coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डा. पुष्करराज भट्टका दुई लघुकथा

लघुकथा

डा. पुष्करराज भट्ट

१) कारोबार

‘जग्गा नापी गराउनुपर्ने छ। नयाँ लालपुर्जा बनाइरहेका छन् सबले।’ बिहान खाना खाने बेलामा बुवाले भन्नुभयो।

‘हो त नि, लालपुर्जा त बनाउनु परिहाल्यो। नबनाएपछि गाह्रो होला। छिट्टै काम थाल्नुपर्‍यो।’ यस विषयमा आमाले पनि जोड थियो।

कार्यालयमा खासै भीड थिएन। ‘भ्रष्टाचारमुक्त क्षेत्र’ लेखिएको बोर्डले मुसुक्क मुस्कान छर्दै स्वागत गर्‍यो। हाकिम साबकहाँ जादाँ सम्बन्धित शाखामा जान भनियो।

‘के काम थियो होला?’ अल्छीलाग्दो पारामा एक भारी रकम पहलमान कर्मचारीले मतिर नजर घुमाउँदै भन्यो।

‘जग्गा नापी गराउनुपर्ने थियो।’ मैले अनुरोधात्मक भाषा प्रयोग गरें।

‘अँ...अँ...(छाती तन्काउँदै, हाइ काढ्दै) आजभोलि त धेरै कामको चाप छ। यसो गर्नुस् न,  तपाईं मलाई एक हप्तापछि भेटनुस्।’ उही कर्मचारीले आदेश दियो।

हप्ता दिनपछि सोही फाँटमा गएँ। एउटा दुब्लोपातलो खान नपाएजस्तो मरन्च्याँसे कर्मचारी विराजमान थियो।

‘मेरो जग्गा नापी गराउनु थियो। म दश दिनअघि आउँदा आज आउन भनिएको थियो।’ मैले डराईडराई आफ्नो कुरा राखें।

मान्छे सुके भए पनि आवाज भने धोद्रे थियो त्यस मानिसको। ‘ए त्यसो पो...मलाई त केही थाहा भएन। कसैले केही पनि भनेन। अब यतिका दिन दु:ख गरिहाल्नुभयो। अब एक हप्ता पछि आउनुस् न।’

निराश भएर त्यहाँबाट फर्कें। कार्यालय नजिकको चिया पसलमा चिया पिउन भनेर पसें। त्यहाँ त अघिल्लो दिन भेटिएको मोटे कर्मचारी र एकजना मानिस बसेर चिया पिउँदै गफ गरिरहेका थिए। म छेलिएर बसे पनि उनीहरूको गतिविधि नियालिरहेको थिएँ।

‘मेरो काम हुन्छ त हजुर।’ त्यो मानिस याचना गर्दै थियो। दस्तुर ल्याउनुभएको छ।’ कर्मचारी बोल्यो।

‘छ हजुर, यी लिनुहोस्’ यति भन्दै टेबुलमुनिबाट पैसा दियो।

‘ठीक छ, भोलि बिहान मलाई पर्खिराख्नुहोस्। म बिहानै झिसमिसेमा तपाईंकहाँ हाजिर।’ उसको अनुहारमा प्रसन्नता देखियो।

उसको अनुहारको प्रसन्नतासँगै मेरो अनुहारको भाव भने बिस्तारै परिवर्तन हुनथाल्यो।

२) जालो

हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल गर्‍यौं अर्थात स्नात्तकोतर पास। बाँकी थियो शोधपत्र निर्माणको कार्य।

‘बाबुआमाले जति गर्नुपर्ने गरिसके। अब कामको खोजीमा लाग्नुपर्छ।’ हामी दुवै साथीको सहमति बन्यो।

‘शोधपत्रको काम बाँकी नै छ। यो त पूरा गर्नुपर्छ।’ म आँटेको काम पूरा गर्नुपर्ने मानसिकतामा थिएँ।

‘कुनै न कुनै उपाय त गर्नुपर्ला। त्यतिका लागि खाली बस्न मसँग समय छैन।’ यति भन्दै ऊ लाग्यो घरतिर।

चार महिनापछि भेट भयो। ऊ केही चिन्तित थियो। मैले आफ्नो शोधपत्रको काम पूरा गरिसकेको थिएँ।

‘मैले शोधपत्र पूरा गर्न सकेन। के गर्ने होला...। अब सरसँग बुझ्छु।’ यति भन्दै ऊ निस्कियो। यसपालि भने ऊ केही गम्भीर थियो।

साँझ डेरामा आयो। यतिखेर उसको अनुहारमा प्रसन्नता झल्किरहेको थियो। ‘मेरो समस्या हल भयो नि।’ उसले रहस्योघाटन गर्‍यो।

‘यति चाँडो कसरी?’ ममा उत्सुकता बढ्दै गयो।

‘गुरुले एक कम्प्यूटर पसलको ठेगाना दिनुभयो। म त्यहाँ पुगें। २० हजारमा कुरा तय भयो। सबै सेटिङ मिलेको हुन्छ। एकैचोटि अन्तर्वार्ता दिन आए पुग्ने।’ उसले एकैसासमा सबै कुरा सिध्यायो।

‘अनि तिम्रो प्राज्ञिक स्तर...बौद्धिकता....ज्ञान.....यही हो त?’ ममा खुलदुली मच्चियो।

‘हामीले कुनै ठूलो पदमा पुग्नु छैन र ठूलो अनुसन्धान पनि गर्नुु छैन। सानोतिनो जागीर जोगाउन सर्टिफिकेट चाहिने हो। अनि यहाँ कसले कसरी पास गर्‍यो, कसले हेर्ने हो र? एनि हाउ अघि आऊ। अहिलेको समयको सत्य नै यही हो।’ ऊ बोल्दै गयो।  

प्रकाशित: १९ श्रावण २०७९ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App