१२ असार २०७९ आइतबार
कला

मिठो लात

लघुकथा

ढाकामोहन बराल

रुकु कोठामा एक्लै बसिरहेकी थिइन्। बाहिरबाट घरबेटी हाकुमाया दिदीले बोलाउनुभयो। ढोका खोलेर हेरिन्।

‘आज साट गटे भएर ल्यायो भाइ खोई?’दिदीले सोध्नुभयो।

‘बिहानै काममा जानुभएको छ दिदी। यसपटक पैसा पाउन ढिलो भयो, त्यसैले हो। भरे पैसा ल्याउनुहुन्छ अनि पुग्न दिऊँला नि दिदी हुन्न र?’ रुकुले भनिन्।

‘ठिक छ,ठिक छ। भुलेर ल्यायो कि भनेर’ भन्दै हाकुमाया दिदी माथि जानुभयो।

रुकु मनमा कुरा खेलाउन थालिन्, ‘बिचरा राकेश कति दुःख गर्छ। आफ्नो यस्तो अवस्था छ। केही गर्न सक्दिनँ। एकजनाको कमाइ के खानु, के घरभाडा तिर्नु!’

उनको संसार भनेको नै राकेशले जता लैजान्छ उतै रहेको छ। फर्केर जन्मघर जान सधैंका लागि ढोका बन्द भइसकेको छ।

राकेशलाई पनि गाउँ छ भनेर फर्कनु केही छैन। बर्जूको खोरबारीको छेउमा बनाएको छाप्रामा बसेर हलो जोत्ने बाबुको मृत्यु भएपछि उसको गाउँमा बसाइको औचित्य नै सकियो। आमा रोगाएर पहिला नै बितिसकेकी थिइन्।

निम्न वर्गका लागि काठमाडौंको ठाउँमा बसाइ कष्टपूर्ण हुन्छ। सुखपूर्ण जिन्दगी र प्रेममध्ये प्रेम रोजिन् उनले। राकेशको इमानदारी र मेहनतले असाध्य प्रभाव पारेको थियो रुकुलाई। उसैकी आमाले आफ्नो भोटोचोलो गरेकी हुन् भनेर रुकुकी आमाले भन्ने गरे पनि पिरतीले जातभात भनेन। एक लात कसेर हिर्कायो। उनी एक्लै मुसुक्क मुस्काइन्। रमाइलो लाग्यो। एकछिनका लागि सबै दुःख बिर्सिन्। लात अरू कसैको होइन उनीहरूको प्रेमको प्रतीक भावी सन्तानको थियो।

प्रकाशित: १० असार २०७९ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App