२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

बलिउडका ‘हि–म्यान’ धर्मेन्द्र र हेमाको त्यो अमर प्रेमकाहानी

बलिउडको पर्दामा देखिने प्रेम कथाहरू प्रायः तीन घण्टामा सकिन्छन्। तर, पर्दा पछाडिको वास्तविक जीवनमा केही यस्ता प्रेम कथाहरू कोरिएका हुन्छन् जसको पटकथा कुनै ब्लकबस्टर फिल्मभन्दा कम रोचक हुँदैन।

यस्तै एक अमर र चर्चित प्रेम गाथा हो– बलिउडका भर्खरै दिवंगत दिग्गज अभिनेता धर्मेन्द्र र सदाबहार सुन्दरी हेमा मालिनीको।

धर्मेन्द्रको निधनसँगै यो जोडी भौतिक रूपमा अलग भएको छ। तर, दुई फरक परिवेश, सामाजिक बन्धन र पारिवारिक अस्वीकृतिका बाबजुद कसरी जुरेको थियो त यो जोडी ?

यो प्रेमकथा हो सन् ७० को दशकको। जतिबेला हेमा मालिनीको एक झलक पाउन फ्यानहरू मात्र होइन, समकालीन सुपरस्टारहरू पनि तड्पिन्थे।

सन् १९७४ ताका हेमा मालिनीको करियर शिखरमा थियो। उनको सौन्दर्य र शालीनताको जादु यस्तो थियो कि उनीसँग विवाह गर्न तीन दिग्गज अभिनेताहरू लाइनमा थिए। धर्मेन्द्र, जितेन्द्र र सन्जीव कुमार।

सुरुमा सन्जीव कुमार हेमासँग विवाह गर्ने प्रस्ताव लिएर उनका अभिभावककहाँ पुगेका थिए। तर, हेमाको परिवारले सन्जीव कुमारको प्रस्तावलाई उमेरको अन्तर र अन्य कारण देखाउँदै ठाडै अस्वीकार गरिदियो।

सन्जीव कुमारको बहिर्गमनपछि हेमाको जीवनमा जितेन्द्रको प्रवेश भयो। जितेन्द्र अविवाहित थिए र हेमालाई अथाह प्रेम गर्थे।

अर्कोतर्फ पन्जाबका ‘पुत्तर’ धर्मेन्द्र पहिल्यै विवाहित र चार सन्तानका पिता थिए। हेमाको मनमा धर्मेन्द्रप्रति नरम भाव भए पनि पारिवारिक संस्कार र धर्मेन्द्रको वैवाहिक स्थितिले उनलाई रोकिरहेको थियो।

यही अन्योलका बीच जितेन्द्र र हेमाको विवाहको कुरा चल्यो। पारिवारिक दबाबमा हेमाले जितेन्द्रसँग विवाह गर्ने मनस्थिति पनि बनाइन्। तर, भनिन्छ नि– भावीले लेखेको कसले मेट्न सक्छ र ?

अन्तिम समयमा आएर धर्मेन्द्रको हस्तक्षेप र जितेन्द्रकी प्रेमिका (वर्तमान पत्नी) शोभा कपुरसँगको सम्बन्धका कारण हेमा र जितेन्द्रको विवाह हुन सकेन।

सन् १९६९ मा पहिलो पटक धर्मेन्द्रले हेमालाई एउटा स्टेज कार्यक्रममा देखेका थिए। पहिलो नजरमै उनी हेमाको सौन्दर्यमा मोहित भए। त्यतिबेला हेमा इन्डष्ट्रीमा नयाँ थिइन् भने धर्मेन्द्र सुपरस्टार।

संयोगवश, उनीहरूले ‘तुम हसिन मैं जवान’, ‘नयाँ जमाना’ र ‘राजा जानी’ जस्ता फिल्ममा लगातार काम गरे।

हेमा दक्षिण भारतको अनुशासन भएको अयंगर परिवारकी छोरी थिइन् भने धर्मेन्द्र खुला र रमाइलो स्वभावका पन्जाबी। भाषा, संस्कृति र रहनसहनमा आकाश–पातालको फरक थियो। तर, सुटिङ सेटमा बिताएका पलहरूले यी दुईको मन नजिक्यायो। फिल्म ‘शोले’ को सुटिङसम्म आइपुग्दा यो जोडी प्रेममा चुर्लुम्म डुबिसकेको थियो।

हेमाले आफ्नो आत्मकथामा लेखेकी छन्, ‘मैले धर्मेन्द्रसँग टाढा रहने धेरै प्रयास गरेँ। म उनीजस्तो जीवनसाथी चाहन्थेँ, तर स्वयं उनीसँगै जीवन बिताउँला भनेर सोचेकी थिइनँ। तर, उनको मायाको अगाडि मेरो केही लागेन।’

प्रेम त भयो, तर विवाह कसरी गर्ने ? धर्मेन्द्रले आफ्नी पहिलो श्रीमती प्रकाश कौरलाई सम्बन्धविच्छेद दिन चाहेनन्। हिन्दु विवाह ऐन अनुसार पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न कानुनी रूपमा बन्देज थियो।

समाज र कानुनको यो पर्खाल भत्काउन यो जोडीले एउटा साहसिक निर्णय लियो। दुवैले प्रेमका खातिर इस्लाम धर्म कबुल गरे। सन् १९७९ अगस्ट २१ मा उनीहरूले गोप्य रूपमा निकाह गरे। निकाहनामामा धर्मेन्द्र ‘दिलावर खान’ बने भने हेमा ‘आयशा बी’ बनिन्।

यो खबर बाहिरिएपछि देशव्यापी हंगामा भयो। धेरैले आलोचना गरे। तर, उनीहरूको प्रेम यी सबै विवादभन्दा माथि थियो। पछि, हेमाको परिवारको चित्त बुझाउन र सामाजिक मान्यताका लागि उनीहरूले सन् १९८० मे २ मा हिन्दु परम्परा अनुसार विधिवत् विवाह गरे।

अन्त्यमा: एक्लिइन् ‘ड्रिम गर्ल’, बाँकी रह्यो अमर प्रेम

आज नियतिको खेलसामु यो जोडी पनि नतमस्तक बन्न पुग्यो। धर्मेन्द्रको दुखद् निधनसँगै बलिउडको एउटा स्वर्णिम युगको अन्त्य भएको छ भने ‘ड्रिम गर्ल’ हेमा मालिनी जीवनको यो मोडमा एक्लिएकी छिन्। चार दशकभन्दा लामो उनीहरूको यो सहयात्रामा ‘हि–म्यान’ ले अन्ततः भौतिक रूपमा बिदा लिएका छन्।

जीवनको अन्तिम क्षणसम्म पनि हेमालाई साथ दिएका धर्मेन्द्रको अनुपस्थितिले बलिउडलाई मात्र होइन, करोडौं प्रशंसकलाई स्तब्ध बनाएको छ। यद्यपि, मृत्युले शरीरलाई खरानी बनाए पनि प्रेमलाई मार्न सक्दैन।

तमाम अवरोध, आलोचना र सामाजिक बन्धनहरू तोडेर उनीहरूले लेखेको यो प्रेम गाथा भावी पुस्ताका लागि सधैं एक अमर र आदर्श प्रेमकथाका रूपमा जीवित रहनेछ। धर्मेन्द्र आज हामीमाझ नभए पनि उनको र हेमाको प्रेमको त्यो अध्याय सिने इतिहासमा सधैं स्वर्ण अक्षरले लेखिरहनेछ।

हार्दिक श्रद्धाञ्जली धर्मेन्द्र !

प्रकाशित: ९ मंसिर २०८२ १८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App