म क्याम्पसबाट घर फर्किदै थिएँ। बाटोमा स्कुलसँगै पढेको साथी भुपेन्द्रलाई भेटे।
मैले छक्क पर्दै उसलाई सोधें, 'भुपेन्द्र कहाँ जाँदैछौं? गलाभरि माला लगाएको छौ त!'
भुपेन्द्रले भन्यो, 'देशमा जति पढे पनि सबैले जागिर पाइँदैन। पैसा कमाएपछि जीवन सहज हुन्छ भनेर कतार जादैछु।'
मैले भनें, ‘विदेश जाने नै भएपछि जापान जानुपर्थ्यो नि बरु।’
जापान जान धेरै खर्च लाग्छ। कतार जान त बल्लबल्ल ऋण पाए। त्यतिभन्दा भन्दै उसका आँखा रसाए। उसले मुश्किलले बाइ भनेर हात हल्लायो।
यो हाम्रो बाई क्षणिकको हो भन्दै मैले मन सम्हालें। भुपेन्द्रले दुई महिनापछि मलाई फोन गर्यो। उसले अलिक निराश शैलीमा भन्यो, ‘यहाँ चर्को घाम र बालुवामाथि काम गर्दैछु। धेरैले दु:ख भोग्नुपरेको छ। यहाँ केहीलाई मात्र राम्रो छ। आफ्नो देशको सिस्टम राम्रो भए यस्तो पीडा खेप्नु पर्दैन थियो।’
एकदिन अचानक ऊ नरहेको खबर आयो। बल्लतल्ल उसको लास झिकाइयो। म लगायत सारा गाउँ शोकमा डुब्यो। मानौं, अहिले बोलौँला जस्तै देखिने उसको अधरले भन्दै थिए, ‘साथी, मैंले बाइबाई गरें विदेश। गरिबीले विदेश जानुपर्ने बाध्यताको अन्त्य कहिले होला?’
प्रकाशित: १० जेष्ठ २०८३ ०९:१५ आइतबार





