coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेम पुन मगरका पाँच लघुकथा

लघुकथा

प्रेम पुन मगर

१) मालिक

महेशले पल्लाघरमा कोही बोलेको स्वर सुन्यो। आकाश र हरिश रहेछन्। उनीहरू बोल्दै थिए:

आकाश-साइकलको चेन लगाएको कति लियो?

हरिश-के भन्नु, पूरै एक हजार लियो नि यार।

आकाश-तँलाई केही थाहा छैन। त्यसैले तँलाई लुट्यो। यो त महँगो भयो। पाँच सयमा चेन लगाइदिन्छ।

हरिश-मलाई थाहा छ। चेनलाई पाँच सय नै पर्छ।

आकाश-त्यसो भए हिंड्। त्यसलाई छोड्नु हुँदैन। ठोक्नुपर्छ।

हरिश-छोड् न यार। सबै काम हामी आफै गर्नु हुँदैन। कुनै-कुनै काममाथि बसेको मालिकको हातमा पनि छोड्दिनुपर्छ।

२) ग्राहक

‘मेरो अनुपस्थितिमा तँ नियमित ग्राहकसँग किन झगडा गरेको? सम्पूर्ण कुराको तालिम दिएकै छु। ग्राहकसँग नम्र भएर बोल्न सक्दैनस्। यस्तो किसिमले होटेल चल्छ?’ आफ्नै होटल व्यवसाय चलाउने रनकबहादुरले छोरा सनकबहादुरलाई भने।

छोरो सनकबहादुरले आफूलाई निर्दोष सावित गर्न खोज्यो,‘बाबा, यस कुरामा मेरो केही गल्ती छैन। तिनीहरू नै खराब रहेछन्। त्यस्ता ग्राहक आउनुभन्दा नआउनु नै राम्रो छ।’

उनले अझै स्पष्टीकरण माग्दै भने,‘तँ निकै घमन्डी छस्। अझै पानीमाथिको ओभानो बन्न खोज्दैछस्? के पर्‍यो,त्यस्तो झगडा नै गर्नुपर्‍यो?’

छोराले आफ्नो विवशता बतायो,

एउटै तरकारीलाई एकजनाले भन्यो, ‘नुन छैन?’

अर्काले भन्यो, ‘चर्को छ।’

 ३) म्यानपावर

आज होला,छैन। भोलि होला, छैन। यस्तै भैरहेको थियो। जुन म्यानपावरमा उसले पासपोर्ट दिएको थियो। त्यहाँको रिसेप्सनले काम छोडेको हुँदा मान्छे खोजिरहेका रहेछन्। सामान्य तालिमपछि त्यो काम उसले पायो।

ऊ झुटो बोल्न नजान्ने मान्छे, दिनमा कैयौं पटक झुट बोल्नुपर्ने कुराहरू तालिम दिइएको थियो।

हुलका हुल मान्छे आउँथे। कतैबाट मान्छेको माग भैरहेको हुँदैन थियो तब पनि भन्नुपर्थ्यो, ‘फलानो देशको सय जना माग छ है। यही महिनाभित्र छिटो आउनुपर्‍यो। मान्छे पूरा हुन बाँकी छ।’

तर,मान्छेको माग शून्य।

एकदिन प्रबन्धकले हलभरि मान्छे राखेर भाषण दिंदै थिए, ‘यो कम्पनीमा पर्नु भनेको तपाईहरूको ठुलो भाग्य हो। यो कम्पनी फलानो देशको महारानीको भाइको हो।

कमाउनेले त लाख/डेढ लाख कमाइरहेछन्। कम भनेको पनि महिनाको पचास हजार त पक्का खाने बस्ने सबै फ्री हो। बोनस छ। पन्ध्र दिनभित्र मान्छे चाहियो भनेको छ। रकम आजै बुझाउँदा बेस,जसले पहिला रकम पूरा गर्छ त्यो छिटो पुग्छ। आज रकम पूरा, भोलि फ्लाइट। त्यो कम्पनीमा  मेरो साक्खै मामा हुनुहुन्छ। नपत्याए उहाँहरूलाई फोन गरेर बुझ्न सक्नुहुन्छ।’

थुप्रै साथी जो रुकुमका जयवली प्रकाश डाँगी, पूर्व ताप्लेजुङका  दावा शेर्पा,बाँकेका सेंगटा महतो, धनुषाका उमेश साह लगायत धेरै साथी रकम बुझाएर पन्ध्र दिनका लागि घर फर्के।

उसले प्रबन्धकलाई बिन्ती गर्दै भन्यो, ‘मैले रकम बुझाएको त छ महिना नाघिसक्यो। यति राम्रो कमाइ मलाई जसरी भए पनि त्यो कम्पनीमा पठाउनुपयो नि सर।’

प्रबन्धकले सम्झाउँदै भने, ‘त्यो त फोहर उठाउने कम्पनी हो। तिमी अलि बाठो छौ, त्यस्तो कम्पनीमा जानु हुँदैन। त्यो कम्पनीमा सेवासुविधा केही छैन। सुक्का पान सय रियाल छ। बिजोग हुन्छ।’

४) निकम्मा

भारतीय भूपू सुवेदार छोरालाई भर्ती नलागेको निहुँमा कड्किए,‘तँ निकम्मा केही गर्न नसक्ने! मेरो पेन्सनले तलाई कति दिन पाल्छ?’

उसले तीन सालसम्म लागे पुगेसम्म मन र ज्यान लगाएकै हो तर हात लाग्यो शून्य। उमेरले नदिएपछि एक राजनीतिक पार्टीमा लाग्यो।

उसले आन्दोलनको अगुवाइ गर्दै भनिरह्यो-भनिरह्यो, ‘विदेशी सेनामा भर्ती हुनेहरू नामर्द र निकम्मा हुन्। देशकै बेइज्जत हो। गोर्खा भर्ती बन्द गर्न नसक्ने, निकम्मा सरकार मुर्दावाद।’

५) पोखरा

‘यस्तो पनि हुन्छ? दिनभरि बरु नभए पनि भयो, राति त हुनुपर्ने नि। अँध्यारो भएको एकछिनपछि घण्टौ गयो। पिलिक्क आयो, फेरि गयो। तीस मिनेट पर्खेपछि फेरि एकपलका लागि पिलिक्क! क्षणभरमै मिलिक्क! महानगर जस्तो ठाउँमा यस्तो पनि हुन्छ?’

समय साँझ सात बजे, वातावरण अन्धकार, ऊ कराइरहेको देखेर घनश्यामले भने, ‘छोड् न यार, लाइट पूरा पाउन त कि विदेशतिर जानुपर्‍यो कि गाउँ जानुपर्‍यो। पोखरा जस्तो ठाउँमा त यस्तै हो।’

त्यतिकैमा फोन बज्यो। थाहा भयो गाउँबाट काका आएका रहेछन्। बसपार्कमा लिन गयो। टेक्सी बोलाएर सोध्यो, ‘डेविसफाल, कति हो?’

टेक्सी चालकले भन्यो, ‘एघार सय..!’

उसको मुड पहिल्यैदेखि बिग्रेको थियो। ऊ भाउन्न भयो र भन्यो, ‘हे भगवान, चार सय लाग्ने ठाउँमा एघार सय कसरी हुन्छ? सबैसबै लुट्ने खोज्ने मात्रै छन्।’

टेक्सी चालकसँगै बसेको अर्को व्यक्तिले ऊतिर इसारा गर्दै भन्यो,‘पोखरा जस्तो विश्वकै मुटुमा बसेर पनि एघार सय दिन डराउने?’

प्रकाशित: १ मंसिर २०७९ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App