१७ आश्विन २०७९ सोमबार
कला

हिमाल,पहाड र गाउँको बुझाउने कृति-‘पैतालामा हिउँ: आँखामा हिमाल’

समीक्षा

रमेश प्रभात

पेसाले पर्यटन व्यवसायी र रुचिले साहित्यसेवी राजेन्द्रमान डङ्गोल (२०२६) नुवाकोटमा जन्मेर नेपालको राजधानी काठमाडौंमा बस्ने सर्जक हुन्। उनी कविताको बाटो हुँदै नेपाली यात्रा निबन्धमा छिरेका स्रष्टा हुन्। यिनका ‘यात्राका पाइला’ (२०७६) र ‘पैतालामा हिउँः आँखामा हिमाल’ (२०७८)  दुई नियात्रासंग्रह प्रकाशित छन्। देशका विभिन्न ठाउँ र विदेशको समेत भ्रमण गरी त्यहाँ भेटिएका अनुभूति समेटेर सामान्यदेखि उच्चस्तरका पाठकले समेत पढ्नयोग्य दुई सशक्त नियात्राकृति पाठकलाई दिन सक्नु यिनको नैबन्धिक सफलता हो भन्ने ठहर छ मेरो।

आमुख

सामान्यतया स्रष्टा र पाठकको प्रत्यक्ष चिनजान कमै मात्रामा हुने गर्छ। त्यस्तै निबन्धकार राजेन्द्रमान डङ्गोलसित मेरा कहिल्यै भेटघाट भएको छैन। प्रिय प्रगतिवादी कवि एवं अनन्य मित्र आर.एम्. डङ्गोलको सिफारिसमा उनको पछिल्लो कृति ‘पैतालामा हिउँ: आँखामा हिमाल’ सम्पूर्ण किताब, नारायणगढबाट केही दिनअघि प्राप्त गरेको हुँ। भौतिक रूपमा चिनजान नभए पनि यसरी प्रेमपूर्वक पठाइएको कृतिलाई सप्रेम स्वीकारें र थालें कृतिमा विचरण गर्न। एउटा पाठक भएका नाताले कृति हात परेपछि सर्सती पढ्नु मेरो धर्म हो र त्यसलाई मैले अक्षरशः पालना गरें।

समीक्षाका क्षेत्रमा पनि अलिअलि काम गरेको नाताले कृति पढिसकेपछि समीक्षा लेख्नु पनि मेरो रुचिको विषय पनि हो। यही भएर उक्त कृतिबारे मलाई लागेका कुरा समेट्दै यो समीक्षा तयार पारेको छु।

निबन्धकारका बारेमा छोटो चर्चा

पेसाले घुमक्कड अर्थात् पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोल (२०२६) ले नेपालका विभिन्न ठाउँको भ्रमण गरेका छन्। यसर्थ उनी एउटा यायावर हुन् भन्दा फरक पर्दैन। यसरी घुम्ने क्रममा देखे/भोगेका घटनालाई मार्मिक पाराले उनले आफ्ना निबन्धमा उतार्ने गरेका छन्। उनका हालसम्म ‘यात्राका पाइला’ (२०७६) र ‘पैतालामा हिउँः आँखामा हिमाल’ (२०७८) दुई नियात्रासंग्रह प्रकाशित छन्। त्यसो त उनी कविताको बाटो हुँदै नेपाली निबन्धमा प्रवेश गरेका हुन्।

२०६० जेठ ८ गतेदेखि सुरु गरेको यात्रा विवरण समेट्दै २०७७ माघ २४ गतेसम्मका दैनन्दिन विवरण समेटी उनले पछिल्लोे नियात्रा तयार पारेका हुन्। देशका कुनाकाप्चाको वर्णनदेखि लिएर हिमाल र पहाड चढ्दाको वर्णन गरेर यायावरीय शैलीमा उनले तयार पारेको पछिल्लो कृतिको प्रस्तुति ज्यादै प्रभावकारी छ। हामीसँग अरूलाई देखाउन अग्लाअग्ला हिमाल छन्। पर्यटक घुमाउन पनि थुप्रै हिमाल छन् र स्रष्टालाई लेख्नका लागि पनि हिमाल र हिमालका विषयमा तयार विभिन्न संकथन छन्। यही मेसोमा उनको हिमाल वर्णन तारिफयोग्य छ। उक्त कृतिमा हिमाल मात्र होइन, पहाड र त्यसको वरपरका विभिन्न गाउँ पनि आएका छन्। ती गाउँका जीवन भोगाइका विविध पाटा आएका छन्। यसर्थ उक्त कृति नेपाल चिनाउन उपयोगी छ।

हिमाल र हिमाली साहित्यबारे छोटो विमर्श

हिमालमा पाइला नटेकेको र नजिकबाट हिमाल नदेखेको भए पनि हिमाल हामी जोकोही नेपालीलाई ज्यादै मनपर्ने विषय हो। हिमाल भनेको जमेको पानी मात्र होइन, अनुपम सौन्दर्यको भण्डार पनि हो। त्यसैले हिमाली सौन्दर्यले हामी सबैलाई मनैदेखि तान्छ। त्यसलाई उतारेर तयार पारिएको चाहे त्यो गीत, कविता, निबन्ध वा उपन्यासका रूपमा नै उतारिएको किन नहोस् मलाई त निःसर्त मनपर्छ। यस मानेमा आदरणीय उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यास मेरो रोजाइको पहिलो कृति हो।

त्यस्तै रामकृष्ण ढकालको स्वरको ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ गीतले पनि मलाई निकै भावुक बनाउँछ। निबन्धका क्षेत्रमा प्रतीक ढकालका हिमालसम्बन्धी निबन्धले पनि त्यत्तिकै तानेको छ मलाई। मेरो पाइतालाले अहिलेसम्म हिउँ टेक्न नपाएकाले मैले हिमालसम्बन्धी आफ्नै खाले धारणा बनाएर आँखामा हिउँ र मनमा हिमाल बोकेर हिंडेको छु। कुनै दिन मेरो पाइताला हिउँमा परेछ भने म पनि राजेन्द्रमानको जस्तै निबन्ध लेखूँला। अहिले उनको निबन्ध पढेर समीक्षामा रमाउँदै छु।

‘पैतालामा हिउँः आँखामा हिमाल’ बारे छोटो चिनारी

नियात्राकार राजेन्द्रमान डङ्गोलको पछिल्लो नियात्रा कृति ‘पैतालामा हिउँः आँखामा हिमाल’ को भूमिका लेख्ने क्रममा कवि आर.एम्. डङ्गोलले यस्तो लेखेका छन्ः ‘पछिल्लो समय अत्यन्त सक्रिय र ऊर्जाशील प्रतिभाका रूपमा देखापरेका व्यक्तित्व हुन् राजेन्द्रमान डङ्गोल। यो कृति उनको नियात्रा लेखन यात्राको निरन्तरताको दोस्रो साक्ष्य हो।

यो कृतिमा व्यावसायिक प्रयोजन, पर्यटन प्रवर्द्धन, स्वतन्त्र वा मनमौजी ढंगले सम्पन्न वैयक्तिक यात्रा अनुभूतिलाई दैनिकी शैलीमा व्याख्यात्मक र विवरणात्मक  रूपमा प्रस्तुत गरिएको छ। उच्च हिमाली भेगको जनजीवन र संस्कृतिप्रति नियात्राकारको गहिरो अभिरुचि देखिन्छ। उच्च स्थानबाट देखिने अलौकिक, रहस्यमय दृश्य, त्यहाँका थुम, भन्ज्याङ, घाँटी, नदीनाला, छहरा-छाँगा, तालतलैया जस्ता प्राकृतिक सम्पदाको महिमा, बौद्ध स्तूप छ्योर्तेन, मणिवाल वा लुङ्दा-लुङ्दरले सिंगारिएको सांस्कृतिक झाँकी उनको लेखनको विषय बनेको छ।’ (पृ.१९-२०)

जम्मा ३९० पृष्ठको ‘पैतालामा हिउँः आँखामा हिमाल’ कृति छिचोल्न सामान्य पाठकलाई कम्तीमा एक हप्ता लाग्छ। उक्त कृतिलाई ११ वटा खण्डमा विभाजन गरिएको छ। हरेक खण्डको सुरुमा श्यामश्वेत खालको चित्र र त्यसको पछाडिको पृष्ठमा त्यसलाई बुझाउने खाले वाक्यहरू राखेर पाठकको मन तान्न खोजिएको छ। यो प्रविधिको जमानामा श्यामश्वेत फोटोको सट्टा रंगीन फोटो राखेको भए अझ प्रभावकारी हुने थियो भन्ने मेरो ठम्याइ छ। उक्त कृतिको मूल्य ५९९ रुपैयाँ राखिएकाले सामान्य पाठकको पहुँचभन्दा केही पर छ भन्ने मलाई लागेको छ।

‘पैतालामा हिउँ: आँखामा हिमाल’मा अभिव्यक्त भावहरू

यात्रा गरी ती ठाउँबारे दैनिकीका रूपमा लेखिएका टिपोट नै ‘पैतालामा हिउँ: आँखामा हिमाल’ भन्ने नियात्रा कृतिको  विशेषता हो। यसमा हेलम्बु, मुस्ताङ, इन्द्रदह, पोखरा, सिराइचुली, नार गाउँ, कोरोला नाका, काठमाडौंको काँठ, पिके हिमाल, रुबी भ्यालीजस्ता ठाउँका अतिरिक्त मन्थलीको माझीगाउँ घुम्दा अनुभूत गरेका घटनालाई दैनिकी लेखनको शैलीमा विभिन्न शीर्षकमा सजाइएको छ। जीवनको लय मिलेको हुँदैन।

त्यसैगरी यो कृतिमा पनि प्रत्येक खण्डलाई बराबर खालको शीर्षकीकरण नगरी विभाजित एघार खण्डमध्ये छ वटा खण्डमा दुई वटा शीर्षकमा, दुई वटा खण्डमा तीन वटा शीर्षकमा, एउटामा पाँच वटा र अर्को एउटामा छ वटा शीर्षकमा यात्रा विवरण पस्किएको पाइन्छ।

यसरी यो कृतिमा कूल ३१ वटा नियात्रा समेटिएको छ। यो कृतिमा मलाई मन परेका केही सन्दर्भ र भावलाई यहाँ पस्केको छुः 

नियात्राकारले हेलम्बुको यात्रा गर्दा यहाँ सगरमाथाको सम्झना गरेका छन्। आफू सानो पहाड चढ्दा थाकेको देखेर तेन्जिङ र हिलारीको सगरमाथा आरोहणलाई यसरी सम्झेका छन्ः

३५०० मिटरमा पुग्न त हामीलाई यति कठिन भइरहेको छ भने कस्तो भएथ्यो होला तेन्जिङ र हिलारीलाई सगरमाथाको चुचुरामा पुग्न! सम्झिरहेको थिएँ ती दुई मानवलाई। समस्त मानव जातिका लागि सर्वाधिक गौरवकोे दिन थियो, सगरमाथालाई जितेको त्यो दिन अर्थात् सन् १९५३ मे २९। (पृ. ३८)।

घुमन्तेको पाइला एकै ठाउँमा स्थिर नभएर गतिशील भइरहन्छ। यो कुरा लेखकको लेखनीले पुष्टि गरेको छ। उनी धौलागिरि पुगेपछि हिमालपारि पुगेको अनुभव गर्छन्। तर, त्यहाँ पनि उही लयमा बतास चलिरहेको पाउँछन्। उनको मनमा यता र उताको अनुभूति टम्म छ भन्ने तलको साक्ष्यले पुष्टि गरेको देखिन्छः

धौलागिरिको आँगन भएर हिंडिरहेका छौं हामी। हामी हिंडेको नियालिरहेछ धौलागिरिले। लार्जुङ छाडेर कोवाङ र खन्ती हुँदै कालीगण्डकीको उबडखाबड बगरमा लर्खराउँदै छिचोलिरहेका छौं एकपछि अर्को सुन्दर बस्ती। हिमालपारि पुगिसकेका छौं यतिबेला। उही लयमा चलिरहेछ बतास। (पृ. ६५)।

हिमाल बस्नका लागि होइन,हेर्नका लागि हो भन्ने उनको ठम्याइ छ। हिमालमा बस्नेको जीवन निकै जोखिमपूर्ण छ भन्ने ठान्छन् उनी। हामी हिमालमा पाइला नटेकालाई त्यो कुरा के थाहा? हिमाल बुझ्न हिमालसँग संगत गर्नुपर्छ भन्ने उनको तर्क मलाई मन पर्‍यो। उनको हिमालबारे यो धारणामा जीवन र दर्शन घुलेको पाइन्छः

हिउँलाई टाढाबाट हेर्नु, सुम्सुम्याउनु, खेल्नु र महसुस गर्नु एउटा कुरा। हिउँसँग संगत गर्नु नितान्त अर्कै कुरा। हो, हिउँ भोग्न हिउँसित संगत गर्नैपर्छ। अझ हिमालमै बस्नुपर्छ अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता। आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले। जोगिन सक्नुपर्छ हिउँसित नत्र खाइदिन्छ हातखुट्टा र बनाइदिन्छ अन्धो। (पृ. २०९)

उनको समग्र कृति पढेपछि उनले हिमाल मात्र होइन, पहाड र थुम्काथुम्कीहरू पनि चढेका छन् भन्ने थाहा पाइन्छ। त्यसो त म चितवनबासी भए पनि चितवनको सबैभन्दा अग्लो चुली अर्थात् सिराइचुली चढेको छैन। उनले त्यहाँ पुग्दाको गरेको यो अनुभूतिले मलाई ज्यादै रोमाञ्चित तुल्यायोः

आफैंमा भव्य छ-सिराइचुली। यहाँबाट देखिने भूगोल झनै भव्य। मौसमल साथ दिएको त्यो पल देखिए-रक्तिम हिमाल, हरिया वस्त्र लपेटेका पहाड र तराईका विशाल फाँट। (पृ. १४४)

उनले पहाडको वर्णन गर्दा पहाडका रूपमा मात्र नगरी त्यसलाई हाम्रो संस्कृतिसँग पनि दाँजेको कुरा मलाई ज्यादै मन पर्‍यो। उनको यात्रा वर्णनमा आएको यो सांस्कृतिक चेतना हाम्रा लागि निकै मनमोहक छः

चोरीको अभियोग लागेर बिटुलिएका इन्द्र चतुर्दशीका दिन जामाचो डाँडामा पुगी हिमाली शीत खाएर चोखिएका र पूर्णेको दिन यही बाटो हुँदै स्वर्ग फर्कंदा यहाँ नुहाएका थिए रे। तसर्थ इन्द्रजात्राको भोलिपल्ट यहाँ मेला लाग्ने गर्छ। भक्तजन रातभर बस्छन् र भोलिपल्ट बिहान दहमा नुहाएर फर्कन्छन्। (पृ.९९)

उनले पहाडको यात्रालाई कतै संस्कृतिसँग, कतै दुःखसँग त कतै प्राकृतिक छटासँग पनि दाँजेर हेरेका छन्। पहाड हेरेर यात्रुहरू दंग परे भने बल्ल यात्रा सुखद् भन्ने  उनको पनि ठहर पाइन्छ। पहाडमा देखिने विविध छटालाई उनले यसरी उतारेका छन्ः

रूपौला बादलले सुन्दर जवानी फिजाउँदै थियो हेलम्बुको आकाशमा, चञ्चल र चलायमान बनेर। बादलकै घपनीले छपक्क छोपिंदै गए, नीला पहाड-पर्वत। छोपिंदै गए, हिमालको फूलजस्तो मुस्कान। रहस्यमय आकाशगंगा। बादलको तमासा। आकृतिका अनेकानेक बिम्ब। आश्चर्यमा परेथें म। (पृ.५६)

उनको यात्रा वर्णनमा नेपालका गाउँहरू पनि निकै ठाउँमा आएको छ। धादिङको गाउँ र कोरोना कहरलाई यसरी मिसाएर गरिएको चित्रणलाई मैलै बिर्सन सकिनँः

ढिस्को खारेर निकालेको बालुवा धमाधम पखाल्दै थिए केही श्रमिक। कोरोनाको यस्तो महामारीमा पनि काम पाएकै छन्। प्रकृतिले नै दिएको छ बालुवाको पहाड। खोला धाउनै नपर्ने। यहीं बालुवा पखालिएर आइपुग्छ काठमाडौं र उठ्छ पहाडजत्रो घर। (पृ.२६१)

यात्रामा निस्किएपछि दिनको उज्यालोमा मात्र होइन, निस्पट अँध्यारोमा पनि हिंड्नुपर्ने हुन्छ। समथर मैदानमा मात्र होइन, भिरालो बाटो र कति डरलाग्दा भीरमा पनि हिंड्नुपर्ने हुन्छ। त्यस्तो खतरनाक बाटामा रातको अँध्यारोमा यात्रा गर्दा कस्तो अनुभव हुन्छ भनेर उनले यस्तो लेखेका छन्ः

टर्चलाइटको उज्यालोमा आफैंले बनाएको बाटो छाम्छु। ठम्याउन सकिरहेको थिइनँ-म बाटो हिंडिरहेछु कि बाटो मसित हिंडिरहेछ। उज्यालो पनि आफैंलाई देखाउनु कि अशोकलाई। केही गरी चिप्लिइहाले ज्यान त भेटाइएला। प्राणवायुचाहिं वायुमण्डलमा मिसिन्छ। (पृ.३५२)

उनको यो कृतिमा यस्ता धेरै उद्धरण छन्। समीक्षाको अन्त्यतिर उनले निबन्धमा राखेको यो भनाइसँग म निकै सहमति जनाउँछुः

‘यात्रा, यात्रा र यात्रा।’

आफू परियो यात्राप्रेमी मान्छे। कसैले मलाई मेरो जीवनका ती ओटा लक्ष्य सोधे भने मैले दिने सरल जवाफ हो यो।(पृ.३३७)

अन्त्यमा नियात्राकार राजेन्द्रमान डङ्गोललाई अझ धेरै यात्रा गर्ने र नयाँनयाँ निबन्ध लेख्ने प्रेरणा मिलोस् भन्ने कामना गर्छु। उनको लेखनको मुक्तकण्ठले प्रशंसा गर्दै उनले आफ्नो पेसा र व्यवसायबाट प्राप्त अनुभूतिलाई कलाको लेप लगाएर प्रस्तुत गर्न सक्नु नियात्राकार डङ्गोलको खुबी हो भन्ने निष्कर्ष मैले निकालेको छु। उनको नियात्रा लेखन अझ सशक्त बन्दै जाओस् भन्ने शुभेच्छाका साथमा उनको साहित्यिक उन्नयनको कामना गर्दै यो आलेखलाई यही विसर्जन गर्छु। भवतु सब्ब मङ्गलम्।

प्रकाशित: २८ श्रावण २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App