११ आश्विन २०७९ मंगलबार
कला

मर्म

लघुकथा

कार्यालयमा हाकिम भएकोमा फुरुङ्ङ थियो युसधन।

उसको जिब्रोले कैयौं चोटि स्वाद फेर्‍यो। प्रकिया मिलाउने निहुँमा धेरै बाघ र हात्ती खुसुक्क उसको झोलाभित्र पस्दै गए। यही क्रममा उसले अढाई/तीन वर्षमै तीन/चार पुस्तालाई पुग्ने सम्पत्ति कुम्लायो। तैपनि उसको मन शान्त भएन। ऊ अकासिंदै गयो।

धेरै कर्मचारीले ‘क्षमता भएर मात्र केही नहुने रहेछ। ठाउँमा आफन्त नभए केही सीप नचल्ने रै छ’ भन्ने तिक्तता महसुस गरिरहेका थिए। यसकै मारमा नुनको सोझो गर्ने कर्मशोभा पनि परिन्।

स्टाफ जेशिकाले युसधनलाई अनुरोध गर्दै थिइन्, ‘त्यस्तो केही हैन सर। कर्मशोभा गर्भवती थिइन्। पेटमा अचानक समस्या देखिएकाले अस्पताल गएकी रे। दुर्भाग्य, पेटमै बच्चा पनि खेर गएछ। यसैले केही दिन अनुपस्थित भइन्। मान्छेले मान्छको मर्म बुझ्न सके राम्रो हुन्छ। उनलाई थमौती गरौं न सर!’

हाकिम कर्मशोभाप्रति सकारात्मक भएनन्। ओरालो लागेको मृगलाई सबैले खेद्छन् भनेझैं उनी खेदिइरहिन् र जागिरे जीवनबाट हात धुन विवश भइन्।

एकदिन पत्रिकामा प्रकाशित समाचारले कर्मशोभाको ध्यान तान्यो। त्यसमा लेखिएको थियो-स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको आरोपमा युसधन अख्तियारको फन्दामा।

त्यसपछि कर्मशोभाले लामो सास फेरिन्। उनको मन बैचैन भयो। उनी केही फलफूल र आवश्यक सामान बोकेर जेल पुगिन्।

एक्कासि कर्मशोभालाई देखेर छक्क पर्दै युसधनले भने, ‘अरे तपाईं?’

युसधनको विरक्त अनुहारतिर हेर्दै कर्मशोभाले भनिन्,‘आश्चर्य नमान्नू सर, म मान्छेको मर्म बुझ्छु नि।’  

प्रकाशित: १९ श्रावण २०७९ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App