१२ असार २०७९ आइतबार
कला

मेरी चेली प्रतिमा

कथा

हरिप्रसाद भण्डारी

मलाई एउटा कथा लेख्नु थियो र म त्यसैका खोजीमा हिंडिरहेको थिएँ। मलाई थाहा थियो, मैले खोजेको कथा कुनै बगैंचा वा नदीका किनारमा भेटिंदैन भन्ने कुरा, त्यसैले म गाउँ, शहर र गल्लीहरूमा घुम्दै थिएँ कथा खोज्न।

कथा खोज्दै हिंडिरहेको मैले एक दिन उनलाई भेटें, एउटा साहित्यिक कार्यक्रममा। त्यो दिन उनले मैले वाचन गरेको कविता निकै राम्रो भएको भनेर प्रशंसा गरेकी थिइन् र उक्त कविताको प्रतिलिपि समेत मागेकी थिइन्।

‘कस्तो राम्रो समसामयिक र प्रगतिशील कविता! यस्तो राम्रो कविता लेख्ने मान्छेले किन आफूलाई कथामा मात्र सीमित राख्नुभएको? कथा र कविता दुवै विधामा समान रूपमा कलम चलाउनु भए राम्रो हुन्थ्यो नि।’

मैले उनलाई त्यसअघि देखेको थिइन। उनी मेरा लागि अपरिचित थिइन तर वर्षौदेखि मसँग परिचित भएजस्तै व्यवहार गरिरहेकी थिइन्।

‘तपाईका थुप्रै कथा पढेकी छु मैले। महान् उद्देश्य बोकेका र यथार्थमा आधारित हुन्छन् तपाईका कथाहरू। नेपाली समाजको राम्रो चित्रण पाइन्छ तपाईका कथामा। गरिबी, अशिक्षा, अन्धविश्वास आदिको बारेमा लेखिएका कथाहरूमा यी कमजोरीहरूबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने कुराको सन्देश पनि उल्लेख भएको हुन्छ।’

उनले थुप्रै कुरा गरिसक्दा पनि उनी को हुन् भन्नेबारे मैले ठम्याउन सकिरहेको थिइनँ। मेरा बारेमा त्यति धेरै जानकारी भएकी युवतीसँग परिचय माग्न पनि सहज थिएन। मैले असहज महसुस गरेको थिएँ। उनका कुरा सुन्नुबाहेक अर्को उपाय पाएको थिइनँ। केहीबेर उनका कुरा सुनेपछि ठूलै आँट बटुलेर र आफू हिजोआज अलि भुलक्कड भएको बताएर उनको परिचय मागेको थिएँ।

‘तपाईले मेरो परिचय माग्नुहुन्छ भन्ने कुरा मलाई पहिलेदेखि नै थाहा थियो। मैले एउटा पाठकको नाताले तपाईंलाई चिने पनि तपाईंले मलाई चिन्नु हुन्न भन्ने कुरा मलाई थाहा थियो। तपाई र मेरो यसरी भेटघाट तथा प्रत्यक्ष कुराकानी भएकै थिएन। त्यसैले तपाईंले मलाई चिन्ने कुरा पनि भएन। फेरि सबै लेखकले आफ्ना सबै पाठकलाई चिन्न पनि सम्भब हुँदैन।’

त्यसपछि मलाई अलि सहज महसुस भयो। तैपनि केही बोलिनँ। हार्दिकतापूर्वक उनका कुराहरू सुनिरहें।

उनी नजिकै थिइन्। सामान्य हेराइमा मैले अनुमान लगाएँ, उनी बीसदेखि पच्चिसको बिचकी थिइन्। हँसिली, रसिली र फरासिली। उनको अनुहार औसत महिलाहरूको जत्तिकै सुन्दर थियो। उनले लगाएका लुगा सामान्य थिए र त्यति धेरै मेकअप पनि गरेकी थिइनन्।

‘प्रतिमा भन्छन् मलाई। बाबुआमाकी कान्छी छोरी भएकी हुनाले माया गरेर घरमा बाआमाले कान्छी भनेर पनि बोलाउनुहुन्छ तर खास नाम मेरो प्रतिमा नै हो। स्कूल, कलेज, टोलछिमेक र साथीहरूका बिचमा यही नामले परिचित छु। तपाई जस्तो साहित्यकार वा कुनै कम्युनिष्ट पार्टीको नेता वा कार्यकर्ता भएकी भए कुनै साहित्यिक वा टेक नाम पनि हुन्थ्यो होला! तर, त्यस्तो भएन, त्यसैले एउटा मात्रै नाममा चित्त बुझाएर बसेकी छु। बरु तपाईका कति वटा नाम छन् कुन्नि। भन्न मिल्ने भए सुनौं क्यार। दुईचार वटा त अवश्य होलान्, राजनीति र साहित्य दुवै क्षेत्रमा काम गर्ने हुनाले।’

उनको कुरा सुनेर म झस्केको थिएँ। राजनीतिक वातावरण सहज थिएन। देशको शासनसत्ता निरंकुश हुँदै गइरहेको थियो। निरंकुश शासन ढाल्नुपर्छ भन्दै राजनैतिक दलहरूको नेतृत्वमा जनआन्दोलन चलिरहेको थियो। सत्ताधारीहरूले आन्दोलन दबाउन अनेकौं प्रयत्न गरिरहेका थिए। मजस्ता कतिपय नागरिकहरूलाई गिरफ्तार गर्ने र थुन्ने काम पनि भइरहेको थियो। त्यस्तो अवस्थामा म पनि निकै सतर्क थिएँ र बडो सतर्क भएर काम गरिरहेको थिएँ। त्यसैले अपरिचित युवतीका सामु मैले आफ्नो राजनैतिक परिचय दिन मनासिब ठानिनँ।

‘बोल्नु भएन नि? कि मेरो विश्वास लागेन?’उनले भनिन्।

‘त्यस्तो होइन। मेरो यै एउटा मात्रै नाम छ। धेरै नाउ राख्ने रुचि छैन मेरो।’मुस्कुराउन प्रयत्न गर्दै मैले भनें।

उनले मेरा कुरा पत्याइन् कि पत्याइनन् थाहा भएन। तर, आफ्नो अभिव्यक्ति जारी राखिन्।

‘मलाई साहित्यप्रति औधी रुचि छ। साहित्य सिर्जना गर्ने तीव्र चाहना पनि छ। अलिअलि त लेखेकी पनि छु तर राम्रो गाइड नपाएका कारण पछि परेकी छु। हजुरको बसाइ कता छ कुन्नि, यदि समय मिल्ने भए हप्ता पन्ध्र दिनमा एकाध घण्टा साहित्य सिर्जना गर्न सिक्ने गरी कोठामै आउने थिएँ।’

२०/२२ वर्षकी युवती, हँसिलो स्वभाव, एकैचोटि कोठामा आउने प्रस्ताव! मलाई अचम्म लाग्नु स्वभाविकै थियो। मैले झट्ट अर्चनालाई सम्झिएँ। उनी अलि शंकालु छन्। कोही अपरिचित केटीसँग हाँसेबोलेको निको मान्दिनन्। कति सम्झाएँ तर अझै गाउँले पारा हराएको छैन। त्यसमाथि यिनलाई घरमा बोलाउँदा के भन्लिन् उनले।

यस्तै भावनाहरू आए मनमा। मलाई निकै असजिलो भयो। एउटी सिकारु युवतीले साहित्यसम्बन्धी मार्गदर्शनका लागि गरेको अनुरोधलाई सिधै अस्वीकार्न पनि गाह्रो भयो। त्यसपछि मनमनै विचार गरें, ‘म आफू इमानदार भएपछि के नै पो फरक पर्छ र? अर्चनालाई पहिले नै जानकारी गराउँला नि बरु।’

पहिलो दिन मेरो घरमा आउँदा उनी मेरो सानो र सुन्दर पुस्तकालय देखेर दङ्ग परेकी थिइन्। ‘राजनीति र साहित्यका किताब बराबर रहेछन् हगि?’ मतिर हेर्दै भनेकी थिइन्।

उनको जिज्ञासा मेटाउँदै मैले भनेको थिएँ, ‘हुन त साहित्य र राजनीति अलग हुनुपर्छ भनिन्छ तर मेरा विचारमा देशको राजनीति, समाज, संस्कृति, धर्म आदि कुरा राम्ररी नबुझेसम्म राम्रो साहित्य सिर्जना गर्न सकिंदैन। त्यसैले हरेक साहित्यकारले यी सबै विषयवस्तुको राम्ररी अध्ययन गर्नुपर्छ भन्ने धारणा छ मेरो।’

पहिलो दिनको करीब डेढ/दुई घण्टाको बसाइमा साहित्यिक र समसामयिक विषयमा चर्चापरिचर्चा गरेका थियौं हामीले। माया गरेर अर्चनाले चिया र खाजा पनि खुवाएकी थिइन्। सुरुमा मैले विभिन्न शंका–उपशंका गरे पनि प्रतिमाको बोलीचाली र व्यवहार देखेर अर्चना पनि प्रभावित भएकी थिइन्।

‘कस्ती राम्री केटी! केही सिकुँ, केही जानु भन्ने जिज्ञासा बोकेकी।’ उनी गएपछि अर्चनाले भनेकी थिइन्।

आन्दोलन चर्कदै थियो।

‘आज फलाना ठाउँमा जुलुस, प्रहरीद्वारा लाठीचार्ज, यति घाइते, यति गिरफ्तार।’ सञ्चार माध्यमहरूले नियमित रूपमा समाचार प्रशारण गरिरहेका थिए।

सरकारी सञ्चार माध्यमहरू सत्ताको पक्षमा थिए। आन्दोलनलाई प्रजातन्त्र मास्न खोजेको भनेर आरोप लगाउने काम गरिरहेका थिए। आन्दोलनलाई लिएर सत्तापक्ष र विपक्षका बिचमा भइरहेको थियो। तानिने क्रममा रसी कहिले नारायणहिटी वा सिंहदरबारतर्फ जान्थ्यो भने कहिले रत्नपार्क हुँदै बानेश्वरसम्म पुग्थ्यो। आन्दोलनप्रति सक्रिय हामी लुकीछिपी काम गरिरहेका थियौं। साथीहरू गिरफ्तार हुने क्रम जारी थियो।

एकदिन राति कसैले ढोका ढकढकाएको आवाज आयो। घडी हेरें, बिहानको चार बज्दै थियो। म निद्रामै थिएँ, अर्चनाले ढोका खोलिन्। ढोका खुल्नासाथ दौड्दै भित्र आइन् र कानमा साउती गरिन्,‘बाहिर पुलिस आएका छन्।’

‘सर्च गर्दै छन् होला, जताततै सर्च अभियान चलाएका छन्।’ मैले अनुमान लगाएँ।

सर्च हुन सक्छ र कुनै त्यस्तो प्रमाण फेला पर्‍यो भने दुःख दिन सक्छन् भन्ने कुरामा हामी सतर्क थियौं। बैठकमा यस्ता कुरा उठिरहन्थे। आजै दिउँसो बैठकमा पनि हामी आन्दोलनको अग्रपंक्तिमा भएकाहरू जसरी पनि सुरक्षित हुनुपर्छ र अति गोप्य रूपमा काम गर्नुपर्छ भन्नेबारे सल्लाह भएको थियो। त्यसैले हामीले आफ्ना घर डेरामा त्यस्ता कुनै सामग्री राखेका थिएनौं। सर्च गरे पनि केही फरक नपर्ने वातावरण बनाएका थियौं।

‘ए उठ्नोस् न।’अर्चना हतारिंदै आइन्।

‘उनीहरूले हजुरको नाम लिंदै छन्।’ उनले भनिन्।

म उठेर ढोकासम्म पुग्न नभ्याउँदै प्रहरीहरू कोठाभित्र पसिसकेका थिए। उनीहरू जुत्ता नफुकालीकनै भित्र पसेर कुनै तस्कर वा ठूलै अपराधीको घरमा पसेजस्तै गरेर जताततै छाम्दै थिए। मलाई उनीहरूको व्यवहार असभ्य लाग्यो तर पनि केही बोलिनँ। केटाकेटीहरूले प्रतिकार गर्न खोग्दै थिए, रोकें। सोचें–रातको समय छ, खुलेर आन्दोलनमा लागिएकै हो। समय अनुकूल छैन। जे पनि गर्न सक्छन्।

पुस्तक कक्षमा पनि पुगिसकेका रहेछन्। दराजमा भएका पुस्तकहरू अस्तव्यस्त तरीकाले बोरामा कोच्दै तल गाडीमा ओसार्दै थिए। केही बेरभित्रै उनीहरूले पुस्तक कक्ष, सुत्ने कोठा, भान्सा आदि सबै ठाउँ खोतलिसकेका थिए। सबै सामान छरपस्ट र अस्तव्यस्त बनाएका थिए। ताण्डव नृत्य सकेपछि हाकिम पुलिसले दुई जना बलिया पुलिसलाई इसारा गर्‍यो। उनीहरूले मलाई पाखरामा समाए र तल झारे।

‘सामान्य साहित्य सिर्जनाबाहेक मैले त्यस्तो कुनै अपराध त गरेको छैन। किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ तपाईहरू?’ असह्य भएपछि मैले भनें।

हाकिम कड्कियो,‘बढी कुरा होइन। माथिको आदेश यस्तै छ। खुरुक्क हिंड्नुस्।’

‘कुनै वारेण्ट पेपर त होला नि, हेरौं न।’ साहस बटुल्दै मैले भनें।

‘हाम्रो आदेश नै वारेण्ट हो। अहिलेसम्म हामीले सबैलाई यसै गरी पक्रेका छौं। हाम्रो आदेश नमान्नेलाई कसरी मनाउनुपर्छ, त्यो पनि हामीलाई थाहा छ।’ उसको आवाज रूखो थियो।

केटाकेटीहरूले पनि मेरो गिरफ्तारीको विरोध गर्दै थिए तर काम लागेन। त्यो बेलामा तिनीहरूसँग हारगुहार गरेर वा प्रतिकार गरेर केही हुनेवाला थिएन।

सुनसान रात, खुला सडक, मलाई बोकेको गाडी साइरन बजाउँदै तीव्र गतिमा कुद्दै थियो। चीलले चल्लालाई च्यापेजस्तै सबै जना मिलेर मलाई गाडीको बिचमा राखेर च्यापिरहेका थिए। ट्रक आकारको उक्त गाडीमा प्रहरीहरूको संख्या निकै थियो। त्यसमा महिला प्रहरीहरू पनि थिए। कहिलेकाहीं पुरुष प्रहरीहरूले महिला प्रहरीहरूलाई जिस्काउँदै गरेको पनि सुनिन्थ्यो।

‘ऐया! कस्तो मोरो, अर्कालाई यस्तो दुख्ने गरी चिमोट्ने।’ महिला टोलीबाट आवाज आयो। आवाज सामान्य थियो तर मलाई उक्त आवाज कतै सुनेजस्तै लाग्यो। अनुमान गर्दै थिएँ, दिमागको ढक्कन खुल्यो। मैले सुनेको आवाज मेरी चेली प्रतिमाको थियो।

मैले विचार गरें–मैले त्यहाँ एउटा कथा भेटेको थिएँ, जिवन्त कथा!

प्रकाशित: ५ असार २०७९ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App