साइडतिर पनि दिसा–पिसाब सडकमै देखिन्छ । त्यस्तालाई कारबाही किन हुँदैन, विद्याजी ? 

उपत्यकाभित्रको सहरी विकासमा कामपाले सम्पूर्ण नेतृत्व गर्नुपर्छ । ५० वर्षदेखि १०० वर्षसम्म कस्तो व्यवस्था गरेर उपत्यकालाई सफा, सुन्दर र आकर्षक बनाउन सकिन्छ, योजना तर्जुमा गर्नुपर्छ । र त्यसको गुरुयोजना बनाएर कार्यान्वयन गर्न पहल गर्नुपर्छ । बाह्य चक्रपथको निर्माण गरी मेट्रो रेल वा ट्रलीबस सेवा सञ्चालन गर्नुपर्छ । उपत्यकाका डा“डा–पाखामा व्यवस्थित बसोवासको प्रबन्ध गरी व्यावसायिक रूपमा पर्यटकहरूलाई आकर्षित गर्न, चन्द्रागिरीजस्तै विभिन्न शिवपुरी, नागार्जुन, नगरकोटलगायत अन्य रमणीय डा“डा र भञ्ज्याङमा केबुलकार सञ्चालन गरी ठूला र तारे होटलहरूको व्यवस्था गरिनुपर्छ । सडक, खानेपानी, बिजुली र सञ्चार वा साधनहरूको निर्माण, मर्मत र संरक्षणका निमित्त जनसहभागितामा आधारित सिद्धान्तबमोजिम उनीहरूसँग विशेष कर लगाएर उनीहरूको प्रत्यक्ष संलग्नता कायम गरिनुपर्छ । सडक, खानेपानी, ढल बिजुली र सञ्चारका कार्यलाई एकीकृत रूपमा एकैपटक गर्नुपर्छ । सडक बनाउने, खानेपानीले भत्काउने, फेरि बनाउने अनि ढलले भत्काउने, फेरि बनाउने जस्तो गर्नुहुन्न । घर बहाल करलगायत अन्य सेवा सुविधाको कर पनि नगरपालिकाले नै लिनुपर्छ । कर कार्यालयले छुट्टै र नगरले छुट्टै लिने व्यवस्थालाई खारेज गरी नगरपालिकाले मात्र लिनुपर्छ । केन्द्र सरकारबाट नगरपालिकाले लिने हैन, केन्द्र सरकारलाई नगरले आफूले उठाएको करको केही प्रतिशत बुझाउने व्यवस्था हुनुपर्छ । नगरले आवास र औद्योगिक क्षेत्रलाई ठाउ“ तोकिदिनु पर्छ।

इँटाभट्टाहरूलाई उपत्यकाबाट क्रमशः हटाउनुपर्छ । डा“डा पाखाहरूको वन जंगललाई व्यवस्थित गरी संरक्षण र संवद्र्धन गरिनुपर्छ । सहरभित्र पनि ग्रिनबेल्ट तोकिनुपर्छ । प्रत्येक टोलमा चिल्ड्रेन पार्क र ज्येष्ठ नागरिकहरूको भेला हुने पार्कको व्यवस्था गर्नुपर्छ । विद्यालयलाई निजी आवासीय घरमा चलाउनु अनुमति दिनु हुँदैन । करिब पाँच रोपनी घटी जग्गामा आधारभूत विद्यालयसमेत चलाउने अनुमति पनि दिनुहुन्न ।

सडक पिच गरेको एक महिना नपुग्दै खाल्डाखुल्डी देखिन्छ । यो ठेकेदारहरूको लापरबाही हो । कमिसनको खेल अन्त्य गरिनुपर्छ । खानेपानी कर तिरेको छ तर खानेपानी आउँदैन भने नगरले सबै ठाउँमा समानुपातिक रूपमा खानेपानी वितरण गर्नुपर्छ । जुन टोलले खानेपानीको कर्मचारीलाई प्रलोभनमा पारेको छ त्यतातिर पानी आउँछ, अन्यत्र नआउने समस्या छ । त्यसमा पनि नगरका जनप्रतिनिधिले कडाइसाथ सम्बन्धित निकायमा दबाब दिनुपर्छ । विषादी हालेका अन्न, गेडागुडी, फलफूल र सागसब्जीलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । अग्र्यानिक खेतीमा जोड दिन पनि नगरले भूमिका खेल्नुपर्छ । नेपालमा उत्पादन हुने वस्तुमा भन्दा विदेशबाट आउने वस्तुमा थप कर लगाउनुपर्छ । नेपालका किसानहरूले उत्पादन गरेको वस्तुलाई बजार प्रवद्र्धन गर्नमा नगरपालिकाले गहन भूमिका खेल्नुपर्छ । आवश्यक परे नगरले नै खरिद गरी भण्डारण गरेर सर्वसाधरण जनतालाई सुपथ मूल्यमा बिक्री गर्नुपर्छ । उपत्यकामा अपराध र हिंसा रोक्नुपर्छ। 

प्रिय मेयर सा’ब ! नगर प्रमुखको हैसियतले सम्पूर्ण कार्यको जिम्मेवारी लिनुपर्छ । सरकारले गरेन भनेर हिजोका दिनमा जस्तो केन्द्र सरकारलाई मात्र दोष थुपारेर आफू चोखिने दिन गइसके । अब त सिंहदरबारको अधिकार स्थानीय तहमा गइसक्यो । अबको सरकार भनेको त स्थानीय तह हो । स्थानीय तहको पनि महानगर त्यसमा पनि काठमाडौँलाई हेरेर नेपालको कल्पना गर्ने हो सबै ठाउ“मा । भौगोलिक कारणले पनि एकनाशको विकास सम्भव छैन । प्रयास समान ढंगले गर्नुपर्छ । तर काठमाडौँ उपत्यकाको विकास भने तीनवटै नगरको समन्वय गरी एकीकृत विकासको योजनामा काठमाडौँ महानगरको प्रमुख भूमिका हुनुपर्छ । ठूला कुरा गरेर मात्र हु“दैन । साना कुरा गरेर, थोरै काम गरेर देखाए राम्रो । लौ त, पत्र धेरै लामो भयो । गल्ती भए क्षमा पाऊँ। 
यहाँको शुभचिन्तक
जनार्दनप्रसाद आचार्य
म्हेपी काठमाडौँ ।

 

प्रकाशित: १३ कार्तिक २०७४ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App