आउँदाे शुक्रबार जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक मुठ्ठी बादल' को प्राइभेट स्क्रिनिङ गरिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्की, काँग्रेस नेता सुनिलकुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमनप्रताप अधिकारी लगायतका थुप्रै विशिष्ट व्यक्ति सिनेमा हेर्न पुगेका थिए।
सिनेमा हेरेर हलबाट निस्किएकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘एक मुठ्ठी बादल’ निकै मन परेको बताइन्। ‘म सिनेमा ज्यादै कम हेर्छु। अहिले हेरेँ भने पनि पुरानो सिनेमा हेर्छु। अब हाम्रो नीताजी, यो सिनेमा बनाउने मान्छे निर्माताको आमाचाहिँ एउटै कम्युनिटी न्यायधिस, उहाँहरूले निमन्त्रणा दिनुभयो। अनि त्यसपछि हुन्छ भनेर म आएँ। अब सिनेमाको मूल्याकंन भन्नुहुन्छ भने सबैले आआफ्नो दृष्टिकोणबाट हेर्नुहुन्छ।’
पूर्वप्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘मलाई यो सिनेमा आर्ट सिनेमा जस्तो लाग्छ। दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ। तेस्रो नम्बरमा यो मध्यम वर्गीय परिवारको कथा हो अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात् एक रात र भोलिपल्टको कथा हो। अझै भनौ समाजको द्वन्द्व पनि हो। मानौं बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन-जी। अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ। आधुनिक र पारिवारिक समाजको टकराव सिनेमामा हेर्न पाइन्छ।’
‘त्यसमाथि मध्यम वर्गिय परिवारमा आर्थिक हैसियत नमिलेको एउटा छोरीको त्यस्तै परिवारमा विहे भएको छ। ज्वाइँ अलि हेपिएको पनि देखिन्छ। एउटा छोरी अमेरिकाबाट पढेर आएकी छ। जसको आमाबाउले आफ्नो सम्पत्ति बेचेर भए पनि सन्तानको खुशीका लागि बाहिर पठाउँछन्। उसको राम्रो घरपरिवारमा बिहे हुन्छ। त्यसले कसरी परिवारको असमानता देखाउँछ भन्ने सिनेमाले देखाएको छ,’ उनले भनिन्।
यता सुनिलकुमार थापाले पनि सिनेमाले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए। रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट सिनेमा 'एक मुठ्ठी बादल' रहेको बताए। नेपाली सिनेमाबारे कसैले सोधे 'एक मुठ्ठी बादल' हेर्न सिफारिस गर्न आग्रह उनले गरेका थिए।
सहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाई, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय छ।
सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन्।
सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको वेशभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ। सिनेमामा मर्णा जेम्सले सिनेमाको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छन् भने उनलाई सहायकको रूपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन्।
सिनेमाका धेरै विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन्। सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।
प्रकाशित: २८ वैशाख २०८३ १३:३४ सोमबार





