१६ चैत्र २०८० शुक्रबार
कला

लीलाध्वज थापाको जन्मजयन्ती: एकैसाथ तीन कृति विमोचन

साहित्यकार लीलाध्वज थापाको १०२औं जन्मजयन्तीको अवसरमा तीन कृति एकैसाथ विमोचन गरिएको छ। साहित्यकार थापाको  जन्मजयन्तीको अवसर पारेर 'लीलाध्वज थापा साहित्य प्रतिष्ठान'को आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा साहित्यकार तथा पत्रकार विके पाल्पालीको ‘लीलाध्वज थापा जीवनीकाव्य’, सरिता केसीको ‘विजयध्वज थापा व्यक्ति र कृति’ र विजयध्वज थापाको मुक्तकसंग्रह ‘रहस्य गहिरो छ’ एकसाथ विमोचन गरिएको हाे।

साेही विमोचन कार्यक्रममा साहित्यकारहरू-प्रा.गोपीकृष्ण शर्मा र साहित्यकार एवं पत्रकार विके पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराईलाई सम्मान गरिएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङको प्रमुख आतिथ्य एवं साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा विशेष अतिथि जगतप्रसाद उपाध्याय प्राडा भागवत ढकाल, नारी साहित्य प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद दाहाल, पुरस्कृत व्यक्तित्व तथा कृतिबारे प्रमुख वक्ताका रूपमा ज्ञाननिष्ठ ज्ञवाली तथा डा. रामप्रसाद ज्ञवाली, पूर्व राजदूत मधुवन पौडेल तथा समालोचक सरिता केसीको आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

प्रमुख अतिथिले साहित्यकार लीलाध्वज कार्कीको तस्वीरमा माल्यार्पण गरी थालिएको उक्त कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्यका क्रममा बोल्दै अग्रजहरूको सम्मान गर्दै नवोदित एवं सिद्धहस्त लेखकहरूको हौसला बढाउनु नै प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको बताएका छन्। कार्यक्रमा पुरस्कृत प्रा. गोपीकृष्ण शर्मा र साहित्यकार एवं पत्रकार विके पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराईलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र,माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

पुरस्कृत व्यक्तित्व प्रा. गोपीकृष्ण शर्माले आफ्नो निरन्तर कर्म गर्दै गएको कुरालाई निर्णायक समितिले उचित मूल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै थप योगदानको जिम्मेवारी महसुस गरेको बताएका छन्। कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै ज्ञाननिष्ठ ज्ञवालीले काव्यात्मक लेखनका माध्यमले कुनै विशेष व्यक्तिबारे लेखिएका कृतिमा जीवनी समेट्नु विशेष कला हो जसमा विके पाल्पाली अब्बल सावित भएका छन् भन्दै असल सन्ततिले आफ्ना पूर्वजको असल कर्मलाई जनमनमा जीवन्त तुल्याउनु साँचो अर्थमा मोक्षको बाटो पहिल्याउनु हो, जसमा विजयध्वज थापा सफल भएको बताए।

कार्यक्रममा सुशिला नेपालले लीलाध्वज थापा जीवनी काव्यबाट ५ श्लोक कविता वाचन गरेकी थिइन्। कार्यक्रममा विमोचित कृतिबारे बोल्दै प्राडा भागवत ढकालले अनुभूतिलाई सिर्जनात्मक रूपमा पस्किदै जीवनका संघर्षका कथाले मानवीय समवेदनालाई चिमोट्ने विचार व्यक्त गरेका छन्।

सरिता केसीको विजयध्वज थापा व्यक्ति र कृति मार्फत समग्रतामा सर्जक विजयध्वजलाई स्पष्ट रूपमा चिन्न सहज हुने बताउँदै डा. ढकालले नेपाली साहित्यमा मुक्तक सर्वप्रिय र रुचिको विधा हो। सर्जकले आफ्नो अक्षरको खेतीमा उच्च शिल्पको प्रयोगले पाठकलाई सुरुचिपूर्ण रूपमा प्रस्तुत गरेकोमा सन्तोष व्यक्त गरेका छन्।

यसैक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले परस्परको भावनाले अघि बढ्नुपर्ने बताउँदै यस्ता साहित्यिक कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिकाको निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभावकारी योगदानको अपेक्षा रहेको बताएका छन्। कार्यक्रम यादव भट्टराईले भव्य रूपमा चलाएको थिए।

प्रकाशित: १८ असार २०७९ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App