१६ चैत्र २०८० शुक्रबार
कला

कृष्ण,ओशो र पन्त

हिन्दुहरूको विश्वासर मान्यताअनुसार भगवान विष्णुको दशौँ अवतारमध्येका एक हुन्– कृष्ण। मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, बलि, परशुराम, राम, कृष्ण, बुद्ध र कलीलाई दसावतार मानिन्छ। अवतारको क्रमअनुसार कृष्ण आठाैँ अवतारमा पर्छन्।

भाद्र कृष्ण अष्टमी तिथिमा उनको जन्म भएको थियो। त्यसैको स्मरणमा यो दिनमा जन्माष्टमी मनाइने प्रचलन छ। उनको जन्मराशि वृष र नक्षत्र रोहिणी परेकाले केही वैष्णव सम्प्रयादयका अनुयायीले जन्माष्टमी रोहिणी नक्षत्र परेको रहेनछ भने जुन दिन भाद्र कृष्णमा त्यो नक्षत्र पर्छ त्यसै दिन व्रत,उपासना, जन्मोत्सव मनाउने प्रचलन पनि छ भनिन्छ। त्यसको पुष्टि र जानकारी तत् सम्प्रदाय हुनेछ भन्ने लाग्छ।

कृष्ण युगपुरुष हुन्। उनी अद्वितीय छन्। उनको जीवन संघर्षमय पनि छ। कारागारमा जन्म लिनु, बाबु आमासँग विच्छेद हुनु, यशोदा र नन्दबाबाको घरमा बाल्यकाल बिताउनु, पुतना, बकासुर, केसी, वृषासुर र कंशको बध गर्नु, सभामा हुर्मत लिएकी यदुवंशकी कुलवधू द्रौपदीको संरक्षण गर्नु, महाभारतको युद्धमा आफ्ना सखा अर्जुनको सारथि भएर लड्नु आदि उनको विविध भूमिका छ। गीतामा अर्जुनलाई देखाएको उनको जुन स्वरूप छ त्यही उनको रूप हो अर्थात् उनी विराट छन्।

ओशो बुद्धत्व प्राप्त पुरुष हुन्। धर्तीमा यस्तो व्यक्तित्वको पदार्पण बिरलै हुने गर्छ। युट्युबले सरल र सहज बनाइदिएको छ, आफूले रुचाएको विषयवस्तु हेर्न, सुन्न, पढ्नका लागि। प्रायजसो युट्युबबाट ओशो, सद्गुरुलगायतका प्रवचन सुन्ने गर्छु। स्वामी आनन्द अरूणका अनुसार ओशोको रेकर्ड गरिएको १० हजार प्रवचन, ७ सय पुस्तक संग्रहित छन् (स्वामी आनन्द अरूण अंतरयात्रा)। मैले त्यसरी ओशोको सुनेको प्रवचनमध्ये धर्माकासमा १२ पुरुष भएको प्रवचन एक थियो।

त्यसमा ओशोसँग भारतका वयोवृद्ध महाकवि (ओशोको शब्दमा) सुमित्रा नन्दन पन्त र ओशोबीचको संवादको प्रसङ्ग थियो– ध्यानस्थ भएँ सुन्नमा किनकि सुमित्रा नन्दन पन्त, सूर्यकान्त त्रिपाठी ’निराला’ र जयशंकर प्रसादको एउटै रूप भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भारतका महापण्डित भनिने राहुल सांस्कृतयानले भनेको स्मरण ताजा थियो। यसले पनि प्रवचन अझ चाखयुक्त थियो मलाई।

महाकवि सुमित्रानन्दन पन्तले एक दिन धर्मकासमा त्यस्ता १२ नक्षत्र वा सिताराको  नाम भन्नूस् भन्दा ओशोले दिएको जवाफ थियो– कृष्ण, पतञ्जली, बुद्ध, महावीर, नागार्जुन, शंकर, गोरख, कविर, मिरा, नानक, रामकृष्ण र कृष्णमूर्ति। त्यसपछि ओशोकै भनाइअनुसार कविले आँखा बन्द गर्छन्। सोचमा पर्छन्। अनि प्रश्न गर्छन्– रामको नाम किन छैन ? त्यसपछि ओशोको भनाइमा उनीहरूलाई चुन्नुको कारण उनीहरूको मौलिक देन थियो। रामको मौलिक देन थिएन।

त्यसपछि कविले १२ जनाबाट सात जनालाई छान्नुपर्‍यो भने कसलाई छान्नुहुन्छ भन्ने मुस्किलको काम थियो। त्यो कसलाई समाउने ? कसलाई छाड्ने ? त्यसपछि ओशोले १२ जनामध्ये छानेका सातजनामा कृष्ण, पतञ्जली, बुद्ध, शंकर, गोरख, महावीर र कविर थिए। कुन आधारमा ५ जनालाई छाडियो भन्ने कविको प्रश्नमा ओशोको जवाफ थियो– बुद्धमा नागार्जुन समाहित थिए जहाँ बुद्ध हुन्छन्, त्यहाँ सयौँ नागार्जुन जन्मन्छन् तर नागार्जुनले बुद्धलाई जन्माउन सक्दैनन्। 

बुद्धका नवीनतम रूप कृष्णमूर्ति हुन्। कृष्णमूर्ति “अप्पो दीप भव” का सूत्र हुन्, व्याख्या हुन् जुन वचन बुद्धको अन्तिम थियो। अझ ओशोको शब्दमा भन्ने को भने सार सूत्र ओशोको तर्क थियो– रामकृष्ण कृष्णमा समाहित हुन्थे, मिरा कविरमा लिन भइन् अर्थात् कविरको स्त्रैण रूपमा प्रकट भइन्। नानक कविरको पुरुषरूपमा। दुवै कविरमा समाहित छन्।

त्यसपछि ७ जनाबाट ५ जनाको नाम छान्न सुमित्रानन्दनले आग्रह गर्छन्। त्यसपछि ओशोले छानेका ५ जनामा पर्छन्– कृष्ण, पतञ्जली, बुद्ध, महावीर र गोरख। यसरी ५ जना छान्नुको ओशोको तर्क थियो– कविर गोरखमा र शंकर कृष्णमा सरलतासँग लिन हुन्छन्। त्यसपछि पनि कवि थामिएनन्। अझ जिज्ञासु भए। त्यसपछि ५ जनाबाट ४ जनाको नाम छान्न आग्रह गर्छन्। त्यसपछि ओशोले छानेका ४ जनाको सूचीमा पर्छन्– कृष्ण, पतञ्जली, गोरख र बुद्ध।

ओशोले चुनेका ४ जना मध्येबाट ३ जनाको नाम छान्न कविले फेरि भन्छन्। ओशोले इन्कार गर्छन्। अब म छान्न सक्दिन। प्रकृतिको चार दिशा जस्तो यी चार हुन्। परमात्माका चार भुजा हुन्। यसमा कसैलाई छोड्नु हात काट्नु जस्तो हुन्थ्यो। अंगभंग हुन्छ। पन्तको जिज्ञासा हुन्छ– माहावीर छाड्ने तर गोरखलाई नछाड्ने ? यसमा ओशोको जवाफ हुन्छ– गोरख एक शृंखलाको कडी हो। गोरख बिना कविर, नानक र मिरा कोही पनि हुन सक्दैनन्। सबैका मौलिक आधार गोरख हुन्। सारा सन्त परम्परा गोरखमा आधारित छन्।

अनुयायी तथा शिष्यको मात्र होइन, ओशो कवि, लेखक, कलाकारका पनि सर्वाधिक प्रिय थिए। हरिवंश राय बच्चन, अमृता प्रितम, कलाकार विनोद खन्ना आद्रि महाकवि सुमित्रा नन्दन पन्तको पनि निकटता रहेको प्रवचनबाट थाहा भयो। कृष्णलाई बुझ्न र बुझाउन यस्तै बोधिसत्व प्राप्त बुद्ध पुरुषहरूले मात्र सक्छन्। कृष्ण अद्भूत छन्।

निश्चय पनि जीवन र समय एउटै गतिमा हिँड्दैन। तालमेल राख्दैन। कृष्णको अन्तिम अवस्थाले यसैको पुष्टि गर्छ। त्यत्रो युद्ध कौशल र ज्ञान भएका कृष्णको अन्त्यकाल कति एकांकी ? न कुनै मित्र नाता, न कुनै परिवारजन, सब छुटेका छन्। नितान्त एक्लो। आफ्नै यादववंश र पुत्रको विनाशलाई उनले रोक्न सकेनन्। अन्त्यमा महाभारत युद्ध समाप्त भएको ३६औँ वर्षपछि जरा नामको सिकारीको वाण पैतालामा लागेर उनको अन्त्य हुन्छ। 

धर्मशास्त्रका ज्ञाताहरूले यो हुनुको कारण धृतराष्ट्र पत्नी गान्धारीको श्राप वा उत्तङ्क ऋषिको कोप आदि–इत्यादिलाई लिने गर्छन्। जीवनको एउटै ताल र लय कसैको पनि हुँदैन। बलशाली पनि असहाय हुन सक्छन्, असहाय पनि बलशाली बन्छन् भन्ने कुराको बोध कृष्णको जीवनले दिएको छ। यसको बोध गराउन सक्यो भने जन्माष्टमी मनाउनुको सार्थकता अझ बढ्नेछ ।

प्रकाशित: २ भाद्र २०७९ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App