३१ श्रावण २०७९ मंगलबार
कला

सनातन पहिचान बोकेका अजम्मरी पर्वहरू

पुस्तक

पहिचान जातजाति, भाषा, सांस्कृतिक जनजीवन, परम्परागत मूल्यमान्यता, चाडपर्व, परिधानजस्ता सामाजिक तत्त्वहरूमार्फत झल्किने गर्छ। विकासको प्रवाह एवम् समयक्रमसँगै यस्ता पहिचानगत मूल्यमान्यतामा नवीन परिवर्तनका मुनाहरू पलाउँदै जान्छन्। हिजोका हाम्रा धेरै पर्वहरू समय क्रमसँगै परिवर्तन उन्मुख भइराखेका पाइन्छन्। हिजोका खाना, कपडा, चाडपर्व आज उस्तै छैनन्। परिवर्तन सांस्कृतिक चरित्र हो।

यद्यपि परिवर्तनका नाममा नेपाली समाजका सुन्दर परम्परालाई भुल्दै जानु राम्रो कुरा होइन। आजको पुस्ताका अधिकांश युवा जमातलाई परम्परागत मूल्यमान्यताको महत्त्व थाहा छैन। हाल नेपालमा एकातर्फ सनातनदेखि चलिआएका पर्व-परम्परा र धार्मिक-मूल्यमान्यतामाथि प्रहार गर्ने जमात बढ्दो छ भने अर्कातिर परम्पराको रक्षा गर्नुपर्छ भन्ने चेतना पनि विकसित हुँदै छ। यस अवस्थामा संस्कृति राष्ट्रको आत्मा हो भन्ने मान्यता राख्ने व्यक्तिहरू सक्रिय भएर चेतना फैलाउनु जरुरी हुन्छ। यस्तै चेतना फैलाउनका लागि सहायक सिद्ध बन्ने कृति हो-पं. हरिहर पोखरेलको ‘वार्षिक पर्वमाला’।

‘वार्षिक पर्वमाला’ पुस्तकमा नेपाली समाजमा वर्षभरि मनाइने चाडपर्वहरूको नालीबेली प्रस्तुत गरिएको छ। नेपालमा विभिन्न जातजातिका मान्छेहरूको बसोबास भएजस्तै उनीहरूले मनाउने चाडपर्व पनि अनेकौँ छन्। नेपालमा मनाइने अधिकांश चाडपर्वहरूमा वैदिक सनातनी झल्को पाइन्छ। अर्थात् अधिकांश चाडपर्वहरूले वैदिक सनातनी वैचारिक अनुसिञ्चन प्राप्त गरेका छन्। यस पुस्तकमा हिन्दु संस्कारका पर्वको मात्र चर्चा नगरी बौद्ध, जैन, सिख, वैष्णव, शैव, शाक्त, तान्त्रिकआदि सम्प्रदायमा मनाइने पर्वहरूको समेत चर्चा गरिएको छ। यद्यपि अधिकांश पर्वहरूको वैचारिक–सांस्कृतिक जरो हिन्दुसंस्कार नै रहेको विचार पुस्तकमार्फत प्राप्त गर्न सकिन्छ।

मनुष्य जीवन सर्वोत्कृष्ट जीवन हो। यस जीवनको सार्थकता सत्मर्कमा निहित छ। आफूले जानेका बुझेका राम्रा विषयवस्तुलाई समाजमा हस्तान्तरण गर्ने दायित्व लेखक, चिन्तक र विचारकहरूको हुन्छ। हाम्रो देश नेपाल धार्मिक, सांस्कृतिक, भाषिक एवम् जातीय विविधताको सुन्दर फूलबारी हो। यस फूलबारीलाई अझै सुगन्धित र जीवन्त पार्न हामीले मनाउने विभिन्न चाडपर्वको अहम् भूमिका रहेको छ।

यस पुस्तकमा ७३ वटा परिच्छेदमा त्यति नै सङ्ख्याका पर्वहरूको परिचय दिइएको छ। वर्षको पहिलो पर्व ‘नव वर्ष तथा मेष संक्रान्ति एवम् विस्काजात्रा’ को चर्चा सुरुमै गरिएको छ। त्यसपछि मनाइने ‘माता तीर्थ औंसी’, ‘अक्षय तृतीय परशुराम जयन्ती’ हुँदै ‘बुद्धजयन्ती’, ‘उभौली पर्व’, ‘निर्जला एकादशी’, ‘हरिशयनी एकादशी’, ‘कूलायन पूजा’, ‘साउने संक्रान्ति’, ‘नाग पञ्चमी’, ‘श्रीकृष्ण जन्माष्टमी’, ‘हरितालिका व्रत’, ‘इन्द्र जात्रा’, ‘नवरात्रका विभिन्न रात्रिहरू’, ‘विजया दशमी’, ‘यमपञ्चकका विभिन्न दिनहरू’, ‘भाइटीका’, ‘छठ’, ‘माघे संक्रान्ति’, ‘वसन्त पञ्चमी’, ‘महाशिवरात्री’, ‘फागुपूर्णिमा’, ‘चैते दसैं’ लगायतका ७३ वटा पर्वहरूको चर्चा पुस्तकमा गरिएको छ।

नेपाली संस्कृति ज्यादै समृद्ध संस्कृति हो। सनातन हिन्दू धर्म सबैभन्दा प्राचीन धर्म हो। अहिले नेपालमा धार्मिक संस्कृतिका रूपमा हिन्दू समुदाय मात्र छैन, यहाँ बौद्ध, जैन, सिख, वैष्णव, शैव, शाक्त, अर्हत, तान्त्रिक, अनीश्वरवादी, पारसी, ईसाई, इस्लाम, यहुदी, ताओ आदि अनेकौं सांस्कृतिक समुदाय रहेका छन्। हाम्रो धर्म संस्कृतिको रक्षा गर्नु हाम्रो कर्तव्य हो। विशेष गरी आजका युवापुस्तालाई हाम्रो धर्म, दर्शन, संस्कृति, मूल्यमान्यता र परम्पराका बारेमा अवगत गराउँदै आस्था जगाउनु बुद्धिजीवी वर्गको दायित्व हुन जान्छ। यही दायित्व पं. पोखरेलको ‘वार्षिक पर्वमाला’ ले पूरा गरेको छ।

‘माता तीर्थ औंसी’ नामक परिच्छेदमा यहाँ उल्लेख गरिएको श्लोक उद्धृत गर्दै लेखक पं. पोखरेलले माताको महिमा प्रस्तुत गरेका छन्:

समर्थवा समर्थ वा कृशं वाप्यकृशन्तथा।

रक्षत्येव सुतं माता नान्य पोष्टा विधानतः।

अर्थात् आफ्नो सन्तती समर्थ रहून् वा असमर्थ, बलवान् हुन् वा निर्बल, भेदभाव नगरीकन तिनै माताले रक्षा गर्छिन्। त्यसैले आमा समान आश्रय र रक्षक अरू कोही हुँदैनन्। त्यसैले सन्तानका लागि आमा समान प्रिय वस्तु अरू कोही हुन्नन्।

सत्रौं परिच्छेदमा ‘निर्जला एकादशी’ शीर्षकको लेख छ। त्यस लेखमा एकादशीमा तुलसीको पूजा गरिने सन्दर्भ उल्लेख गर्दै तुलसीको महत्त्वको चर्चा गरिएको छ।

महाप्रसाद जननी सर्व सौभाग्य प्रदायिनी।

आधि व्याधिहरा नित्यम्, तुलसी त्वां नमाम्यहम्।

पद्म पुराणको यस श्लोकलाई उद्धृत गर्दै यस परिच्छेदमा तुलसीको महिमा गान गरिएको छ। यस श्लोकमा तुलसीलाई महाप्रसादका रूपमा लिइएको छ। सम्पूर्ण प्रकारको सौभाग्य प्रदान गर्ने, आपद्विपद्लाई नाश गर्ने तुलसी सदा नमन योग्य छिन्। तुलसीको दर्शन मात्रले पनि सारा पाप नास भएर जान्छन्, स्पर्श गर्नाले शरीर पवित्र बन्छ, प्रणाम गर्दा रोग निवारण भएर जान्छ भन्ने सन्दर्भ यस परिच्छेदमा आएको छ।

परिच्छेद १९ मा हरिशयनी शुक्ल एकादशीको महिमा लेखिएको छ। यस परिच्छेदमा एकादशीलगायतका पवित्र दिनमा व्रत बस्दाका फाइदाहरूलाई तथ्यगत रूपमा उल्लेख गरिएको छ। ‘साधारणतया व्रतले मानवको आत्मा एकातिर पवित्र हुन्छ भने अर्कातर्फ संकल्पशक्ति वृद्धि भएर मानव पवित्र र बौद्धिकताले पनि विकसित बन्छ। अनि विचार र भावनाको शुद्धि।’ यहाँ यसरी व्रतको फाइदाको तथ्यपरक चर्चा गरिएको छ। तुलनात्मक रूपमा अन्य परिच्छेदका चर्चाभन्दा यस परिच्छेदका विचारमा तथ्य भेटिएको महसुस हुन्छ।

यी त पुस्तकमा यस्ता श्लोक एवम् सन्दर्भ छन् भन्ने केही उदाहरण मात्र हुन्। यस पुस्तकमा चाडपर्वको चर्चाचर्चा, सन्दर्भ एवम् आफ्ना विचार प्रस्तुत गर्दा परम्परागत मूल्यमान्यतालाई चिन्तनको मूल विषय बनाइएको छ। परम्परागत मूल्यमान्यतालाई पुष्टि गर्ने वैज्ञानिक तथ्यसमेत प्रस्तुत गरिदिने हो भने अहिलेको युवापुस्ताले संस्कारलाई सहज रूपमा ग्रहण गर्ने देखिन्छ।

तुलसीकै प्रसङ्ग उल्लेख गर्दा परम्परागत रूपमा रहेको तुलसीको महत्त्वलाई चर्चा गर्दै तुलसीलाई आधुनिक विज्ञानले समेत उच्च अक्सिजनप्रदायक वनस्पति रहेको कुरालाई प्रमाणसाथ पुष्टि गरेको सन्दर्भसमेत उल्लेख गर्दा तुलसीको महत्त्व झनै बढेर जान्थ्यो।

हाम्रै वैद्धिक सनातन संस्कृतिमा पनि मानिँदै आएका र धानिँदै आएका जुन तिथि, चाडपर्व छन्, ती पनि वर्तमान भौतिकतामय व्यस्त जनजीविकाको क्रममा लोप हुँदै गएको देखिन्छ। आफ्ना पिता एवम् माता जसबाट यो पूर्ण जीवन हामीले पाएका छौँ, तिनको बाँचुन्जेल सेवा सुश्रुषा गर्नु र मृत्युपश्चात् दश क्रिया सम्पन्न गर्नु सन्तानको दायित्व हो। तर वर्तमान व्यस्त जीवनशैलीका कारण यस्ता नितान्त गर्नैपर्ने कर्ममा पनि सन्ततिहरूबाट कताकता कन्जुस्याइँ गरेको भेटिन्छ।

अहिले चाडपर्व मनाउने क्रममा नसुहाउँदो तडकभडक हुने गरेको पाइन्छ। जातीय विभेद, चाडपर्वमा अस्वस्थ खाना, अनावश्यक खर्च, मादकपदार्थको बढी सेवन, संस्कारजन्य भोजमा समेत माछामासु, रक्सीजस्ता खानाको प्रयोग, नेपाली संस्कृतिमा नसुहाउने खालका बाह्य प्रचलनहरूको आगमन, चाडपर्वका नाममा विभेद, हिंसाजस्ता घटनाजस्ता संस्कृतिका नाममा विकृतिहरू पनि जताजतै रहेका पाइन्छन्। यस्ता विकृतिहरूलाई तोड्नका लागि सांस्कृतिक चेतनामूलक जागरणको आवश्यकता छ।

श्राद्ध किन गर्ने, व्रत बस्दाका परम्परागत मान्यता के छन् अनि व्रत बस्दाका फाइदा केकस्ता छन्, संस्कृतिले जीवनमा कस्तो अनुशासन सिकाउँछ, परम्परागत संस्कृति आधुनिक युवापुस्तालाई बुझाउन किन जरुरी छ जस्ता सवालहरूको जवाफ ‘वार्षिक पर्वमाला’मा पाइन्छ। पर्वहरू नेपाली पहिचान हुन्। अरू देशका भन्दा फरक ढुङ्गामाटो भएर हाम्रो देश फरक बनेको होइन।

यहाँ मौलिक अनि जातीय भाषाभाषी छन्, अनेक जातजाति छन्, अनेकौं चाडपर्व छन्, संस्कारसंस्कृतिका अनेकौं संस्करणहरू छन्। यिनै भाषा, जातजाति, चाडपर्व, संस्कारसंस्कृतिको समष्टि रूप नै देश हो, नेपाल हो।

नेपाललाई समृद्ध बनाउनका लागि संस्कारजन्य यस्ता चिजहरूलाई बलियो बनाउनुपर्छ। संस्कार बलियो भयो भने समुदाय अनुशासित बन्छ, समुदायका मानिसहरू सत्कर्ममा लाग्छन्। यस्तै संस्कारजन्य पर्वहरूको श्वेत विश्लेषण ‘वार्षिक पर्वमाला’ पुस्तकमा गरिएको छ। पेसाले अध्यापक र लेखकका रूपमा परिचित पं. हरिहर पोखरेलले मिहिनेतसाथ सरल शैलीमा प्रचलित शास्त्रीय मर्म र मान्यताका साथ तयार पारिएकाले प्रस्तुत पुस्तक सम्बद्ध सबैका लागि बोधगम्य बनको छ। 

प्रकाशित: २१ श्रावण २०७९ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App