१६ चैत्र २०८० शुक्रबार
कला

‘हामीलाई जिताए मंगल ग्रहबाट घरघरमा ग्यास’

नाटकमा चुनावी व्यंग्य

‘निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराए आगामी पाँच वर्षभित्र मंगल ग्रहबाट ग्यासको पाइपलाइन ल्याएर घरघरमा जडान गरिदिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै जंगलजंगलमा भ्यु टावर बनाइदिएर जंगल नै भ्युटावरमय बनाइदिने, खोलामा मात्रै होइन, खेतखेतमा पनि पुल बनाइदिने र मंगल ग्रहमा धान रोप्ने व्यवस्था मिलाउने वाचा गरिएको छ।

भक्तपुरमा आइतबार मञ्चन गरिएको निर्वाचन केन्द्रित नाटक ‘चुनावदेखि चुनावसम्म’ मा ‘खोया पार्टी’ले यो प्रतिबद्धता जनाएको हो। आम मतदातामाझ जनचेतना जगाउने उद्देश्यले तयार परिएको यस नाटकका पात्र नेता र पार्टीले आफ्ना उम्मेदवारलाई चुनाव जिताउन भन्दै असम्भव सपना देखाएर राजनीतिक दलहरूलाई व्यंग्य गरेका हुन्। चुनावमा राजनीतिक दलहरूले जनतालाई ठुला आश्वासन र असम्भवप्रायः सपना देखाएको तर पूरा नगरेको विषयमा नाटक केन्द्रित छ।

नाटक कुनै वाद र विचारबाट प्रभावित छैन। नाटकले कुनै पार्टीको पक्ष लिएकोे पनि छैन। नाटकका पात्र स्वतन्त्र उम्मेदवार पनि कसैको पक्ष–विपक्षमा छैन। राजनीतिक दलहरूले गरेका वाचा र जनताका वास्तविक अवस्था नाटकका माध्यमबाट देखाउन खोजिएको छ। कलाका माध्यमबाट मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको जनाइएको छ।

नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्मअनुकूल नागरिक जीवनमा अपेक्षित सकारात्मक प्रभावन नदेखिएको विषयमा जोड दिएको छ। देश संघीयतामा गएपछि पनि उखु बेचेको रकमको भुक्तानी तथा मल र बिउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटरब्याजपीडितको आन्दोलन, बढ्दो बलात्कार, द्वन्द्वपीडितका मुद्दा, नागरिकता पीडितको संघर्ष, मौलिक हक कार्यान्वयनमा सरकारको उदासीनताजस्ता विषय नाटकका माध्यमबाट देखाइएको छ।

साथै, महँगी तथा भ्रष्टाचार, रोजगार नपाएर बिदेसिनुपर्ने विडम्बनापूर्ण अवस्था, सरकारी ढिलासुस्ती र झन्झट, भिभिआइपी सवारीका नाममा नागरिकले सामना गर्नुपरेको सास्ती, निर्वाचनका बेला मतपत्र पुग्ने तर पुस्तक नपुग्ने समस्यालगायत विषय पनि नाटकमार्फत प्रस्तुत गरिएको छ।

आशिष घिमिरे, कैलाशकुमार कार्की र दीपेन्द्रदेव पौडेलद्वारा लिखित यो नाटक करिब २५ मिनेटको छ। नाटकको परिकल्पनाकार र सुत्रधार विष्णु बसौला हुन्। नाटकमा मुख्य सन्देशका रूपमा हाम्रालाई होइन; राम्रालाई भोट दिन आह्वान गरिएको छ। आरोहण गुरुकुलका कुलगुरु सुनिल पोखरेलको निर्देशनमा कलाकारहरूले सशक्त भूमिका निर्वाह गरेका छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी युवा कलाकारको समूहले तयार पारेको सडक नाटक कात्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा मञ्चन हुने जनाइएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App