coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

दक्षिणकालीको प्रादुर्भाव र पशुबलिको परम्परा

एकपटक नेपाली गाइडले विदेशी पर्यटकहरूलाई दक्षिणकाली मन्दिरमा घुमाउन लगेछ। त्यो दिन शनिबार परेछ। दक्षिणकालीलाई बलि दिनेहरू धेरै नै रहेछन्। फोटाहरू लिइरह्यो। त्यसपछि गाइडसँग ती पर्यटकहरूले सोधे, ‘यो के गरेको ? देवीको मूर्तिमा यसरी पशुहरूलाई घाँटी रेटेर मारिरहेको विभत्स दृश्य देखेर हामीलाई त आश्चर्य लाग्यो।’ अनि त्यो गाइडले जवाफ दियो, ‘यो त हामीले धर्म गरेको हो। अनि ती विदेशीहरूले भने, ‘ओहो ! तिमीहरूको धर्म त यस्तो छ भने पाप कस्तो हुन्छ ?’ अनि त्यो गाइडले के भनौं के भनौं भएर, ‘यो त हाम्रो परम्परा हो’ भनी जवाफ दिएछ। यस्तो परम्परा भएका हाम्रो देशैभरि जति पनि देवीदेवताहरू छन्, ती देवताका मूर्तिमा बलि दिने परम्परा चल्दै आइरहेको छ। पहिलेदेखि चल्दै आइरहेको यो परम्परा अहिलेसम्म पनि उत्तिकै श्रद्धापूर्वक चल्दै आइरहेको छ।  

पशुबलिको प्रथा कहिलेदेखि चलेको हो भन्ने कुराको कुनै तथ्य नभए पनि सनातन वैदिक युगदेखि पशुबलि प्रथा चल्दै आइरहेको हो भन्ने कुरा चाहिँ शास्त्रका पुस्तकहरूमा उल्लेख गरिएको पाइन्छ। सनातन वैदिक परम्परामा वेदको विधानअनुरूप विभिन्न यज्ञमा पशुको मरण गरिएजस्तै वैदिक परम्परामा वेदको सिद्धान्तको पुष्टि गर्न बनेको श्रीमद्देवीभागवत, मार्कण्डेय पुराणजस्ता महापुराणको विधानअनुरूप देवीका निम्ति मेध्य पशुको बलि दिने गरिएको हो। नेपालका विभिन्न समुदायमा पनि यसै परम्पराअनुरूप विभिन्न अवसरमा पशुबलि दिने प्राचीन परम्परा रहेको छ। 

मार्कण्डेय महापुराणअन्तर्गतको देवी महात्म्यमा देवीले आफ्नो पूजामा उत्तम पशु, पुष्प, अर्ध, चन्दन, दीपजस्ता वस्तु चढाउने र ब्राह्मण भोजन, होम आदि गर्नुपर्ने कुरा बताउनुभएको छ।  

सर्व ममैतत्माहत्म्यं भम सन्निधिकारकम्।

पशु पुष्पाध्र्य धूपैश्च गन्ध दीपैस्तथोत्तमैः।।

विप्राणं भोजनैर्होमैः प्रोक्षण्टीयै रहन र्निशम्।

अन्यैश्चविधि धैर्भोगैः प्रदानैर्वत्सरेण या।।

प्रीतिर्मे क्रियते साडस्मित सकृदुच्चरिते श्रुते।

श्रुते हरति पापानि तथारोग्यं प्रयच्छति।। दुर्गा सप्तशती (अध्याय १२) २०–२२

वेदमा नै यज्ञमा चढाइएका पशुको उत्तम गति प्राप्त हुने कुरा बताइएको छ। अरू स्मृतिपुराणहरूमा पनि त्यस्ता पशुलाई उत्तम गति प्राप्त हुन्छ भन्ने कुरा वर्णन गरिएको छ। वेदमा यतिसम्म भनिएको छ कि ‘तवृमृ पंच पशवो विभक्ता गावो अरवाः पुरुषा अजावयः’ (अथर्ववेद ११।२९।२) भावार्थः हे पशुपति देवता तपार्इंका लागि गाई, घोडा, पुरुष, बोका र भेडा यी पाँच पशु नियत छन्। त्यसैले यहाँ उल्लेख गरिएका प्रमाणहरू हेर्दा प्रष्ट देखिन्छ कि वेदमा कतै पनि पशुबलि दिनुहुन्न भनिएको छैन। कसैकसैले वेदमा पशुबलि दिनु हुन्न भनेको छ पनि भन्छन्, त्यस्तालाई यो जोडदार जवाफ हो। त्यसैले बलि दिनैपर्छ, यो सृष्टिको अनिवार्य र कसैले रोकेर रोक्न नसकिने सार्वभौम नियम हो।  

वेद र विभिन्न धर्मशास्त्रमा उल्लेख गरिएअनुसार ‘यज्ञशिष्ट मांस भक्षणीयम्’ भावार्थः यज्ञ गरेर बचेको मासु खानका लागि उपयुक्त हुन्छ।  

‘नियुक्तसु तु यतिः श्राद्धे दैव वा मांसभुत्सृजेत्।  

यावन्ति पशुरोमाणि तावन् नरक मृच्छति।’ (वशिष्ठ धर्मसूत्र ११।३४)  

भावार्थः श्राद्धमा वा अन्य देवकार्यमा नियुक्त वा आमन्त्रित संयमशील ब्राह्मणले पनि मासु खानैपर्छ, नखाएमा ऊ त्यस पशुका जति रोम छन्, त्यति नै वर्षसम्म नरकमा पर्छ।  

‘नाद्रश्नीयाद् ब्राह्मणे मांस नियुक्तः कथञ्मचन।  

कटौ श्राद्धे नियुक्तो वा अनश्नन् पतति द्विजः।। (व्यास स्मृति ३।५३–५४)  

भावार्थः यज्ञमा र श्राद्धमा नियुक्त ब्राम्हणले कर्मको बेलामा मांस मोक्षण गर्नैपर्छ। वेद मार्गमा लागिरहेका स्व. स्वशाखाध्यायी र सनातनीहरूले प्रत्यक्ष वा अनुकल्पीय स्वरूपको पशुबलि दिनैपर्छ। यो नै शास्त्रको सच्चा अनुशरण हो र प्रवृत्ति मार्गमा लागेका सनातनीहरूको परम कर्तव्य पनि हो।  

यसप्रकारको बलिप्रथाको परम्परा भएको हाम्रो देशमा प्रादुर्भाव भएकी दक्षिणकाली देवीलाई पनि पशुबलि दिएर नै स्थापना गरिएको घटनाले पनि यो बलि प्रथालाई टेवा दिइरहेको छ। प्रत्येक वर्ष विजया दशमीको अवसरमा त हजारौं हाँस, बोका, कुखुराको बलि दक्षिणकाली देवीलाई चढाइन्छ।  

अब प्रसिद्ध दक्षिणकाली माताको उत्पतिका विषयमा चर्चा गरौं। फर्पिङको पश्चिमपट्टि रहेको डाँडा दक्षिणकाली उत्पति भएको डाँडाका नामले प्रसिद्ध रहिआएको छ। यही डाँडाबीचको थुम्कामा पहिले दक्षिणकाली पीठ थियो भनिन्छ। यही थुम्कामा आफ्ना गणसहित दक्षिणकाली माता विचरण गर्थिन् भनिन्छ। यी देवी दक्षिणतर्फ भएकैले दक्षिणकाली भनिएको हो।  

यक्षिणीका रूपमा रहेकी यी देवीले जंगलमा घाँस दाउरा लिन जाँदा वा भेंडा बाख्रा चराउन जाँदा फर्पिङवासीलाई एक्लै दोक्लै फेला पारेमा भक्षण गर्थिन् भन्ने भनाइ पाइन्छ। डाँडामा रहेको दक्षिणकालीको पीठ जहाँ कुनै मूर्ति थिएन, एउटा ठूलो ढुङ्गामा पूजा गरिन्थ्यो। त्यहाँ मानिसको बलि हुन थालेपछि अर्थात् यक्षिणीले जथाभावी मान्छेलाई खान थालेपछि तत्कालीन राजा प्रताप मल्लको आदेशले तान्त्रिक लम्बकर्ण भट्टले कालीको मूर्ति बनाएर प्राण प्रतिष्ठा गर्दा काली जागेर जाज्वल्यमान भई कालीको शक्ति थाम्नै सकिएन रे। त्यसपछि तान्त्रिक लम्बकर्ण भट्टले चामुण्डाको मूर्ति बनाएर डाँडाको फेदीमा स्थापना गरी डाँडामाथिको मूल पीठको ढुङ्गा घोप्ट्याइदिएका थिए रे। यसरी कालीको शक्तिलाई मत्थर पारिएको थियो रे। त्यसपछि माथि डाँडाको मूल पीठमा पूजा नगरेर डाँडाको फेदीमा स्थापना गरिएको चामुण्डाको मूर्तिमा दक्षिणकालीको पूजा गर्न थालिएको हो भनिन्छ। स्मरण रहोस्, डाँडामाथिको मूल पीठमा काली मान्ने तान्त्रिक तथा कालीभक्तहरूलाई त्यहाँ जप ध्यान गर्नका लागि आसन बनाएर राखिएको छ, त्यहाँ जो कोहीले पनि जप ध्यान गर्न सक्छन्।  

डाँडाको फेदीमा तल खोंचमा पर्ने दुई नदी उद्धारवती गंगा र पूर्णवती गंगाको दोभान एवम् मसान घाटमा देवी चामुण्डाको मन्दिर रहेको छ भने दक्षिण कालीका नामले प्रख्यात देवीलाई तान्त्रिक लम्बकर्णले राँगा, हाँस, बोका, भेडा र कुखुराको पञ्चबलि दिएका थिए भनिन्छ। त्यसपछि त्यहाँका मानिस सुरक्षित भए भनिन्छ। देवमाला वंशावलीमा श्री दक्षिणकाली माईको मूर्ति रहेको स्थान दक्षिणपट्टि पूर्णवती गंगा र उत्तरपट्टि उद्धारवती गंगा सङ्गममा सहस्रबलि, नरबलि महापूजा कोट्याहुति यज्ञ गरेर प्रतिष्ठा कर्मको विधि पु¥याई वैशाख शुक्ल तृतीया (अक्षय तृतीया) का दिन स्थापना गरेको कुरा उल्लेख गरेको पाइन्छ।  

यसप्रकार तन्त्रको स्रोत नै भएको हाम्रो देश नेपाल तान्त्रिकहरूको देश भने पनि हुन्छ किनभने शिवतन्त्र र कालीतन्त्रको साधना गरेर नेपालका धेरै तान्त्रिकहरूले विभिन्न आश्चर्यजनक क्रियाकलाप देखाएका उदाहरण थुप्रै भेटिन्छन्। नेपालका कतिपय वरिष्ठ तान्त्रिकहरू जस्तै शान्तिकर आचाजु, बन्धुदत्त आचाजु, जामनः गुभाजु, लम्बकर्ण भट्टजस्ता तान्त्रिकहरूले तन्त्र विधिको प्रयोगबाट विभिन्न देवीदेवताको स्थापना गरेर लोककल्याण गरेका थिए। 

प्रकाशित: १५ आश्विन २०७९ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App