१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

पल्लो घरकी आइमाई

जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ

...

लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

मैले एकछिन उसलाई टोलाएर हेरेँ। मलाई ऊ बोल्न खोजेझैं लाग्यो। तर ऊ बोलिन, म पनि बोलिनँ। ऊ जतातिरबाट आउँदै थिई म त्यतैतिर जाँदै थिएँ। आमनेसामने उभिएर हामीले एकअर्कालाई हेरिरह्यौं। कति बेरपछि हो कुन्नि, एउटी सानी केटी आई र उसलाई भनी, ...मामु, छिटो जाऊँ न!'

मेरा आँखा विस्थापित भए, उसको छोरीतर्फ।

ऊ छोरीलाई डोराउँदै मेरो छेउबाट बिस्तारै अघि बढी। लाग्थ्यो, उसलाई आफ्ना पाइला बढाउन गाह्रो भइरहेको थियो। मैले फर्केर ऊतिर हेरेँ, उसले पनि मलाई नै हेरिरहेकी थिई। निकै टाढा पुग्दासम्म मैले उसलाई हेरिरहेँ, उसले पनि मलाई फकर्िंदै हेर्दै गरिरही।

दृष्टिपटलबाट ऊ ओझेल भएपछि म स्तब्ध भएर हिँड्न थालँे। मस्तिष्क सुन्य थियो, शरीरमा गेयता हराएको थियो। धेरै पछि पो मलाई थाहा भयो - म अफिस हिँडेको मान्छे सिधै घरमा गएर ओछ्यानमा पल्टिन पुगेछु।
......................
चार वर्षअघि म कलेजको प्रथम वर्षमा हुँदा उसलाई पहिलो पटक देखेको थिएँ। ऊ र उसको पति हाम्रो घरछेउकै घरमा भाडामा बस्न आएका थिए। उनीहरू शिक्षित र सम्भ्रान्त देखिन्थे। उसको पतिले राम्रै ठाउँमा रोजगार पाएको हुनुपर्छ किनकि ऊ आफ्नो मोटरसाइकलमा आवतजावत गर्थ्यो र उनीहरूको आम्दानी पनि राम्रै हुनुपर्छ, दुई जनाको परिवारले एउटा सिंगो फ्ल्याट लिएर बसेको थियो। बिदाको दिनबाहेक उसको पति घरमा बस्दैनथ्यो। ऊ दिनभरिजसो नै घरमा हुन्थी। मैले उसको आँखा र ओठमा तृप्तिको यस्तो चमक देेखेको थिएँ जो विरलै मान्छेमा देख्न पाइन्छ त्यसैले मलाई लाग्छ उनीहरूको जीवन परिपूर्ण थियो।

ऊ एकदमै राम्री थिई त भन्न मिल्दैन तर हाँस्दा दुईतिर गालामा पर्ने खाल्टो र हल्का खैरो रंगको आँखाको दीप्ति जो कोहीलाई बेकाबु गर्न पर्याप्त थियो। जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसकोे हेराइमा हराउन थालेँ। कस्तो सम्बन्धको कल्पनामा म थिएँ, थाहा छैन, उसमा मप्रतिको सोेचाइ कस्तो थियो थाहा छैन, तर म दावाका साथ भन्न सक्छु मैले एउटी स्त्री र पुरुषबीचको आकर्षणको सम्बन्धबारे सोचेको थिइनँ। र, मलाई पूर्ण विश्वास छ उसले पनि मलाई आकर्षणको भावले हेरेकी थिइन किनकि ऊ प्रेमको पूर्णाहुति गरेर परिणयको सूत्रमा बाँधिएको नवविवाहिता थिई। म ऊभन्दा कैयौं वर्षले कान्छो, ठेट्नो।

उसलाई हेर्ने लोभले मलाई त्यतिबेला यतिबिघ्न पागल बनाएको थियो कि म हरेक साँझ उसको पछिपछि झोला बोकेर तरकारी बजारतर्फ आफ्नो पाइला बढाउँथेँ। मैले कहिल्यै तरकारी किनमेल गर्ने गरेको थिएन - घरमा सबै छक्क परे। एकदिन त अचाक्ली नै भयो। कहिल्यै मुला नखाने मैले आफैले मुला किनेर ल्याएँ, घरमा सबै चकित भए। म आफैं पनि निकै छक्क परेँ। एकदिन उसले मुला किन्दै गरेको मैले हेरिरहेको थिएँ। सायद अर्धचेतन अवस्थामा मुला किन्न पुगेको छु।

ममा बहुलठीपन बढ्दै गयो। म धार्मिक बन्दै मन्दिर जान थालेँ, उसलाई देख्न पाइन्छ कि भनेर। सधैं टिभी हेरेर दिन बिताउने म झ्यालमा बसेर पल्लो घरको ठोकामा आफ्नो नजर दौडाउन थालेँ। हरदिन, हरसमय मेरा नयनले उसैलाई खोजिरहेका हुन्थे तर मेरा ओठले यो भावलाई कहिल्यै प्रकट गरेनन्। सिधै उसको मुहारमा मैले कहिल्यै हेरिनँ पनि। बरु उसले पो मलाई सिधै अगाडिबाट हेरिदिन्थी, मलाई असजिलो महसुस हुन्थ्यो, यताउता हेर्ने कोसिस गर्थें। केही बेरपछि आँखाको कुनाबाट उसलाई हेर्दा उसले उसरी नै हेरिरहेको पाउँथेँ। अनि धेरै बेरपछि ऊ यस्तो मुस्कानले मलाई आक्रमण गरेर जान्थी जसको पीडाबाट मुक्ति पाउन मलाई घन्टौं लाग्थ्यो। तथापि त्यही दिनचर्याले रोजिन्दा नयाँ-नयाँ कोणबाट लोभ्याँउथ्यो।

यो छटपटाहट र उकुसमुकुसलाई मनमस्तिष्कमा मैले धेरै दिन दबाएर राख्न सकिनँ। तिनलाई एक दिन मैले मेरो काकाको छोरासमक्ष खोलेँ। उहाँ नाताले दाजु भए पनि मसँगै साथीको व्यवहार गर्नुहुन्थ्यो। उहाँले मैले भोगिरहेको मानसिक तनाव एक सामान्य अनुभव हो, जीवनमा घट्ने यस्तै किसिमका अनुभूतिले नै जीवनलाई जिउनयोग्य बनाउँछ भन्नुभयो। म मनमनै खुसी भएँ। तर तुरुन्तै उहाँले भन्नुभयो, ‘प्रेमको त्यो फूललाई टाढैबाट हेर्नू, स्पर्शको अभिलाषा लिएर नजिक नजानू।' उहाँको कुरा सुनेर ममा पीडा भयो। मलाई लाग्यो, उहाँले ममा उमि्रएका भावलाई राम्ररी बुझ्न सक्नुभएन।

परिस्थिति बोध गर्न नसक्ने, प्रेमको गहिराइ नबुझ्ने जोकोहीले पनि उहाँले भनेझैं भन्छ भन्ने सम्झेर आफ्नो प्रेमबारे कसैलाई केही नभन्ने प्रतिज्ञा गरेँ, तर त्यो प्रतिज्ञा धेरै चाँडो टुट्यो - बोझिल हृदयलाई हल्का बनाउन मैले एउटा अन्तरंग मित्रसमक्ष मेरो समस्या भनेँ। तर, उसले पनि बुझेन मेरो समस्या र ‘ऊ'बाट टाढै रहन सल्लाह दियो।

त्यतिखेर म खाली समय टोलका साना भाइबहिनीलाई ट्युसन पढाउँथेँ। एक दिन ट्युसन पढाउँदै गर्दा उसको लोग्ने आयो र भन्यो, ‘मैले सालीलाई काठमाडौंमै पढाउने सोचेर ल्याएको छु, भाइले यसो गाइड गर्दिनुपर्‍यो।' अर्को दिन उसले आफ्नी साली मालिकालाई लिएर आयो। ऊ सात क्लासमा पढ्ने, अलिकति लजालु स्वभाव, गोरो रंग सानो उचाइकी, पातली राम्री केटी थिई। हाँस्दा उसकी दिदीको जस्तो उसको गालामा डिम्पल त पर्दैनथ्यो तर त्यो मुस्कान दिव्य थियो।

‘इङ्लिस स्पिकिङ प्राक्टिस' को बहानामा मैले मालिकालाई थुप्रो व्यक्तिगत प्रश्न गरेँ। उसले दिएका प्रत्येक उत्तर मैले बिर्सिदिएँ तर एउटा उत्तर मैले स्मृतिको कुनामा सुरक्षित राखिछाडेँ - माला। उसकी दिदीको नाम।
यो नामका लागि त मैले प्रश्नको पेटारो खोल्नुपर्‍यो, कसरी यो नामलाई एउटा कानले सुनेर अर्को कानले उडाउन सक्थेँ!
एक दिन मैले मालिकालाई सोधेँ, ‘तिम्री ददी घरमा दिनभर के गर्नुहुन्छ?'
‘खासै केही गर्नुहुन्न। तर अब केही दिनपछि कम्प्युर सिक्न जाँदै हुनुुहुन्छ।'
‘कहाँ?'
‘एप्टेक्टमा।'
त्यसै दिन कान्तिपथ गएर म एप्टेक्टमा भर्ना भएँ। तर कुन समयमा क्लास लिने, त्यो निर्णय गर्न सकिनँ। चिनेको कोही साथी पनि पढ्दैछन् कि भनेर हेर्ने बहानामा मालाले कुन सयममा क्लास लिँदै रहिछे भनेर भर्ना हुनेहरूको सूची हेरेँ। मालाले १२ देखि १ सम्म क्लास रोजेकी रहिछे। मैले पनि त्यही समय रोझेँ। तर मैले उसलाई पछ्याइराखेको छु भन्ने उसलाई भान नपरोस् भनेर मैले ग्राफिक्स रोजेँ, उसले विन्डोज ट्रेनिङ लिँदै थिई।
हाम्रो क्लास सुरु भयो र झल्याक-झुलुक भेट हुन थाल्यो। म ती भेटबाटै खुसी थिएँ।
एक दिन रिसेप्सनमा गएर मैैले उसको इमेल पत्ता लगाएँ। र, त्यसै दिन उसलाई मैले ‘भर्चुअल ग्रिटिङ कार्ड' पठाएँ। कसले पठाएको हो भनेर उसलाई संकेत दिन मैले कार्डको तल रोमन लिपिमा ...छिमेकी' लेखेको थिएँ। सायद त्यो लेख्न जरुरत थिएन किनकि मेरो इमेल आइडी नै मेरो नाममा थियो र म उसको बहिनीको शिक्षक भएकाले उसलाई मेरो नाम पक्कै थाहा थियो।
मैले त्यसरी नै उसलाई भर्चुअल कार्ड र चुट्किलाहरू पठाइरहेँ। एकदिन मैले मेरो कम्प्युटर खोल्दा पाएँ कसैले बाँदरको स्केच गरेर पठाएको रहेछ। राम्ररी नियालेर हेर्दा मैले देखेँ - रोमन लिपिमा ‘पल्लो घरकी आइमाई' लेखिएको थियो। जवाफस्वरूप मैले गुलाफको फूल पठाएँ र तलबाट लेखेँ, ‘धन्यवाद मेरो स्केच राम्रो थियो, तर नाक अलिक मिलेन।' त्यसपछि त एउटा सिलसिला नै चल्यो च्याट अर्थात गफको, केही हाँसो, केही भावना नितान्त निजी आदानप्रदानको। हामी ‘साइबर स्पेसमा' बसेर घन्टौं गफ गर्थ्यौं। वास्तविक रूपमा हामीले आमनेसामने भएर कुरा गर्ने जमर्को कहिल्यै गरेनौं, किनकि घरमा होस् वा बाहिर, भेट हुँदा हामीलाई सधैं असजिलो लाग्थ्यो। तर हामी आफूलाई कम्प्युटर स्त्रि्कनअगाडि यतिबिघ्न उदांगो पार्थ्यौं कि हुनसक्छ त्यसै समय हामी वास्तविक रूपमै आमनेसामने भएको भए एक अर्काको हात समातेर गगनको नीलिमालाई छुन दौडने थियौं।
कम्प्युटरमा ऊसँग यसरी नै जिस्किरहेका बेला एक दिन मैले कहीँ घुम्न जानका लागि आग्रह गरेँ, उसले कुन ठाउँ जाने भनेर सोधी। मैले स्की खेल्न कुनै स्नोल्यान्ड जाऊँ भनेँ, उसले स्की खेल्न नआउने भनी । त्यसपछि मैले बोटिङको अफर गरेँ, उसले पानीसँग डर लाग्ने कुरा गरी। अनि मैले तिमी नै भन न कहाँ जाने भनेर सोधेँ, उसले इडेनको गार्डनमा जाऊँ भनी। मैले हुन्छ भन्ने जवाफ पठाएँ। त्यसपछि ऊ र म साइबर जोनमा घुम्न गयौं। राम्रा-राम्रा फूलहरूको माझ ऊ पनि फूल भएको मैले कल्पना गरेँ। त्यसपछि मैले एउटा रातो गुलाफ टिपेँ र उसलाई दिएँ। प्रत्युत्तरमा उसले मलाई चुमी।
उसकै लागि मैले विभिन्न ठाउँबाट सुफी संगीतका वेबसाइट खोजेर उसलाई फरवार्ड गर्थें। र, आफूचाहिँ कम्प्युटर स्त्रि्कनअघि बसेर त्यही सुफी धुनमा ऊसँग भुलिरहेको कल्पना गर्थें। कतिपटक त मैले उसलाई लभ फोरमको वेबसाइट पनि फरवार्ड गरँे। एकपटक त यसरी नै कम्प्युटरमा क्लिक गर्दागर्दै साइबर म्यारिज एक्सेस हात लाग्यो। मैले तुरुन्तै उसलाई यो कुरा अवगत गराएँ। प्रतिउत्तर उसले पठाई, जो मैले कल्पना गरेको थिइनँ।

‘रियल म्यारिज त गरिसकेँ, अब अर्को पटक भर्चुअल म्यारिज पनि गरौं न,' मालाले भनी। ऊ एउटा यस्तो अस्तित्व लिएर मेराअघि आएकी थिई, जो एकदमै स्वतन्त्र थियो, समाज, घरपरिवार आदि केहीले पनि उसलाई बन्धनमा पारेको थिएन।
उसको वर्जनाहीन स्वतन्त्रताले मलाई हौस्यायो, मैले हनिमुनमा जाने ठाउँको लिस्ट नै पठाएँ। ‘कहाँ जाने - पेरिस, ब्रसेल्स, लग्जम्बर्ग, लन्डन, न्युयोर्क?' उसले राम्रो विचार भन्ने भाव व्यक्त गरी। कहिलेकाहीँ हाम्रा कुरा एकदम ‘एक्सटि्रम' मा पुग्थे। के कुनै केटी आफ्ना छट्पटाहट यति सजिलै भन्न सक्छे?
‘फ्रिडम भनेको कसैको रोकतोकबिना बाँच्न पाउनु हो। मलाई बाँच्नु भनेको मिनिङफुल हुनुपर्छजस्तो लाग्छ। जता हेर, फ्रि सोसाइटीले मात्र प्रोग्रेस गरेका छन्। फ्यामिलीप्रति मात्र होइन सोसाइटीप्रति पनि हाम्रो योगदान हुनुपर्छ।'
म अवाक भएँ। मैले भन्नुपर्ने केही थिएन, ‘गो अन' बाहेक।
‘युथ कल्चरलाई रोकेर के हामी इरान बन्ने? मान्छेको रमाइलो गर्ने इच्छा मार्‍यौं भने उसको क्रिएटिभिटी नष्ट हुन्छ।'
‘एस।'
‘नाइट लाइफ राम्रो लाग्छ, पार्टीहरूमा जान खुब रमाइलो लाग्छ।'
‘ह्वाट अबाउट सेक्स?'
‘टिन एज सेक्स र प्रि म्यारिटल सेक्समा हामी किन अल्भि्करहेका छौं, मलाई अचम्म लाग्छ। शरीरको मालिक हामी आफैं हो, के मालिकले आफूखुसी गर्न नपाउनु? पेरेन्ट्सले हामी केटीहरूलाई प्रपर्टीका रूपमा हेरेकाले नै यति धेरै रेस्ट्रिक्सन भएको हो। हाम्रो पढाइले हामीलाई यति पनि सिकाएको छैन र हामीले एक्प्लोइटेसनबाट बच्नुपर्छ? सेक्सुअलिटी र मोरालिटीलाई सँगै राखेर हेर्नुहुन्न। सेक्सुअलिटी प्राइभेट कुरा हो, मोरालिटीले मासलाई इफेक्ट गर्छ। वेस्ट सेक्सुअली फ्रि छ तर के यसले उनीहरूलाई करप्ट गरेको छ त?'
यस्ता च्याटसँगै दिन बित्दै थिए। एक दिन हजुरआमालाई भेट्न मलाई मामाको घर पाल्पा जानुपर्‍यो। एक हप्तापछि फकर्िंदा उनीहरूले कोठा छोडेर गइसकेका रहेछन्। पछि थाहा पाएँ - घरबेटीसँग भाडाको विषयलाई लिएर भनाभन भएको रहेछ। विछोडको पीडाले मेरो मन निकै रोयो। उसले मलाई यसरी अचानक छोडेर जाली भन्ने मैले सोच्न सकेको थिइनँ र यो विछोडलाई हाम्रो सम्बन्धको अवास्तविक धरातलजस्तै अवास्तविक ठानेर उसलाई भेट्न कान्तिपथ गएँ। कम्प्युटर खोलेर इमेल चेक गरेँ। इनबक्समा मालाको चिठी रहेछ :

‘हावाझैं आइरहेका दिन, रात, महिना र वर्ष हावाझैं गैरहेका छन्। हिजो नै त आएको थियो शरद, प्रकृतिमा प्रित फैलाउन। संसारिक उल्झनलाई पन्छाउँदै श्वास लिइरहेको मलाई दृटिवत भैरहेछ - एउटा सत्य। सायद ढिलो भयो कि प्रित बुझ्न, तथापि अहिले म सत्यानुभूत गरिरहेको छु - तिमी र मबीच कहिल्यै वास्तविक प्रेम भएन किनभने वास्तविक रूपमा हामी कहीँ पनि छैनौं। नेटिजन र सिटिजनबीच धेरै फरक छ, प्रिय छिमेकी।'

.................

म ओछ्यानबाट उठेर झ्यालनेर गएँ र बाहिर हेर्न थालेँ।
अघिल्लो दिन परेको पानीले धोइएर काठमाडौं षोडसीझंै देखिएको थियो। सडकका खाल्टाहरू ससना पोखरीमा परिणत भएका थिए। एक्कासि माला बस्ने फ्ल्याटबाट एउटा सानी केटी कौसीमा आई र सफा आकाश हेरेर केही किन्चित हाँसोको मुद्रामा यताउता हेरी, गमलामा फुलेको सयपत्री टिपी अनि त्यसलाई तलतिर फाली। त्यो पानी भरिएको खाल्टोमा खस्यो। त्यहाँ लहर उठे। सायद त्यो मेरो मन हो, लहर पछि लहर, उठिरहेका, उर्लिरहेका।

 

प्रकाशित: ६ वैशाख २०६७ ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App