किशोर केसी
दशैंको पूर्णिमाको रात।
खानपिन गरेर ओछ्यानमा पसिसकेका थियौं। दशैं टारेकामा ठूलै खेल जितेको महसुस हुँदै थियो। पाहुना सिद्धिसकेका थिए। बुढीका अनुहारमा पनि आनन्द झल्किरहेको थियो।
‘ढकढकढक...!’कसैले ढोका ढक्ढक्यायो।
रातहुँदि को हो-को हो झ्वाट्टै निस्कन भएन। भित्रैबाट हकारें, ‘को हो हँ?’
हामी दाजु।
‘हामी’ शब्दले तीर बनेर पीर पायो। अब बसे नै भने कहाँ सुताउनू।
ओछ्यानबाटै सोधखोज गरें,‘अनि कहाँका, को भाइ हौ त तिमेरू?’
‘हन,तपाईं थिरप्रसाद होइन?’ उल्टै प्रश्न आयो।
‘हो नि हुन त। पल्ला टोलमा पनि छन् अर्का थिरप्रसाद।’
टार्न खोजें।
‘तपाईं खोटाङको डुम्रे धारापानीबाट झर्नुभएको होइन?’
अब उपाय हरायो। हाप पेन्टका अनुहारको कट्टू भिरेर निस्कें।
पहाडबाट झरेको कान्छा बाको छोरा कान्छो पो र’छ। दुई जना साथी पनि साथमा ल्याको। भलाकुसारी भए।
मैले भने, ‘फोनसोन गर्नु पर्दैनथ्यो।’
चार्ज सिद्धिएर अफ भएको बतायो। बोलिरहँदा पनि आफ्नो मनचाहिं ओछ्यान र मान्छेको संख्या जोडघटाउ गर्दै थियो। हिसाब भने मिलिरहेको थिएन।
टीका-जमरा लाइदिनै पर्यो। जेनतेन खानपिन गराइयो।
एकान्त पारेर बुढीसँग साउती मारें, ‘हैन,ओछ्यान कसरी मिलाउने हो?’
उपाय उसैले निकाली, ‘म छोरीसँग टाँसिन्छु। कान्छा नानीलाई छोरासँग मिसाइदिनू। दुई जना हाम्रा खाटमा सुतून्।’
-अनि म?
-ए...!
-लल भैगो, म छतमा सुतूँला।
-अनि शीत पर्दैन?
-उमेरमा कत्राकत्रा झरी त पचाइयो।
-उमेरमा हो नि! मधेशको शीत।
सके उसले पनि अरू उपाय देखिन। सहमति जनाई सल्लाह सहित, ‘शीतले शीरमा हान्छ, फेटा गुथेर सुत्नू।’
कुरा मिल्यो।
नौलो मान्छे मिसाउन खोज्दा छोरा असन्तुष्टिको अनुहार लाउँदै थियो। आँखाले हप्काएर मिलाएँ।छतभरि जून थियो। पल्टिरहेको थिएँ। गर्मी भो कि किन हो कान्छो खैनी माड्दै छतमा निस्क्यो। आश्चर्यमिश्रित भाव घोल्यो प्रश्नमा, ‘ए दाजु त छतमा पो, फेटासेटा गुथेर?’
अमिलो मनलाई घाँटीभन्दा उँधै थिचेर मैले पनि उत्तरमा गुलियो घोलें, ‘तँ पाहाडेलाई के थाहा कान्छा, पूर्णिमाको जून हेर्दै छतमा सुत्नुको मजा!’
प्रकाशित: २२ श्रावण २०७९ ०७:११ आइतबार