८ वैशाख २०८१ शनिबार
कला

सन्देशमूलक बालकथा सङ्गृहीत ‘हात्तीको क्याटवाक’

नयाँ किताब

कथाकार रत्न प्रजापतिको नयाँ सचित्र बालकथासंग्रह ‘हात्तीको क्याटवाक’ प्रकाशित भएको छ। संग्रहमा बालबालिकाको रुचिअनुसारका विविध रोचक, ज्ञानवद्र्धक र सन्देशमूलक १३ वटा कथा सङ्गृहीत छन्। यसलाई  स्वदेश प्रकाशनले प्रकाशन गरेको हो।

संग्रहको पहिलो कथा हो ‘बुद्धिमान भेडा’। यस कथामा एउटा भेडाको बुद्धिले कसरी अरू धेरै भेडा धूर्त ब्वाँसोको आहारा बन्नबाट जोगिए भन्ने देखाइएको छ। दोस्रो कथा ‘आमा दिवस’ मा एउटी सानी छोरीले आमाको मुख हेर्ने दिनमा कसरी आमा दिवस मनाइन् भन्ने रमाइलो प्रसंग छ।

यसैगरी अर्को कथा ‘बाँदरको हातमा मोबाइल’ मा चाहिं एउटा चकचके बाँदरको हातमा मोबाइल पर्दा कस्तो आपत् आइलाग्यो भन्ने रमाइलो प्रसंग छ।

‘सुन्तला र सुन्तली’ अर्को रमाइलो कथा हो। यस कथामा एकातिर सुन्तला र सुन्तलीले कसरी हावाहुरी झेलेका छन् र दुख खेपेका छन् भन्ने देखाइएको छ भने अर्कातिर सुन्तला र सुन्तलीले एउटी दुखी महिलालाई कसरी सहयोग गरिन् भन्ने पनि देखाइएको छ।

‘गाउँको दसैं’ मा शहरमा जन्मेर शहरमै हुर्के-बढेका र शहरमै पढेका केटाकेटी आफ्नो पुख्र्यौली थलोमा गएर दसैं मनाउँदा कस्तो फरक पाए र कति रमाइलो भयो भन्ने सन्दर्भ छ।

संग्रहको शीर्षक कथा ‘हात्तीको क्याटवाक’ मा चाहिं हात्ती महोत्सवमा हात्तीहरूले कसरी क्याटवाक गरे र त्यो देखेर महोत्सव हेर्न आएका निमा र फुटीले कस्तो महसुस गरे भन्ने रोचक सन्दर्भ प्रस्तुत गरिएको छ।

‘घुर्की’ कथामा गाउँघरमा चलेको अन्धपरम्परालाई चिर्न, संकुचित सोच भएका बाबुआमाको सोचमा परिवर्तन ल्याउन र खराब लत छुटाउन बालबालिकाले बाबुआमालाई घुर्की लगाएको रमाइलो प्रसंग छ। कथाले सकारात्मक सन्देश पनि दिएको छ।

‘भूतखोलाको भूत’ कथामा भूतले पनि मान्छेलाई आपतको बेला सहयोग गरेको देखाएर मान्छेमा पनि सहयोगी भावनाको खाँचो औंल्याइएको छ।

यसैगरी ‘सहयोगी हात’ कथामा पनि २०७२ सालको विनाशकारी भूकम्पमा परी समस्या भोगिरहेका परिवारलाई विद्यार्थी भाइबहिनीहरूले सहयोग गरेको सन्दर्भ प्रस्तुत गरिएको छ।

‘गुणी पन्छी’ कथामा मरेका गाई, गोरु, भैंसी, राँगा र भेडाबाख्राहरूको सिनो खाएर वातावरण स्वच्छ राख्न र मानिसहरूलाई विभिन्न रोग लाग्नबाट बचाउने गुणी पन्छी गिद्धको प्रशंसा गरिएको छ। साथै गिद्धको संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि यस कथामा छ। ‘महान किसान’ कथामा अन्न उत्पादन गरेर धेरै मानिसलाई खुवाउने किसानको महानतालाई प्रस्तुत गरिएको छ।

‘हलो जोत्ने साथी’ कथामा गाउँमा आफ्नो बुबासँगै हलो जोत्न सिकिरहेको बालक र शहरबाट गाउँ घुम्न आएको बालक बिचको मित्रता प्रस्तुत गरिएको छ। अनि ‘लाली गुराँस’ कथामा चाहिं पढाइका लागि आफैंले मिहिनेत र संघर्ष गरिरहेका ग्रामीण बालबालिकाको संघर्षको कथा प्रस्तुत गरिएको छ।

कथाहरू रोचक र सन्देशमूलक छन्। बालबालिकाले कथा पढेर ज्ञान र सन्देशका साथै मनोरञ्जन पनि प्राप्त गर्न सक्नेछन्। बालबालिकामा पठन संस्कृतिको विकास गर्न यस्ता पुस्तकले सघाउनेमा विश्वस्त हुन सकिन्छ।

प्रकाशित: २८ श्रावण २०७९ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App