१७ आश्विन २०७९ सोमबार
कला

पिता

कथा

हरि खनाल

प्रतियोगितामा प्रथम भएँ। अवार्ड पाउने घोषणा भयो। मञ्चमा पुगेर अवार्ड थापें। आँखाले आमालाई खोज्यो। म आमालाई अँगालो हाल्न पुगें। मेरो आँखाबाट अविराम आँसु खसिरहेका थिए। त्यो क्षणले आमा-छोरा दुवैलाई पखालिरहेको थियो। अभाव, पीडा र असफलतामा बाहेक खुसीमा रोएको अनुभव त्यसअघि कहिलै थिएन।

घर पुगेपछि मेरा आँखा बाबाको फोटोतिर खिचियो। निकैबेर हेरें। मानूँ कहिल्यै देखेको थिइनँ। खै किन हो बाबाले पनि बधाई भनिरहेजस्तो लाग्यो। अलिकति क्रोध पनि उम्लिएर आयो। छोरालाई हेरविचार गर्ने र बाटो देखाउने बेलामा तपाईँ कहाँ जानुभयो? हेर्नुस् मेरी आमालाई कति कठिनाइ भयो? मेरै अवस्था देखेर त होला तपाईं घर छोडेर हिंड्नुभएको? फालिदिन्छु तपाईको फोटोलाई आज।’ म एक्लै बाबाको फोटोलाई हेरेर फलाकिरहें।

‘बाबु सन्देश! के भनेको त्यस्तो आफ्नो बाबालाई?’

‘किन नभन्ने त आमा? कम पीडा भयो तपाईलाई?’

‘पीडा त अहिले भयो छोरा, जब तिमीले बाबालाई गाली दियौ।’

‘के भन्नुभएको आमा?’ म अलमलिएँ। आमाका आँखा बर्सन थाले। मैले आमासँग माफी मागें।

‘यो दिन केही वर्ष पहिले आएको भए, यहाँ खुसी मात्र फुलेको हुने थियो।’ आमाले दुवै आँखाको आँसु पुछ्दै भन्नुभयो।

खै आमाले के भन्न खोज्नुभएको हो? मैले कुरो बुझिनँ। थप कुरा खोतल्न पनि मन लागेन। बाबा साथमा हुनु हुन्न तर आमा सधैं बाबाको विषयका कुरा गर्दा आदर भाव मात्र दर्शाउनुहुन्छ।

बत्ती निभाएर सुत्न खोजें तर आँखामा निद्रा आएन। खुसी फुलेको दिन किन मलाई बेचैनी भइरहेको होला? केही अनुमान गर्न सकिनँ। ध्यान अन्यत्रै मोडियो।

मेरो कोठाको एउटा कुनामा एउटा बाकस थियो जसलाई मैले कहिलै वास्ता गरको थिइनँ। के छ त्यो बाकसमा? मलाई पहिलो पटक खुलदुली लागेर आयो। अवार्ड जितेर पुलकित भएको मन निकै चञ्चले भइरहेको थियो। मैले आमाले राख्नुभएको साँचोको झुप्पा लिएँ र बाकस खोलें। बाकसभित्र बाबाका सामान रहेछन्। सबैभन्दा पहिले एउटा डायरीमा आँखा पर्‍यो। पाना पल्टाउँदै गएँ। डायरीका सबैजसा पन्नाहरू मेरै बारेमा रहेछन्।

डायरीका पानाहरू पल्टाएर पढ्न थालें।

एक दिन

आज अरू बेलाभन्दा पनि उदास छु। उदासीपन अझ बढ्छ जब सामुन्नेमा सन्देशलाई देख्छु। थाहा छैन, के पाप गरेको थिएँ मैले पूर्व जुनीमा? किन भगवानले उसलाई सजाय दिए? एघार वर्ष भइसकेको छ तर ऊ राम्रोसँग बोल्न जान्दैन। हरेक दिन र साँझ मैले उसको नयाँ र परिष्कारपूर्ण बोलीको आशा राख्दछु तर सम्भव देखिंदैन। आज ज्यादा दुखी छु। उसलाई कसैले खुस्केट भनिरहेको सुनें। भित्रैदेखि क्रोध उम्लेर आयो तर क्रोधित हुनु मेरै मूर्खता थियो। आँसु आयो, एकातिर फर्किएर पोखें। रातको समय छ निद्राविहीन रात, त्यही एउटा शब्दले मेरो निद्रा खोसेको छ।

अर्को दिन

आज उसको शरीरमा निलडाम देखें। डाम देखेर क्रोध उम्लिएर आयो। मैले उसको पिंडुला र हातमा गहिरिएर हेरें। कसले कुटेको? धेरै प्रश्न गरें। उसले केहीको नाम लियो। असाध्य दुखित छु म। एउटा बालक जसलाई सबैको स्नेह र सहानुभूतिको खाँचो छ तर उही पीडित छ। हरेक दिन बिहान ऊ आशा बोकेर जान्छ र पीडा र यातना लिएर फर्कन्छ। किन बुझ्दैनन् कोही? किन विचार गर्दैन विद्यालय? धेरै प्रश्न उर्लिन्छन् मनमा।

अर्को दिन

आज उसैको निलडामको विषयमा कुरा गर्न गएको थिएँ। मेरो उजुरी एक थियो तर उनीहरूको उजुरी दर्जनौ। मैले कुटाइको कुरा गर्दै थिएँ। स्कुलको प्रिन्सिपलले भने, ‘यो बच्चाको कारण हामीलाई कठिनाइ भएको छ। यो बोल्दै बोल्दैन र कहिले त दिएको होमवर्क पनि गर्दैन।’

शिक्षक र प्रिन्सिपल मेरो उजुरीलाई निस्तेज पार्न प्रश्न बर्साउँदै थिए।

‘तपाईंहरू फरक क्षमता भएका बालबालिकाहरूलाई शिक्षा दिनु हुन्न? केका लागि खोल्नुभएको यो विद्यालय?’

‘यो त हाम्रो व्यावसायका लागि हो।’ जवाफ थियो प्रिन्सिपलको।

‘तपाईंको वा तपाईंको छिमेक वा नातेदारको कुनै बच्चा यस्तै जन्मियो भने के गर्नुहुन्छ? सजाय दिएर मारिदिनुहुन्छ?’

मेरो पछिल्लो प्रश्न सुनेर प्रिन्सिपलको अनुहार कालो भयो। उसका निधारका रेखाहरू एकाएक माथि उठे। उसलाई मेरो प्रश्नले तरंगित पनि बनाइदिएको थियो।

‘यस्तो विद्यालयमा होइन, विशेष विद्यालयमा पढाउनुपर्छ।’

‘समाहित शिक्षा भनेको के हो? बुझ्नुभएको छ?’ मेरो पछिल्लो प्रश्न सुनेर ऊ अझ तिलमिलायो। उसको निधार र कानको जोरतिर चिटचिट पसिना निस्किरहेका थिए।

‘राज्य कमजोर भएको ठाउँमा शैक्षिक व्यापार पनि चल्छ र त्यसभित्रको कालो बजारी हामी जस्ताले सहन्छौं। तपाईँको व्यापार मौलाओस् तर बालबालिकाहरू पीडाबाट मुक्त होऊन्।’ मैले भनें र बाहिरिएँ। त्यस दिनदेखि मैले सन्देशलाई त्यहाँ पढ्न पठाइनँ।

अर्को दिन

मैले सन्देशलाई चित्रकला सिक्ने कार्यमा लगाइदिएको छु। ऊ त्यति सारै कमजोर छैन, योग्य शिक्षक नपाएर मात्र ऊ औपचारिक शिक्षालयभित्र समायोजन हुन सकेको छैन। जे होस् आज म खुसी  छु। कम्तीमा चित्रकला सिकाउनेले भए पनि उसको प्रशंसा गरिदियो।

अर्को दिन

एकपछि अर्को गर्दै दुखको जीवन सुरु भएको छ। आज अनायास प्रिय पत्नी उर्मिला बिरामी परिन्। मिर्गौलासम्बन्धी समस्या रहेछ। उनको उपचारमा तीन लाखसम्म लाग्ने पूर्वानुमान भयो। म यतिका पैसा ल्याऊँ कहाँबाट? न मैले दिन दुगुना रात चौगुनाको दरले कमाइ हुने काम गरेको छु, न म घुस खाने कर्मचारी? म ठूलो चिन्तामा छु। जेजसो भए पनि मैले उनलाई बचाउनै पर्छ। म उर्मिलालाई गुमाउन चाहन्न। सन्देशलाई मेरोभन्दा पनि उनको ज्यादा खाँचो छ।

अर्को दिन

उनको शल्यक्रिया भएको छ। आशा छ उनी स्वास्थ हुनेछिन्। मिर्गौला झिक्ने डाक्टरले मेरो अर्को मिर्गौला कमजोर भएकाले झिक्न नमिल्ने भनेर अड्काउन खोजेका थिए। मैले सबै कुराको जिम्मेवार म नै हुनेछु भनेपछि त्यो सम्भव भयो। कम्तीमा आफ्नै मिर्गौला दिएर भए पनि उनलाई बचाउन सकियो। मेरो निम्ति योभन्दा सुखद् समाचार के हुन सक्छ?

अर्को दिन

उर्मिला पूर्ण स्वास्थ भइन्। सन्देशलाई चित्रकला र संगीत घरमै पनि सिकाउने प्रबन्ध गरिदिएको छु। अब सन्देश र उर्मिलामाथि त्यति ठूलो आपत आउने छैन।

त्यसपछि डायरीको पाना खाली देखियो। सायद बाबा कतै जानुभयो। डायरी पढेर बाबाको मप्रतिको समर्पण थाहा भयो। सायद बाबाले आमालाई मिर्गौला पनि दिनुभयो होला। आमाले बाबाको विषयमा बोलेका कुराले किन चित्त दुखाउनुभएको थियो भन्ने पनि पूर्ण जानकारी भयो।

मेरो अवस्थाले मेरो बाबालाई कति दुख दिएको रहेछ! उहाँका हरेक रात र दिनहरू मेरै चिन्तामा बितेका रहेछन्। म जस्तालाई शिक्षा दिन नमान्ने विद्यालयहरू आफूलाई ज्ञानको ज्योति बाल्ने ठेकेदार ठान्छन् आफूलाई।

मेरो बाबाको विचार कति महान? म रुन थाले घोप्टो परेर। सन्तानमाथिको दायित्व कति धेरै हुँदोरहेछ बाबुआमामाथि। युधिष्ठिरले स्वर्गभन्दा ठूलो आमा र आकाशभन्दा उँचा बाबु भनेको त्यसै होइन रहेछ। खै त मेरो त्यो अनन्त आकाश? किन बन्द भयो उहाँको डायरी? उहाँ जानुभयो कहाँ? बाबाको अनुहार मस्तिष्कभित्र सलबलाउन थाल्यो। आँसु पुछेर उठे र  भित्ताको घडीमा हेरें। भर्खर रातको एक बज्दै थियो। खोई के भयो कुन्नि! मभित्र व्याकुलता बढ्दै गयो। शरीर पनि पसिनापसिना भएको रहेछ। पानी लिएँ र एकैसासमा एक बोतल घट्काएँ।

‘छोरा सन्देश, आमाको आवाज आयो ढोकाबाट। उहाँ भित्र आउनुभयो। मैले उहाँलाई अँगालो हालें। बल्लतल्ल थामिएको आँसुको बाँध फेरि फुट्यो। म बिलकुल काखे बालक जस्तो भएर उहाँको चरणमा पल्टिएँ। लामो समयसम्म आमाछोराको रुने कर्म भयो।

‘मैले सबै थाहा पाएँ छोरा। ईश्वरको कृपा र तिम्रै बाबुको अथक प्रयास र समर्पणको कारण तिमी आज हामीजस्तै सामान्य भयौ।’

‘कसरी आमा?’

‘हो मेरो स्वास्थ्य ठीक भइसकेको थियो। तिम्रो बाबाको मिर्गौला दानले मैले नयाँ जीवन पाएँ। त्यसको केही समयपछि तिमी बिरामी पर्‍यौ जुन कुरा तिमीलाई पनि याद हुनुपर्छ। तिमीलाई अस्पताल लगिएको थियो। तीन दिनपछि जब तिमी होसमा आयौ तब तिम्रो चेतना, सञ्चार र सम्बोधन अरू बालबालिकाहरूको जस्तै दुरुस्त थियो। त्यतिबेला म तिम्रो छेउमा थिएँ। यो कुरा तिम्रो बाबालाई कहिले सुनाउला भएको थिएँ। जब उहाँ कामबाट फर्केर आइपुग्नुभयो र त्यो कुरा सुनेर उहाँ तत्काल ढल्नुभयो।

आमाको आवाज आर्द्र भयो। उहाँ बोल्न सक्नुभएन। उहाँ समालिने बेलासम्म मैले पर्खनु नै थियो। केहीबेरपछि आमाले आँसु पुछ्नुभयो र थप्नुभयो। तिम्रो बाबालाई मुटुसम्बन्धी रोगले समातेको थियो। त्यो अपार खुसीको वेगलाई उहाँको रक्तसञ्चार प्रणालीले एकसाथ सञ्चार गरिदिएपछि उहाँ हाँसीहाँसी बित्नुभयो। मैले यो कुरा भर्खर स्वास्थ्य लाभ गरेको छोरालाई भन्न हुँदैनथ्यो,रोकेर बसें। तिमीलाई अस्पतालमा राखेरै उहाँको क्रियाकर्म सकिएको थियो। जब तिमी घर आयौ तब मैले तिमीलाई ढाँटिरहें। उहाँ विदेश जानुभएको छ। एउटा खुसीले अर्को खुसीलाई थाम्न सकेन छोरा।’ आमाको आर्तना फेरि फुट्यो।

‘बाबा बाँच्नुभएको रहेछ मेरै लागि र मर्नुभएछ मेरै लागि। मेरा महान् पिता तपाई पिताहरूमा आदर्श हुनुहुन्छ।’ मैले बाबाको फोटोलाई स्पर्श गरें र हेरिरहें निर्निमेष।  

प्रकाशित: २५ श्रावण २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App