१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हिमालले महिला भनेर विभेद गर्दैन

दोलखा रोल्वालिङकी दावा याङजुम शेर्पाले छोरी भएकै कारण बाल्यकालदेखि नै लैंगिक विभेद भोग्दै आइन्। समस्या र चुनौतीसँग हार नमान्ने उनी जीवन यात्रामा अगाडि बढ्दै गई। आठ हजार माथिको आठ वटा हिमाल चढिसकेकी उनलाई अहिले लाग्छ– हिमालले कहिल्यै लैंगिक विभेद गर्दैन।  

हिमाली गाउँमा जन्मेहुर्केकी याङजुमको हिमालसँग भावनात्मक साइनो छ। एकपटक सगरमाथा चढौं न त भन्ने इच्छाले सन् २०१२ मा सुरु भएको उनको हिमाल आरोहण यात्रा रोकिएको छैन। उनी पहिलो पटक सहयोगी गाइड भएर सगरमाथा पुगिन। ‘सुरुवाती दिनमा महिला भएर पनि हिमाल चढ्ने पेसा रोज्छ र भन्ने जमात पनि थियो,’ उनी भन्छिन्, ‘छोरी मान्छे भएर यो समुदाय र समाजले विश्वास नगरेको मलाई हिमालले कहिल्यै अविश्वास गरेन्। महिला भएर नपत्याएको मलाई हिमालले पत्याएको छ।’

भाग्यवश पहिलो पटक सहयोगी गाईड भएर सगरमाथा चढ्दा नै उनी विश्व चर्चित हिमाल स्किी आरोही स्व.हिलारी नेल्सनको टिममा थिइँन्। आफ्नो करिअरको शुरूवातमै विश्व चर्चित स्किी आरोही हिलारी नेल्सनको टिममा पर्नु पाएकोमा आफूलाई एकदमै भाग्यमानी ठान्छिन्। त्यसयता हिलारी नेल्सन उनको प्रेरणाको स्रोत भइन्। हिलारीलाई सम्झँदै उनी भन्छिन्, ‘मैले हिलारीलाई भेट्दा उनको २ र ४ वर्षको छोरा थियो। छोराहरूलाई घरमै छाडेर हिमाल आरोहणका लागि आएकी हिलारी हिमाल चढ्दा यस्तो बलियो र साहसी लाग्यो कि त्यसपछि मलाई हिमाल चढ्न थप प्रेरणा बढ्यो। मैलै हिलारीमा आमा भएर हिमाल चढ्दा पनि कुनै पनि पलमा कमजोर देखिनँ।’

२०÷२१ वर्षको उमेरमा आफ्नो करिअर थाल्दा उनले यो पेसामा महिला भएकै कारण विभेद भोगेकी छिन्। यो छोरी मान्छे हो, छोरी मान्छे भएर पनि के यस्तो काम गरेकी होली। भोलि बिहे गर्नुपर्छ, छोराछोरी पाउनुपर्छ, यो काम यसका लागि हैन भन्ने कुराहरू धेरै सुनेको उनले जब हिलारीको टिममा पहिलोपटक सगरमाथा चढ्ने मौका पाइन् त्यसपछि उनमा यस क्षेत्रमै स्थापित हुन थप मद्दत गरेको उनले बताइन्। उनलाई जति पनि मानिसहरूले बच्चा पाएपछि के गर्छौ भन्ने सवालमा आफूले जहिल्यै पनि हिलारीको उदाहरण दिने गरेको उनी बताउँछिन्।

याङजुम नेपालको एक मात्र प्रमाणित महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन्। हाल जम्मा ८१ जना माउन्टेन गाइडहरू रहेकोमा याङजुमबाहेक बाँकी सबै पुरूष गाइडहरू रहेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शन संघले माउन्टेन गाइडलाई प्रमाणिकरण गर्दै आइरहेको छ।  

करिअरको सुरुमा महिला भएकै कारण उनलाई आफ्नै समुदायले पनि सहयोग नगरेको तितो अनुभव छ। कामका लागि संर्घष गर्नु परेको भए तापनि निरन्तरको प्रयासले हाल देश तथा विदेशमा काम गरेको कारण काम पाउन त्यस्तो कठिन भएको उनी बताउँछिन्।  

महिला भएर यो पेसा दीर्घकालीन र सुरक्षित छैन भन्नेहरू धेरै भेटेको तर हिमाल चढ म सहयोग गर्छु भन्ने कमै मात्र पाएको उनले बताइन्। छोरी मान्छे भएर यो पेसामा लामो समयसम्म टिक्दैनन् भन्ने सवालमा उनले सकिन्जेल शारीरिक काम गर्ने त्यसपछि यससम्बन्धि ज्ञान तथा तालिमहरू हस्तान्तरण गर्ने हो भन्ने उनलाई लाग्छ। हाल अन्तराष्ट्रिय टे«किङ गाईड भएपछि भने कामका लागि भ्याइनभ्याइ भएको छ।  

उनलाई हिमाल चढ्न होस् या गाइड गर्न शारीरिक पक्षझै मानसिक रूपमा उत्तिकै बलियो हुनुपर्ने लाग्छ। हिमाल चढ्न साहसी र बलियो हुनैपर्छ तर मानसिक रूपमा तयार नभएको अवस्थामा हिमाल चढ्न नसकिने उनको तर्क छ। त्यसैले उनलाई लाग्छ हिमाल बलले मात्र चढ्न सकिदैन् दिमाग र मनले चढ्न सकिएन भने। नेपालमा महिला ट्रेकिङ गाइड र टुरिस्ट गाइड उल्लेख्य भए पनि तुलनात्मक रूपमा माउन्टेन गाइडको संख्या भने ज्यादै कम छ। झन त्यसमा पनि याङजुम एक मात्र महिला माउन्टेन गाइड रहेकी छिन्। कुनै पनि पेसाको निश्चित समय हुने बताउँदै उनले छोरा/छोरी मान्छेभन्दा पनि आफ्नो इच्छा र चाहनाको कुरा भएको उनको बुझाइ छ। उनी भन्छिन् ‘यो केटा वा केटी भन्ने लैंगिक विषय हैन्, आफ्नो इच्छाशक्ति र चाहनाको कुरा हो।’

उनी बिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने पहिलो नेपाली महिला हुन। यस्तै पाकिस्तानको केटु हिमाल र ब्रोडा पिक हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन्। आठ हजार माथिको आठ वटा हिमाल चढिसकेको उनले मकालु र मनास्लु हिमाल चढ्ने पहिलो नेपाली महिला समेत भएको दाबी गरिन्। यसका साथै उनले अमेरिका, युरोप तथा उत्तर अमेरिकालगायतका विभिन्न हिमालहरूको सफल आरोहण गरिसकेकी छिन्।

पहिलो पटक सगरमाथा चढिसकेपछि अब म यही पेसा रोज्छु भन्ने हुटहुटी उनीमा जाग्यो। सोही दौरानमा अमेरिका पुगेकी उनलाई त्यहाँ हिमालमा काम गर्ने क्रममा धेरै महिला माउन्टेन गाइड देखेर यस क्षेत्रप्रति थप लगाव र विश्वास जाग्यो। त्यसैले यत्तिकै भन्दा पनि दीर्घकालीन रूपमै हिमालसँग साइनो गाँस्न उनी त्यसतर्फ तयारी गर्न थाले।  

सन् २०१७ मा अन्तराष्ट्रिय महिला माउन्टेन गाईड सर्टिफाइड भएकी याङजुमले एकैपटकमा यो सफलता हासिल गरेकी हैनन्। उनलाई माउन्टेन गाइड हुन करिब ५ वर्ष नै लाग्यो। माउन्टेन गाइडको परीक्षामा पटक–पटक परीक्षामा फेल भएकी उनी निरन्तरको प्रयासले मात्र सर्टिफाइड भएकी हुन्।

सर्टिफाइड भइसकेपछि उनले नेपालको भन्दा अन्तराष्ट्रिय आरोहीहरूलाई गाइड गर्दै आएकी छिन्। नेसनल जोग्राफीको टिमलाई उनले सन् २०१९ र २०२२ मा सगरमाथामा गाइड गरिसकेकी छिन् भने धेरै विदेशी टिमलाई मनास्लु, अमादब्लमलगायतका हिमालमा उनले गाइड गरिसकेका छिन्।  

अन्तराष्ट्रिय माउन्टेन गाइडललाई नेपाल नेसनल माउन्टेन गाइडले प्रमाणित गर्छ। सुरुवाती समयमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन विदेशबाट नै तालिम प्रदायक आउने र तालिमहरू दिने गरेकामा हाल भने नेपालीहरू दक्ष भइसकेका कारण इच्छुक जो कसैले तालिम लिएर सफल भएको खण्डमा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स नेपाल नेसनल माउन्टेन गाइडले प्रमाणित गर्ने प्रचलन छ। सन् २०१२ मा पहिलो पटक विश्वको सर्वोच्च हिमाल सगरमाथा चढेकी याङजुमले ३ पटक सगरमाथा चढिसकेकी छिन्। यस्तै उनले सन् २०१० मा आमादब्लम, २०१४ मा पाकिस्तानको केटु, २०१९ मा मकालु, २०२१ मा धौलागिरि र अन्नपूर्ण हिमाल चढेकी हुन्। यस्तै पछिल्लो समय उनले सन् २०२२ पाकिस्तानको ब्रोडा पिक हिमाल आरोहण गरे।  

उनले सन् २०१८ मा कुमार खड्का साहसिक अवार्ड र २०२१ मा तेन्जिङ हिलारी अवार्ड पाइसकेकी छिन्। अन्तर्राष्ट्रिय महिला माउन्टेन गाइड भइसकेपछि उनलाई धेरै अवसरका ढोकाहरू खुलेका छन् भने कमाइ पनि राम्रो छ। केटी मान्छे भएर हिमाल चढेर गरिखान्न भन्नेहरूलाई उनको सफतला र उपलब्धीले गतिलो जवाफ फर्काएकी छिन्। हाल नेपालमा भन्दा पनि विदेशमै बढी व्यस्त हुने उनी अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली, रसियाको एलब्रस हिमाल, अजेन्टिना युरोपतिर थुपै हिमालहरूमा उनले काम गरिसकेकी छन्। उचाइले विभेद कहिल्यै नगर्ने भन्दै उनी भन्छिन्, ‘कुनै पनि उचाइले विभेद गदैनन्, चाहे हिमालको, ज्ञानको वा चेतनाको उचाइ।’ हाल अमेरिकी कम्पनी नर्थ फेस, स्विस कम्पनी रोलेक्स र जर्मन कम्पनी लेखीमा आबद्ध उनी एक सक्षम र दक्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन्। छोरीहरूलाई तलब पाउने काममा संलग्न गराउनु मात्र भन्दा पनि स्वतन्त्र बनाउनतिर लाग्नु सबैभन्दा राम्रो भएको बताउँदै उनले दक्ष माउन्टेन गाइड आजको समयमा राम्रो स्वतन्त्र पेसा भएको उनले बताइन्।

प्रकाशित: २६ कार्तिक २०७९ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App