३१ श्रावण २०७९ मंगलबार
कला

नैनतालको मीठो तरङ्ग

नियात्रा

लक्ष्मी उप्रेती

सिरसिर बतासको मायालु स्पर्शले मन उमंगमा नाचिरहेछ। कोमल र स्निग्धताले मनमा कौतुहल नै कौतुहल उब्जदै हराउँदै गर्छ। आनन्दितको यो मोटर यात्रा घरि झ्याल खोलेर यताउता  हेरें  घरि आफूसँग यात्रा गर्ने आफ्नामा गाँसिन्छ। कुनै ठाउँ बिउँझिएको प्रतीत हुने कुनै ठाउँ सुनसान सन्नाटा भिरेको। मन्दमन्द हावाको चालमा वरपरको परिवेश नै नाचिरहेछ प्रकृतिको मधुर धुन बाढेर।

०४५/०४६ सालतिरको कुरा हो। त्यसबेला विराटनगर घर हुनु हुने सिताराम कोइराला र उहाँकी श्रीमती शान्ति कोइराला जागिरको सिलसिलामा महेन्द्रनगरमा हुनुहुन्थ्यो। मसँग सिलाइ सिक्नुहुने शान्ति भाउजूले ‘महेन्द्रनगरबाट नैनीताल नजिकै छ बैनी। नैनीताल एकपटक हेर्नुपर्ने ठाउँ हो। हामी त्यहाँ नै भएको बेला तपाई आउनु अनि त्यहाँ घुम्नुपर्छ है’ भन्नुभएथ्यो।’

उहाँले त्यसो भनेपछि घुम्न रमाउने यो मन उत्सुक थियो तर समयको जटिलता बिच अनेक उल्झन र अप्ठेरा भएकाले त्यसबेला मेरो नैनीतालको सपना अधुरो नै रह्यो।

२०७४ फागुन १३ गते महेन्द्रनगरको साहित्यिक कार्यक्रममा गएकै बेला बल्ल त्यो सपना पूरा हुने भयो। मान्छेले सपना हेर्न छाडेन भने एक दिन पूरा हुने रहेछ भनेर मलाई यस्तै यस्ता कतिपय सन्दर्भले अनुभूत गराएको छ।

फागुन १३ गते गतेको कार्यक्रम भव्यताका साथ सकेका थियौं। १४  गते बिहान ७ बजे महेन्द्रनगरबाट नैनीतालका लागि जीपको बन्दोवस्त भयो। दधिराज सर, मातृका र विवश भाइ, सीता बैनी,  सीताराम गुरुगजी र म गरी ६ जनाको टोली नैनीतालका हिंड्यौं। महाकालीको पानीसँग साक्षात्कार गर्दै अघि बढेको जीप यात्रा आनन्दका अनुभूतहरू छरपस्ट छन् मन-मष्तिष्कमा। चिया खाने पसलहरू नभएको उराठलाग्दो ठाउँको बाटो।

माटो, बालुवाको अलिक धेरै कच्ची अलिक थोरै पक्की बाटो छिचल्दै चिल्लो बाटो, धुलो बाटो र निर्माणाधिन बाटाबाट हामी चढेको जीप एकनासले कुदेको छ। फ्याट्टफुट्ट आउने र जाने साना बहानाहरू पनि कुनै बेला देखापर्छन्। कहीं अलिक जोडले र कहीं हल्का गरी हावाको झोक्का आउँछ बेलाबेला। गाउँलाई छिचोल्दै फसल लागेको खेत, बाँझो खेत औद्योगिक क्षेत्र हुँदै अघि बढेको जीप पहाडी बाटोतिर गति लियो। आफ्नो देशको कुनै दूरदराजको बाटोमा हिंडेको झल्को दिंदै यात्राले तरङ्गित बनाइरयो। बिहान ११ बजेतिर नैनीतालकै परिसरको जीप स्टयाण्डमा पुगेर रोकियो।

भारतको उत्तराखड राज्यको कुमाउगडको एउटा जिल्ला नैनतालको नाममा रहेको रहेछ। प्रकृतिले सुसज्जित यो जिल्ला साँच्चिकै निकै सुन्दर र स्निग्ध रहेछ। समुद्रबाट २०४८ मिटर उचाइमा रहेको यो जिल्ला पर्यटकीयस्थलको रूपमा रहेको देखिन्छ। यहाँको मौसम निकै अनौठो छ। गर्मी नभई बाह्रै महिना ठण्डा भइरहन्छ।

एकै दिन त्यसमा पनि ३/४ घण्टा यात्रामा प्रकृतिको अद्भूत दृश्यको रसास्वादनले मग्न भएको सम्झना गर्दा नै मन आनन्दित बनाउँछ। प्रकृतिको सैन्दर्यको पनि सीमा नहुँदो रहेछ।

यसबेला पेटमा चारो हाल्नु थियो। त्यहाँको परिदृश्यमा एकाकार हुँदै खाना खाने होटल खोजेर एकछिन बरालियौं। आदत से मजबुर नै त होला नि यस्तो हाम्रो बानी। त्यसैले त्यहाँ विभिन्न सरसामान बेच्ने पसलमा पसेर सोधेर नै भए पनि रहर पुर्‍याउन छोडेनौं।

प्रकृतिको सौन्दर्यसँगै ब्रिटिस साम्राज्यवादको अनुपम चेतना र भौतिक संरचनाको पूर्वाधारले शैक्षिक क्षेत्रमा पनि निकै फड्को मारेको यो जिल्ला। भारतीय सिने जगतको सुपरस्टार अमिताभ वच्चनले पनि नैनतालको शैक्षिक संस्थाबाट शिक्षा ग्रहण गरेको कुराले पनि यो स्थान आकर्षित भएको भनाइ सुनिन्छ।

वर्षौदेखि सुन्दरताको ताज पहिरिएर सुरम्य बनेको नैनतालको पानीको संसारका कतिपय श्रृङ्खला अझै पनि रहस्यको खोकिलामा राखेर उद्दीप्त बनेको छ। यसको सृष्टि जहिले र जसरी होस् तर यसलाई अनौठो आयामले भरिएको प्रकृति सौन्दर्यको पर्याय मान्न सकिन्छ। सृष्टिका अनेक सिर्जनालाई यो तालले आफ्नो तुजुक देखाउँदै सुटुक्क निल्ने र छोप्ने कर्म पनि अनगिन्ती भएकै होला। यो जिल्लामा नैनताल विशेष आकर्षणका रूपमा पाइन्छ। यहीं नैनतालले पर्यटकहरूलाई अनेक रंगको छायामा गुटुमुटु पारेर कति कलुषित बनायो होला! कसैलाई पत्तै छैन। यति भएर पनि हरेकलाई स्वागत गर्न हरपल मौन मुस्कुराइरहन्छ नैनतालको निलो दह उदिप्त आकाश बोकेर।

यस ताललाई स्वच्छ र सफा राख्नुपर्छ भन्ने त्यहाँका स्थानीयवासीहरूको मान्यता हुँदाहुँदै पनि सम्भव हुन सकेको पाइएन। विश्वभर आफ्नो पहिचान स्थापित गराउन सफल भएको यो रमणीयस्थलप्रति जो कोही पनि आकर्षित छन्। नदेखिनु र नलेखिनु एउटा कुरा हो तर चेतनाले ठम्याएर पनि यसको स्वरूपलाई केही न केही त बुझ्न सकिन्छ नै। यो जिल्ला पर्यटकीयस्थल मात्र नभई चलचित्रहरू सुटिङ गर्ने थलोको रूपमा पनि उत्तिकै प्रभावशाली मानिन्छ। भारतका चलचित्रहरू बेलाबेलामा सुटिङ भएका प्रदर्शित चलचित्र हेर्दा हामी लोभिन्छौं।

माथिको र तलको ताल भनेर ताललाई दुई भागमा विभाजित गरेको पाइन्छ नैनताललाई। तलको तालमा माछाहरूको विचित्रता मनमोहक रूपमा हेर्न पाइन्छ रे। माथिको तालमा बोटहरूको भिडभाडको मनमोहकता पनि उत्तिकै देखिने अनुभवका अनुभूतिले रोमाञ्चित गराइरहेछ। ताल छेउ खुला मैदानमा कहिलेकाहीं त्यहाँको कला र संस्कृति झल्कने खालका कार्यक्रमहरूको प्रदर्शनमा त्यहींका मानिसहरू स्वतफूर्त लागिपरेको अध्यायनअनुसन्धानले दर्शाउँछ।

कुनै समयमा नैनताललाई पवित्रताको प्रतीकका रूपमा लिएर सूर्यास्तमा यसको छेउछाउ आउन बन्देज समेत लगाइन्थ्यो भन्छन् केही। त्यसबेलाको जस्तो स्निग्धता, सुन्दरता र स्वच्छताबारे यसबेला कल्पना पनि गर्न सकिंदैन भनेर त्यहाँका मानिसहरूले दुखका साथ सुनाउँछन्। यस्तो कुरा सुन्दै गर्दा आफ्नो देशको प्रकृतिको सुरम्य ठाउँको बेथिति सम्झेर नरमाइलो लाग्यो।

२२०० मिटर उचाइमा रहेको सुन्दर पहाडले हरदम नैनताललाई नियालिरहेको भान हुन्छ। पहाडी भेगमा मनोरम बनेर लमतन्न पसारिएको नैनीतालको सुरम्य दृश्य मात्रै हैन स्पर्श समेत अनुभूत गरेको त्यो क्षण रोमाञ्चक थियो। तालमा बोटहरूको विचित्र हाउभाउ झल्कने प्रभावको रमझम। हामी पनि खाना खाएर त्यही रमझममा समयसँग नै समय पैंचो लिएर रमाइलो गर्ने अभिष्ट राख्यौं।

टिकट लिएर दुई वटा बोटमा हामीले नैनीतालको अनुभव गर्‍यौं। नैनतालको रमझममा पर्यटकहरू यसै रमाउने नभई सुन्दरताको महक पिउने तृष्णाको एक प्राप्ति भएको अनुभूत भयो। यसको पानीको दहमा बोटमा सयर गरिरहेको बेला बाहिर परपर हेर्दा अझ प्रकृति खुलेको आभास भयो। बोटको रमाइलोमा पनि पहाडमा तहतह  बनेका साना, अलिअलि ठूला मिलेका घरहरू आँखामा छपक्कै राख्यौं।

फोटोमा कैद भई बोटमा एक फन्को सयर गर्दा नैनीतालमा चलमलाउने पानी स्पर्श गरेर अभिभूत गर्‍यौं। अनि निर्धारित समयमा निर्धारित ठाउँमा ल्याएर चालकले बोट रोकेपछि हामी बाहिरियौं। नैनताल छेउमा श्री माँ नयनदेवीको प्रसिद्ध मन्दिर रहेछ। हामी त्यहाँ पनि रमाउँदै गयौ।

यो मन्दिर शक्तिपीठका रूपमा प्रसिद्ध मानिने रैछ। पौराणिक कथा अनुसार नैनताल र यी शक्ति पीठबारे एउटा जनश्रृति छ, आजभन्दा १००० औं वर्ष पहिला भगवान् शिवले सतिको लास कैलाशमा लिएर जाँदा उनको आँखा त्यहीं तालमा खसेको हुनाले पार्वतीको एउटा नाम नैन भएकाले उनै शक्तिको नामबाट नैनताल राखिएको हो भन्ने भनाइ छ। यो चौरासौं शक्ति पीठमध्येको एउटा शक्तिपीठको रूपमा माँ नैनदेवी मन्दिरलाई मान्दै आएको धारणा छ। जस अनुसार नै नैनदेवीको मन्दिर त्यहीं छेउमा निर्माण भएको भनाइ पनि रहेछ।

गुफा, सुन्दर पार्क, लभर प्वाइन्ट, चिडियाखाना लगायत अन्य हेर्नलायक वस्तुहरू नैनताल जिल्लाका पर्यटकहरूको आकर्षक भएर उपब्धिका रूपमा छरिएका छन्। तिनतिर सात ओटा अग्ला होचा पहाडले घेरेको हरियाली परिवेशका माझामा निकै क्षेत्रफल ओगटेको नैनताल परपरसम्म फैलिएको छ। पहाडी परिवेशको सुन्दरता नबिगारी बनाएका यहाँका भवन, स्कुल र सरकारी कार्यालय, होटल, रिसर्टहरूको सुन्दर व्यवस्थापनले नैनताल निकै आकर्षित देखिन्छ। पहाडको हरियाली छायाले उक्त तालको पानीमा लहरिंदै रमरम टल्किएको हरित नैनतालको सुन्दरता सुरम्य बनेको छ।

नैनातालको खोज बारेको ऐतिहासिक सन्दर्भ पनि रोचकलाग्दो छ। इसं १८४१ मा एउटा ब्रिटिस व्यापारीको सोच र खोजबाट नैनतालको नाम यो ठाउँ प्रादुर्भाव भयो भन्ने ऐतिहासिक सन्दर्भ पनि रहेको पाइन्छ। १८६० मा जब व्रिटिस सरकारले भारतमा आधिपत्य जमाए तब ब्रिटिस नागरिकहरूको वर्चस्व कायम हुँदै गयो।

नैनताल प्राकृतिक रूपमा मनोरम त छँदै थियो त्यसमा ब्रिटिसहरूको योजना र चेतनाबाट निर्मित पूर्वाधार विकासका कारण सानो इङलेन्ड भनेर शासकहरू मुग्ध हुन्थे रे। त्यहीं सन्दर्भमा समयको फाइदा लिंदै ब्रिटिसहरूले भारतीय श्रमिकहरूलाई निकै कम परिश्रममा केही सुन्दर चर्चहरू, शैक्षिक संस्थानहरू, सडकहरू र सुविधा सम्पन्न भवनहरूको निर्माण गर्न लगाए भन्ने पनि सुनिन्छ। तर, यो कतिको साँच्चो हो, अध्यायनअनुसन्धानबाट मात्र निक्र्योल गर्न सकिएला।

नैनताल आफ्नो देशमा नभए पनि आफ्नै देशको जस्तो पहाडी परिवेश साना-साना डाँडा र उकाली-ओरालीको सुन्दरताले भरिएको मनेरमस्थल। एकैछिनको स्पर्श र एकै सर्गको अनुभवले त्यहाँका कतिकति कुराहरू अनुभूति हुनुमा नैनतालको आकर्षण नै भन्नुपर्छ। तहतह परेका पहाडी परिवेश तलदेखि माथिमाथिसम्म तहतह पारेर बनाएका मिलेका घरका मनोरम दृश्यमा नेपालीपन झल्कने सुन्दर कलेवर। घना वस्ती बिच ठाउँमा बाक्लै साना र ठूला रूखहरू माझमा सफा चट्ट मिलेको, कहीं नागबेली र कहीं सिधा बाटो हरियाली वातावरणको अनुपम ठाउँ देखेर कहिलेकाहीं सपनामा देख्ने गरेको दृश्यको सम्झना आयो।

पानीले भरिएको नैनताल देख्नुको बाहिरी आकर्षण जति सुसज्जित छ त्यति नै यसको गहिराइको रहस्य बुझिनसक्नु छ भन्ने लाग्छ। कतिका इच्छा  नभएर होस् वा भएर नै होस् कति पथिकहरूलाई यो तालले पचायो होला। कतिलाई छाडिदियो होला। अहँ, केही लेखाजोखा नै छैन्।

बोटको आनन्द लिएर शक्तिपीठ र अन्य सन्दर्भका केही रहर मनमा अटाएर आँखामा राख्यौं। छेउका पसलहरूमा एकछिन बरालियौं। हरेक सरसमान निकै महँगो भएकाले किन्नतिर लागेनौ।

सूर्य कोल्टे परिसकेको थियो। हामी फर्किने तर्खरमा लाग्यौं। भारत सरकारले तोकेको समयभन्दा अबेला भइयो भने अड्किने परिस्थिति हुन सक्ने कुरा थाहा पाएकाले हामी हतारियौं अनि गन्तव्य पुग्न हामी खुसुक्क जीप चढ्यौं।

यात्रा साँच्चिकै सुखद्, सुरम्य र सुन्दर भयो भने त्यो मनमा सधैं अमिट छाप बनी मनमस्तिष्कमा कोरिंदो रैछ। रातको अँध्यारोले घेरिसकेको थियो महेन्द्रनगर बस्ने ठाउँमा आइपुग्दा। हिजोको कार्यक्रम र आजको यात्राको रमाइलोमा हामी हर्षित भएको क्षण सम्झनामा तरङ्गित भएर मनमा छाइरहेको छ।

यात्रा जीवन बँचाइको गति हो। यही गतिमा अघि बढ्नुपर्छ। यात्रामा कहिले थाक्नु हुन्न। यात्रामा उज्यालो मात्र हैन अँध्यारो पनि सँगसँगै हुन्छ। सबै परिस्थितिलाई मन पराउनुपर्छ। भोलिलाई याद दिने समय अँध्यारो नै त हो नि।

प्रकाशित: २० श्रावण २०७९ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App