३१ श्रावण २०७९ मंगलबार
कला

के गर्दा प्रेम बाँच्दो रहेछ!

लघुकथा

कमला घिमिरे

उन्नाइस बर्से शुभारम्भ र सोह्र बर्से उज्ज्वला गहिरो प्रेममा चुर्लुम्म डुबेका थिए। उनीहरू प्रेम विवाह गर्ने सोचमा थिए। तर, दुवै घरपरिवारहरूले केही समय उनीहरूको बिहे रोक्न र शैक्षिक स्तर उकास्न  भरमग्दुर प्रयास गरे।

उनीहरूको बैंसालु जोश र चाहना अकासिंदै थियो। त्यसैले उनीहरूले जस्तोसुकै समस्या आइपरे पनि आफ्नो लक्ष्यमा हिंडिरहने प्रण गरे।

शुभारम्भ उत्साही हुँदै भन्थे, ‘यिनीहरू सबै हाम्रा शत्रु हुन्। माया त मैले तिमीलाई र तिमीले मलाई गर्ने हो। अरू सबै झूट हुन्।’

उज्ज्वला फुरुङ्ङ पर्दै भन्थिन्, ‘हामीले उहाँहरू कसैको कुरा नसुनौै। हामी भागी बिहे गरौं। पछि स्वीकार्न कर लागिहाल्छ।’

नभन्दै उनीहरू बाटो लागे र आफन्तले नभेट्ने ठाउँमा बस्न थाले।

कामको नाउँमा कहिल्यै सिन्को नभाँच्ने र घरपरिवार कसैको मतलब नगर्ने उनीहरूलाई  बल्ल थाहा भयो, भोक लागेपछि खाना आफैं पाक्ने रहेनछ। मैलिएपछि लुगा धुनुपर्ने रहेछ। फोहोर भएपछि कोठा आफैं सफा गर्नुपर्ने रहेछ।

ती काममा उनीहरूले  एक अर्काका मुख ताक्न थाले। असमझदारी झ्यागिंदै गयो र दिनहुँ झगडा हुन थाल्यो।

उज्ज्वलाले बिस्मात पोख्दै भनिन्, ‘मेरा बाबआमाले जस्तो माया तिमीले मलाई कहाँ गर्दो रहेछौ र!’

शुभारम्भले भने, ‘उज्ज्वला, बेलामा बुद्धि पुर्‍याइएन। यस्तो दुख पाइएला भन्ने मैले कहिल्यै सोचेको थिइनँ।’

उज्ज्वलाले आँखाको आँसु पुछ्दै सोधिन्, ‘भन न शुभारम्भ, के गर्दा प्रेम बाँच्दो रहेछ!’

प्रकाशित: १३ श्रावण २०७९ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App