१२ असार २०७९ आइतबार
कला

विश्वासघात

लघुकथा

शान्ता तिम्सिना

नानीबाबु पढाउन भनी शहरमा डेरा बस्दै आएकी कमलाको  विमलासँग  सामिप्य बढ्दै गएको थियो।

कमलाले एक दिन घुम्न जाने अनुरोध गरेकी थिई। श्रीमानले सपिङको लागि पैसा पठाइदिएको भन्दै साथी विमलाको लागि पनि सपिङ गरिदिएर मन जितेकी थिई। महँगो रेस्टुरेन्टमा लगेर खाजा खुवाउने विमलाले  स्वतन्त्र रूपमा गरेको खर्च हेर्दा उसलाई लाग्थ्यो, ‘उसको  त  जीवनमा सुखै सुख छ। श्रीमानले टन्नै कमाएर पठाएका छन्।’

उसको लवाइखवाइले पनि उसमा केही कुराको अपुग छैन भन्ने देखाउँथ्यो। कमलाका छोराछोरीलाई पनि के आवश्यकता छ- कपडा, कपी र किताब  मात्र होइन,उनीहरू के खान मन पराउँछन्, सधैं ल्याइदिने गर्थी उसले। सँगै हुँदा कमलाले जस्तो सामान किने पनि  विमलाले नै पैसा तिरिहाल्थी।

एकदिन विमलाले भनी,‘अबको एक महिनामा श्रीमान् आउँदै हुनुहुन्छ। उहाँ आएपछि घर बनाउने कुरा छ। घडेरी बैना गरेकी थिएँ। भोलि नै जग्गा पास नगरी नहुने भयो। तिम्रो घर बनाउन राखेको पैसा मलाई एक महिनालाई देऊ ल! श्रीमान् आएपछि म केही थपेर दिन्छु नि।’

मिल्ने साथीको आग्रह टार्न सकिन् उसले। श्रीमानले  तिन वर्ष विदेश बस्दा कमाएको केही पैसा जम्मा थियो। दुई महिनापछि श्रीमान् आएर सानोतिनो घर बनाएर बस्ने सोचमा थिए उनीहरू।

–तिम्रो श्रीमानलाई नसोधे पनि हुन्छ। उहाँ आउनुअघि नै मेरो श्रीमान् आउनुहुन्छ।

उनले पनि सोचिन्, ‘बुढालाई सोधौं भने पर्दैन भन्नुहोला। फेरि साथीको काम रोकिन्छ। उहाँ आउँदा  साथीले दिइहाल्छे। थाहा नै पाउँदैनन्।’

उनले श्रीमानलाई नसोधी बैंकबाट रकम झिकेर दिइन्।

महिना बित्यो तर उनको श्रीमान् आएनन्। उनले भनिन्,‘अब दुई महिना आउन मिलेन रे!’ आएपछि तुरुन्तै दिइहाल्छु भन्दै आश्वासनचाहिं दिइरही।

एकदिन विमलाको घरमा बिहानैदेखि ताल्चा लगाएको देखेर फोन गरिन्। फोन स्विच अफ थियो। उसको कहीं अत्तोपत्तो थिएन।

प्रकाशित: १० असार २०७९ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App