११ आश्विन २०७९ मंगलबार
कला

विदेशीलाई लोभ्याउने पाकिस्तानीको आतिथ्य

पाकिस्तान जाने हुटहुटी त मलाई पहिलेदेखि नै थियो। स्कुल पढ्दादेखि नै पाकिस्तानका फोटाहरू हेर्दा नै मनमा उमङ्ग आउँथ्यो। तर जतिसुकै रहर भए तापनि त्यहाँ जाने साइत जुरेको थिएन। अहिले आएर श्रीमान्बाट घुम्न जाने प्रस्ताव आउँदा म त फुरुङ्ग नै भएँ। मेरो श्रीमान् र म गत फेब्रुअरी महिनामा नै दुबई हुँदै पाकिस्तानको क्वेटा सहरमा छ महिनाका पाहुना बन्यौँ।  

पाकिस्तान एक इस्लामिक देश हो, जुन भारतको पश्चिममा अवस्थित छ। यहाँको प्रमुख भाषा उर्दु, पञ्जाबी, सिन्धी, बलुची र पस्तो हुन्। राजधानी इस्लामाबाद र अन्य महत्वपूर्ण सहर कराँची र लाहोर हुन्। जनसङ्ख्या लगभग पूरै मुस्लिम छ। तर त्यहाँ साना ईसाई, हिन्दु, पारसी, बौद्घ र जैन अल्पसङ्ख्यक छन्।  

उत्तरी बलुचिस्तानमा पाकिस्तान–अफगानिस्तान सीमा र कान्दहार जाने बाटोनजिकै अवस्थित क्वेटा दुई देशबीचको व्यापार र सञ्चार केन्द्र हो। निकै अनौठो सहर लाग्यो मलाई क्वेटा। ट्राफिक लाइट नै नदेखिए पनि मुख्य सडकमा गाडीको लर्को पनि थिएन। अर्कोतर्फ, क्वेटा सहरमा पूरै सुख्खा मैदानहरू, खडेरी लागेझैं हरियाली केही थिएन। क्वेटामा चिसो अर्ध–सुख्खा हावापानी छ, जसमा गर्मी र जाडोको तापक्रममा उल्लेखनीय भिन्नता छ। गर्मी मेको अन्त्यतिर सुरु हुन्छ र सेप्टेम्बरको सुरुसम्म जान्छ। हामीलाई इन्फ्रेन्ट्री स्कुलद्वारा स्वागत सम्मानका साथ ब्लु सुइट गेस्ट रुममा राखियो। पाकिस्तानी महिलाहरू बुर्कामा देख्दा मन सिरिङ्ग भयो। गर्मी याममा पनि कालो बुर्कामा आँखा मात्र देखाई हिँडेको देखेँ। मानेँ, हाम्रोभन्दा बेग्लै संस्कृति हो, तर पनि यस्तो देख्दा आश्चर्य र नमिठो दुवै लाग्यो। केही दिनपछि मनमा कौतुहल जागेर पाकिस्तानी भाभीलाई सोधेँ, ‘गाह्रो हुन्न चौबीसै घण्टा बुर्का लगाएर बस्न?’ उहाँले भन्नुभयो, ‘चिनीलाई बिर्को नलगाई राख्यो भने कति कमिला आएर खान्छन्। त्यस्तै एक महिला खुलेआम बाहिर निस्कँदा सबै परपुरुषको नराम्रो कुदृष्टि परेको हुन्छ। जसको कुनै गन्ती छैन।’ उताको जवाफ यस्तो आयो कि म निःशब्द भएँ। यो कुरालाई मध्यनजर राख्ने हो भने सही पनि हो। हाम्रो नेपालमा कुसंस्कार र कुरीति धेरै भित्रिइसकेको छ। नेपाली पहिचानका पहिरन आजभोलि देख्न हम्बे हम्बे भइसक्यो। बाहिरी मुलुकका मानिसहरूलाई बडो आदर सम्मानका साथ माया ममता गर्ने चलन मेटियो। प्रायः महिलाहरू घरबाहिर निस्किएर काम गर्न मनाही रहेछ। आर्थिक अवस्थाले कमजोर भए तापनि सबै महिला घरभित्रै रहेर काम गर्ने र पुरुष जति सबै बाहिरी काम गर्ने रहेछ। हामीलाई खाना भने इन्फ्रेन्ट्री स्कुलले नै उपलब्ध गराएको थियो।  

कुनै पनि समारोह वा कार्यक्रम हुँदा होस् या खाँदाबस्दा होस्, महिला महिला एकातिर पुरुष पुरुष अर्कोतिर बस्ने चलन रहेछ। कस्तो अचम्म छ, पारिवारिक भएर बस्ने भन्ने रहेनछ। राष्ट्रिय पोशाक पुरुष र महिला दुवैका लागि सलवार कमिज हो। दक्षिण एसिया र विशेष गरी पाकिस्तान एवम् भारतमा महिला र पुरुष दुवैले लगाउने परम्परागत पोशाक हो यो। पाकिस्तानमा महिलाले कुर्ता मात्र लगाउँछन्, जति नै ठुलो समारोह किन नहोस्। आफ्नै सांस्कृतिक पहिरन लगाउने चलन रहेछ। हाम्रो जस्तो सारी, लेहेङ्गालगायत अन्य पनि लगाउने चलन छैन। शरीरको कुनै पनि भाग बढी नदेखिने गरी कुर्ता सिलाई गरिएको हुन्छ। महिला महिला र पुरुष पुरुष एक साथ भेट हुँदा असलाम आलेकुम भन्दै अंकमाल गर्ने प्रचलन रहेछ। पाकिस्तानमा पन्ध्रभन्दा बढी प्रमुख जातीय समूहहरू छन्, जुन भौतिक विशेषताहरू, ऐतिहासिक रक्तरेखाहरू, चलनहरू, पोशाक, खाना र सङ्गीतमा भिन्न छन्। यीमध्ये केहीमा पञ्जावी, सिन्धी, बलोच, पस्तुन, कस्मिरी, हजारा, मकरानी र बाल्टीहरू समावेश छन्।  

महिलाहरू धेरै शिक्षित भए तापनि बाहिरी कामका लागि इच्छुक नभएको पाइयो। अल्लाहले दिएको उपहार हो भन्दै बालबच्चाहरू धेरै जन्माएको पनि भेटियो। नेपालको तुलनामा पाकिस्तानको पैसाको मूल्य कम भए तापनि सामानहरू भने धेरै सस्तो भएको पाएँ। नेपालको भन्दा पाकिस्तानीले आफ्नो देश, धर्म, संस्कृति र देशको झण्डालाई माया गरी उच्च स्थानमा राखेको अनि महिलालाई एकदम सम्मान गरेको पाएँ। बाटोघाटो पनि एकदमै राम्रो र व्यवस्थित रहेको पनि पाएँ।  

त्यहाँको बिर्‍यानी निकै चर्चित खाना रहेछ। निकै स्वादिलो पनि पाएँ, तर तेल भने ज्यादै प्रयोग भएको पाइयो। पाकिस्तानीले गाई, गोरु, भैँसीको मासु खाने रहेछन् भने जाँडरक्सी, सुँगुर, बङ्गुर खानु धर्मविरुद्घको पाप रहेछ। हामीले गाई, गोरु, भैँसीको मासु नखाने भएकाले हामीलाई कुखुरा र खसीको मासु उपलब्ध गरेका थिए। हामीले पनि नेपाली खाना दाल, भात, तरकारी, अचार र नेपाली स्वादको मासु बनाएर दिँदा खाना खानै जानेनन्। उनीहरूले सागसब्जी प्रायः नखाने पाइयो। बिर्‍यानी धेरै र रोटी मासु छाकै पिछे खाने चलन पाइयो।  

हामी क्वेटाकै पोलोक्लब गएर हर्सराइडिङ पनि गर्‍यौँ। जहाँ निकै मानिसहरू हर्सराडिङ गर्न आएका थिए। पाकिस्तानमा घोडा निकै प्रख्यात रहेछ। त्यही बेलुका पख कोइटाबाट देखिने सूर्यास्त भने अद्भुत लाग्यो। मन नै प्रफुल्लित भएको थियो।  

भोलिपल्ट हामीहरूलाई इन्फ्रन्ट्री स्कुलले क्यान्टबाहिर लगेर विभिन्न महल, सपिङ सेन्टर, कोइटा सहर पूरै घुमाए। त्यहाँका मानिसहरू जति नै गरिब किन नहोस्, आफ्नो गाडी नभएको कुनै घर नहुने। लवाइखवाइ, बासस्थान सरल साझा भए तापनि नेपालभन्दा धेरै सफा पनि रहेछ।  

मेरो पाइला पाकिस्तानमा परेदेखि नै त्यहाँ रहेका मनमोहक ठाँउहरू, आकर्षक दृश्यहरूले मेरो मन तानिसकेको थियो। झन् स्थानीय बासिन्दाहरूले हामीलाई सहर्ष स्वीकार गर्दै, बाहिरी मुलुकका पाहुना हुन् भन्दै बिछट्टै माया गर्ने, खुलेर बोल्ने र सहयोग गरेको देखेर त म दङ्गै परेँ। पाकिस्तान र त्यहाँका बासिन्दाहरू विदेशी पाहुनामाँझ त्यत्तिकै लोकप्रिय भएका रहेनछन्।  

करिब एक, दुई महिनापछि मे तीनमा त्यहाँको सबैभन्दा ठुलो चाड इद रहेछ। एक महिनाभरि व्रत बसी आफू आफ्नो परिवारलगायत इष्टमित्रका लागि दुवा माग्ने चलन रहेछ। जसरी हामीले दशँैमा नयाँ लुगा लगाई मिठो खाने चलन छ। त्यस्तै त्यहाँ पनि नयाँ पहिरनका साथ मिठो मसिनो खाई गरिबहरूलाई केही सकेको दान दक्षिणा दिने परम्परा रहेछ।  

केही दिनपछि भ्रमणका लागि हामीहरू सबै कोइटाबाट विमानमार्फत इस्लामाबाद गयौं। पाकिस्तानको उत्तरी भागमा रहेको पोथोहार पठारमा राजधानी क्षेत्रभित्र इस्लामाबाद पर्छ। इस्लामाबाद विभिन्न क्षेत्रहरूमा विभाजित एक व्यवस्थित सहर हो। देशको राष्ट्रिय र पहिलो आधिकारिक भाषा उर्दु मुख्यतया जनसङ्ख्याको जातीय मिश्रणका कारण सहरभित्र बोलिन्छ। अग्रेजी दोस्रो आधिकारिक भाषा पनि सामान्य रूपमा बुझिन्छ। इस्लामाबादको होटलमा हाम्रो तीन दिनको बसाइँ थियो। भोलिपल्ट हामी खाना खाएर आर्मी म्युजिएम, फैसल मस्जिद, सपिङ सेन्टर, मोनाल रेस्टुरेन्ट सबै घुम्न पायौं। इस्लामाबादमा अवस्थित फैसल मस्जित दक्षिण एसियाको सबैभन्दा ठुलो मस्जिद र विश्वको चौथो ठुलो मस्जिद हो। इस्लामाबाद हाम्रो नेपालको तराईझैं धेरै गर्मी थियो। त्यति बेलाचाहिँ मलाई नेपालको हावापानीको धेरै याद आएको थियो। इस्लामाबादको बिर्‍यानी त जति प्रशंसा गरे पनि कम हुन्छ। मिठो छुट्टै स्वाद थियो। मलाई त्यो कतिसम्म मिठो लाग्यो भने इस्लामाबादको भ्रमण सकेर मरी जाँदा बाटोमा समेत याद आएको थियो।  

फेरि हामी मरी, नथिया गल्ली यात्रा सुरु गयौं तर सोचेजस्तो सजिलो थिएन। मरी यस्तो ठाउँ हो, जुन नेपाल हेरेपछि केही हेर्नुपर्दैन। जहाँको हावापानी अनि हरियाली सबै नेपालकै जस्तो थियो। त्यहाँको पहाडी बाटोको भू–बनावट निकै तलमाथि भएकाले हाम्रो खुट्टाको बल मात्र नभएर मानसिक बलको पनि परीक्षा भइरहेको थियो।  

तर, यहाँ हामीले प्रकृतिले दिएको अनुपम उपहारको अनुभव पनि गर्‍यौँ। मरीमा बिहानै चार बजे उठेर हेरिएको सूर्योदय म कहिल्यै बिर्सन्नँ। त्यो बेला घामका पहिला किरणहरूले माउन्ट केटुको चुचुरोमा छुँदा मेरो मनमा ठुलै प्रभाव जमाएको थियो।  

यहाँको पहाडी ठाँउहरूमा धेरैले सामान्य खेती गरेको मैले देखेँ। धान, गहुँ, खेती प्रशस्तै देखियो। बाख्रा, पाठा, गाई, गोरु, भैँसी पनि निकै स्थानीयहरूले पालेको भेटेँ। मुख्य सहरबाट यति टाढाको जीवन निकै कठिन देखिन्थ्यो, तर पाहुनालाई अत्यधिक मायाका साथै मिजासिलो बानी र सम्मानको कमी भने थिएन।  

खेवरा नुनखानी पाकिस्तानको पञ्जाव क्षत्रको झेलम जिल्लाको पिन्ड दादन खान तहसिलमा छ। इस्लामाबाद र लाहोरबाट लगभग १६० किलोमिटर टाढामा यो खानी रहेको छ। जुन विश्वको दोस्रो ठुलो नुनखानी हो। ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारले खेवरामा पहाडलाई फोरी पत्ता लगाएर सुरु गरेको नुनखानीको अभैm उत्खनन कार्य भइरहेको छ। यो खानी गुलाबी नुनको उत्पादनका लागि प्रसिद्ध छ, जसलाई प्रायः हिमालयन नुनका रूपमा बजारमा चर्चा गरिन्छ। नुनखानीमा हामीले ऊँट सवारी पनि गर्‍यौ। ऊँट सवारी मेरो जीवनको पहिलो अनुभव हो।  

लाहोर र कराँची अर्को अविस्मरणीय ठाउँ बन्यो। कुनै समय मुख्यतया सिन्धी र बलोचहरू मिलेर बनेको यो सहर अहिले धेरै जातीय समूहहरू मिलेर बनेको रहेछ। कराँची हार्व, एक सुरक्षित र सुन्दर प्राकृतिक बन्दरगाह हो, जसको किनारमा सहर अवस्थित छ। यसलाई कियारी टापु, मनोरा र ओस्टर रक्सले आँधीबाट सुरक्षित राखेको छ। त्यहाँको बाटोघाटो पूर्ण रूपले व्यवस्थित थियो। त्यत्तिको राम्रो त हाम्रो काठमाडौँ पनि थिएन। हाम्रो नेपालमा काम गर्नेभन्दा धेरै खाने हुन्छन् भने पाकिस्तानमा खानेभन्दा धेरै काम गरेको देखेँ। कुनै खोट लगाउने ठाउँ थिएन। गर्मीले सास फेर्न गाह्रो हँुदै थियो। नेपालको स्वच्छ, स्वादिष्ट र आनन्दित हावापानी संसारकै नम्बर एकमा पर्छ होला।  

पाकिस्तानको भ्रमणको अन्त्यतिर हामी आइसकेका थियौँ। त्यहाँको सुन्दरता अनि मानिससँग गाँसिएको मायामोहले गर्दा नेपाल फर्कने मन थिएन। पाकिस्तानले पाहुनाहरूलाई गर्नेजस्तो माया र मान–सम्मान सबै देशमा पाइँदैन। केही हप्ताको बसाइपछि हामी दुबई हँुदै नेपाल फक्र्यौं। नेपाल फर्किसकेपछि पनि मेरो मनमा पाकिस्तान फर्कने हुटहुटी अझै मरेको छैन।

प्रकाशित: २१ श्रावण २०७९ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App