२३ श्रावण २०७९ सोमबार
कला

अहँ, हामी त बाबाआमा हुनै सकेनौं!

लघुकथा

कमला घिमिरे

सानो छँदा रमेश र कृतिका खुब मिल्थे। दिदी कृतिकाले भाइलाई खुब माया गर्थिन्। उनीहरूको बाबा जागिरको सिलसिलामा प्रायः घरबाहिर रहनुहुन्थ्यो। दिदीभाइले आमालाई खेतीपाती गर्न सघाउँथे।

बाबा-आमाको प्राथमिकतामा सधैं छोरा मात्रै पर्थ्यो। छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कुल पठाउँथे। बिरामी पर्दा छोरालाई अस्पताल लान्थे भने छोरीलाई बेसार-पानीमै अल्झाउँथे।

कसैको कुरा सुन्दैन थिए बाबा। उहाँले आर्थिक अभाव होला भन्ने सोच्दै नसोची समाज सेवा गर्छु भन्दै जागिर छोड्नुभयो। त्यसपछि त भएको सानो आम्दानी पनि सुक्यो।

बाबा सधैं घरबाहिर हुनुहुन्थ्यो। कहिले केको मिटिङ कहिले कसको समस्या भन्दै हिंड्नुहुन्थ्यो। रमेशलाई पनि समाज सेवा गर्न हौस्याउनुहुन्थ्यो। रमेशले बिस्तारै आमा र दिदीलाई सघाउनै छोड्यो। सबै कामको भार आमामै थपिंदै गयो।

कृतिका अलि भावुक र अरूको दुख देख्न नसक्ने थिइन्। त्यसैले हरेक कुराको असर उनमा पर्दै गयो।

अनेक चुनौती भए पनि उनले प्रथम श्रेणीमा एसएलसी गरिन्। त्यहीं गाउँमै प्लसटु पढ्दापढ्दै उनको बिहे भयो।

बाबाले हरेक सभा-समारोहमा अघि सार्दै गएको हुँदा छुट्टै व्यक्तित्वको रूपमा रमेश हुर्कदै गयो।प्लसटु सकेपछि रमेश उच्च शिक्षाका लागि विदेश गयो। उतै विदेशी केटीसँग बिहे गर्‍यो। महिनामा एकदुई कल फोनबाहेक अरू केही गर्नुपर्छ भन्ने उसले सोचेन।

अहिले कृतिका सरकारी स्कुलमा पढाउँदै छिन्। आमाबाबाको बुढेसकालको सहारा भएकी छ।

आमाबाबा पछुताउँदै भन्छन्, ‘अहिलेका बाबा-आमा कति जाति! छोराछोरीलाई उत्तिकै माया गर्छन्।  अहँ,  हामी त बाबाआमा हुनै सकेनौं! हामीले छोरीलाई हेला गरेर के पायौं!’  

प्रकाशित: २१ श्रावण २०७९ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App