चारैतिर अग्लाअग्ला लेकहरू। बीचमा आँखाभरि नअटाउने महावु पाटन। पाटन नजिकैको धुम्कोमाथि शिवको पूजाआराधनाका लागि विशाल ढुंगामाथि रहेको थान। सुन्दर पाटन हेर्न चाहनेहरूका लागि र धार्मिक आस्था भएकाहरूको आर्कषण केन्द्र रहेको महावु एकपटक पुग्नै पर्ने ठाँउ हो।
अझ भनौं, हिउँ खेल्नेहरूका लागि अझ उत्तम ठाउँ। उकालो चढेर थकित शरीर महावु पाटन पुगेसँगै प्राकृतिक सुन्दरताले आनन्दित हुन्छ। पुग्ने जोकेहीको मुखबाट सबैभन्दा पहिला ‘आहा ! क्या राम्रो महावु!’ भन्ने बोली आउँछ।
महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँहरू सहज हेर्न सकिन्छ। मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरू बताउँछन्।
महावु सदरमुकामबाट हिँडेर डेढ दिनको पैदल यात्रापछि पुगिन्छ। तर, अहिले नजिकैसम्म गाडी पनि पुग्छ। यो पाटन साबिकको कर्णाली अञ्चल छिर्ने छोटो प्रवेशद्वार पनि हो। भैंसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनपाटा बास बसेर भोलिपल्ट बिहान २ देखि ३ घण्टाको पैदल यात्रापछि पाटन पुगिन्छ। गाडीमा बिहानै हिँडेर साँझ दैलेख बजार फर्कन सकिन्छ।
अहिले सडक सञ्जाल जोडिएको छ। मनोरम दृश्य, लेकाली परिवेश, विभिन्न थरीका प्रजाति, वेशभूषा आदि अवलोकन गर्दै पैदल यात्रा गर्नेहरू थकानको अनुभूति नै गर्दैनन्। पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरू श्रावण, भद्रौमा बढी हुन्छन्। दसैंतिहारसम्म यहाँ विभिन्न जातका फूलहरू पाटनभरि देख्न सकिन्छ। कार्तिकपछि यहाँ हिउँ पर्छ। टम्म हिउँ पर्ने बेला भारतको उत्तर प्रदेशसहित नेपालका बाँके, बदिया, सुर्खेत लगायतका स्थानबाट हिउँ खेल्ने पर्यटकहरूको भिड लाग्ने गर्दछ। श्रावण भाद्रमा त्यहाँ पुग्नेहरू शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर ३० मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पूजा समेत गर्ने गर्छन्।
महावु पाटन उक्लिएपछि चारैतिरबाट बहने चिसो हावाको वेगले शरीर थरर काम्न थाल्छ। माथि लेकका ठुलाठुला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत निहाल्छन्। पाटनमा फुलेका रंगीबिरगी फूलहरूले यात्रा अवधिभरको थकान नै मेटिने गर्छ। पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ। कहिले सिमसिमे पानीसँगै हावाको वेगले फूलहरू हल्लिरहेका हुन्छन्। छिनछिनमा मौसम बदलिरहँदा महावु पुग्ने प्रकृतिप्रेमी मस्त हुने गर्छन्। लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फुलेका फूलहरूले पर्यटकहरूलाई अझै आनन्दित तुल्याउँछन्।
हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटक हरेक मौसममा महावु पुग्ने गर्छन्। तर, रक्षाबन्धनको दिन भने महावुमा विशेष रूपमा पूजा गरिन्छ। ७ महिना बढी हिउँ पर्ने महावु जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ। महावुबाट दैलेखका सम्पूर्ण भूभागहरू एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि महत्त्वपूर्ण हेरिने गरिएको छ। दशौं हजार भक्तजनहरू साउनको जनैपूर्णिमामा पुग्ने गर्छन्। सवारी साधनको प्रयोग गरे दैलेख सदरमुकामबाट ६ घण्टामा महावु लेक पुग्न सकिन्छ। महावुको अर्को विशेषता साविकको कर्णाली अञ्चल प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग समेत हो।
महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने इन्जिनियरहरूको भनाइ छ। तर, सरकारले यो नाका खोल्नका लागि बजेट व्यवस्थापन गरेको छैन। भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरू यहाँ रोक्न विशेष योजना ल्याउनुपर्ने दैलेखका पर्यटन व्यवसायी रूपक थापाको भनाइ छ। ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरू बढ्ने छन्,’ पर्यटनकर्मी थापाले भने, ‘प्रचारप्रसार अभावमा मनोरम दृश्य भएका पाटनहरू ओझेलमा परेका छन्।’ सरकारले महावु लेक हुँदै सडक स्तर उन्नति गरे महावु पुग्न मात्र नभई जुम्ला, मुगु निकै छोटो र सजिलो यात्रा हुने महावु गाउँपालिकाका उपाध्यक्ष मञ्जु पाण्डेले बताइन्। ‘महावुको आफ्नो किम्वदन्ती र इतिहास छ।’ महावु गाउँपालिकाका उपाध्यक्ष पाण्डेले भनिन्, ‘प्रचारप्रसार भए धार्मिक र प्राकृतिक पर्यटकहरूको संगमस्थल हो।’
प्रकाशित: २५ भाद्र २०७९ ०१:४९ शनिबार