७ वैशाख २०८१ शुक्रबार
कला

‘बसाई हिड्नेको तातीले’ गीतको रचनाकारलाई नगद १ लाखसहित सम्मान

बसाई हिड्नेको तातीले गीतको रचनाकार लव प्रधानलाई जेबी टुहुरेको स्मृतिमा नगद १ लाखसहित सम्मान गर्दे पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: रोहित/नागरिक

जनवादी तथा प्रगतिशिल गायक जेबी टुहुरेको प्रथम बार्षिकीको अवसरमा उनले गाएको चर्चित गीत बसाई हिड्नेको तातीले..गीतको रचनाकारलाई सम्मान गरिएको छ।  

जेबी टुहुरे फाउण्डेशनले शुक्रबार धरानको भानुचोकमा आयोजना गरेको जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मानमा उक्त गीतको रचनाकार लव प्रधानलाई सम्मान गरिएको हो। प्रधानलाई पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेशसभामुख प्रदिपकुमार भण्डारीलगायतले सम्मान गरेका थिए। उनलाई टोपी, दोसल्ला र नगद १ लाखसहित सम्मानपत्र प्रदान गरिएको थियो। फाउण्डेनले हरेक बर्ष एक जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ।

ईलाममा जन्मिएका सम्मानित स्रष्टा प्रधान पछि विराटनगर बसोबास गरेका थिए। उनी करिब १६ बर्षको उमेरदेखि नै माक्र्सवादतर्फ आकर्षित भएर सामाजिक न्याय र परिवर्तनको पक्षमा लागेका थिए। उनी पटक पटक जेलसमेत परे। जेबी टुहुरेसँग प्रधानको भेट भएपछि बसाई हिड्नेको तातीले बोलको कालजयी गीत तयार भएको थियो। दुवैको प्रगाढ मित्रता थियो।  

गत बर्ष निधन भएका गायक जेबी टुहुरे (जुठ बहादुर खड्गी)को जन्म धरान ३ मा भएको थियो। उनले नयाँ लहर समुह, संकल्प गीति कार्यक्रम समुह हुदै आफ्नो गीति यात्रा प्रारम्भ गरेका थिए। उनले २०३३ सालमा पहिलो पटक धरान १० स्थित भूपू सैनिक भवनमा आमा दिदी बैनी हो..बोलको चर्चित र कालजयी गीत सार्वजनिक गरेका थिए।  

पुर्वप्रधानमन्त्री प्रचण्डले स्वर्गीय गायक टुहुरेको स्मरण गर्दै उनी संगीतको धरोहर भएको बताए। आफुले आन्दोलनको क्रममा गुनगुनाउदै हिड्ने गीतको गीतकार (प्रधान)लाई सम्मान गर्न पाउदा हर्ष र गर्व महशुस भएको बताए। ‘आमा दिदी बहिनी हो, कति बस्छौं दासी भई..अजर अमर गीतका गायक जेबी टुहुरेलाई संविधानसभा सदस्य बनाएर ठिक काम गरेछुँ भन्ने लागेको छ,’प्रचण्डले भने,‘जनवादी, प्रगतिशिल साहित्य र संगीतको क्षेत्रमा उहाँको योगदानलाई मैले गरेको सम्मानको अर्थ र महत्व अझ ठुलो भएको अनुभूत गरेको छु।’

प्रकाशित: १० भाद्र २०७९ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App