१६ मंसिर २०७९ शुक्रबार
कला

अञ्जु शर्माका पाँच लघुकथा

लघुकथा

अन्जु शर्मा

१) गोठ रुँगालु  

जमरा पूजा गर्दै गरेका रंगनाथ गुरुले पत्नीलाई अराए,‘भर्खरै बियाएको कोरली यतिकाबेर भैसक्यो, बाछो खोज्दैन। गाईलाई केही भैहाल्यो कि गोठमा गएर एकपटक हेरेर आऊ न है नन्दा!’

पतिको आज्ञापालन गर्दै नन्दा खोले बोकेर गोठतिर लागिन्। अचानक गाई र ब्वाँसासँगै देखेर आतिएर कराइन्। गाई र ब्वाँसाको घनिष्ठ मेलमिलाप भैसकेको थियो। गाईले नन्दालाई सम्झाउँदै भन्यो, ‘ब्वाँसो दाइले हामीलाई नखाने वाचा गरी अबदेखि हामीसँगै राति बस्ने बाचा गर्नुभएको छ आमा!’

पापिष्ट ब्वाँसाले मुस्कुराउँदै सहमति जनायो, ‘हामी गाईहरूलाई नोक्सान गर्दैनौ। तर, यो क्षेत्र वरिपरि के कति भेडाहरू छन्। त्यसको आकलन मात्र गर्न आएको। मंसिर ४ सम्ममा माथिल्लो निकायमा तथ्य बुझाइसक्नुपर्ने छ।’

दुवैका कुरा सुनेर नन्दाको बोली बन्द भयो।

 २) नमेटिने घाउ

आर्थिक उपार्जनमा महिला हिजोआज निकै अग्रसर देखिन्छन्। यस्तै आर्थिक उपार्जनको प्रमुख स्रोत वैदेशिक रोजगार पनि हो। निम्न मध्यम वर्गीय रश्मि वैदेशिक रोजगारीका लागि मलेसिया जाने अन्तिम तयारीमा थिइन्। उनले भर्खरै मलेसियाबाट फिर्ता भएका विनोदलाई एक चिया पसलमा भेट्छिन्।

उनीहरू एक आपसमा यति धेरै नजिकिन्छन्। जसको परिणाम उनीहरू वैवाहिक जीवनमा बाँधिने कसम खाँदै त्यो रात कुनै गेस्ट हाउसमा बिताउँछन्। पति मानेर सुतेका विनोद बिहान उठ्दा कतै नदेखेपछि उनी अतालिन्छिन्। विनोदलाई फोन गर्ने प्रयास गर्छिन् तर फोन सुइच अफ रहेछ।

एक हप्तापछि मलेसिया जाने मेडिकल गर्नुपर्ने भएकाले सबै बिर्सेर उनी मेडिकल गर्न जान्छिन्। मेडिकलमा फेल हुन्छिन्। उनलाई यौन रोगले समातिसकेको रहेछ।

नबुझीकन अरूको भर पर्दा जीवनमा नमेटिने गाउँ बोकेर रश्मि हिजोआज आफ्नो अपूरो जिन्दगी घिसाददै छिन्। 

३) दुर्गन्ध

आज विहान श्रीमान् र श्रीमती मोर्निङ वाकबाट फिर्किदै थिए। त्यस्तो सफाचट बाटामा ह्वस्स दुर्गन्ध आया। दुवै जनाले कतै कसैले फोहर फ्याँकेकी भनी दृष्टि घुमाए तर सब बेकार। झिंगा लड्ने गरिको सफा सडक छ। कसरी गन्ध आयो? शंका झन् बल्झियो।

निकैबेर खोजी गर्दा पनि श्रीमानले भने केही पत्तै लाउन सकेनन्। श्रीमतीले पर आँखा लगाइन्। त्यहाँ एक हुल कार्यकर्ताका बिचमा उहीं पुरानो नेता फूलमालामा सजिएर जिन्दावादको नारा लगाउँदै थिए।

कार्यकर्ता भने मुखमा ललिपप चुस्दै भन्दै थिए: यो जित कसको!

-हाम्रो हो!’

‘ए नेताको दुर्गन्ध यहाँसम्म फैलिएछ।’ दुवैले सहमति जनाएर अघि बढे।

 ४) भात सम्मेलन

सबै जातका भातहरूको सम्मेलन थियो।

सेतो चामल भातले गर्व गर्दै भन्यो, ‘म सबैभन्दा उच्च वर्गमा पर्छु। मलाई गाउँदेखि शहर मात्रै हैन, भट्टीदेखि ठूलाठूला रेस्टुरेन्टसम्म पकाइन्छ र सम्मान गरिन्छ।’

कोदे भातले निन्याउरो मुख लगाउँदै भन्यो, ‘म त गाउँमा गरिबको घरमा मात्रै पाक्छु। त्यसमाथि रुचाएर हैन चित्त दुखाएर खाइन्छु।’

जौ भातले सम्झाउँदै भन्यो, ‘त्यसो हैन मित्र, हामी कोदो,मकै,फापर,गौ, जौ  जे जति खस्रा भातहरू छौं, जति हामीलाई धेरै खान्छन् उति मान्छे स्वास्थ्य हुन्छन्। तर, सेतो चामल बढी खायो कि रोग लागिहाल्छ।’

जौ भातको सकारात्मक सोचले सेतो चामलको घमण्ड तोडियो अनि सेतो भातले सबैसँग आफ्नो नकारात्मक गुणका लागि शिर झुकाएर माफी माग्यो।

५) स्वतन्त्र जात

काली मन्दिरमा भोजराज पण्डित पूजापाठ गर्नुहुन्थ्यो। उहाँलाई मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमै बस्ने व्यवस्था मिलाएको थियो। त्यस्तै मन्दिरको सरसफाइ गर्ने रतन कंसाकारलाई पनि मन्दिर परिसरमै बस्ने व्यवस्था थियो।

पण्डितको छोरी ललिता र कंसाकारको छोरा ललित सँगसँगै बस्ने र एउटै स्कुल पढ्ने भएकाले यति धेरै नजिकिए कि उनीहरू आफ्नो सम्बन्ध विवाहमा परिणत गर्न हतारिए। यसै सिलसिलामा ललिताले पण्डितसँग आफ्नो विवाह ललितसँग गरिदिन आग्रह गरिन्। पण्डितले आफूभन्दा तल्लो जातसँग विहे गर्न नहुने कुरामा अडिग रहे।

उता ललितको बुबा पनि आफ्नो जात जस्तो बलियो अरू जात नहुने भएको कारण विहे नगर्ने कुरामा अडिग रहे।

पारिवारिक समर्थन नपाएका जोडी केही समयको अन्तद्र्वन्द्घपछि आफ्नो निर्णयमा उभिए।

फलस्वरूप उनीहरूले कालीमातालाई साक्षी राखी विवाह गरे। साथै समाजमा ठूलो सानो जात हैन स्वतन्त्र जात हुन्छ भन्ने कुरालाई प्रमाणित गरे।

प्रकाशित: १ मंसिर २०७९ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App