२४ मंसिर २०७९ शनिबार
कला

हिउँ तरंग जीवनको अभिव्यञ्जना

संस्मरण

लक्ष्मी उप्रेती

विसं २०७६ साल मंसिरमा भएको दुर्घटनाले अस्वस्थ भएको शरीर उपचार हुनै लाग्दा कोरोनाको त्रासदीपूर्ण अवस्था सिर्जना भयो। अनि त  कैदी जस्तो बनेर घरमा बसेको  एक वर्ष भएको  थियो। कोरोनाबाट मुक्ति पाउने संकेत भएझैं भएकाले केही दिन बाहिर कतै जान उत्सुक भयौं। यसैले  छोराले मनाली हिउँको तरंगमा रम्न जाने भन्यो। केही दिनको बाहिरी दुनियाँलाई साक्षात्कार गर्ने  यात्रा गर्न हामी फुरुङ्ङ भएका थियौं। कोरोनाको कहर अझै सकिएको थिएन। डराउँदैडराउँदै भए पनि हामी गयौं,रोकिएनौ।

२०२१ को जनवरी ७ तारिख बिहान एउटा छुट्टै उमंगको पखेटा फडफडाउँदै तर मनभरि नजानिंदो डर लुकाउँदै विमानस्थल पुग्यौं।

पहिलो गन्तव्य दिल्ली र दिल्लीबाट चण्डीगढ फ्लाइट यात्रा अनि ६/७ घण्टा गाडीको यात्रा गरेर मनाली हिउँ खेल्न पुग्नु थियो। बिहान ८ बजे  विस्ताराको जहाजमा दिल्ली उड्न विमानस्थल  पुगेर  काउन्टरमा चण्डीगढसम्मकै बोर्डिङ र लगेजको व्यवस्था गरेर जहाज चढ्यौं।

हिउँको संसार कस्तो होला, 

उडिरहेको जहाजमा मन अलिक फरक ढंगले चुलबुलिरयो। दिल्ली पुगेर चण्डीगढका लागि विमानस्थलको भित्री बाटाबाट काउन्टरमा गयौं र जाँचको प्रक्रिया सकेर जहाज चढ्यौं। चण्डीगढ सुने अनुसारकै व्यवस्थित र स्मार्ट शहर रहेछ।

केही घण्टा बिताउँदा चण्डीगढको एकसरो अनुभव गर्न भियायौं। त्यहाँ देखेका, अनुभव गरेका केही भावरूपी खजना बटुलेर लेखेको लेख यस कृतिमा समावेश भएको छ। मनाली जान हतारिंदै बिहान पुग्ने योजनामा ३ दिनका लागि एउटा ट्याक्सी रिजर्भ गरेर रातको दस बजेपछि मनाली गन्तव्यमा लाग्यौं।

मनालीको मार्ग पहिल्याउँदा बाटामा र छेउछाउका अवयवहरूलाई रातको कालो रङमा बिजुलीको चमकमा आभा खनिएको सौन्दर्य ‘अहा’ एकछिन निकै लामो सलल बगेको सोझो सडकमा घुइँकिएको ट्याक्सी अब बिस्तारै उकालो लाग्यो। रातको परिवेशमा बत्ती झिलमिलाएको दृश्यले आफ्नो देशमा पुर्‍याउँदो छ। नेपालथोकबाट देखिने धुलिखेलको झिलिमिली चलायमान दृश्य आँखामा सुटुक्क टाँसियो।

अहा कति सुन्दर यो धराका तानावानाहरू! सुन्दरता नाप्ने कुनै यन्त्र नभए पनि मनमा तरङ्गित हुने भाव त रहेछ नि!

त्यहाँ नजिकै सिमेन्ट कारखाना भएर ट्रकहरूको लस्कर आउने र जाने। चालकले ठाउँठाउँमा रोकेर चिया खाँदै कति ठाउँबारे उसको सोचाइले भियाए जति जानकारी दिंदै गाडी गुडाइरह्यो। उसो त ड्राइभर राति पनि मनाली र चण्डीगढको यात्रामा गाडी कुदाएर निपुण भइसकेको रैछ। कहींकहीं मुटु नै चिसो हुने उकालोमा उसको हँकाइ ‘बाफ रे बाफ’ हामी बेलाबेलामा क्या डराउँथ्यौं। डराउँदै निदाउँदै र वरिपरि कालो रंग हेर्दै ७ तारिख दश बजेपछि रातको अँध्यारोमा घुइँकिएको ट्याक्सी ८ तारिख बिहान ५ बजे रिमरिममा मनाली पुर्‍यायो।

मनालीमा त कस्तो जाडो! लुगलुग काम छुट्यो माइनस ७ रहेछ। अनलाइनबाट बुक गरेको होटलका मानिसले बद्मासी गरेर ड्राइभरको सहयोगले अर्को होटल खोजौं र अलिक सहज भयो। अनि ड्राइभरले मनालीको भित्री बाटामा भएको चन्द्रमुखी होटलमा गाडीमा ल्याएर हामीलाई छाड्यो र ऊ पनि आराम गर्न गयो।

अहो कोठामा पुगेर झ्यालका पर्दा सारेर हेर्दा त हिउँको दृश्यले पल्लवित बनायो। हिउँको साम्राज्यमा दृश्यको रोमाञ्चसँगै १ बजेसम्म आराम गर्‍यौं र भोकले हैरान भएका हामी खानेकुराको खोजीमा भौतारिंदै लगभग आधा घण्टा हिंडेर मालरोड पुग्यौं।

बाटोभरि माथि वरिपरि देखिने हिउँको पहाड, जंगल र जंगलमा टाँसिएका हिउँको लेपन भएको परिवेशमा मोहित हुँदै हिंडिरह्यौं। जंगल हो तर हिउँले छोपेको छ। जहींत्यहीं हिउँको सुन्दर दृश्य स्पर्शले भुतुक्कै पार्ने।

मनालीमा मुख्य सडक  सफा र व्यवस्थित तर भित्री सडकचाहिं उहीं कच्याककुचुक सानो साँघुरो र फोहोर। मालरोडको सेरे पञ्जाव रेस्टुरेन्टमा बडो स्वादले खाना खायौं। खानाको पैसा तिरेर यसो बाहिर निस्किंदा नेपालको बन्दिपुर बजारको झल्को आयो।

कति ठाउँको परिवेशले नेपालमा पुर्‍याउने र आफू उभिएको ठाउँ सुमसुम्याउने गर्ने रैछ। बन्दिपुर जस्तै गाडीहरू छिर्न नपाउने  लगभग ४ सय फिट र लम्बाइ १०० फिट चौडाइको मालरोडको त्यो क्षेत्रको भुईमा टायल ओछाएको,  पर्यटनहरूको सुविधाका लागि फराकिला आसन भएका बेञ्चहरू लाइनै राखेको थियो। घमाइलो, सफा र रमाइलो वातावरण। नयाँ जोडीहरूको रोमान्टिक दृश्य।

हामी एकछिन त्यहाँ बसेर वरिपरिको रमिता हेर्दै सुस्तायौं। नातिनी रमाउँदै उफ्रिएर चौपट्ट गरेकी छ। एकछिनमा ड्राइभर गाडी लिएर आयो र प्रवेश सीमा क्षेत्र बाहिर उभिएका हामी हतारहतार चढ्यौं र ढुंग्रीमा भएको हिडिम्बाको मन्दिर हेर्न गयौं।

हिडिम्बा देवी मन्दिर हिडिम्बा देवीमा समर्पित रहेछ जो महाभारत कालका भीमकी पत्नी थिइन्। समुद्रदेखि १५३३ मिटरको उचाइमा  विशाल देवदारको  काठले बनेको पैगोड़ा शैलीको कलात्मक हिडिम्बा देवी मन्दिर लगभग ६ हजार   साल पुरानो भन्ने जनश्रृति पाइयो।

मेमा यहाँ एउटा ठूलो उत्सवको आयोजना हुन्छ रे! महाराज बहादुर सिंहले यो मन्दिर १५५३ ईस्वीमा बनाएको भनाइ पनि थाहा पाइयो। भीम र हिडम्बा पुत्र महाभारतको प्रमुख पात्र शक्तिशाली योद्धा घटोत्कचको मन्दिर पनि आमा हिडिम्बाको मन्दिरछेउमा रहेछ। यी दुवै मन्दिर अवलोकन गरेर निस्कदा सेतो खरायो बोक्न दिने र चौरीमा सयर गराउने व्यवसायमा व्यस्त मान्छेहरू सलबलाइरहेका। यो देखेर नातिनीले खरायो बोकिगई। खरायो बोकेको उसको फोटो खिचियो। पैसा तिरेर गाडीमा होटल आयौ। त्यो दिन शरीरको थकान जित्ने त्यहाँको सौन्दर्यले आल्हादित बनाएकाले होला मन चंगा नै थियो।

कुल्लू जिल्लामा पर्ने मनाली भारतको हिमाचल प्रदेशको एक शहर र कुल्लु घाँटीको उत्तरमा हिमाचल प्रदेशको लोकप्रिय पहाडीस्थल। समुद्रबाट २०५० मिटरको उचाइमा पर्ने मनाली व्यास नदीको किनारै किनार घुमेको छ। गर्मीबाट केही दिन छुटकारा पाउन यो हिल स्टेशनमा हजारौं मानिस घुम्न आउने रैछन्। यहाँको तापमान शून्य डिग्रीसम्म पुग्छ रे!

यहाँको सुन्दर प्राकृतिक दृश्यबाहेक मनालीमा हाइकिङ, पैराग्लाइडिङ, राफ्टिङ, ट्रेकिङ, कायकिङ जस्ता खेलको आनन्द लिन्छन्। जंगली फूल र स्याउको बगैंचाबाट निस्किने सुगन्ध हावाले उडाएर ल्याउँछ र दिलदिमागमा स्फूर्ति केही हदसम्म अनुभव पनि गरियो। कुल्लू नाम रहेको कुल्लू जिल्लाको कुल्लू घाँटी भारत के हिमाचल प्रदेश राज्यमा रहेको एक हिमालय गाउँ हो। मनालीबाट बगेको व्यास नदी कुल्लू घाँटीमा आउँछ। यस घाँटीलाई देवदारका रूखले ढाकेको अग्लो पहाड र स्याउको  बगानले जानिन्छ। कुल्लू घाँटी पीर पंजाल पर्वतमाला र अग्लो ठूलो हिमालय र मध्य हिमालयको बीच टाँसिएको छ। कुल्लू शहर घाँटीको मूल नगर हो र यो कुल्लू जिल्लाको मुख्यालय पनि हो।

कुल्लु मनालीको बौद्ध मठ निकै लोकप्रिय र सुन्दर मानिने कुरा उल्लेख भएको पाइयो। कुल्लू घाँटीमा प्रशस्त बौद्ध शरणार्थी छन् रे! यहाँको गोधन थेकचोकलिंग मठ प्रसिद्ध मान्दा रहेछन् जुन १९६९ तिब्बती शरणार्थीले बनाएका रे!

मनालीमा प्रमुख भाषा हिन्दी र हिमाचली अनि अंग्रेजी बोल्ने गरेको पाइयो।

हामी बसेको मनाली होटलबाट ९ तारिख ९ बजेतिर कुल्लू मनालीका केही ठाउँ अनुभव गर्न बाटो लाग्यौं। रूखहरूलाई हिउँले छोपेर रूखकै आकारमा सेताम्मे रूप हिउँका रूख जस्तो। हामी चढेको ट्याक्सी हुइँकिरहेको छ। मोडबाट गाडी मोडिंदा कुनै सतहबाट ती हिउँका जंगल हेरेर मन नाचेको अझै पनि सम्झन्छु। थुप्रै पहाड छाडेर पुगियो आजको साहसिक खेल हुने ठाउँ कुल्लूका केही भाग। अचम्म दृश्यको रसपानबाट उद्धेलित भएर हो कि के हो त्यहाँ त भोक पनि पो उति लागेन।

दिल्लीबाट ५२२ किमी टाढा रहेको यो क्षेत्रमा नियमित बस चल्ने रैछ। कुल्लू शहर प्राचीन ग्रन्थमा भए अनुसार ‘कुलूत देश’ को नाम उल्लेख छ भन्ने सुनियो। सन् २०१४ मा युनेस्कोद्वारा हिमालयन नेशनल पार्क र कुल्लूको तीर्थाटन घाँटीलाई एउटा महत्त्वपूर्ण ठाउँको रूपमा विश्वको सम्पदा सूचीमा घोषित गरेको भनाइ छ।

वैदिक साहित्यमा ‘कुलूत देश’ लाई ‘गन्धर्वको भूमि’ को रूपमा जानिने थाह पाइयो। जसको उल्लेख रामायण, महाभारत र विष्णु पुराणमा पनि पाइन्छ।

त्यस्तै मनालीबाट तीन किमी टाढा कुल्लूमा ऋषि वशिष्ठको मन्दिर  छ रे। यो वंश पहिले विहंग मणिपालका जो हरिद्वार मायापुरीबाट आए  रे। यसैले ऋषि वशिष्ठको नाममा बनाएको यो ४ हजार वर्षभन्दा पुरानो मन्दिर भएकाले यसलाई हिन्दूको महत्त्वपूर्ण स्थल भन्ने जनश्रृति रहेछ। किनकि यसमा रामायणकालदेखि नै प्रचलनमा आएको ऐतिहासिक सन्दर्भ छ। प्राचीन पत्थरबाट बनाएको यो अद्भूत मन्दिरको जोडाइ एक अर्का विपरीत फर्किएको जुन एकातिर राम मन्दिर र अर्कातिर सन्त वशिष्ठलाई प्रतिपादित छ भन्ने जानकारी भयो।

व्यास नदी नै कुल्लू मनाली वरिपरि घुम्ने एउटै नदी जसमा हामीले यही राफ्टिङ गर्‍यौं। यो अनुभवका अनुभूतिले आल्हादित बनाउँछ। कहीं डराउँदै कहीं रमाउँदै गरेको मेरो र्‍याफ्टिङ अनुभव धन्न ठिक मौसम भएर जुरेछ। नत्र त नदीमा पानीको बहाव बढी हुने समयमा सम्भव हुँदैन भनेर हामीलाई र्‍याफ्टिङ गराउने गाइडले जानकारी दिए। नदीको दायाँबायाँ देखिने नदी किनारको सडक नदी जसरी नै बटारिएको छ।

रिवर राफ्टिङको आनन्द लिइरहेको बेला पारिपट्टि एउटा लास जल्दै थियो। त्यहाँ आफन्त प्रियजन भावुक भएर छरपष्ट थिए। त्यो देखेर मलाई पनि यदाकदा संवेदित भरिएर चस्स घोच्यो। मृत्यु कसलाई पो मनपर्छ र!

मनसुन सुरु भएपछि पर्यटकहरू नआउने यो कुल्लू घाँटीमा अन्जनी महादेव शिवलिंगको लागि प्रसिद्ध छ रे। जुन अक्टुबरदेखि मार्चसम्म दर्शन गर्न मिल्ने कुरा बोध गराउँदै र्‍याफ्टिङको झस्कोसँगै आनन्द दिइरहे।

नातिनी दङ्ग भएर र्‍याफ्टिङमा रमाइरहेकी थिई। पवित्र व्यास नदी एक प्राकृतिक जलस्रोत हो। व्यास नदीमा झरनाजस्तै मनमोहक गतिमा पानी बगिरहेछ। यहाँको सफा पानी र चिसो अनुभव भइरहेछ।

यो नदीलाई चारैतिर ठूलाठूला ढुंगा भएकाले वनस्पति निकै कमी देखिए। यसका साथै कहीं बोटबिरुवाको हरियाली कहीं पहेंलिएर पात झरेर नांगा हाँगाविगामा छरिएका रूख, फूलसँग छोटो घाँसको मैदान, नीलो झरनाको सौन्दर्य, हावाको लप्कामा बतासिएको मीठासमा मनालीलाई प्रकृतिले असाधारण सौन्दर्यको ताज पहिरिएको छ।

व्यास नदीको शालीनतामा सफा व्यवस्थित सडक, सानासाना भोजनालय, स्थानीय बजÞार भएको मनाली रोमाञ्चित एक सुन्दर शान्त सरोवर अनुभूत गरिरहे। नदीको निकै तलको भागमा पार्वती नदी बग्दै आएर मिसिएकी छिन् रे। तर, यसलाई पनि व्यासकै नामबाट मात्र जानिने जुलाईबाट शुरू भएर सितम्बरसम्म चल्ने मनसुन मणिकरण पार्वती घाँटीमा मनालीछेउको स्थान मानिने रहेछ।

समुद्रदेखि १७०० मिटरको उचाइमा रहेको मणिकरणमा भएको  तातोपानीको झरनाबारे भगवान् शिवकी पत्नी पार्वतीको कर्णफूल यहाँ हराएको र त्यसपछि यो झरनाको पानी तातो भएको धारणा रहेछ।

त्यहाँको एउटा अर्को रोचक ऐतिहासिक प्रसंग सुनियो। जब सारा संसार प्रलय भएर डुब्यो तब सबै मान्छे सकिए। त्यसबेला एक मात्र मनु बाँचेकाले मनालीमा आएर मानवको पुनरचना भएको जनश्रुति छ। यसैले मनालीलाई हिन्दूको पवित्र तीर्थस्थल पनि मानिन्छ। मनु+आलय मनाली भनेको भन्ने चलन पनि रैछ।

मनालीको खोजी युरोपिन पर्यटकले गरेको भन्ने भनाइ छ। मनाली तीन समीपवर्ती पहाडको एक संग्रह मानिन्छ। ती   प्रत्येक पहाडमा एक गाँउ र एक पुरानो मन्दिर भएको बुझियो। पुरानो मनालीमा मनु मन्दिर अनि वशिष्ठको छेउमा वशिष्ठ मन्दिर र ढुंगरीमा हडिम्बा मन्दिर छ।

वर्षौसम्म अर्जुनले भगवान् इन्द्रलाई तपस्या र ध्यान गरेर पशुपति अस्र धनुष पाएकाले अर्जुन गुफा भनिने रैछ। यहीं शिखरमा महाभारतकालमा अर्जुनले भगवान् शिवजीको वरदान पाएर दिव्य अस्त्र प्राप्त गर्न वर्षों प्रार्थना गरेका थिए रे। कुल्लू घाँटीलाई पाण्डवहरूको निर्वासनको अन्तिम स्थान मानिने किंवदन्ती छ।

यहाँ हिडिम्बा मन्दिर, वशिष्ठ मन्दिर, मनु मन्दिर,  गुलाबा, ग्रेट हिमालयन नेशनलपार्क, कोठी गांव, वन विहार नेशनल पार्क, रघुनाथ मन्दिर, सुल्तानपुर महल, नेहरु कुण्ड सहित विभिन्न रमणीय पर्यटकस्थल  भएको बुझियो। तर समयको पावन्दी र हिउँमा हिंड्न खतरा हुँदा सबैतिर जान मन लागे पनि हामीसँग मन खुम्च्याएर चुपचाप बस्नुको विकल्प थिएन।

हिमाचल प्रदेशमा पर्ने कुल्लू जिल्लामा अवस्थित मनाली एक प्रसिद्ध पर्यटनस्थल भन्ने सिनिमामा पनि त्यहाँको दृश्य हेरेर रोमाञ्चित भएका अनेक सम्झना जीवन्त छन्। पीर पंजाल र धौलाधार पर्वतमाला बरफले छोपेको ढलानको बीचमा भएको  मनाली भारतको एक लोकप्रिय हिल स्टेशन मान्छन्। सोलंग घाँटी मनालीबाट राम्ररी देखिने हिउँको पहाड जहाँ सोलंगसम्मको हिउँ अनुभव र ड्राइवको आनन्द लिएको अनुभवका अनुभूतिहरू आहा।

१० तारिख बिहान ८ बजेअघि नै  हिमाचल प्रदेशको सुन्दर मनाली नगरबाट नास्ता गरेर सोलाङमा हिउँ खेल्न बाटो लाग्यौं। सोलाङको फेदमा हिउँमा खेल्न चाहिने लुगा, जुत्ता,  पन्जा, टोपी भाडामा पाइने रहेछ। त्यस्ता सेन्टरहरू त कति हो कति लाइनै जसो। मानिसले हातहातमा लिएर बेच्ने पनि गर्ने। हामी सुरुको पसलमा पस्यौं। हामी पसेको स्टोर रामेछापका एक नेपाली परिवारले नै चलाएको रैछ। आवश्यक सामान लिएर कुनै आफै र कुनै उनीहरूले लगाइदिएपछि सेनिमामा हिउँ खेल्ने देखिए जस्तो हामी हिउँ खेल्न तयारी भयौं र अगाडि बढ्यौं।

मनालीबाट लगभग १३ किलोमिटर टाढा रहेको सोलाङ त्यो  हिउँको सतह समुद्रबाट २४८० मिटरको उचाइ रहेछ। सुन्दर सोलंग सेताम्मे रूपवती भएर सुरम्य बनेको छ। सेतो रंगका हिउँ फूलहरू भुई फूलको सरगम वरैबाट अनुपम  बनेर असरल्ल छ। यो प्रकृतिको छटा पृष्ठभूमिमा चाँदी जस्तो चम्कने सुन्दर पहाड।

आकाशमा उड्ने रोमान्चित खेलदेखि लिएर हिमाली क्रीडासम्मका खेलको आयोजना हुने त्यो ठाउँको सौन्दर्य आँखा टाँसिएको छ। गाडी जहाँसम्म पुग्थ्यो त्यहाँसम्म लगेर ड्राइभरले  ठाउँ खोजेर ट्याक्सी रोक्यो अनि  हाम्रा लागि बुकिङ गराएको गाइड त्यहीं आयो र अगाडि बढायो।

बाफ रे हिउँको बाटो त क्या चिप्लो हुने। हामी सबै एक पटक, दुई पटक र तिन पटकसम्म चिप्लिंदै बिस्तारै हिउँको आँगनीमा लडेर उड्थ्यो। घाम लाग्दै गएपछि अलिअलि खस्रे हुँदै जाने हिउँको सृष्टि क्या अनौठो र सुन्दर। राता गाला भएका यहाँका मानिसको पहिरन आफ्नो संस्कृति अनुसार लगाएको देखेर मनकी चरी फुरुक्क पार्दै  मनमा सजाए। परिपट्टिको पहाडी गाउँमा तलैदेखि माथिसम्म छरपस्ट तक्का तक्का परेका घरहरूको सौन्दर्य।

छोराबुहारीले त कुल्लू घाँटीमा र यहाँ अनेक जोखिमयुक्त खेल पनि खेले। कुनैकुनै नातिनीले पनि खेली। उमेर र स्वास्थ्यका कारणले मैले ती सबै खेल खेल्न वञ्चित भए। तर खेल्न सक्ने ती  हिउँ खेलहरूले तृप्त गराएको छ। हिउँमा स्केटिङको अनुभव क्षण भर लिंदाको मजा, हिउँमा मोटरसाइकलमा राखेर व्यावसायीहरूले कुदाउँदाको झस्का, हिउँमा बस्ने, लडीबुडी गर्ने र त्यहाँको पहिरनको फोटोमा आफूलाई कैद गराउनुको समय अब आउला र? एउटा चै गाडीको टायरमा हिउँको ढिस्काबाट निमेषभरमा बग्दै फराकिलो फाँटमा सट्टा बग्ने  खेल म र नातिनी खेल्न तयार भएर म चढेर बस्न लाग्दा खै कसरी नातिनीको नाकमा  चोट लागेर रगत नै आयो। ऊ निकै रोई र ओर्लियौं भन्दा मानिसको लाइनको भीडले ओर्लन सकिन्।

त्यसबेलासम्ममा तल पुगेका छोराबुहारी आएर उसलाई सम्हाले। एक त उसले त्यो खेल खैल्न पाइन। अर्को  कतै बढी नै चोट त लागेको हैन भन्ठानेर  हाम्रो मन पनि खिन्न भयो। तर, एकछिनमा ऊ स्वाभाविक भएकाले  ढुक्क भयौं। दिनभर हिउँको अनुभवले स्वर्णिम आनन्दको पल सम्हालेर गोधूलिलाई हिउँमा जतनले टल्काएर विशेष त म र नातिनी चिप्लिदै, कहिले संजय, कहिले पूजा र कहिले गाइडको हात समाउँदै फकियौं र गाडीमा चढ्यौं।

जीवनमा भेट्ने अलिकति खुसी र आनन्दका तरंग सम्हाल्न सके मन सधैं रमाउँदो रहेछ। यहीं सौन्दर्य मनभरि सजाएर गोधूलिमा हामी फर्कियौं। त्यो परिवेशको लालीमा अझ सुन्दर र स्वच्छ देखिए पनि ड्राइभरले गाडी कुदाइरहयो कुनै ठाउँको वर्णन गर्दै। यस सेनिमाको  सुटिङ ‘उहाँ हुवाथा, उहाँ हुवाथा’ भन्दै उसको  जानकार मनलाई पनि बेलाबेला झल्काइरह्यो।

फर्कदा निकै जाम भएर पनि वरिपरिका दृश्यले अभिभूत बनाइरहेको थियो। केही घुम्ती, केही तेर्सो सडक र केही उकाली-ओराली सडक छिचोल्दै बिहान लुगा फेरेको पसल अगाडि गाडी रोकियो। ओर्लिएर लुगा फेरेर केही चारो हाल्ने सुरसार गर्‍यौं। छेउको पसलमा मम तयार भइरहेको रैछ। मजाले खायौं र गाडी चढेर आनन्दले होटलमा फर्कियौं।

११ तारिख उज्यालोमा मनाली आउँदाको सडक हेर्दै फर्कने योजना गरेर बाटो लाग्यौं। निकै पटक मनालीका यात्रुहरूलाई हिंडाएर सिपालु भएको चालकले कुल्लू घाँटीको एउटा पसलमा गाडी रोक्यो। त्यहाँ हामीले पनि केही किनमेल गर्‍यौं। काश्मिरेहरूले चलाएको उक्त पसलबाट अरू केही समानसँगै शुद्ध केसर पनि अलिकति किन्यौं।

त्यहाँ पाइने समान रोजेर केही आफ्ना लागि र केही उपहारका लागि हिजो र आज किनमेल गर्‍यौं अनि त्यसपछि कहीं ट्याक्सी रोक्दै कहीं तीव्र गतिमा कुदाउँदै बाटामा पर्ने महत्त्वपूर्ण कति ठाउँको वर्णन गर्दै कुदाइरह्यो चालकले।

यात्राभर बाहिरबाट आएका पर्यटकहरूले कसैकसैले मात्र माक्स लगाउने नत्र स्थानीयहरू त खुल्लै। कोरोना त यहाँ पनि भयो तर अब निर्मूल भइसक्यो भनेर नलाएको पनि भनाइ सुनियो।

एउटा रमाइलो र मायालु प्रसंग पनि लेख्न मन लाग्यो। एक ठाउँमा गाडी घच्याक्क भएर म हुत्तिएँ। त्यसबेलादेखि नातिनीले मेरो हात समाएको समायै गरी। यसो हात यताउता पुग्छ तानेर समाउँछे। एकछिनमा किन यसो गरेको भन्दा ‘हजुर लड्नुहुन्छ’ भनेर समाएको नि पो भनी।

‘अहो मायाको सीमा र उमेर नै नहुने। यो जगको नियमले आल्हादित पनि बनाउँछ। पीडा पनि भर्छ। कति माया हो उसलाई मेरो। हुरुक्क पार्छे कहिलेकहीं त।

झमक्क साँझ पर्दा आउँदाआउँदै हरियाणाको स्टेवेल होटलमा  बस्यौं अनि बिहान खाना खायौं। चण्डीगड एयरपोट आयौं र अस्ति आउँदा जसरी नै फर्कियौं। यस्तो रमाइलो यात्रा अब कहिले गर्नु होला। थाकेर पनि नथाके जस्तो यो यात्रा मनको तहमा चाङ लागेर बसेको छ। आँखाको पर्दामा सप्तरंगी इन्द्रेनी कलेवर बनेर टाँगिएको छ।

केही शब्दमा उतारे पनि शब्द अभावमा कतिकति कुरा छुटेका छन्। जीवनलाई अलिकति बहकाउने र फकाउने यो यात्राबारे लेखेर टुंगिएको छैन। जीवनयात्रा बनेर अनवरत यात्रारत छ मनालीको धङधङी मनालीको दृश्यहरू।

प्रकाशित: ३ आश्विन २०७९ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App