१७ आश्विन २०७९ सोमबार
कला

मान्छेले कति थोक जानेको छ

कविता

जितेन्द्र बस्नेत

मान्छे जन्मिँदा रोएको हुन्छ

त्यसको खास कारणचाहिं जान्दिनँ म

तर, त्यसपछि जबजब ऊ रुन्छ

त्यसको पछाडि खास केही हुन्छ,

कसैको हृदय छुन्छ,

कसैलाई आफ्नो चुन्छ, कसैको आँसु धुन्छ

उसमा कसैको गुन छ,

सायद त्यसैले पनि रुन्छ

आँसुको अनुभूतिलाई आफ्नो मानेको छ

हो नि है, मान्छेले कति थोक जानेको छ।

आगो ताप्न जानेको छ, आगो खप्न जानेको छ

कोही जलिरहेको हुन्छ,

त्यसमा घिउ थप्न जानेको छ

जल्ने जलाउने मुटुमा,

माया फलाउन जानेको छ

सभ्यताको पाषाण कसले ठोक्कायो बलैले?

झिल्काझिल्का उमारेर दाउरा बलाउन जानेको छ

अचम्म छ है,

मान्छेले कति थोक जानेको छ।

मान्छे जन्मिँदा पहिलोपटक हाँसेको

खै किन हो म यकिन गर्न सक्दिनँ

तर त्यसपछि जब-जब ऊ हाँसेको छ

त्यसको पछाडि खास केही गाँसेको छ

कसैलाई रुवाउँदा, कसैको आँखामा सुहाउँदा,

फूलैफूलको बागमा अनि कसैको अनुरागमा

ऊ पग्लिएको छ, ऊ छल्किएको छ

ईष्र्या र जलनले, कसैको विचलनले

हौसिएर,रौसिएर, जिस्किएर, मिस्सिएर

बुझेर, बुझ पचाएर, कुरा चपाएर, सबै थाहा पाएर

मान्छे हाँसेको छ, हाँसेको ठानेको छ।

कस्तो चलाख है, मान्छेले कतिथोक जानेको छ।

मान्छेले मर्नुपर्छ, थाहा छ

तर आफू अजम्बरीको महल बन्छ,

मार्न तम्सिएर विध्वंश गर्छ,

कहिले पैतालाले, कहिले हौसलाले,

कहिले दम्भले, कहिले प्रबन्धले

उसले टेकेकै हुन्छ, हेपेकै हुन्छ

मुर्दा बन्ने शरीरको दुर्गन्ध छेकेकै हुन्छ।

उफ् ती निशाहरूले समेत चाल नपाउने

प्रपञ्चले आफ्नो हैसियत चेपेकै हुन्छ

दुनियाँलाई बेवकुफ ठान्छ

तर,

आफ्नो अनुहार ऐनामा देखेकै हुन्छ,

किन भुल्छ, सबैको मरण लेखेकै हुन्छ

आफ्नो अहंकार बचाउने तीर हानेको छ

कस्तो अविवेकी है?

मान्छेले कति थोक जानेको छ।  

प्रकाशित: २९ श्रावण २०७९ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App