सिर्जना अभियान समाजको आयोजनामा लघु कथाकार हरिगोविन्द भोमीका लघुकथाहरुको संग्रह 'समय'को एक समारोहकाबीच विमोचन गरिएको छ।
समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थले कथाहरु लामो छोटो जस्तो भए पनि त्यसले ह्रदयलाई छोएको छुनुपर्ने बताए। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ अनुसार कथा आँखीझ्यालको चियाइले देखिने सानो संसार भएको भनाइ आज पनि उत्तिकै सार्थक रहेको उल्लेख गरे।
कथाकार ध्रुव मधिकर्मीले लघुकथा अहिले धेरैको चासोको विषय भएको बताउँदै सानो आकारको कथामा जीवनका धेरै महत्वपूर्ण पक्षलाई अभिव्यक्त गर्न सकिने बताए।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. शेखरकुमार श्रेष्ठले समयमा समसामयिक जीवनका विविध पक्षहरुलाई स्रष्टा भोमीले प्रभावकारी रुपमा प्रस्तुत गरेको जिकिर गरे।
कृतिका स्रष्टा हरिगोविन्द भोमीले तीसको दशकमै आफूले लेखन सुरु गरेको भए पनि सामाजिक संजालका कारण पुनः लेखन थालेको जनाए।
कार्यक्रमको दोश्रो चरणमा लघुकथामाथि गरिएको विमर्शमा लघुकथाकार खेमराज पोखरेलले लघुकथा लेखन चुनौतीपूर्ण भएको बताउँदै त्यसमा हुनुपर्ने तत्वहरुका बारेमा चर्चा गरे।
अर्का स्रष्टा विश्वराज अधिकारीले स्रष्टाले एउटा पुस्तक निकाल्नु भनेको धेरैको रोजगारसँग जोडिएको विषय बन्ने भएकाले त्यसप्रति सबैको सरोकार हुनुपर्ने बताए। लघुकथा पाठशालाका संस्थापक एडमिन लता के.सीले सामाजिक संजालले धेरै स्रष्टाहरुलाई लेख्न र चर्चामा ल्याउन मदत गरेको बताइन्।
कार्यक्रम समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको थियो। सिर्जना अभियानले प्रकाशित गरेको समय लघु कथासंग्रहमा ४० वटा सामयिक विषयका लघुकथा छन्।
प्रकाशित: ५ असार २०७९ १२:१८ आइतबार